१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सेवामा मन 

फरक–फरक विधाका यी ऊर्जाशील युवाको ध्येय एउटै छ– स्थानीयको स्वास्थ्य सुधार्ने । यसकै लागि आफ्नो श्रम र समय खर्चिएका छन् । रकम लगानी गरेका छन् । 

काठमाडौँ — फरक–फरक विधाका युवा । उनीहरूसँग धनमात्र छैन, फराकिलो मन पनि छ । यी दुईको संयोजनबाटै ती युवाले आफ्नो थातथलोमा स्वास्थ्यसेवा पुर्‍याएका छन् ।
कर्णाली प्रदेश अस्पतालका चिकित्सक डा. नवराज केसी (सुर्खेत) र इन्जिनियर दम्पती कपिल–सुशीला खनाल (दैलेख) त्यस्तै पात्र हुन् । यी दुवैको ध्येय एउटै छ– दुर्गमका जनताको ज्यान बचाउने । यसका लागि आफंैले स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन् । 

सेवामा मन 

समाजसेवी डाक्टर

डा. नवराज केसी कर्णाली प्रदेशका व्यस्त चिकित्सक हुन् । तर, उनको व्यस्तता चिकित्सा क्षेत्रभन्दा बाहिर बढी छ । कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ केसी पछिल्लो समय सामाजिक अभियन्ताका रूपमा परिचित छन् ।

केसीले दुईवटा अभियान चलाएका छन् । पहिलो– सफा र हरियाली सुर्खेत । दोस्रो– बालस्वास्थ्य सुधार । ‘चिकित्सकले व्यक्तिमा लागेको रोगको मात्र होइन, समाजले खेपिरहेको रोगसमेत पहिचान गरी त्यसको समाधानमा लाग्नुपर्छ भनेर हामीले अभियान थालेका हौं,’ उनी भन्छन्, ‘यो हाम्रो नितान्त स्वयंसेवी कार्य हो ।’

उनले अभियानका लागि विङ्स फाउन्डेसन स्थापना गरेका छन् । यसले देशी–विदेशी दातृ निकायबाट कुनैखाले सहयोग लिँदैन । तीन वर्षअघि स्थापित फाउन्डेसनमा समाजसेवाको भावना भएका स्वास्थ्यकर्मी र अन्य पेसाकर्मीले आफ्नो आम्दानीको निश्चित रकम जम्मा गर्छन् । केसीले आफूले पाउने सम्पूर्ण तलब सोही फाउन्डेसनलाई दिन्छन् । ‘स्वास्थ्यसेवालाई जागिरका रूपमा लिने कि धर्मका रूपमा भन्ने प्रश्न मैले आफैंलाई गरें र धर्मका रूपमा लिनुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘त्यसैले मैले जागिरबाट पाउने पूरै तलब सेवामा खर्च गरेको छु ।’

फाउन्डेसनले अपांगता भएका बालबालिकालाई नि:शुल्क उपचारसँगै विभिन्न सहयोग गर्छ । तीन वर्षमा जाजरकोट, कालिकोट, सुर्खेत, जुम्लालगायत ठाउँमा ३८ वटा स्वास्थ्य शिविर गरिएको छ । सबै शिविरमा नि:शुल्क स्वास्थ्य परीक्षण र औषधि दिने गरिएको केसीले बताए ।

बालबालिकालाई लाग्ने रोगको प्रमुख कारक प्रदूषित वातावरण भएको निष्कर्षपछि सुर्खेतबाट ‘गो ग्रिन, क्लिन सुर्खेत’ अभियान सुरु गरिएको छ । फाउन्डेसनले वीरेन्द्रनगरमा चेतनामूलक सरसफाइ कार्यक्रम गर्नुका साथै ठाउँठाउँमा फोहोर राख्ने भाँडा (डस्टबिन) पनि राखेको छ । केसीको अगुवाइमा प्रत्येक साता हुने सरसफाइ अभियानमा यहाँका स्वास्थ्यकर्मी, विद्यार्थी, व्यवसायीसमेत लामबद्ध छन् । यसले स्थानीय सरकारलाई पनि जिम्मेवारीप्रति घचघच्याएको छ । ‘चौबिसै घण्टा व्यस्त हुनुपर्ने एउटा डाक्टर सामाजिक अभियानमा लागेपछि हामी पनि जोडिएका छौं,’ वीरेन्द्रनगर–६ का वडाध्यक्ष मोतीप्रसाद कँडेलले भने, ‘सफा र सुन्दर वीरेन्द्रनगर कसरी बनाउने भन्नेबारे उहाँले हाम्रो आँखा खोलिदिनुभएको छ ।’

केसी समाज सेवामा लाग्नुको प्रेरणा भारतका पूर्वराष्ट्रपति डा. अब्दुल कलामबाट पाएको बताउँछन् । ‘तिमी जिन्दगीभर जागिर खानकै पछि लाग्यौ भने जीवन सफल हुँदैन, अरूलाई जागिर दिन सक्षम भयौ भने त्यो सफलता हो,’ कलामको यही आदर्शबाट प्रभावित भए उनी । काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस गरेका केसीले फिलिपिन्सको राष्ट्रिय बाल अस्पतालबाट विशेषज्ञता हासिल गरेका हुन् ।

