कर्मले बलिया

लाखौं लगानी गरेर गाउँमै गाईभैंसी, बंगुरपालन, पर्यटन व्यवसाय गर्दै बसेका युवा धेरै भेटिन्छन् । उनीहरुको कमाइ पनि आकर्षक छ । 
प्रतीक्षा काफ्ले

काठमाडौँ — फेदीखोला गाउँपालिका–१ का ३३ वर्षीय अविलास गुरुङले पर्यटन व्यवसायमा हात हालेका छन् । आफ्नो गाउँलाई पर्यटकीय गन्तव्य बनाउने सोचका साथ गत वर्षदेखि यो व्यवसायमा लागेका हुन् । आफ्नै गाउँठाउँमा गरेको लगानीले आम्दानी दिन थालेको छ । रामकोट गुरुङ कटेज (होमस्टे) फेदीखोलामा चर्चित छ । उनले आफ्नै डिजाइनमा होमस्टे सञ्चालन गरेका हुन् । 

कर्मले बलिया

बसाइँ सरेर गएकाहरू पुख्र्यौली थलो हेर्न आउँछन् । उनीहरूलाई समेत बस्ने, घुम्ने र गाउँबारे जानकारी दिने व्यवस्था मिलाउन अविलास व्यावसायिक रूपमा लागेका हुन् । ‘यहाँबाट बसाइँ सरी गएका र गाउँमा आउने जोकोहीलाई पनि शुल्कसहित खानेबस्ने व्यवस्था गर्नुपर्छ भनेर रामकोट गाउँका ४ घरमा होमस्टे खोलिएको छ,’ उनले भने, ‘चार घरमा ३० जना पाहुनालाई सेवा दिन सकिन्छ ।’ रामकोट होमस्टेलाई व्यवस्थित रूपमा सञ्चालन गर्न रामकोट होमस्टे व्यवस्थापन समिति गठन गरिएको छ । रामकोटलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकारसँग समन्वय गरिएको अविलासले जानकारी दिए । ‘ग्रामीण परिवेश, रहनसहन, कला, संस्कृति जगेर्ना गरी त्यसलाई व्यावसायिक रूप दिन सके वैदेशिक रोजगारीका लागि युवा भौंतारिने घट्न सक्छ,’ अविलास भन्छन्, ‘यही सन्देश अरूतिर पनि प्रवाह होस् भनेर म ग्रामीण पर्यटन प्रवद्र्धनमा लागेको हुँ,’ उनले भए ।


अविलाससँग पर्यटन क्षेत्रमा आठ वर्ष काम गरेको अनुभव छ । उनले २०७१ सालमा ट्राभल एजेन्सी खोलेर पोखरा क्षेत्र वरपरका धम्पुस, सिक्लेस, घान्द्रुक, छोमरोङ, घोरेपानी, पञ्चासेलगायत पर्यटकीय गन्तव्यमा पर्यटकलाई घुमाएका छन् । धेरै पर्यटकीय ठाउँ घुमेर त्यहाँको आतिथ्य सत्कार, कला, संस्कृतिलाई नजिकबाट बुझेपछि रामकोटलाई पनि पर्यटकीय स्थलका रूपमा विकास गर्न उनी लागिपरेका छन् । ‘समृद्धिको खोजीमा सहर पस्न थाले, गाउँका घरहरू रित्तिँदै गए । पुराना घर भत्किने अवस्थामा पुगे । हामीले तिनैलाई सम्हालेर होमस्टे बनाएका छौं,’ अविलासले भने ।


आफ्नै गाउँठाउँमा व्यवसाय गरेर बस्ने युवा अविलास एक्लो होइनन् । स्याङ्जामा थुप्रै युवा जागिर खोज्दै भौंतारिनुको साटो आफ्नो बलबुताले भ्याएको व्यवसाय गरेर गाउँमै रमाएका छन् । उनीहरूले अरूलाई रोजगारी पनि दिएका छन् । गाउँमै बसेर काम गरेर सन्तुष्टि र कमाइ दुवै मिल्ने सन्देश पनि प्रवाह गरिरहेका छन् । सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्डअन्तर्गत कुविन्डेबाट २ किमि ग्रामीण सडक र पोखराबाट पश्चिमतर्फ १५ किमिको दूरीमा रामकोट होमस्टे पर्छ । यहाँबाट पोखरासहितको लमजुङ हिमाल, मनास्लुदेखि अन्नपूर्ण हिम शृंखला, धौलागिरि हिमाल देख्न सकिन्छ ।


पुतलीबजार नगरपालिका–३ ढडुवाका ३१ वर्षीय नवराज हमाल र पुतलीबजार–५ टारीका २९ वर्षीय सुरेश रेग्मीले एक वर्षदेखि गाई र भैंसी फार्म सञ्चालन गरेका छन् । हमाल ५ वर्ष मलेसिया बसेर आएका हुन् भने रेग्मी ६ वर्ष जापान बसेर फर्किएका हुन् । हमाल र रेग्मीले एक–एक करोड लगानी गरेर २२ रोपनी क्षेत्रफलमा आधुनिक फार्म खोलेका हुन् ।


जग्गा हमालकै हो । ५ लाख रुपैयाँमा २० वर्षका लागि बन्दकी राखेर व्यवसाय सुरुवात गरेको हमाल बताउँछन् । उनीहरूको स्याङ्जा एग्रो रिसर्ज सेन्टर नामक कम्पनी २०७४ सालमा दर्ता छ । फार्ममा ५१ वटा भैंसी, ४ वटा गाई र ३९ वटा पाडापाडी छन् । ‘५ सयवटा भैंसी पुर्‍याउने लक्ष्य छ,’ हमालले सुनाए । फार्ममा दैनिक ५ सय लिटर दूध उत्पादन हुन्छ । उनीहरूले भैंसीलाई घाँसका लागि एक सय रोपनी खेत भाडामा लिएका छन् ।


