कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खेलाडी उत्पादन

सातामा नियमित तीन खेल खेल्नुपर्ने र डेढ—दुई महिनाभित्रै सकिने नेपाली पाराको लिगले स्तरीय खेलाडी उत्पादन गर्न गाह्रै हुन्छ । यस्तोमा स्तरीय खेल अपेक्षा गर्नु पनि बेवकुफी हुन्छ ।
राजु घिसिङ

काठमाडौँ — एकेडेमी । बीस वर्षअघि केन्द्रमा एउटा । राजधानीबाहिर तीनवटा । फुटबलमा ठूलै नारा चलेको थियो । एकताका चारै एकेडेमी चले । तर दशक बढी भइसक्यो ललितपुरकै सातदोबाटोमा मात्रै सीमित छ एन्फा एकेडेमी ।

खेलाडी उत्पादन

अखिल नेपाल फुटबल संघ (एन्फा) ले धरान, बुटवल र पोखरा एकेडेमीलाई निरन्तरता दिएन । बुटवलमा जिल्ला संघले इज्जत धानेको छ ।

यी सबै काम गणेश थापाको कार्यकालमा भएका थिए । दुई दशकभन्दा बढी नेपाली फुटबल हाँकेका उनी अहिले भ्रष्टाचारको अभियोगमा प्रतिबन्धित अवस्थामा छन् । उनका विरोधीका रूपमा अगाडि सरेका कर्माछिरिङ शेर्पाले एन्फाको बागडोर सम्हालेको नौ महिना भयो । उनले सातै प्रदेशमा एकेडेमी सञ्चालन गर्ने नारा चुनावअघि लगाएका थिए, अध्यक्ष बनेयता पनि लगाइरहेकै छन् । तर नारालाई काममा उतार्ने खाकासम्म पनि बाहिर आएको छैन ।

२०५४ सालमा एन्फा एकेडेमी सुरु हुँदा गणेश थापा र नेपाली फुटबलको अन्तर्राष्ट्रिय रूपमै खुबै प्रशंसा भएको थियो । त्यस बेला एन्फाले १२—१३ वर्षका ४० खेलाडी छनोट गरेर आवासीय एकेडेमी सञ्चालन गरिएको थियो । ती खेलाडी अहिले ३३—३४ वर्षका हुनुपर्ने हो । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि यही उमेरका हुन् ।

उनी ३४ वर्षमा पनि सुपरस्टारकै रूपमा चम्किरहेका छन् । उस्तै उमेरका एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडीहरू भने मैदानमा होइन, फुटबलमै पनि छन् कि छैनन् भनेर खोज्नुपर्ने अवस्था छ । विजय गुरुङबाहेक लगभग सबै खेलाडीले २७—२८ वर्ष पुग्दा नपुग्दलै बुट थन्क्याइसकेका थिए, जति बेला करिअरकै उत्कृष्ट लयमा खेल्नुपर्ने उमेर हो ।

हुन त अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को अनुदानको भरमा चलिरहेको एन्फाको कुनै पनि कामलाई युरोपको त्यो सम्बृद्ध फुटबलसँग दाँज्न मिल्दैन । पहिलो त व्यावसायिक लिग नियमित नहुनु खेलाडी पलायनको मुख्य कारण हो । हामीलाई यस्तो लिग चाहिएको छ कि जुन लामो अवधि (आठ—नौ महिना) सञ्चालन होस् । त्यसले खेलाडीलाई बाह्रै महिना रोजगारी दिन सक्छ । अनिमात्रै फुटबलमा करिअर राम्रो हुन्छ, भविष्य उज्ज्वल देख्न सकिन्छ ।

राजधानीका क्लबहरूले खेल्ने सहिद स्मारक ए डिभिजन लिग नै नेपालको सबभन्दा ठूलो प्रतियोगिता हो । २०४६ सालयता ए डिभिजन लिगलाई आधुनिक लिग मानिन्छ । तर ए डिभिजन लिग २९ वर्षयता ११ पल्टमात्र सञ्चालन भयो । पाँच वर्षपछि पुन: थालिएको लिगको पछिल्लो संस्करण रेलिगेसन नहुने प्रावधानसहित गरिएको थियो, जसले प्रतिस्पर्धाको रोमाञ्चकता लुटिदियो ।

लिग नै देशको फुटबलको आधार हो, जसले उसको स्तर मापन गर्छ । नेपालमा भइरहेका खहरे खोलाजस्ता लिगले न देशको फुटबलको स्तर मापन गर्छ न त फुटबलको मेरुदण्ड मानिएको लिगको परिभाषालाई न्याय गर्छ । गर्छ त केबल फुटबल भजाएर मोजमस्ती लिनेहरूका लागि उत्सव ल्याइदिन्छ । नेपाली फुटबलमा नेतृत्व परिवर्तन भए पनि यो परम्परा निरन्तर छ ।

