कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गंगालालको छातीका अतिरिक्त तीन गोली

हिजोको गंगालालले आफूलाई शहादतका निम्ति तयार पार्न शरीर र व्यक्तिगत सुख त्यागे पुग्थ्यो । आजका नरशमशेरहरुले चलाएको गोलीबाट घाइते हुँदै गएका गंगालालहरु शरीर, व्यक्ति र समाजको सम्बन्ध अनि त्यसप्रतिको दायित्वबारे नै रनभुल्ल हुँदैछन् ।
आहुति

काठमाडौँ — विसं १९९७ मा शहादत प्राप्त गर्ने चारमध्ये सबैभन्दा कान्छा गंगालाल श्रेष्ठ २२ वर्षका थिए । त्यस अन्धकार युगमा उदाउँदो उमेरको युवाले बाँच्न दिएको भीखको अवसरसमेत सोझै अस्वीकार गरी जुन साहसिक शहादत रोज्यो, त्यसले सामन्तवादविरुद्ध नेपाली युवा भविष्यसम्म कसरी लड्नेछ भन्ने प्रस्ट संकेत गर्‍यो । गंगालालको शहादतबाट सुरु भएको नेपालका युवाको बलिदानको सिलसिला आजसम्म थामिएको छैन ।

गंगालालको छातीका अतिरिक्त तीन गोली

गोली ठोक्ने नरशमशेरको क्रूर ताण्डव पनि रोकिने सुरसार छैन । आजका युवा गंगालाल नै त हुन् ।युवाको भविष्य ध्वस्त पार्नेहरू चाहिँ वर्तमानका नरशमशेरहरू !


बेरोजगारी, दुर्व्यसन, अपराध, निराशा, बाध्यात्मक विद्रोह, यौन व्यवसाय आदि आजका गंगालालहरूले बेहोर्नुपरेका दुर्भाग्यको पुनरुत्पादन गर्न नरशमशेरहरूले चलाएका गोलीहरूबारे हिजोदेखि आजसम्म प्रशस्त छलफल हुँदै आएको छ । तर, आधुनिक प्रविधिको जन्ती लगाएर अकूत नाफाको बग्गीमा सवार व्यक्तिवाद र उपभोक्तावादको गोली बर्साउँदै सहर हुँदै गाउँदेहात पसेको अत्याधुनिक नरशमशेरबारे भने असाध्यै कम चर्चा, गुनासो अनि आक्रोश छ । हो, हिजोका गंगालालले छातीमा थाप्नु नपरेका तर आजका नरशमशेरहरूले युवाको छातीमा ताकेर प्रहार गरेका अतिरिक्त तीन गोली र तिनको असरबारे पञ्चायती खडा गरी गम्भीर संवाद गर्न ढिला भइसकेको छ ।


पञ्चायतीमा पहिलो मुद्दा : प्रेमको गोली

विपरीतलिंगी मानिसबीच यौनलाई केन्द्रीय भूमिकामा राखेर जुन प्रेम हुन्छ, त्यो आजको युवाको आवश्यकता र सपना दुवै हो । आजजस्तो सम्बन्धलाई प्रेम भनिन्छ त्यस्तो सम्बन्ध पुँजीवादी युगको सुरुआतभन्दा पहिले थिएन । मानव समाजले गुजारेका सबै युगमा महिला र पुरुषबीच यौनिक सम्बन्ध थियो तर त्यो प्रेमका रूपमा थिएन । पुँजीवादी युगभन्दा ठीक अगाडिको सामन्तवादी समाजमा यौन जीवन व्यवस्थित गर्न मूलत: तीन प्रकारका विवाह प्रणाली देखिन्छन्— मागी विवाह, लुटी विवाह र भागी विवाह । यी तीन विवाहमध्ये भागी विवाह त्यतिबेलाको विद्रोही विवाहको रूप थियो । कुल, धर्म, परम्पराजस्ता स्थापित मानदण्ड अस्वीकार गरेर विवाहका निम्ति स्वेच्छाले भाग्ने ती जोडी नै आजका प्रेमीहरूका पुर्खा जोडी थिए । कठोर सामन्तवादी युगमा समेत जोडी रोज्ने उनीहरूको चाहनाले मानवमा अन्तरनिहित यौन जीवनको उन्नत सांस्कृतिक गुदीलाई व्यक्त गर्छ । पशु र मानिसबीचको यौन जीवन जोडी खोज्ने कुरामा होइन, जोडी रोज्ने सारमा भिन्न छ । पशुले जोडी खोज्छ तर मानिसले चाहिँ भेटेकामध्ये पनि रोज्न मन पराउँछ । पुँजीवादी युग सुरु भएपछि सामन्तवादी समाजमा पृथक् धर्म, जाति, संस्कृति र इलाकामा रहेर आफ्नै तोकिएको मानव समूहभित्र मात्र अरूले जुराइदिएको व्यक्तिसँग विवाह गर्ने अभ्यासका युवकयुवती यौटै कारखाना, यौटै औद्योगिक क्षेत्र र बजारमा जम्मा हुन बाध्य भए । मजदुरका रूपमा जम्मा हुन पुगेका युवकयुवती आफ्नो जोडी खोज्न पुरानो गाउँमा जानुभन्दा सँगै काम गर्ने र धेरै पटक भेट हुनेसँग सम्बन्ध बनाउन सजिलो हुन थाल्यो । पुँजीवादलाई श्रमसँग मतलब थियो, सामन्तवादी प्रथा, परम्परासँग होइन । जोडी रोज्दा पुँजीवादलाई आपत्ति भएन । यसरी आफ्नो यौन जोडी आफैंले खोजेर रोज्ने महिला–पुरुषबीचको नयाँ सम्बन्ध देखा पर्‍यो । त्यो सम्बन्ध प्रेम भयो ।


