कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टोलपिच्छे कृषक पाठशाला

डीआर पन्त

डडेलधुरा — गाउँमा कृषि ज्ञान आदानप्रदान गर्न र समस्या सुल्झाउन कहाँ जाने ? कुनै समय कृषि सेवा केन्द्रबाहेक विकल्प थिएन । सामूहिक खेती र उत्पादनबारे त छलफलै हुँदैनथ्यो । परम्परागत कृषि प्रणालीमा आधारित कृषकलाई वर्षभरि मिहिनेत गरेर ३ महिना पनि खान पुग्दैनथ्यो ।

अहिले अवस्था फेरिएको छ । डडेल्धुराका किसानले गाउँमै कृषक पाठशाला बनाएर आफ्ना समस्या समाधानका साथै नयाँ–नयाँ कृषि प्रविधि सिकेर उत्पादन प्रवर्द्धन गरिरहेका छन् ।


गाउँ र टोलैपिच्छे पाठशाला छन् । यिनै पठाशालामा आएर किसानले दिनहुँ कृषि प्रविधि र उत्पादन प्रवर्द्धनका विषयमा छलफल गर्छन् । विषादी प्रयोग नियन्त्रणका लागि किसानबीच बहस हुन्छ । अत्यधिक विषादी प्रयोगका कारण कृषि प्रणाली प्रभावित भएपछि डडेलधुराका किसानले यिनै पाठशालाबाट विषादी रोक्ने उदाहरणीय अभियानसमेत सञ्चालन गरेका छन् । गाउँगाउँमा विषादी प्रयोग रोक्ने मात्र होइन, यसको विकल्पका विषयमा पनि यिनै पाठशालाले अभियान सञ्चालन गरिरहेका छन् ।


‘गाउँगाउँमा खुलेका कृषक पाठशालाले समृद्धिको बाटो खोलिदिएका छन्,’ आलीतालका अगुवा कृषक बिमला मडैले भनिन्, ‘पाठशाला खुलेपछि कृषक आधुनिक कृषि प्रणालीसँग जोडिएका छन् ।’ सबैखाले समस्याको समाधान पाठशालामा हुने उनले बताइन् । ‘नयाँ प्रविधि, आधुनिक खेतीका विषयमा छलफल मात्र होइन, मल उत्पादन, जैविक मलको प्रयोग, मलबाटै विषादी उत्पादनजस्ता विषयमा कृषकले पाठशालाबाट सिकेर उत्पादन गरिरहेका छन्,’ उनले भनिन् ।


गाउँपालिका स्तरमा रहेका प्राविधिक मात्र होइन, पाठशालाले समय–समयमा विभिन्न खेतीका विज्ञलाई समेत बोलाएर कृषकलाई नयाँ प्रविधिबारे सिकाउन थालेका छन् । सामूहिक उत्पादन तथा बजारीकरण गर्न पाठशालाबाटै योजना बन्ने गरेको छ ।


उत्पादन बढाएर बजारीकरण गर्न र विषादीमुक्त उत्पादनका लागि पाठशाला प्रभावकारी मात्र होइन, वरदानै सावित भएको कृषक बताउँछन् । ‘जिल्लाभरिमा ८० वटा कृषक पाठशाला स्थापना गरिएका छन्,’ कृषिप्रसार अधिकृत टेकबहादुर विष्टले भने, ‘साँच्चिकै कृषक पाठशाला अनुमान गरेभन्दा निकै बढी फलदायी भएका छन् ।’


सामाजिक विकासमा समेत पाठशालाले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उनले बताए । ‘कृषकलाई आवश्यक पर्ने हरेक सामग्री पाठशालामा पाउन सकिन्छ,’ उनले भने । बर्सेनि ४ लाखको तरकारी बिक्री गर्ने कृषक अहिले ७ लाखसम्मको तरकारी बेच्न थालेका थालेका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?