प्रवास पौरख

ज्ञान–अनुभव साटासाट गर्ने र विदेशबाट आर्जित सीप–पुँजीबाट रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्यका साथ वैदेशिक रोजगारबाट फर्केका युवा संगठितसमेत हुन थालेका छन् । 
जनकराज सापकोटा

काठमाडौँ — वैदेशिक रोजगार विभागको तथ्यांकले प्रत्येक दिन औसत १२ सय नेपाली रोजगारीको खोजीमा प्रवास पस्ने गरेको बताउँछ । कामको खोजीमा प्रवास गएर फर्किनेहरूको संख्या कति छ भन्ने जवाफ भने विभागसँग छैन । वैदेशिक रोजगारीको अनुभव सँगालेर फर्किएका नेपाली के गरिरहेका छन् ? के उनीहरूको श्रम, सीप र पुँजीको उपयोग भइरहेको छ ? वर्षौंसम्म परिवार र समाजबाट अलग्गिएर बसेका उनीहरूलाई सामाजिक अन्तरघुलनको समस्याले पिरोलेको छ कि छैन ? विदेशबाट फर्किएका नेपालीहरू संगठिन हुन थालेपछि यस्ता सवालमा पछिल्लो समय चासो बढ्दै गएको छ 

प्रवास पौरख

मलेसियाबाट फर्केका कामदारले हालै ‘मलेसिया रिटर्नी समाज नेपाल’ गठन गरेका छन् । ‘मलेसियामा काम गरेर नेपाल फर्केकाहरूलाई एकत्रित गर्न र उनीहरूको श्रम र सीपअनुसार रोजगारीको सम्भावना खोजी र अनुभव आदानप्रदान गर्न साझा चौतारी बनाएका हौं,’ समाजका महासचिव रामचन्द्र नेपालले भने ।


मलेसियाबाट हालै फर्केका रामचन्द्रको अनुभवले भन्छ, ‘वर्षौं नेपाली समाजबाट टाढिएका कारण प्रवासबाट फर्किएका कामदारहरू समाजमा घुल्न सकेका छैनन्, बदलिँदो समाजमा अवसरहरू खोज्न पनि सकिरहेका छैनन् ।’ उनको बुझाइमा परिवारको गर्जो टार्दै केही लाख रुपैयाँ जोगाएर नेपाल फर्केकाहरू उपयुक्त क्षेत्रमा लगानी कसरी गर्ने भन्ने चिन्तामा छन् । वैदेशिक रोजगारीबाट फर्केका कामदारहरूको यही चिन्ता र चासो देखेरै उनीलगायतले पहल गरेर संस्था खोलेका हुन् । पुसको मध्यमा काठमाडौंमा भएको पहिलो भेलाले २१ जनाको केन्द्रीय कमिटी बनाएको छ । समाजले सातै प्रदेशमा एक–एक संयोजन समिति गठन गर्ने निर्णय पनि गरेको छ । महासचिव रामचन्द्रका अनुसार संस्थाले सरकारले दिने सहुलियत ऋणका लागि सहजीकरण गर्ने, लगानीको अवसर खोज्ने योजना बनाएको छ ।


मलेसियाबाटै फर्केका ८ कामदारले अनामनगरमा सहयात्रा रेस्टुरेन्ट चलाएका छन् । अरू तीन जनाको गोंगबुमा सहयात्रा टेलरिङ सेन्टर खुलेको छ । समाजले कम्पनी रजिस्ट्रारको कार्यालयमा सहयात्रा यातायात प्रालि दर्ता गरेको छ । मलेसियाबाट फर्केका कामदारले ५० देखि २ लाख रुपैयाँसम्म लगानी गर्न सक्ने गरी सेयर वितरण गरेर सार्वजनिक सवारी चलाउने तयारी छ ।


रामचन्द्रका अनुसार प्रवासको कमाइ लगानी गर्ने ज्ञानको अभाव र लगानीलाई सहजीकरण गर्ने सरकारी अभ्यास नहुँदा वैदेशिक रोजगारीबाट फर्किएकाहरू अलमलमा पर्ने गरेका छन् । ‘कैयन् त अलमलकै बीचमा कमाएको पैसा गुमाएर फेरि वैदेशिक रोजगारीको अवसर खोज्न म्यानपावर वा दलाल भेट्न बाध्य छन्,’ उनले भने ।