औद्योगिक पुँजीवादी युगमा विकसित प्रेमका मुख्य चार विशेषता थिए । एक, जोडी खोज्ने र रोज्ने स्वतन्त्रता । दुई, परम्परागत बन्धनबाट मुक्ति । तीन, महिला र पुरुषबीच समानतातिर यात्राको प्रारम्भ । र चार, रोज्ने स्वतन्त्रता हुनाले सम्बन्धविच्छेदको पनि अधिकार । प्रेमको अवधारणाभन्दा पहिले वैवाहिक जीवनका निम्ति महिलाको स्वीकृति आवश्यक थिएन तर समाजले नभई पुरुषले महिलालाई राजी गराउनुपर्ने हुनाले महिलाले आफ्नो रुचि व्यक्त गर्ने अधिकार स्वत: प्राप्त गर्न पुगे । यसरी प्रेमको जन्मदाता मजदुर वर्ग थियो र महिलाका निम्ति प्रेम स्वतन्त्रताको पहिलो अनुभूति !


संस्कृतिमा फेरबदल आउँदा पुरानो युगको मानव हितकारी पक्ष नयाँभित्रै परिमार्जित भएर आउने नियम प्रेमका सम्बन्धमा पनि लागू भयो । त्यो थियो प्रेमपछि एकअर्काप्रति दीर्घकालीन समर्पण । प्रेमले सम्बन्धविच्छेदलाई मान्यता दियो तर त्यसलाई दुर्घटनाका रूपमा । एकअर्काप्रतिको समर्पणलाई चाहिँ प्रेमको मान्यताले जीवनको ऊर्जादायी मूल्य बनायो । यो मूल्य समाज र महिलाका पक्षमा थियो । व्यभिचारी पुरुषलाई सदाचारतिर ढल्कायो । तर, आजको पुँजीवाद दुई सय वर्षअघिको जस्तो रहेन । ज्यादा सामान बिक्रीका लागि उपभोक्तावादी विचारद्वारा आम समाजलाई यसले हस्तक्षप गरेको छ र हरेक वस्तुलाई टिकाउ हैन, प्रयोग गरेर फालिहाल्न प्रशिक्षित गरिरहेछ । आधारभूत वस्तु उपभोग गर्ने उपभोक्ता बन्नु स्वाभाविक हो । अनावश्यक उपभोगलाई जीवनको लक्ष्य र आनन्दको स्रोत बनाउने प्रवृत्तिचाहिँ उपभोक्तावाद हो । उपभोक्तावादी विचारले यौटै काम गर्ने वस्तु भए पनि पटक–पटक फेर्न उक्साउँछ । त्यसो गर्दा पुँजीपति वर्गको उत्पादन बढी किन्न उपभोक्ता अभ्यस्त हुँदै जान्छ । उपभोक्तावादी विचारको आक्रमणबाट सबैभन्दा बढी आज युवा गंगालालहरूको मनोदशा गन्जागोल हुन पुगेको छ । यो आजको नरशमशेरले चलाएको घातक गोली हो ।


