सहिददेखि सिद्धिचरणसम्म

'सालिक बनाउन अरू काम जस्तो छिटो हुन्न । वर्षमा ३–४ वटा मात्रै बनाउन सकिन्छ’
कुम्भराज राई

ओखलढुंगा — राणाकालमा मूर्ति वा सालिक भारत या बेलायतबाट बनाएर ल्याइन्थ्यो । मूर्तिकार नै पनि नेपाल निम्त्याउने चलन पनि थियो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले विसं १९८२ मा नेपाली मूर्तिकारको खोजी गरे ।

त्यतिखेर काठमाडौंको बाफलका रत्नबहादुर तुलाधर छानिए । उनलाई पहिलो विश्वयुद्धमा नेपालीले देखाएको बहादुरी देखाउने हिसाबले सैनिकको मूर्ति बनाउन लगाइयो । रत्नबहादुरले बनाएको त्यो न्यु रोड गेटछेउ नेपाली सेनाको अस्पतालमा अझै छ ।

Citizen

मूर्तिकलामा लिच्छविदेखि मल्लकालसम्मको ठूलो योगदान भए पनि राणाकालको यही कलाकृतिलाई नेपालको पहिलो व्यावसायिक मूर्तिका रूपमा दाबी गरिँदै आएको छ ।

हालैको दिन उनै रत्नबहादुरका नाति राजु तुलाधर भेटिए, युगकवि सिद्धिचरण श्रेष्ठको मूर्तिसहित । उनका अनुसार मूर्ति बनाएबापत् श्री ३ चन्द्रशमशेरले हजुरबालाई त्यतिखेर एक थैली मोहर र वार्षिक ७२ मुरी धान बक्सिस दिएका थिए । ‘मिस्त्री’ बाट उनको पद ‘मेम्बर’ मा बढुवा भएको थियो ।

काठमाडौँकै सहिदगेटको मूर्ति निर्माणताका रत्नबहादुर बिते । त्यसपछि उनका छोरा बालकृष्ण तुलाधरले मूर्ति निर्माणलाई निरन्तरता दिए । बालकृष्ण अहिले ८५ वर्षका भइसके । अहिले बालकृष्णका कान्छा छोरा उनै राजुले बाउबाजेको पेसा सम्हालिरहेका छन् । ३९ वर्षीय राजु व्यावसायिक मूर्तिकलामा तेस्रो पुस्ता धानिरहेका छन् ।

राजुले खासै स्कुल पढेनन् । ‘बुवाले सानै उमेरदेखि मूर्ति बनाउने काममा लगाउनुभयो,’ उनले भने । उनका बुवाले २०४४ मा जावलाखेलमा राख्न राजा वीरेन्द्रको सालिक बनाउने काममा संलग्न गराउँदा राजु जम्माजम्मी ९ वर्षका थिए । ‘त्यहीँबाट मैले काम सिक्न थालेको हुँ,’ उनले भने, ‘अहिलेसम्म सयौं काम गरिसकियो । बुवाले काम गर्न नसक्ने भएपछि आफैंले केही कामदारहरू राखेर पेसा धानिरहेको छु ।’

उनका हजुरबुवाले राणाकालीन दरबारहरूभित्र धेरै सालिक बनाएका छन् । सिंहदरबारको सिंह, पशुपतिभित्र राजा महेन्द्र, पद्मोदय हाई स्कुलमा रहेको पद्मशमशेरका सालिक उनका हजुरबुवाले नै बनाएका हुन् ।

उनका बुबाले पनि सैनिक टुँडिखेलका छ जना सैनिकको सालिक, सहिद गेटलगायतका सयौं मूर्तिहरू बनाएका छन् । बुवासँगै मिलेर राजुले त्रिमूर्ति निकेतनमा राखिएका महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण समको मूर्ति बनाए ।

देशविदेशका कैयौं भूभागमा तुलाधर परिवारले बनाएका मूर्तिहरू भेटिन्छन् । दासढुंगादेखि ल्हासा हुँदै सिक्किमसम्म राजुको हातले बनाइएका मूर्तिहरू छन् । अहिले पनि मधेस आन्दोलनमा भत्काइएको छपकैंयाको गिरिजाप्रसाद कोइरालाको सालिकसँगै थुप्रै कलाकृति बनाइरहेका छन् । बुटवलका लागि बनाइएको उजुरसिंह थापाको सालिक अन्तिम चरणमा पुगेको छ । ओखलढुंगामा सिद्धिचरण श्रेष्ठको आठ फिट अग्लो सालिक हालै बनाइसके ।

बलभद्र कुँवर, मदन भण्डारी, पुष्पलाललगायतका सालिक पनि उनले बनाइरहेका छन् । ‘सालिक बनाउनु अरू काम जस्तो छिटो छैन । वर्षमा ३–४ वटा मात्रै बनाउन सकिन्छ,’ राजुले भने ।

उनीहरू खास गरी ढलौटको मूर्ति बनाउँछन् । नेपालमा ढुंगा र धातुको मूर्ति बनाउने फरक मूर्तिकारहरू छन् । तर राजुहरूले हजुरबुवाकै पालादेखि ढलौटको मूर्ति बनाउने गरेका हुन् । ढलौटको मूर्ति बनाउनलाई पहिले माटो र मैनको मूर्ति बनाउनुपर्छ । त्यसपछि ढलौट पगालेर मैनको फ्रेममा हालेपछि मूर्ति तयार हुन्छ । मूर्ति तयार भइसकेपछि बाहिरबाट आवश्यक रंगले लेप गरेर सिँगारिन्छ । ढलौटको मूर्ति अरू मूर्तिभन्दा बलियोहुने गर्छ ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