विदेशबाट फर्केका कामदार संगठित हुने, ज्ञान–अनुभव साटासाट गर्ने र फर्केका कामदारहरूको सीप र पुँजीबाट रोजगारीको अवसर सिर्जना गर्ने भनेरै ‘रिटर्नी माइग्रेन्ट नेपाल’ नामक संस्था पनि गठन भएको छ । गत असार २७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर यो संस्थाले आफ्नो यात्रा सुरु गरेको थियो ।


१३ वर्ष दुबई बसेर फर्केका उत्तम अधिकारीलाई नेपाल फर्केपछि महिनौंसम्म के गर्ने र कसो गर्ने भन्ने अलमल थियो । वर्षांैसम्म आफ्नो गाउँठाउँबाट टाढा बसेर काम गरेका उनलाई नयाँ अवसर के हुन सक्छ भन्नेबारे बुझाउने संयन्त्र थिएन । उनले वैदेशिक रोजगारीबाट फर्केका कामदारहरूकै संस्थाको खाँचो महसुस गरे ।


उत्तमले भने, ‘वैदेशिक रोजगारीबाट फर्केकाहरूको सामाजिक पुन:स्थापनामा राज्यको कुनै पहल छैन । यसरी फर्केका कामदारहरू एक्ला मात्रै छैनन्, अलमलमा पनि छन् ।’ उनका अनुसार वैदेशिक रोजगारीबाट वर्षौंपछि फर्केकाहरूको सामाजिक परिचय खुम्चिएको छ र उनीहरू परिवार र समाजमा राम्ररी घुलमिल हुन सकिरहेका छैनन् । उनले भने, ‘यस्तो अवस्थाबाट पार पाउन हामीले संस्था खोलेका हौं ।’ साढे दुई वर्षअघि नेपाल फर्किएका उत्तमका अनुसार यो संस्थाले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई रोजगारीको पहल गर्ने, उद्यमशील बनाउने र लगानीको सम्भावित क्षेत्रको पहिचान गर्ने काममा सघाउने गर्छ । यो संस्थाले वैदेशिक रोजगारीबाट फर्केका कामदारहरूसँग भएको लगानी सही ठाउँमा लगाउन सहजीकरण गर्नेछ । संस्थाले अहिले लगानी बोर्ड बनाएर वैदेशिक रोजगारीबाट फर्केका कामदारहरूको सीप र पुँजी सदुपयोग गर्ने सोच बनाएको छ ।


इजरायलको कृषि फार्ममा ६ वर्ष श्रम बगाएर २०६७ मा नेपाल फर्केका राजन मैनालीले नेपाल फर्किनेबित्तिकै प्रवासमा सिकेको सीप र पुँजी प्रयोग गरेर तरकारी फार्म सुरु गरे । उनको पहिलो प्रयासमा कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र इजरायलबाटै फर्केका अन्य कामदारको पनि लगानी मिसिएको थियो । मह एग्रिकल्चरका नाममा सुरु गरिएको तरकारी फार्मले सफलता दिन नसकेपछि र लगानीकर्ताबीच कुरा नमिलेपछि उनी त्यसबाट अलग्गिए । पहिलो ६ वर्षे असफलताबाट नआत्तिएका राजन पछिल्लो चार वर्षयता तीन साथीसहित किसान एग्रिकल्चर चलाएर बसेका छन् । सातदोबाटोमा रहेको उनको संस्थाले अहिले थोपा सिँचाइ, ग्रिन हाउस र नेट हाउसका सेवा प्रदान मात्रै गर्दैन, तरकारी खेती गर्न चाहनेलाई तीनमहिने कृषि तालिम पनि दिन्छ ।


राजनका अनुसार वैदेशिक रोजगारीबाट फर्केकालाई लगानीमैत्री वातावरण निर्माण गर्ने पहल भइसकेको छैन । ‘नेपाली समाजमा कामको मूल्यांकन गर्ने संस्कार बसिसकेको छैन,’ उनले भने, ‘इमानदार भएर कर्म गर्दा परिवार चलाउन र छोराछोरीलाई राम्रो शिक्षा दिने गरी अर्थोपार्जन गर्न भने सकिन्छ ।’ वैदेशिक रोजगारीबाट केही पैसा र आत्मविश्वास कमाएर फर्किएका धेरैजसो नेपालीमा हतारहतार करोडौं लगानी गर्ने, तामझाम गरेर उद्घाटन गर्ने अनि मुनाफामा पनि हतार गर्ने समस्या उनले देखेका छन् । आफैं काममा नघोटिएसम्म केही नहुने उनी बताउँछन् ।