हिजोको समाजप्रति उत्तरदायी समर्पणको गुण भएको प्रेम क्रमश: अल्पमतमा पर्दै छ । त्यसको स्थानमा दुई तिहाइतिर अघि बढ्दै छ उपभोक्तावादी प्रेम । मोबाइलको नयाँ संस्करण फेर्न बरु छ महिना लाग्ला, प्रेमी वा प्रेमिका एक सातामै फेरिने प्रवृत्ति बढेको छ । यहाँसम्म कि फेसबुकबाट इन्स्टाग्राममा पुग्दा पुरानो प्रेमी छोडिइसक्छ वा नयाँ प्रेमिका जन्मिइसक्छ । प्रेम फगत उपभोगको वस्तु भएपछि पुँजीवादले सिकाएकै छ कि बढीभन्दा बढी उपभोग गर्ने नै सबैभन्दा महान् हो । विवाहित वा अविवाहित युवायुवतीमा प्रेम गोप्य वा खुला रूपमा शरीर चाख्ने अभियान बन्दै छ । प्रेममा न्यूनतम दुई व्यक्ति हुन्छन् र तेस्रो सन्तान त्यसैको परिणाम हुन्छ । यसरी प्रेमबाट समाज बन्छ तर आजको कथित प्रेम आफ्नो निम्ति मात्रमा परिणत हुँदै छ । यो प्रवृत्ति समाजविरोधी छ । सबैभन्दा बढी वेश्यावृत्ति गर्ने महिला, पुरुष नै सबैभन्दा बढी अतृप्त हुन्छन् भन्ने यथार्थ आजको उपभोक्तावादी प्रेमीहरूमा पनि लागू हुन्छ । यस्तो कथित प्रेमले युवामा कृत्रिम अतृप्ति, यौनिक कुलत, परिवारको अनावश्यक विघटनजस्ता समस्या ल्याएकै छ । सबैभन्दा महत्त्वपूर्ण कुरा स्त्री–पुरुषबीचको प्रेममय सम्बन्धको गहन ऊर्जाबाट जीवनलाई सिर्जनशील बनाउँदै लैजाने गम्भीर अवसरबाट आजका गंगालालहरू वञ्चित हुँदै गइरहेछन् । युवाको जीवनलाई सजिलै तलवितल पार्न सक्ने यस उपभोक्तावादी प्रेमको गोलीको प्रतिरोध गंगालालहरूले कसरी गर्छन् ? आजका गंगालालहरूका अभिभावकले चाहिँ कसरी आफ्ना उत्तराधिकारीलाई सघाउँछन्, यो निकै महत्त्वपूर्ण प्रश्न हो ।


पञ्चायतीमा दोस्रो मुद्दा : “पोर्न” को गोली

विश्वव्यापी राइँदाइँ गरेको पुँजीवादी व्यवस्थामा यौन सिनेमा अर्थात् ‘पोर्न’ सिनेमा उद्योग विश्वव्यापी पुँजीवादको सबैभन्दा ठूलो पुँजी निर्माण गर्नेमध्येको एउटा क्षेत्र मान्न थालिएको छ । यी सिनेमाको मुख्य उपभोक्ता युवकयुवती हुन् र नेपाली युवा पङ्क्तिको ठूलो हिस्सा यस्ता सिनेमाको अम्मली बन्दै गइरहेछ । किशोर उमेरकी पत्नी हसिना देवीलाई एक्लो बनाएर समाजका निम्ति शहादत दिने गंगालालको यौनबारे सोच र ‘पोर्न’ मा रम्ने आजको युवाको हिस्साबीच साइनो गाँसिदिनुसमेत डरमर्दो अप्ठ्यारो हो । तर, यो आजका गंगालालहरूको विषय हो, साइनो त उमेरका कारण गाँसिन्छ नै ।


आजका गंगालालहरूका छातीमा दागिएको यो ‘पोर्न’ को गोली यति डरलाग्दो देखिन्छ कि यसले प्रचार गर्ने ज्ञानले पुरुष वा महिलालाई केवल शरीरधारी जनावरको रूपमा बुझ्न सिकाउँछ । यस्ता सिनेमाले मानिसलाई पशुभन्दा तल गिर्न प्रेरित गर्छ । पशुले आफ्नो वंश निरन्तरताका निम्ति यौनलाई प्रयोग गर्छ तर ‘पोर्न’ सिनेमाले युवालाई यौनको उपादेयता शारीरिक उत्तेजनात्मक हर्कतमा सीमित बुझ्न प्रशिक्षित गर्छ । न व्यक्तिको आत्मिक प्रगति न समाजप्रति सम्बन्धको दायित्व मानौं यौन सम्बन्ध भनेको दुईवटा निर्जीव ढुंगालाई जुधाएर झिल्का निकाल्नु हो । यस्ता सिनेमाको वैचारिकी यत्तिमै सीमित हुन्छ । जीवन्त समाजको मानिस के फगत ढुंगा हो ? यौनलाई प्रेम र समाजप्रतिको दायित्वबाट अलग पार्ने ‘पोर्न’ वैचारिकीले युवाको शरीरजन्य संवेदना बेच्दै युवालाई भित्रभित्रै खोक्रो बनाइरहेछ ।


