१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कप्तानी इनिङ्स

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट वान डे टिमको मान्यता पाएको धेरै भएको छैन । यसबीचमै दुई सिरिज खेलिसकेको छ । नेदरल्यान्ड्सविरूद्धको पहिलो सिरिज बराबरीमा टुंगियो भने दोस्रोमा यूएईविरूद्ध नेपाल विजयी रह्यो ।
हिमेश

काठमाडौँ — नेपाली क्रिकेटमा एउटा तथ्य धेरैलाई हेक्का छ, सन् २०१४ को आईसीसी वल्र्ड ट्वान्टी–ट्वान्टी । नेपालले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता हो यो । बंगलादेशमा आयोजित त्यस प्रतियोगितामा नेपालले खुबै तहल्का मच्चाएको थियो ।

कप्तानी इनिङ्स

त्यस प्रतियोगितामा छनोट हुनु आफैंमा नेपालका लागि उत्तिकै सनसनीपूर्ण उपलब्धि थियो । प्रतियोगिताको ठ्याक्कै अगाडि सहभागी सबै टिमका कप्तानले मिडिया अगाडि बोल्नुपर्ने थियो ।

प्रतियोगितालाई पछ्याउने क्रममा बाक्लै नेपाली पत्रकार ढाका पुगेका थिए ।


नेपाली टिमका कप्तान पारस खड्का पहिलोपल्ट यति ठूलो प्रतियोगितामा अन्तर्राष्ट्रिय मिडिया सामना गरिरहेका थिए । डर थियो, कतै पारस आत्तिने त होइनन् ? तर जसरी उनी मिडियासामु प्रस्तुत भए र बोले, त्यो देखेर त्यस प्रि–म्याच कन्फ्रेन्समा उपस्थित सबै दंग गरे । एक बेलायती पत्रकारको प्रतिक्रिया थियो– पारसको व्यक्तित्व सय टेस्ट खेलिसेकका कप्तानजत्तिकै थियो । पारसका अगाडि अरू धेरै टिमका कप्तानको प्रस्तुति फिक्का थियो । यस्ता छन्, नेपाली क्रिकेट कप्तान ।


नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट वान डे टिमको मान्यता पाएको धेरै भइसकेको छैन, एक वर्षभन्दा पनि कम । त्यसयता नेपालले दुई सिरिज खेलिसकेको छ । पहिलो सिरिज नेदरल्यान्ड्सविरुद्ध थियो, त्यो बराबरीमा टुंगियो । अर्को संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध थियो, त्यसमा नेपाल विजयी रह्यो ।


नेपालले तीन खेलको वान डे सिरिज २–१ ले जित्यो । लगत्तै भएको तीन खेलको ट्वान्टी–ट्वान्टी सिरिज पनि नेपालले २–१ ले नै जित्यो । दुवैमा नेपालले उत्कृष्ट पुन: आगमन रचेको थियो । वान डे सिरिजमा पनि नेपाल पहिलो खेलमा पराजित रहेको थियो । त्यसपछिका दुवै खेलमा नेपाल विजयी रह्यो । ट्वान्टी–ट्वान्टी सिरिजको कथा यस्तै रह्यो । क्रिकेटमा विदेशी भूमिमा गएर त्यहाँकै टिमलाई सिरिजमा हराउनु कम्ती होइन ।


त्यसमाथि क्रिकेट इतिहासमा विदेशी भूमिमा गएर सिरिज जित्न वर्षांै लगाएका घटना उत्तिकै छन् । यस्तोमा काठमाडौं फर्कंदा पारस र उनको टिमले भव्य स्वागत पाउनु अचम्म होइन । दशकयता नेपाली टिमले त्रिभुवन विमानस्थलमा एकपछि अर्को यस्तै स्वागत पाइरहेको छ । काठमाडौं फर्कने बेला पारसले अचेल भन्न थालेका छन्, ‘हाम्रो सपना भनेको नेपालले टेस्ट क्रिकेट खेलोस् भन्ने हो ।’ टेस्ट क्रिकेट अर्थात् यो खेलको सबैभन्दा माथिल्लो संरचना ।