केसीले वीरेन्द्रनगरमा व्यक्तिगत लगानीमा पुन:स्थापना केन्द्रसमेत स्थापना गरेका छन् । त्यहाँ विभिन्न कारणले हिँडडुल गर्न नसक्ने बालबालिकाको नि:शुल्क उपचार हुँदै आएको छ । ‘आफ्नो बच्चा स्वस्थ, तन्दुरुस्त होस् भन्ने चाहना कुनचाहिँ आमाको हुन्न र ?,’ उनले भने, ‘तर विभिन्न कारणले उमेर पुगेर पनि हिँडडुल गर्न नसक्दा थुप्रै आमा निराशा बोकिरहेका छन्, मैले केन्द्रमार्फत तिनै आमाहरूको मुहारमा खुसी फर्काउने प्रयास गरेको छु ।’ दुई वर्षअघि स्थापित केन्द्रबाट हालसम्म करिब साढे तीन सय बालबालिकाले उपचार पाइसकेको उनले बताए । केन्द्रमा हिँडडुलका लागि विभिन्न उपकरणमार्फत अभ्यास गराउने, आवश्यक परेको खण्डमा औषधि पनि दिने गरिन्छ । शारीरिक अपांगता भएका यस्ता बालबालिकाका आमाहरूमा इन्जाइटिस र डिप्रेसनको समस्या देखिन्छ । उपचारपछि भने त्यस्ता आमाहरू सन्तानसँगै खुसी बोकेर घर फर्किने गरेका छन् ।


इन्जिनियरको अस्पताल

कपिल खनाल र उनकी श्रीमती सुशीला इन्जिनियर हुन् । तर, उनीहरूले पछिल्लो समय भिन्न लाइन रोजेका छन् । पोखरा विश्वविद्यालयबाट इन्जिनियरिङ पढ्दा जुन सपना देखेका थिए, त्यो बदलिएको छ ।

दैलेखको दुल्लुमा यो दम्पतीले साढे २ करोड लगानीमा अस्पताल स्थापना गरेको छ । गाउँमा अस्पताल खोल्नु सरासर जोखिम मोल्नु हो । त्यसमाथि आफ्नो विज्ञताभन्दा फरक क्षेत्र । उनीहरूले गाउँका जनताको ज्यान जोगाउनकै लागि जोखिमपूर्ण क्षेत्रमा मोटो रकम लगानी गरे । इन्जिनियर दम्पतीले आफ्ना बाजेको सम्झनामा ‘आशाराम हस्पिटल’ निर्माण गरेको हो । आधुनिक सुविधासहित अस्पताल स्थापना भएपछि स्थानीयले महँगो रकम तिरेर सहरतिर जानुपर्ने बाध्यता हटेको छ । दुल्लुका नगर प्रमुख घनश्याम भण्डारी इन्जिनियर दम्पतीले पैसा कमाउनेभन्दा पनि जनतालाई स्वास्थ्यसेवा दिने उद्देश्यले अस्पताल खोलेको बताउँछन् ।

अस्पतालमा आकस्मिक सेवाका साथै भिडियो एक्स–रे, डिजिटिल एक्स–रे, डेन्टल सेवा, स्तरीय प्रयोगशाला छन् । गाउँमै विशेषज्ञ चिकित्सक बस्नु अस्पतालको अर्को विशेषता हो । अस्पताललाई निकट भविष्यमै सय शय्यामा स्तरोन्नति गरिने खनाल बताउँछन् । अहिले दुल्लुसहित दैलेखका बिरामीले जटिल स्वास्थ्य समस्या आउँदा सुर्खेत, नेपालगन्ज जानुपर्ने बाध्यता छ । अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. प्रकाश थापा गाउँमै सहज र भरपर्दो सेवा उपलब्ध भएपछि बिरामी बाहिर जाने क्रम रोकिने बताउँछन् ।

कमजोर सूचकांक

कर्णाली प्रदेशको स्वास्थ्य सूचकांक निकै कमजोर छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशको शिशु मृत्युदर प्रतिहजारमा ५८ जना छ । यसको राष्ट्रिय दर भने ३९ छ । पाँच वर्षमुनिका बच्चाको दीर्घ कुपोषण दर पनि यो प्रदेशमा अत्यन्तै उच्च छ । नेपालको औसत दर ३६ प्रतिशत हुँदा कर्णाली प्रदेशमा ५५ प्रतिशत छ । ‘स्वास्थ्यका हरेक सूचकांकमा हाम्रो अवस्था निकै कहालीलाग्दो छ,’ मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख विर्षबहादुर शाही भन्छन्, ‘यसलाई सुधार्न सरकारमात्र होइन, निजी क्षेत्रबाट पनि सहयोग जरुरी छ ।’

नेपालीको औसत आयु ७१ वर्ष रहँदा कमजोर स्वास्थ्य अवस्थाकै कारण कर्णाली प्रदेशमा ६५ वर्षमात्र रहेको उनले बताए । प्रदेश सरकारले स्वास्थ्यका चुनौतीसँग जुध्न महत्त्वाकांक्षी नीति बनाउने जनाएको छ । मन्त्रालयका अनुसार स्थानीय तहमा १५ देखि २५ शय्याको आधारभूत अस्पताल र प्रत्येक जिल्लामा ५० शय्याको विशेषज्ञ अस्पताल बनाउने नीति छ । तर त्यसको कार्यान्वयन पक्षमा अन्योल देखिन्छ ।

प्रकाशित : फाल्गुन ७, २०७५ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?