अब सम्झनामा नेपाली साहित्यको इन्साइक्लोपेडिया

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली साहित्यको इन्साइक्लोपेडिया मानिन्थे उनी । मध्य बानेश्वरस्थित बासस्थानलाई उनले साहित्यिक खोज–अनुसन्धानको भव्य पुस्तकालय बनाएका थिए ।

कुनै पनि लेखक, कृति या साहित्यिक इतिहासको प्रसंग खोजीनीति गर्न उनीकहाँ पुग्दा उनी आफैंले फोटोकपी गरेर दिन्थे । उनै साहित्यिक पत्रकार एवं अन्वेषक शिव रेग्मीको ७७ वर्षको उमेरमा बुधबार मस्तिष्काघातका कारण निधन भएको छ ।

काठमाडौंको बत्तिसपुतलीमा जन्मेका रेग्मी सात वर्षअघि पत्नी बितेपछि मध्य बानेश्वरमा छोरीसित बस्दै आएका थिए । रेग्मीसँग लामो समय संगतमा रहेका साहित्यकार रोचक घिमिरेका अनुसार, बुधबार बिहान ११ बजेसम्म रेग्मी ठिकठाक थिए । आफैंले दारी काटेर घाममा आराम गर्न पल्टेका थिए । एकै छिनमा सास फेर्दा उनी घ्यारघ्यार गर्न थाले । तत्काल सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याइएको उनको एकाध घण्टामै निधन घोषणा गरिएको थियो ।

‘त्यहीँबाट सिधै पशुपति आर्यघाटमा दाहसंस्कार गरिसकेपछि ज्वाइँले फोनमा हामीलाई सुनाए,’ घिमिरेले भने, ‘नेपाली साहित्यिक अनुसन्धान क्षेत्रबाट एउटा नक्षत्र अस्तायो । नेपाली भाषा र साहित्यका लागि यो ठूलो क्षति हो ।’
घिमिरेका अनुसार, दुई दिनअघि मात्रै रेग्मीसँग फोनमा उनको कुराकानी भएको थियो ।

साहित्यिक पत्रिका ‘रचना’ मा रेग्मीले डेढ दशकयता ‘बसिबिँयालो’ स्तम्भ लेख्दै आएका थिए । अनुसार उक्त स्तम्भमा पछिल्लो समय रेग्मीले माध्यमिककालीन साहित्यिक पत्रकारिता अनि त्यति बेलाका पुस्तक र स्रष्टाबारे लेग्दै आएका थिए । ‘यसपटक के लेख्ने भन्ने सोध्नुभएको थियो उहाँले,’ घिमिरेले भने, ‘हिजो मात्रै पनि दिनभर एउटा पत्रिकाका लागि उहाँ अन्तर्वार्ता दिइरहनुभएको थियो । आज यस्तो दुःखद समाचार सुन्नुपर्‍यो ।’

रेग्मीले जीवनको महत्त्वपूर्ण समय सरकारी सेवासँगै नेपाली साहित्यको अध्ययन–अनुसन्धानमा बिताएका थिए । उनले गोरखापत्रमा १९६८ देखि १९९९ सम्म प्रकाशित निबन्धहरूको सम्पादन गरेर किताब निकालेका छन्, ‘एक से एक’ शीर्षकमा । पत्रिकामा छापिएका तर संकलन नगरिएका सिद्धिचरण श्रेष्ठ, शंकर लामिछाने, भूपी शेरचन लगायतका निबन्ध तथा कविताहरू पनि संकलन गरेर उनकै सम्पादनमा पुस्तक निकालेका थिए ।

जुद्धोदय माध्यमिक विद्यालय अध्ययन गरेका उनले एउटा माध्यमिक विद्यालयमा ४ वर्ष पढाएपछि सामुदायिक पुस्तकालयमा काम गर्न थालेका थिए । पुस्तकालयमा काम गर्दा गर्दै साहित्यक खोज–अनुसन्धान र अभिलेखीकरणमा उनको रुचि बढेको थियो । एलएलबी गरेका उनी कानुन मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालय हुँदै निर्वाचन आयोगसम्म काम गरेर उपसचिव पदबाट सेवानिवृत्त भएका थिए ।

साहित्य अन्वेषणकै लागि २०७१ को जगदम्बाश्रीबाट सम्मानित रेग्मीका ‘अतीतका पाना’, ‘खोजीनीति’, ‘महाकवि देवकोटाका भूमिका र निबन्ध’, ‘नेपाली कविताका भूमिका,’ ‘दृष्टि र दृष्टिकोण’, ‘साहित्यिक पत्रकापरिताको संक्षिप्त ग्रन्ध कोष’, ‘खोजीमेली’ लगायतका पुस्तक प्रकाशित छन् ।

‘अब उहाँले जीवनभर लाएर संकलन र अध्ययन गर्नुभएका सामग्रीको संरक्षण र सदुपयोग कसरी हुन्छ ?’ घिमिरेले भने, ‘यो ठूलो चिन्ताको विषय बनेको छ ।’

प्रकाशित : फाल्गुन ९, २०७५ ०८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्