गुल्मी भार्सेका टीकाराम श्रीशले जीवनको ऊर्जाशील २७ वर्ष प्रवासमा बिताए । २० वर्षको उमेरमा मलेसिया छिरेका उनले त्यहाँको माटो मात्रै खनिखोस्री गरेनन्, आफ्नो बैंस पनि उतै निखारे । उमेरको सिँढी चढ्दै ५० को सेरोफेरोमा पुगेका उनी स्वदेशमै केही गर्ने जोस बोकेर १३ महिनाअघि नेपाल फर्के । टीकाले आफ्नै गाउँमा किवी, सुन्तला, अगरउडको व्यावसायिक खेती र बाख्रापालन सुरु गरेका छन् । झन्डै सय हाराहारी सुन्तला र किबी, दुई सयवटा अगरउड रोपेका उनले ५२ वटा बाख्रा पालेका छन् । ३५ लाख रुपैयाँको लगानीमा नमुना बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म सुरु गरेका टीकालाई आफ्नै देशमा केही गरेर देखाउने उत्साह बढेको छ । यही उत्साहले लपेटिएर उनले बुटवलमा पनि ग्रिन हाउस सञ्चालनको तयारी गर्दैछन् । उनी भन्छन्, ‘आफ्नै गाउँठाउँमा आफूले जानेको सीपअनुसार के–के गर्न सकिन्छ भनेर राम्रो योजना बनाइयो भने दु:ख हुँदैन ।’

गाउँमै केही गर्न खोजेका टीकाको उत्साहमा गुल्मीको सत्यवती गाउँपालिकाले पनि सहयोग गरेको छ । गाउँपालिकाले उनलाई थोपा सिँचाइ गर्नका लागि हालै १ लाख ५० हजार अनुदान दियो । उनले भने, ‘वर्षौं परदेश बसेर फर्केपछि झनै धेरैको माया र साथ पाइँदोरहेछ ।’


नेपाली समाज मूलत: प्रवासीको कमाइमा बाँचेको छ । वर्षौं परदेशमा काम गरेर फर्केकाहरूको हिस्सा समाजमा ठूलो छ । वैदेशिक रोजगारीबाट फर्किएका प्रतिनिधि पात्र र तिनीहरूले खोलेका संस्थाहरूको गतिविधिका आधारमा मात्रै वैदेशिक रोजगारीबाट फर्केका कामदारको समग्र विश्लेषण गर्न सकिँदैन ।


वैदेशिक रोजगारीका क्षेत्रमा अध्ययन र अनुसन्धान गरिरहेका नीलाम्बर बडाल वैदेशिक रोजगारीबाट फर्किनेहरूको सामाजिक पुन:स्थापनाका निम्ति धेरै काम गर्नुपर्ने देख्छन् । वर्षौंको प्रवास बसाइबाट फर्किनेहरू बदलिँदो समाजमा अन्तरघुलन गराउन र उनीहरूका द्विविधा हटाउन सरकारले नीतिगत पहल गर्नुपर्ने उनी बताउँछन् । जस्तो कि, विदेशको सडक सञ्जाल, बजारको सुविधा र अन्य विकास देखेर फर्केका कामदारलाई आफ्नो देशमा पनि त्यस्तै अपेक्षा हुन्छ । ‘जब उनीहरू घर फर्किन्छन् र यहाँको असुविधा, सामाजिक समस्या, सरकारी प्रणालीको ढिलाइ र परिवार र समाजको अपेक्षा एकैसाथ देख्छन् तब उनीहरू अलमलमा पर्छन्,’ बडालले भने,’ ‘वैदेशिक रोजगारीबाट फर्केका कामदारहरूलाई सम्बोधन गर्ने सरकारी नीति जरुरी छ ।’


