२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सहिददेखि सिद्धिचरणसम्म

'सालिक बनाउन अरू काम जस्तो छिटो हुन्न । वर्षमा ३–४ वटा मात्रै बनाउन सकिन्छ’
कुम्भराज राई

ओखलढुंगा — राणाकालमा मूर्ति वा सालिक भारत या बेलायतबाट बनाएर ल्याइन्थ्यो । मूर्तिकार नै पनि नेपाल निम्त्याउने चलन पनि थियो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले विसं १९८२ मा नेपाली मूर्तिकारको खोजी गरे ।

सहिददेखि सिद्धिचरणसम्म

त्यतिखेर काठमाडौंको बाफलका रत्नबहादुर तुलाधर छानिए । उनलाई पहिलो विश्वयुद्धमा नेपालीले देखाएको बहादुरी देखाउने हिसाबले सैनिकको मूर्ति बनाउन लगाइयो । रत्नबहादुरले बनाएको त्यो न्यु रोड गेटछेउ नेपाली सेनाको अस्पतालमा अझै छ ।


मूर्तिकलामा लिच्छविदेखि मल्लकालसम्मको ठूलो योगदान भए पनि राणाकालको यही कलाकृतिलाई नेपालको पहिलो व्यावसायिक मूर्तिका रूपमा दाबी गरिँदै आएको छ ।


हालैको दिन उनै रत्नबहादुरका नाति राजु तुलाधर भेटिए, युगकवि सिद्धिचरण श्रेष्ठको मूर्तिसहित । उनका अनुसार मूर्ति बनाएबापत् श्री ३ चन्द्रशमशेरले हजुरबालाई त्यतिखेर एक थैली मोहर र वार्षिक ७२ मुरी धान बक्सिस दिएका थिए । ‘मिस्त्री’ बाट उनको पद ‘मेम्बर’ मा बढुवा भएको थियो ।


काठमाडौँकै सहिदगेटको मूर्ति निर्माणताका रत्नबहादुर बिते । त्यसपछि उनका छोरा बालकृष्ण तुलाधरले मूर्ति निर्माणलाई निरन्तरता दिए । बालकृष्ण अहिले ८५ वर्षका भइसके । अहिले बालकृष्णका कान्छा छोरा उनै राजुले बाउबाजेको पेसा सम्हालिरहेका छन् । ३९ वर्षीय राजु व्यावसायिक मूर्तिकलामा तेस्रो पुस्ता धानिरहेका छन् ।


राजुले खासै स्कुल पढेनन् । ‘बुवाले सानै उमेरदेखि मूर्ति बनाउने काममा लगाउनुभयो,’ उनले भने । उनका बुवाले २०४४ मा जावलाखेलमा राख्न राजा वीरेन्द्रको सालिक बनाउने काममा संलग्न गराउँदा राजु जम्माजम्मी ९ वर्षका थिए । ‘त्यहीँबाट मैले काम सिक्न थालेको हुँ,’ उनले भने, ‘अहिलेसम्म सयौं काम गरिसकियो । बुवाले काम गर्न नसक्ने भएपछि आफैंले केही कामदारहरू राखेर पेसा धानिरहेको छु ।’


उनका हजुरबुवाले राणाकालीन दरबारहरूभित्र धेरै सालिक बनाएका छन् । सिंहदरबारको सिंह, पशुपतिभित्र राजा महेन्द्र, पद्मोदय हाई स्कुलमा रहेको पद्मशमशेरका सालिक उनका हजुरबुवाले नै बनाएका हुन् ।


उनका बुबाले पनि सैनिक टुँडिखेलका छ जना सैनिकको सालिक, सहिद गेटलगायतका सयौं मूर्तिहरू बनाएका छन् । बुवासँगै मिलेर राजुले त्रिमूर्ति निकेतनमा राखिएका महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण समको मूर्ति बनाए ।


देशविदेशका कैयौं भूभागमा तुलाधर परिवारले बनाएका मूर्तिहरू भेटिन्छन् । दासढुंगादेखि ल्हासा हुँदै सिक्किमसम्म राजुको हातले बनाइएका मूर्तिहरू छन् । अहिले पनि मधेस आन्दोलनमा भत्काइएको छपकैंयाको गिरिजाप्रसाद कोइरालाको सालिकसँगै थुप्रै कलाकृति बनाइरहेका छन् । बुटवलका लागि बनाइएको उजुरसिंह थापाको सालिक अन्तिम चरणमा पुगेको छ । ओखलढुंगामा सिद्धिचरण श्रेष्ठको आठ फिट अग्लो सालिक हालै बनाइसके ।


बलभद्र कुँवर, मदन भण्डारी, पुष्पलाललगायतका सालिक पनि उनले बनाइरहेका छन् । ‘सालिक बनाउनु अरू काम जस्तो छिटो छैन । वर्षमा ३–४ वटा मात्रै बनाउन सकिन्छ,’ राजुले भने ।


उनीहरू खास गरी ढलौटको मूर्ति बनाउँछन् । नेपालमा ढुंगा र धातुको मूर्ति बनाउने फरक मूर्तिकारहरू छन् । तर राजुहरूले हजुरबुवाकै पालादेखि ढलौटको मूर्ति बनाउने गरेका हुन् । ढलौटको मूर्ति बनाउनलाई पहिले माटो र मैनको मूर्ति बनाउनुपर्छ । त्यसपछि ढलौट पगालेर मैनको फ्रेममा हालेपछि मूर्ति तयार हुन्छ । मूर्ति तयार भइसकेपछि बाहिरबाट आवश्यक रंगले लेप गरेर सिँगारिन्छ । ढलौटको मूर्ति अरू मूर्तिभन्दा बलियो हुने गर्छ ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?