डाक्टरका दु:ख

विद्यालय अध्ययनपश्चात् करिब सात वर्ष कडा मिहिनेत र न्यूनतम ४० लाख रूपैयाँ खर्चेर बनेका चिकित्सकलाई आकर्षक पारिश्रमिक छैन । 
फातिमा बानु

काठमाडौँ — बलियो अर्थोपार्जन, सामाजिक प्रतिष्ठा र उज्ज्वल भविष्य । एमबीबीएस पढ्दै गर्दा गोरखाका उत्सव तिम्सिना खुबै उत्साहित थिए । अभिभावकले ऋणपान गरेरै भए पनि २५ लाख रुपैयाँ खर्च गरे । जब पढाइ सकेर चिकित्सा पेसाको मैदानमा उत्रिए, उनले महसुस गरे, ‘सोचेजस्तो रहेनछ यो क्षेत्र । राम्रो जागिर, मानसम्मान र पुग्दो तलब भ्रम रहेछ ।’

डाक्टरका दु:ख

एक वर्ष चिकित्सा अभ्यास गरेपछि डा. तिम्सिना अहिले विशेषज्ञता (एमडी) अध्ययनका लागि प्रवेश परीक्षाको तयारी गरिरहेका छन् । ‘एमीबीबीएसको योग्यताले मात्रै भविष्य सुनिश्चत छैन,’ उनले भने । विशेषज्ञता अध्ययनको अवसर सहजै पाउनेमा पनि उनी ढुक्क छैनन् । सिट थोरै हुन्छ, प्रतिस्पर्धा चर्को । प्रतिस्पर्धा चर्को भएकै कारण काम छाडेर उनी छ महिनादेखि अध्ययन मात्रै गरिरहेका छन् ।


डा. तिम्सिनाजस्तै अपेक्षा र वास्तविकताबीच तालमेल नमिल्दा चिकित्सक पेसाप्रति असन्तुष्ट भएका युवा थुप्रै छन् । कडा मेहनत र लगानी गरेर चिकित्सा सेवामा प्रवेश गरे पनि कामअनुसार पारिश्रमिक, सुरक्षा र सम्मान नपाएको उनीहरूको गुनासो छ । काम गर्ने अस्पतालमा पर्याप्त भौतिक पूर्वाधारको अभावले आइपर्ने झन्झटले पनि उनीहरूमा निराशा थपिदिन्छ ।

सामान्य चिकित्सक बन्न मात्रै एउटा व्यक्तिले विद्यालय अध्ययनपश्चात् करिब सात वर्ष कडा मेहनत र न्यूनतम ४० लाख रुपैयाँ खर्चेको हुन्छ । विशेषज्ञता (एमडी–एमएस) हासिल गर्नुपरे थप २२ लाख रुपैयााँसम्म खर्च लाग्छ ।


युवा चिकित्सक संघका अध्यक्ष डा. चेतन बस्नेतको अनुभवमा समाजमा स्थापित दृष्टिकोणजस्तो चिकित्सा क्षेत्र छैन । चिकित्सक विद्यार्थी जीवनबाटै ऊर्जाशील भएर आउन सकेका छैनन् । ‘पठनपाठनमै समस्या छ, शुल्कमा एकरूपता छैन, परीक्षा र नतिजा प्रकाशन समयमा हुँदैन,’ उनी भन्छन् ।


युवा चिकित्सक संघसँग जोडिएका चिकित्सक मात्रै गन्ने हो भने अहिले नेपालमा तीन हजार हाराहारी चिकित्सक युवा छन् । अनौपचारिक रूपमा थप अरू छन् । देशमा भएका २० मेडिकल कलेजबाट वार्षिक करिब दुई हजार चिकित्सक उत्पादन हुन्छन् । विदेशबाट अध्ययन गरेर आउनेको संख्या एक हजार हाराहारी छ । उत्पादनअनुसारको रोजगारी सिर्जना हुन नसक्दा चिकित्सक विदेश पलायन हुन बाध्य छन् । देशभित्रै थप अध्ययन गरेर विशेषज्ञता हासिल गर्ने बाटो सजिलो छैन । हाल नेपालमा मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञता (एमडी–एमएस) पढाइरहेका छन् । नेपाल मेडिकल काउन्सिलका अनुसार वार्षिक १२ हजार चिकित्सक विशेषज्ञता (एमडी–एमएस) अध्ययन गर्न तयार हुन्छन् । वार्षिक ३ सय हाराहारीले मात्र मौका पाउँछन् ।


सरकारी सेवामा पसेका चिकित्सक पनि सन्तुष्ट देखिँदैनन् । सरकारी अस्पतालमा बिरामीको चाप र चिकित्सकको अनुपात सन्तुलित छैन । एक दिनमा एक चिकित्सकले २५ भन्दा बढी बिरामी नहेर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड नेपालको सन्दर्भमा मेल खाँदैन । एकै चिकित्सकले एक दिनमा एक सय जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा बिरामीले गुणस्तरीय सेवा पाउँदैनन् । चापका बीच सेवा दिनुपर्दा चिकित्सक पनि सन्तुष्ट हुँदैनन् ।


सरकारी अस्पतालको अपुग भौतिक पूर्वाधार र बिग्रिरहने उपकरणले पनि चिकित्सकलाई काममा उत्प्रेरणा जगाउन नसकेको सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डे बताउँछन् । चिकित्सकलाई ऊर्जाशील बनाइराख्न सुविधा सम्पन्न अस्पतालको महत्त्वपूर्ण भूमिका रहने उनी बताउँछन् ।