मोफसलमा गोल्डकपका नाममा राष्ट्रियस्तरका नकआउट प्रतियोगिता बर्सेनि दुई दर्जनजति सञ्चालन हुन्छन् । एन्फामा काण्डैकाण्ड भइरहँदा नेपाली फुटबल यही मोफसलका प्रतियोगिताहरूले धानिदियो । तर, नकआउट प्रतियोगिता फुटबल विकासको आधार होइन न त खेलाडी उत्पादनका लागि उपयुक्त प्रतियोगिता ।

एकपछि अर्को गर्दै नियमित खेलिरहन पाउने लिग नै खेलाडी उत्पादनका लागि सबभन्दा राम्रो प्रतियोगिता हो । तर, सातामा नियमित तीन खेल खेल्नुपर्ने र डेढ—दुई महिनाभित्रै सकिने नेपाली पाराको लिगले स्तरीय खेलाडी उत्पादन गर्न गाह्रै हुन्छ र यस्तोमा स्तरीय खेल अपेक्षा गर्नु पनि बेवकुफी हुन्छ ।

सन् २०१६ मा ११ महिनाभित्र नेपाली टिमले तीन उपाधि जित्यो । राष्ट्रिय टिमले बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कप । यू २३ टिमले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक । त्यस बेला एन्फाको भ्रष्टाचार काण्ड उत्कर्षमा पुगेको थियो र फिफा, एएफसीबाट बजेट आएर पनि एन्फाले लिग सञ्चालन गरेको थिएन । साफ च्याम्पियनसिपको २६ वर्षे इतिहासमा फाइनल पनि पुग्न नसकेको नेपालले हात पारेका बंगबन्धु, सोलिडारिटी र १२ औं सागको उपाधि अनपेक्षित थियो ।


विशेषत: बंगबन्धु गोल्डकपको, जसले साग र हालसम्मकै ठूलो सफलता सोलिडारिटी कपको सफलताको आधार खडा गरेको थियो ।

यी तीन उपाधि यात्रा नेपाली फुटबल इतिहासकै स्वर्णिम काल हो । टिम च्याम्पियन भयो र सर्वत्र वाहवाही पायो । त्यस बेला नेपाली फुटबलको भित्री गुदी (मुख्य पक्ष) भने खोक्रो थियो । अहिले पनि धरातल उस्तै छ ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको अवस्थामा नेपाली टिमले ठूल्ठूला सफलता हासिल गर्दै एकपछि अर्को इतिहासको पन्ना थपिरहेको छ । त्यसले फुटबल समर्थकलाई पनि विकेट र रनको आकर्षणले मोहित पारिरहेको छ । सबभन्दा लोकप्रिय खेलका रूपमा नेपालमा पनि फुटबललाई क्रिकेटले विस्थापित गर्ने संकेत देखाएको छ ।

क्रिकेटमा सफलताको क्रेजले नयाँ प्रतिभालाई तानिरहेको छ । फुटबलमा भने तीन उपाधि जित्दाको उत्साहलाई ‘क्यास’ गर्न सकेन । ती तीन उपाधि यात्रामा नवयुग श्रेष्ठ खुबै चम्किए । तर उनी एकेडेमीका खेलाडी होइनन् । न त अनिल गुरुङ नै एकेडेमीका थिए ।

त्यस बेला प्रशिक्षकलाई खेलाडी छनोट गर्न २५—२७ जनाभन्दा बढी उपलब्ध थिएन । अहिलेको अवस्था अझै नाजुक छ । यसको मुख्य कारण व्यवस्थित लिग नियमित नहुनु नै हो । राष्ट्रिय टिममा एकेडेमीका खेलाडीकै बाहुल्य भए पनि एन्फाको करोडौं लगानीले त्यस्तो सुपरस्टार जन्माउन सकेको छैन । र, एकेडेमीले देशको स्तरलाई उकास्न पनि सकेको छैन । त्यस आधारमा एन्फाको आफैं एकेडेमीको अवधारणा पुरानो भइसक्यो ।

आधुनिक फुटबलमा देशको फुटबलको सर्वोच्च संस्था आफंैले एकेडेमी सञ्चालन गर्ने पनि होइन । संघले त लिगलाई व्यवस्थित र व्यावसायिक बनाएर नियमित सञ्चालन गर्ने अनि त्यस लिगमा खेल्ने क्लबहरूलाई फुटबल विकासको आधार बनाउनुपर्छ । फुटबल एकेडेमी क्लबहरूले चलाउनुपर्छ र यो विश्वव्यापी सत्य पनि हो । नेपालमा क्लब पन्छिने र एन्फा आफैं एकेडेमी चलाएर जस लिने गर्छ । यो गलत हो ।

अन्तर्राष्ट्रिय फुटबलमा सफल देशहरूका लिग खेल्ने क्लबले एकेडेमी सञ्चालन गर्नैपर्ने प्रावधान हुन्छ । जहाँ ७—८ वर्षदेखि २१—२२ वर्षसम्मका खेलाडीले प्रशिक्षण गर्छन् । एकेडेमी सञ्चालन नगरे सुविधा कटौती हुन्छ, लिगमा क्लबको हैसियत खोसिन्छ । हामीसँग भने लिग खेल्ने त्यस्तो कुनै क्लब छैन, जसले एकेडेमी सञ्चालन गरेको छ । क्लबलाई विकासे ढोकाको साँचोमा ढाल्न नसक्नु एन्फाकै कमजोरी हो र यसमा क्लबहरू पनि जिम्मेवार नभएकै हुन् ।