नेपाली घरेलु क्रिकेटमा खासै केही भइरहेको छैन । कतै पारसले धेरै बोलेका त होइनन् ? पारसले बुनेको टेस्ट क्रिकेटको सपनालाई उडाउन खोज्ने धेरै होलान् । लगभग दस वर्षअगाडि पारसले यस्तै बोलेका थिए, ‘हाम्रो सपना नेपालले वान डे खेलोस् भन्ने हो ।’ उनले यस्तो पनि भनेका थिए, ‘हामी चाहन्छौं, नेपालले ट्वान्टी–ट्वान्टी क्रिकेटको विश्वकप खेलोस् ।’ त्यति बेला पनि पारसले बढी बोले कि भन्नेहरू थिए । यी त दुवै सपना हाम्रै आँखा अगाडि पूरा भइसकेका छन् ।


यूएईविरुद्ध वान डे सिरिजको पहिलो खेलमै एकपल्ट फर्कौं । त्यसमा नेपाल तीन विकेटले पराजित रह्यो । पहिले ब्याटिङ गरेको नेपाल १ सय १३ रनमै समेटियो । नेपाली क्रिकेटको सबैभन्दा कमजोरी नै ब्याटिङ मानिन्छ । त्यसमा नेपालले ब्याटबाट गरेको प्रदर्शन वास्तवकै कमजोर थियो । त्यस खेलमा नेपालले यूएईलाई जितबाट रोक्न जसरी प्रयास गर्‍यो, त्यो अतुलनीय थियो ।


नेपालको बलिङ धारिलो हुने गर्छ, फिल्डिङ पनि ठीकठाकको छ । सामान्य भन्न मिल्ने सय रनभन्दा केही बढीको लक्ष्यलाई रक्षा गर्न नेपालले खेलेको खेल वास्तवमै अब्बल दर्जाको थियो । त्यो ‘जुनुन’ ले अन्तत: पूरा सिरिजमै रंग देखायो । दोस्रो र तेस्रो वान डेमा त नेपालको ब्याटिङ पनि चल्यो । पारस आफैंले शतक बनाए, नेपालका लागि पहिलो ऐतिहासिक वान डे शतक । पूरा सिरिजमै के भएको थियो, नेपाली क्रिकेटलाई अलिकति माया गर्नेलाई त्यो सबै थाहा छ ।


यी सबै उपलब्धिमा कोही एक जनाको सबैभन्दा ठूलो योगदान छ भने त्यो कप्तान पारसकै हो । व्यक्तिगत रूपमा पारस कसैलाई मन नपर्न सक्छ । उनको आलोचनामा रमाउने पनि होलान् । तर एउटा तथ्यसँग कसैले दुई मत राख्न सक्दैनन्, नेपाली क्रिकेटलाई यहाँसम्म ल्याइपुर्‍याउनेमा कसैको सबैभन्दा बढी भूमिका छ भने त्यो पनि पारसकै हो ।


यी सबै खुसीका उपलब्धि नेपाली क्रिकेटले आत्मसात् गरे पनि समग्रमा नेपाली क्रिकेटको स्थिति भने गतिलो छैन । मैदानभित्र खेलाडीले जति मिहिनेत गरेका छन्, त्यसको छेउछाउ पनि मैदान बाहिर भइरहेको छैन । पारसले नेपाली क्रिकेटमा तय गरेको एक दशकको यात्रा वास्तवमै अद्वितीय छ । सन् २००९ मा उनी पहिलोपल्ट नेपाली क्रिकेट टिमको कप्तान भए । उनी जन्मजात क्रिकेटमा नेतृत्व गर्न आएका जस्ता खेलाडी हुन्, प्रदर्शन पनि त्यसलाई सुहाउँदो खालकै छ ।