युवा विचारसहितको हुन्छ । समाजप्रति गहन दायित्वबोधसहितको हुन्छ । तब उसको शरीरसँग मात्र खेल्ने ‘पोर्न’ युवकयुवतीका निम्ति बलात्कारी खेलबाड हो । सामन्तवादी समाज र पहिलेको पुँजीवादी समाजका महिला, पुरुषद्वारा गरिने वेश्यावृत्ति व्यापक युवामाथि हावी थिएन । युवा–प्रौढको सानो हिस्सा त्यसको अम्मली हुन्थ्यो । समाजको प्रत्येक घरभित्र वेश्यावृत्ति आउन सम्भव थिएन । आजको विज्ञान प्रविधिको बलमा घरभित्र मात्र होइन, युवाको हात हातमा ‘पोर्न’ चौबीसै घण्टा हाजिर छ । यो निकै डरलाग्दो परिवेश हो । नेपालका कथित समाजवादी शासकहरूले इन्टरनेटमा ‘पोर्न’ रोक्ने हास्यास्पद गफ पनि दिए । त्यो तिनको बुताको विषय थिएन र रोकिएको पनि छैन । यो ‘पोर्न’ को आक्रमणले युवकयुवतीको हराभरा सिर्जनशील वैंशालु समय भित्रभित्रै मानसिक विकार र कचिंगलमय बन्दैछ । अझ योभन्दा हजारौं गुणा बढी खतरनाक बुझाइ ‘पोर्न’ ले स्थापित गर्दै छ ।


त्यो बुझाइ नयाँ युगमा महिलाको यौनिक स्वभावलाई अमानवीय र कृत्रिम ढंगले प्रस्तुत गरेर पितृसत्तावादको नयाँ अध्यायका रूपमा निर्माण गरिंदै छ । ‘पोर्न’ सिनेमामा युवतीलाई यौन कर्मका प्राकृतिक अप्राकृतिक उपायद्वारा यातना दिँदा उनीहरू बढी आनन्दित र खुसी हुने सन्देश दिएर युवकलाई महिलामाथि बढी हिंस्रक हुन प्रशिक्षित गरिँदै छ । युवतीलाई पुरुषका त्यस्तो अत्याचारमय गतिविधि स्वाभाविक मान्न कर लगाइँदै छ । पूर्वीय यौनशास्त्रको एउटा पुस्तक कोकशास्त्रमा भन्दा हजारौं गुणा बढी महिलाको कामूक विम्ब बनाउन र उनीहरूमाथि अपमान गर्न ‘पोर्न’ ले उक्साउँदैछ । आजका युवा यौनमा ‘वाइल्ड’ हुने चाहनासहित रेस्टुराँमा गफिन्छन् । बाफरे १ खलनायक पितृसत्ताको युगान्तकारी राक्षसी पुनर्जन्म हुँदै छ । गंगालालहरूमध्ये आधा त युवती हुन् । सहरिया एक जमात युवती साथीहरूबीच छेडछाड गर्छन्, ‘मलाई त त्यस्तो धेरै हेर्न मन लाग्दैन ।’ मतलब ठिक्कको आदत त बसिसक्यो । यस्तो डरलाग्दो वैचारिकी गाउँ–देहातमा मज्जाले पसिसक्यो । आज ‘पोर्न’ को विषयमा प्राय: प्रौढ मौन बस्छन् । चल्तीका राजनीतिक पार्टीहरूले यससँग जुध्न सक्ने युवाको बौद्धिक क्षमता निर्माण गर्ने एजेन्डा बनाउने त ‘सिम सिम राजाकै पालामा’ होला । विश्वविद्यालयहरूले यसबारे सकारात्मक पाठ्यक्रमचाहिं ‘इन्द्रेको बाउ चन्द्रे’ कुलपति नियुक्त भएपछि हुनसक्ला । ठोकेरै भन्न गाह्रो छ, ‘रिसर्च’ वाला तथ्यांक उपलब्ध छैन तर विश्वविद्यालयका विभिन्न अंगमा क्रियाशील व्यक्तिहरू, राजनीतिज्ञलगायत समाजको प्रतिष्ठित मानिने जमात ‘पोर्न’ बारे जानकार मात्र हैन, धेरथोर त्यसको उपभोक्ता पनि भइरहेको लख काट्दा त्यो आरोप बन्ने अवस्था छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा ‘पोर्न’ को घातक रूप र सारबारे खुलेरै बहस भइरहेको छ । नेपालको बौद्धिक जमात भने हाकाहाकी वहस जोत्न सिङ तिखारिरहेको छैन । गंगालालहरूको भविष्यको सवाल छ, बौद्धिकहरू लजाएर काम चल्दैन ।