हमालले मलेसियामा कृषिसम्बन्धी काम गरेका थिए । ‘आफ्नै गाउँमा परिश्रम गर्दैछौं, सुरुवात चरणमा छौं,’ उनले भने, ‘आफ्नै ठाउँमा गरिएको पक्कै नाफामा जानेमा ढुक्क छौं । विदेशमा जस्तो ज्यान जोखिममा पनि छैन ।’ जापान बसेका सुरेश गाउँमै केही गर्ने सोचका साथ गाईभैंसी पालनमा होमिएको बताउँछन् । ‘सानो उमेरमा घरमा कृषि कर्म गरेको र यसैमा राम्रो देखेको हुनाले भैंसीपालनमा लागेको हुँ,’ उनले भने, ‘हामीले फार्म खोल्दै गर्दा तराईबाट ल्याएका भैंसीलाई स्याङ्जाको हावापानी उपयुक्त हुन्छ कि हँुदैन, तिनलाई कसरी ल्याइपुर्‍याउने जस्ता चुनौती थिए ।’


उनीहरूले पहिलो चरणमा गोठ, बासस्थान, भैंसीका साथसाथै अन्य सामग्री खरिदमा २ करोड रुपैयाँ खर्चिएका हुन् । अर्ना जातको भैंसी एक लाख ८० हजारदेखि दुई लाख ५० हजारसम्मको दरले किनेको सञ्चालकहरू बताउँछन् । हरेक ४ महिनामा ५० वटा दुहुना भंैसी थप्दै जाने उनीहरूको लक्ष्य छ । उनीहरूका अनुसार भंैसीको आहाराका रूपमा दाना चोकर चितवनबाट खरिद गरिन्छ । ‘भैंसीको दूधको बजार राम्रो छ,’ रेग्मीले भने, ‘दैनिक दुई हजार लिटर दूध फार्मबाटै बिक्री हुन्छ । थप दुई हजार लिटर दूधको माग छ ।’ रेग्मीले ३ वर्षपश्चात् मागभन्दा बढी दूध आफ्नो फार्ममा उत्पादन हुने बताउँदै डेरी उद्योग खोली दही, पनिर, छुर्पी, घिउलगायत सामग्री बनाएर बजारमा बेच्ने योजना सुनाए ।


वालिङ नगरपालिका–९ भीमटारीका ३८ वर्षीय भीम लुइँटेलले बंगुरपालन सुरु गर्दा ‘बाहुनको छोराले बंगुर पाल्ने ?’ भनेर टिप्पणी गर्ने थुपै्र थिए । जीविकोपार्जन गर्न केही न केही गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेका उनी बंगुलपालनबाट मनग्य आम्दानी गर्छन् । सशस्त्र द्वन्द्वमा नेपाली सेनाको जागिर छाडेर दुबई पुगेका लुइँटेलले ४ वर्षअघि २७ लाख रुपैयाँ लगानीमा बंगुरपालन सुरु गरेका हुन् । उनको इन्द्रेणी बंगुर फार्ममा लगानी ३ करोड रुपैयाँ पुगेको छ । ‘वालिङ–९ पीपलटारीमा १३ रोपनी जग्गा १० वर्षका लागि १२ लाखमा भाडामा लिएर व्यवसाय थालेको हुँ,’ लुइँटेलले भने, ‘फार्ममा अहिले एक सय ५० माउसहित ३ सय बंगुर छन् ।’


जिल्लाका हरेक कृषकबीच नमुना बनेका लुइँटेलले २७ वटा बंगुरबाट फार्म सञ्चालन सुरु गरेका थिए । उनले इन्द्रेणी फार्मलाई बच्चा उत्पादन अर्थात् प्रजनन गर्ने फार्मका रूपमा विकास गरेका छन् । यहाँ उत्पादित बच्चा स्याङ्जा, कास्की, पाल्पा, रूपन्देही, प्यूठान, दाङलगायत २० जिल्लामा पुगेका छन् ।


लुइँटेलले एक महिनाको बच्चा चार हजार ५ सय रुपैयाँका दरले बेच्छन् । बच्चा जन्माउन नसक्ने र भाले बंगुर मासुका लागि बिक्री हुन्छ । मासुका लागि एक सय ३० देखि ३०० किलोसम्मको बंगुर बेचेको उनले सुनाए । फार्ममा ५ जना कर्मचारी छ । तिनीहरूलाई तलबलगायत खर्च कटाउँदा वार्षिक ५० लाख रुपैयाँ बचत हुने गरेको लुइँटेलले बताए । ‘बंगुरको बजार राम्रो छ,’ उनले भने, ‘मासुका लागि एउटा नया फार्म थाल्दैछु ।’


लुइँटेलले जिल्ला पशु कार्यालय र युवा परिषद् स्याङ्जाबाट उत्कृष्ट युवा उद्यमी घोषित भई पुरस्कार थापिसकेका छन् । ‘पैसा कमाउने मात्र मेरो सोच होइन,’ लुइँटेल भन्छन्, ‘विदेशमा रहेका युवालाई स्वदेशमै राम्रो कमाउन सकिन्छ भन्ने सन्देश दिन चाहेको हुँ ।’

प्रकाशित : फाल्गुन ७, २०७५ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?