सरकारले वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई लक्षित गरेर केही काम नै नगरेको भने होइन । हालैमात्र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई अर्थोपार्जनको उद्यम गर्न सजिलो होस् भनेर ऋण दिने प्रक्रिया सुरु गरेको छ । सुरुवाती चरणमा बोर्डले विभिन्न उद्यम सञ्चालन गर्न चाहनेहरूको आवेदन मागेको थियो । वैदेशिक रोजगारीबाट फर्केका १८ हजार ७ सय ३१ कामदारले आफूले गर्न खोजेको कामको प्रकृति र लगानी खुलाएर गत कात्तिकदेखि पुस मसान्तसम्ममा बोर्डमा आवेदन बुझाएका थिए । बोर्डले यस्तो तथ्यांक संकलन गरेपछि अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्र बैंकलाई पठाउने बोर्डका उपसचिव दीनबन्धु सुवेदीले जानकारी दिए । उनका अनुसार आवेदनका आधारमा कसलाई कति प्रतिशत सहुलियत दिने बैंकले निर्धारण गर्नेछ । सुवेदीका अनुसार यस्तो आवेदनको विश्लेषणबाट युवा केमा स्वावलम्बी बन्न खोज्दैछन् भन्नेबारे जानकारी हासिल हुनेछ ।


वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप र पुँजीलाई उपयोग गर्न सरकारले विभिन्न समयमा ऐन र निर्देशिका पनि जारी गरेको छ । तर यसले उति आश्वस्त पार्न सकेको पाइँदैन । जस्तो कि, नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/६७ देखि प्रवासी कामदार र वैदेशिक रोजगारीबाट फर्केको चार महिना नपुगेका कामदारलाई लक्षित गरेर वैदेशिक रोजगार बचतपत्र सुरु गरेको थियो । २०७४ अन्तिमसम्म १४ विभिन्न योजनामार्फत १० अर्ब ५८ करोड ७९ लाख रुपैयाँ बराबरको बचतपत्र निष्कासन गरे पनि जम्मा ५ दशमलव १५ प्रतिशत अर्थात् ५६ करोड ५७ लाख रुपैयाँ बराबरको बचतपत्र मात्रै बिक्री भयो । बचतपत्रमार्फत वैदेशिक रोजगारीमा रहेका कामदारको आम्दानी बचत गराउने र उनीहरू स्वदेश फर्केपछि उक्त बचतबाट लगानीको वातावरण बनाउने सरकारको योजना हो तर व्यावहारिक कठिनाइ, सूचना प्रसारको परम्परागत शैलीका कारण सफल हुन सकेको छैन ।

वैदेशिक रोजगारीबाट फर्केका कामदारबाट रोजगारी सिर्जना गर्ने नीतिलाई राज्यले अंगीकार गरेको देखिन्छ । संविधान (२०७२) मा वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने भनिएको छ । वैदेशिक रोजगार नीति २०६८ मा वैदेशिक रोजगारीबाट फर्केका कामदारसँग भएको सीप तथा उद्यमशीलता प्रवद्र्धन तथा परिचालित गरिने उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र राष्ट्रिय रोजगार नीति २०७१ मा पनि वैदेशिक रोजगारीबाट फर्केकाहरूको सीप र पुँजी परिचालन गर्ने नीति छ ।


वैदेशिक रोजगारसँग सम्बन्धित नीतिगत विषयमा अनुसन्धान गरिरहेको संस्था ‘ल एन्ड पोलिसी फोरम फर सोसल जस्टिस’ सम्बद्ध कार्यक्रमका संयोजक अनुराग देवकोटा सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई लक्षित गरेर बनाएका नीतिहरू कार्यान्वयन नभएको बताउँछन् । उनका अनुसार फिलिपिन्समा सरकारले श्रम विभागअन्तर्गत ‘नेसनल रिइन्ट्रिगेसन सेन्टर’ स्थापना गरेको छ जसले वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई समाजमा पुन:स्थापना गर्ने र उनीहरूको सीपअनुसार रोजगारीको बाटो देखाइदिने काम गर्छ । ‘वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई काउन्सिलिङ गर्ने, उनीहरूको पुँजी र सीपअनुसार आय आर्जनको बाटो देखाइदिने त्यस्तै सेन्टर नेपालमा पनि जरुरी छ,’ उनले भने । उनी अनेकन ऐन–नियममा केही वाक्य राख्दैमा वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुन:स्थापना सहज नहुने उनी बताउँछन् । ‘विशिष्टीकृत ऐन–नियमको खाँचो पर्छ,’ देवकोटाले भने, ‘वैदेशिक रोजगारीबाट फर्केकाहरूको यकिन तथ्यांकसमेत नराख्ने राज्यले उनीहरूको सीप र पुँजीलाई उपयोग गरेर उत्पादनमूलक क्षेत्र विकास गरिहाल्ला भनेर यतिछिट्टै आस गर्न सकिन्न ।’

प्रकाशित : फाल्गुन ८, २०७५ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?