पञ्चायतीमा तेस्रो मुद्दा : अपरिचित गोली

एउटा अपरिचित गोली अर्थात् विशिष्ट माहोलले आजका युवालाई अन्योलग्रस्त बनाइरहेको छ । यस्तो माहोलबारे नेपाली समाजको बौद्धिक क्षेत्रमा खासै बहस जन्मिन सकेको छैन । इजरायली इतिहासकार हरारीले विश्व मानव समाजले यस्तो अवस्था पनि भोग्नुपर्नेबारे यदाकदा प्रश्न उठाउन खोजेको भेटिन्छ । त्यस्तो माहोल अथवा अवस्था भनेको स्वाभाविक रैथाने चेतनाको गतिमाथि बाहिरी चेतनाको अस्वाभाविक गतिको हस्तक्षेप हो । सम्भवत: कम विकसित भनिएका मुलुकका जनता त्यसमा पनि युवा यस्तो परिघटनाको सिकार बढी छन् । यसलाई सरलीकृत गरेर उदाहरणमा राखौँ । एउटा बाह्र वर्षभन्दा मुनिको बच्चा सडक पार गर्दै छ । सडकमा तीव्र गतिमा मोटरसाइकल आइरहेछ । बच्चाले मोटरसाइकल आएको देखेको छ । मोटरसाइकल चालक ढुक्क छ कि बच्चाले देखेको हुनाले ऊ रोकिनेछ वा छिट्टै सडक काटेर जानेछ तर बच्चा अल्मलिन्छ र दुर्घटना हुन पुग्छ । यो घटनामा समस्या के हो त ? बाह्र वर्षभन्दा मुनिको बच्चाको मस्तिष्क दूरी र गतिको सही हिसाब गर्ने गरी विकास भइसकेको हुँदैन जुन कुरा मोटरसाइकल चालकले नबुझ्दा दुर्घटना भएको हो ।


यस घटनामा प्रस्टै बुझ्न सकिन्छ कि बच्चाको स्वाभाविक चेतनाको गतिमाथि अर्को चेतनाको अस्वाभाविक गतिको हस्तक्षेप हुन पुग्यो । कसैले भनिदिन सक्छ बच्चाले गल्ती गर्‍यो तर गल्ती बच्चाको हुँदै होइन । भौतिक चालमा पनि यस विषयलाई बुझ्न सकिन्छ । बाइकपछाडि तपाईं बस्नुभयो तर चालकले एक्कासि बाइक ह्वात्तै उड्ने गतिमा हाँक्यो भने तपाईं लड्ने सम्भावना बढी हुन्छ । त्यसो हुनाको कारण तपाईंको चेतना जुन गतिको निम्ति तयार थियो, त्योभन्दा अस्वाभाविक गतिले लड्न पुगेको हो । प्रत्येक समाजको चेतना विकासको आफ्नै मौलिक गति हुन्छ । त्यस सामाजिक गतिले व्यक्तिको चेतनाको विकासको गति पनि निर्धारित हुन पुगेको हुन्छ । जब कुनै व्यक्ति वा समाजको चेतनाको गतिसँग ठ्याक्कै नमिल्ने वा उसले धान्नै गाह्रो हुने स्तरमा बाहिरी चेतनाको अस्वाभाविक गतिले त्यस समाज वा व्यक्तिमाथि हस्तक्षेप गर्छ, त्यतिबेला अन्योल र दुर्घटना देखापर्न थाल्छन् । आजका नेपालका युवकयुवती यस्तै बाहिरी चेतनाको अस्वाभाविक गतिको प्रहारको सिकार भएका छन् । तीव्र गतिमा विज्ञान प्रविधिमा भएको विकास र त्यसमार्फत नेपालमा आइपुगेका असीमितझैं लाग्ने ठीक वा बेठीक चेतनाको बाढीले युवामा गहिरो अन्योल सिर्जना गरिदिएको छ । त्यो बाहिरी चेतनाको बाढीलाई नेपाली समाजको चेतना विकासको गतिले पचाउन वा तालमेल मिलाउन सकिरहेको छैन । परिमाणमा युवा बिग्रिएको निष्कर्षसहितको सुस्केरा सतहमा व्याप्त छ तर युवाको आन्तरिक चेतनामा परेको अन्योलको जोल्ठिङतिर समाजको ध्यान पुग्नै पाएको छैन । यो निकै भयानक परिघटना हो ।