उनको संघर्ष मैदानभित्र मात्र सीमित छैन, मैदान बाहिर पनि उनलाई यस्तै संघर्ष गर्नुपरेको छ । सन् २०१४ त्यही वर्ष हो, जति बेलादेखि उनले नेपाली क्रिकेटको प्रशासन चलाइरहेकासँग पनि जोरी खोज्नुपर्‍यो । वल्र्ड ट्वान्टी–ट्वान्टी खेलेर फर्केपछि । पारसले नेपाली क्रिकेट पदाधिकारीविरुद्ध त्यही बोले, जुन सत्य थियो । कामै नगर्ने, गर्न खोज्नेलाई पनि हटाउन खोज्ने, खेलमा भन्दा पनि राजनीतिमा बढी रुचि राख्नेविरुद्ध पारसले नबोले कसले बोल्ने ? स्थिति ठ्याक्कै यस्तै थियो ।


त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) माथि एकपछि अर्को आर्थिक अनियमितताको आरोप लागिरहेको थियो । यता पारसले मैदानमा भने अविश्वसनीय यात्रा तय गरिरहे । सन् २०१२ ताका नेपाल आईसीसी वल्र्ड क्रिकेट लिगको डिभिजन–फोरतिर थियो । साँच्चै अहिले विश्वास नहुन सक्छ, नेपाल वान डे खेल्न विश्व क्रिकेटको कान्छो सदस्य देश भएको छ । फेरि भन्नै पर्छ, यी सबै उपलब्धिमा पारसको बलियो र दाँज्नै नसकिने योगदान छ ।


नामिबियामा भएको वल्र्ड क्रिकेट लिग डिभिजन–टु र जिम्बावेमा भएको आईसीसी वल्र्डकप क्वालिफायरमा नेपालले खेलेको खेललाई कसरी कसैले बिर्सन सक्छ र ? र, यसैबीच अर्को विश्वास नै गर्न सकिने तथ्य के हो भने यी सबै उपलब्धि आईसीसीबाट क्यानमाथि लागेको प्रतिबन्धकै बेला प्राप्त भएको छ । सन् २०१६ मा क्यान निलम्बनमा परेको थियो, अब त त्यो पनि दुई वर्षभन्दा बढी भइसकेको छ । यो निलम्बन कहिले हट्छ, त्यसको कुनै छाँट देखिन्न ।


अहिले जति काम भइरहेको छ, सबै आईसीसीकै रेखदेखमा भइरहेको छ । नेपाली क्रिकेटले यति धेरै उपलब्धि हात पार्दा पनि जस लिने अवसर पाएका छैनन्, क्यानका कुनै न कुनै समय जोडिएका पदाधिकारीहरूले । त्यसैले पारसका भूमिका पनि बढेका छन् । क्यान नभएर नै हो, पारस छनोटकर्ता पनि हुनुपरेको छ ।


त्यति मात्र होइन, पर्दा पछाडिबाटै सही, उनलाई प्रतियोगिता आयोजना गर्नुपर्ने स्थिति पनि छ । यस्तोमा उनले आलोचक पनि कमाउने नै भए । यी सबै तथ्यलाई उनले मनभित्रै साँचेर राखेका छन् र नेपाली क्रिकेटको राम्रो होस् भनेर त्यसलाई पचाएका पनि छन् । त्यसैले भलाद्मी पाराले भन्ने गर्छन्, ‘यी सबै देशका लागि राम्रो गर्ने प्रयास मात्र हुन् ।’ क्रिकेटमा कप्तानले राम्रो खेल्यो भने त्यसलाई ‘क्याप्टेन्स नक’ भन्ने गरिन्छ ।


अहिले पारसले त्यति मात्र गरिरहेका छैनन्, एक प्रकारले नेपाली क्रिकेटलाई नै आफ्नो काँधमा बोकेर हिँडिरहेका छन् । त्यसलाई ‘कप्तानी इनिङ्स’ भन्न करै लाग्छ, मैदान बाहिर पनि ।

प्रकाशित : फाल्गुन ७, २०७५ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?