क्लबले एकेडेमी, स्कुल र उमेर समूहको लिग नियमित सञ्चालन गर्नुपर्छ । स्तरीय खेलाडी उत्पादन हुने उमर समूहदेखि नै नियमित प्रशिक्षण र प्रतिस्पर्धाबाटै हो । नेपालमा पनि यस्तै लिग वा प्रतियोगिताको खाँचो छ, जुन एक दुई साताभित्रका केही खेलमै सीमित नहोस् । यस्ता प्रतियोगितामा लिग खेल्ने क्लबहरूको सहभागितालाई अनिवार्य गर्नुपर्छ ।

क्लबहरू लिगको मुखैमा खेलाडी खोजिरहेका हुन्छन् । आफैं एकेडेमी सञ्चालन गर्ने हो भने त्यसरी खेलाडीको खोजीमा तड्पिनुपर्ने अवस्था आउँदैन । त्यसका लागि क्लबहरूले ग्रासरुट फुटबलमा लगानी गर्नु आवश्यक छ, जसले आफ्नै खेलाडी उत्पादन गर्न सक्छ ।

फ्रेन्चाइज टिमको आधारमा नेपाल सुपर लिग गर्ने ठूला घरानाका एक व्यवसायीले घोषणा गरे । तर, उनको घोषणा एउटा अर्को प्रतियोगिता थप्नेबाहेक केही होइन भनेजस्तो थियो । भारतको आईएसएलको नक्कल गर्न खोजिएको नेपाल सुपरलिगको हरेक टिमले पनि एकेडेमी सञ्चालन, ग्रासरुट फुटबलमा लगानी गर्‍यो भने मात्रै त्यसले नेपाली फुटबलको स्तर बृद्धि गर्न सक्छ । अर्को पक्ष, देशमा भइरहेका ठूल्ठूला गोल्डकपसँगै उमेर समूह (यू १४, यू १६, यू १९, यू २१) का प्रतियोगिता पनि सञ्चालन गर्नु आवश्यक छ, जसले नयाँ खेलाडी उत्पादन गर्न सक्छ ।

बाक्लो बस्ती र सहरीकरणका कारण खेल्ने मैदान दिनदिनै घटिरहेको छ । बालबालिहका शारीरिक व्यायाम हुने खेलमा होइन, डिजिटल भर्सनको प्रतियोगितामै व्यस्त हुन थालका छन् । फुटबलजस्ता खेलका लागि यो अर्को चुनौती हो । त्यसैले पनि बेलैमा मैदान सुरक्षित गरेर बालबालिकालाई खेल्ने वातावरण मिलाइदिनुपर्छ ।

एन्फाको पोल गाड्ने अभियानलाई अब बल खेल्ने संस्कृतिमा ढाल्नु आवश्यक भइसकेको छ । भएको एउटा रंगशाला पनि महाभूकम्प २०७२ ले ध्वस्त बनाइदियो र यो अहिलेसम्म तयार हुन सकेको छैन । स्तर बृद्धि गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न, लोभलाग्दो माहोल सिर्जन गर्न पनि वैकल्पिक रंगशाला अत्यावश्यक भइसकेको छ । एन्फा आफैंले पनि फुटबल रंगशाला बनाउन नसक्ने होइन । यसका लागि इच्छाशक्ति र सकारात्मक सोंच हुनु जरुरी छ । अनि सरकारको लगानी पनि ।

आर्थिक कमजोरी वा सामाजिक परिवेश । यस्तै कुनै कारण हुन सक्छ, हाम्रोजस्तो विकासोन्मुख देशका ठूलाबडा धन, पैसामुखी हुने गर्छन् । काम पनि त्यस्तै गर्छन् । एन्फाले पनि यू १५ का बच्चालाई पनि सफलता हात पारेपछि नगद पुरस्कार दिइरहेको छ । यस्ता सम्मानले युवा खेलाडीलाई पैसामुखी बनाइरहेको छ । युवा खेलाडीलाई पैसा होइन, प्रतिभा निखार्ने अवसर दिनुपर्छ । प्रतिभाले भरिपूर्ण भइसकेपछि खेलेर पैसा आफैँ कमाउन सक्छन् ।

रोहित चन्द र किरण चेम्जोङ अहिलेका स्टार खेलाडी हुन् । उनीहरू बिदामा पनि शारीरिक व्यायाम गरिरहेका भेटिन्छन् र जहिले पनि खेल्नलाई फिट भएर बस्छन् । अरू नेपाली फुटबलरलाई भने प्रतियोगिताका लागि शारीरिक रूपमा फिट हुन पहिला बेग्लै प्रशिक्षण गराउनुपर्ने आवश्यकता छ । यस्ता अपरिपक्व व्यवहार हाम्रा खेलाडीले पनि त्याग्नुपर्छ । अनिमात्रै जुनसुकै बेला स्तरीय खेल पस्कन सकिन्छ ।

प्रकाशित : फाल्गुन ७, २०७५ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?