परम्परागत पहिरनबाट महिलाले सहर बजारमा पाइन्ट लगाउने स्थितिसम्म पुग्न झन्डै आधा शताब्दी लाग्ने चेतनाको गति भएको समाजमा सर्वांग नाङ्गो हुनु पनि साधारण अवस्था मानिने चेतना ह्वात्तै एक्कासि हातहातमा पुगेपछि अन्योलमा युवा रन्थनाइरहेछ ।तब त अन्योलग्रस्त किशोरकिशोरी दोबाटोमा बिहानै अँगालो मारिरहेका हुन्छन् । आधारभूत आवश्यकता घरबाटै उपलब्ध छ तर डुल्न हैन,आफूले कमसल मान्दै आएको काम गर्न भए पनि अस्ट्रेलिया नगई नछाड्ने युवाको मनोविज्ञान यही अन्योलको परिणाम हैन ? हत्या, बलात्कार, पलायन, कुलत, पारिवारिक विघटनजस्ता युवामा विकराल बन्न खोजिरहेका समस्याका पछाडि परम्परागत सूत्रबद्ध कारण मात्र छैनन् भनी अब बुझ्नैपर्छ । बरु बाहिरी चेतनाको अस्वाभाविक गतिको चापले ल्याएको अन्योलको भूमिका गम्भीर रूपमा त्यस्ता घटनाहरूमा लुकेका छन् ।


सामान्यतया एक संस्कृति र अर्को संस्कृतिबीच अन्तरक्रिया हुँदा धेरथोर यस प्रकारको अन्योल सबै युगमा सबैजसो समाजमा देखा परेकै हुन्थे । अहिलेको परिघटनाको पनि प्रक्रियागत स्वरूप आधारभूत रूपमा त्यस्तै हो । तर, फरक र महत्त्वपूर्ण के हो भने अहिलेको परिघटनामा बाहिरी चेतनाको अस्वाभाविक गतिको तीव्रता र मात्राको घनत्व गुणात्मक रूपमा भयानक हुन पुग्यो । यतिखेर नेपाली समाजको चेतना विकासको गति र बाहिरी चेतनाको हस्तक्षेपलाई सन्तुलन गरी ठीक निर्णय लिन सक्ने चेतना अभिवृद्धिका लागि व्यापक युवामाझ ‘चेतना थेरापी’ कै अभियान चलाउनुपर्ने आवश्यकता टड्कारो बनेको छ । समाजका विभिन्न तप्काका बौद्धिकले केही न केही पहल थाल्न विलम्ब भइसकेको छ ।


यसप्रकार हिजोको गंगालालले आफूलाई शहादतका निम्ति तयार पार्न शरीर र व्यक्तिगत सुख त्यागे पुग्थ्यो । आजका नरशमशेरहरूले चलाएको गोलीबाट घाइते हुँदै गएका गंगालालहरू त शरीर, व्यक्ति र समाजको सम्बन्ध अनि त्यसप्रतिको दायित्वबारे नै रनभुल्ल हुदैछन् । आजका गंगालालहरू हिजोको गंगालालजस्तो आफ्नो समयको शत्रु र मित्र ठम्याउने प्रस्ट वैचारिकतामा कसरी पुग्लान् ? गंगालालहरू र गंगालालहरूका दौतरी बौद्धिकले सोचौं अनि निशेष हुन बाँकी शेष पुस्ताका बौद्धिकले पनि । विषय प्रस्ट छ– वैचारिक रूपमा गंगालाल र गंगालालहरूले ठीक बाटो नसोझ्याएसम्म भविष्य उज्ज्वल हुनेछैन ।

प्रकाशित : फाल्गुन ८, २०७५ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?