श्रमले ऐनले तोकेजस्तो साताको ४० घण्टा मात्रै काममा खट्दैनन् चिकित्सक । उनीहरू बिरामीको चाप धान्न सातामा ७० देखि १ सय ४० घण्टा काम गर्ने चिकित्सक पनि छन् । बढ्दो चापकै कारण एक बिरामीलाई दिनुपर्ने न्यूनतम समय दिन सक्दैनन् । डा. पाण्डे भन्छन्, ‘डाक्टरको काम प्रशासनिक जस्तो हुँदैन, इमर्जेन्सीमा बोलाउनेबित्तिकै आउनुपर्छ, समयको पाबन्दी हुँदैन ।’


चिकित्सक रोग निर्मूल पार्नेकै लागि हुन् भन्ने बिरामी पक्षको बुझाइ छ । विभिन्न कारणले उपचार सफल नहुँदा अस्पताल तोडफोड, चिकित्सकमाथि दुव्र्यवहार पनि हुने गरेका छन् । यसले चिकित्सक र बिरामीबीच असमझदारी बढाएको छ । असमझदारीले निम्त्याएको दूरीले चिकित्साजस्तो संवेदनशील क्षेत्र सुरक्षित हुन सकेको छैन । चिकित्सक संघका उपाध्यक्ष डा. ढुण्डीराज पौडेल पनि चिकित्सकले आफूलाई सुरक्षित महसुस नगरेको बताउँछन् । ‘बढ्दो असुरक्षाले पेसाप्रति आकर्षण घटाएको छ, उनीहरूमा आत्मविश्वास पनि खस्कँदो छ,’ उनी भन्छन्, ‘अहिलेका डाक्टर गम्भीरखाले बिरामीको उपचार गरेर जोखिम मोल्नै चाहँदैनन्, यस्ता बिरामी गर्दा तलमाथि भइहाले बिरामी पक्षबाट दुव्र्यवहार हुन सक्ने डर छ ।’ मेडिकल क्षेत्रमा शल्यक्रिया गर्दा जटिलता आउन सक्ने, औषधि चलाउँदा कहिलेकाहीँ दुष्प्रभाव हुने विषयलाई सामान्य मानिए पनि बिरामी पक्षले यही विषयलाई बहाना बनाएर दुव्र्यवहार गर्दा चिकित्सकको मनोबल घट्ने उनी बताउँछन् ।


डा. पाण्डे दुव्र्यवहारको जोखिमले सकभर बिरामी भेट्नै नपर्ने विषय रोजेर पढ्ने गरेको बताए । ‘शल्यचिकित्साजस्ता जोखिम विषयभन्दा पनि रेडियोलोजी, प्रयोगशालाजस्ता विषय नयाँ पिँढीका चिकित्सकको रोजाइमा पर्दै गइरहेको छ,’ उनले भने ।


चिकित्सा क्षेत्रलाई निरन्तरता दिन महिलाका लागि थप गाह्रो स्थिति छ । महिनावारी, गर्भवती र सुत्केरी अवस्थामा अस्पतालले चाहेजति खट्न नसक्दा अपजस खेप्छन् उनीहरू । यस्ता विशेष अवस्थामा बिदा मिल्दैन । बिदा मिलिहाले छोटो समय अवधिको हुन्छ । शिशुलाई दूध चुसाउनकै लागि काम छाड्नुपर्ने स्थिति छ । सन्तानको पालनपोषण, घरपरिवार र पेसाबीच सन्तुलन मिल्न नसक्दा चिकित्सक महिलामा तनाव छ ।


चिकित्सा क्षेत्रमा शारीरिक र मानसिक दुवै अभ्यास गर्नुपर्छ । कामअनुसार पारिश्रमिक नहुँदा कतिपयलाई घर धान्नै मुस्किल परेको छ । राम्रो पारिश्रमिक नभएकैले चिकित्सकहरू निजीमा अभ्यास गर्छन् । यसले सरकारी सेवालाई असर पारेको छ । समाजले चिकित्सा पेसामा राम्रो तलब हुन्छ भन्ने सोच्छ । आठौं तहबाट सुरु हुने सरकारी सेवामा मुस्किलले मासिक ४० हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । उनीहरू आर्थिक आवश्यकता पूरा गर्न निजीमा अभ्यास गर्छन् । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका २३ हजार चिकित्सकमध्ये लगभग १४ हजार मात्रै नेपालमा कार्यरत छन् ।


संघका उपाध्यक्ष डा. पौडेल डाक्टरले आफ्नो क्षमता अभिवृद्धिका लागि आफैं खर्च गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । केन्द्रका चिकित्सकलाई मात्रै क्षमता अभिवृद्धिका तालिमको व्यवस्था भएकाले दुर्गममा खटिएका चिकित्सक विभेद महसुस गर्छन् । दुर्गमका अस्पतालमा सरकारी दरबन्दीका चिकित्सक जान नमान्नुको मुख्य कारण यो पनि हो ।


असुरक्षा र असन्तुष्टिका बाबजुद सरकारी सेवा आकर्षण भने देखिन्छ । सरकारले उत्पादनअनुसार रोजगारी सिर्जना गरेर चिकित्सा क्षेत्रलाई सुरक्षित बनाउनुपर्ने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित : फाल्गुन ७, २०७५ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?