मकैको बिहे !

हरिराम उप्रेती

लाप्राक, गोरखा — दुलाहा र दुलही दुईतिर गाउँलेहरू बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुलाबेहुली सिंगार्दै । धार्चे गाउँपालिका–४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो । दुलाहाको घर ठूलोआँगन, दुलहीको घर फिसी । 

गोरखाको लाप्राकमा मंगलबार मकैको  बिहेमा सहभागी गाउँले  । यसो गर्दा बाली सप्रने उनीहरूको विश्वास छ । तस्बिर : हरिराम/कान्तिपुर

बिहे थियो मकैको ।

Citizen

बिहेका लागि जैसी (ज्योतिष) ले १४ फागुनको साइत जुराएका थिए । कटुवालले गाउँभरि खबर फिँजाएका थिए । तीन दिनअघिदेखि नै बिहे प्रक्रिया सुरु भएको थियो । आइतबार लाप्राककै मनिडाँडामा काङछोय (डाँडामा गरिने पूजा) भयो । सोमबार बेलुकी दुई घोगा मकै ज्योतिषले जमिनमा गाडे । ‘हिजो (सोमबार) वरणी गरियो । त्यसपछि झाँतो चलाउन, मादल बजाउन, मकै भुट्न, होहल्ला गर्न, खनजोत गर्न नहुने मान्यता छ, कसैले गरेनन्,’ स्थानीय बिसबहादुर गुरुङले भने, ‘आज (मंगलबार) साइत हेरी हिजो गाडेको मकै झिकेपछि बिहे सुरु भएको हो ।’

गाउँलेले मंगलबार बिहान ठूलो आँगनबाट दुलाहा अन्माए । गाउँ परिक्रमा गर्दै जन्ती दुलही पक्ष बसेको स्थान फिसी छ्याक्याङ पाखा पुग्यो । जन्तीलाई सिबी चौतारामा दुलही पक्षका आफन्तले छेके । केही रकम दिएपछि जन्ती अघि बढ्यो । ‘यहाँ गाउँलेले पैसा जोहो गर्छन्, जन्तीलाई अलि–अलि पैसा तिराउन पर्छ, बल्ल जान दिने हो, पहिलेदेखि गरिआएको चलन,’ स्थानीय गोविन्द गुरुङले भने । दुलही पक्षले दुलाहा पक्षलाई ठाउँ–ठाउँमा बाटो छेके ।

छ्युाक्याङ पाखामा पातीको बुटामा कपडा बेरेर बनाएको घर पुगेपछि दुलही फकाउन दुलाहा पक्षलाई हम्मेहम्मे पर्‍यो । स्थानीय साइँली गुरुङले दुलहीकी आमा बनेकी करमाया गुरुङलाई फकाउन प्रयास गरिन् । नौतले घर रहेको, सुख सयलले पाल्नेलगायत प्रलोभन देखाइन् । अन्त्यमा एक बोत्तल रक्सी दिएपछि दुलही पक्ष राजी भयो । ‘कन्ये हुनुपर्छ, दुलही लिएर बाजा बजाउँदै गाउँभरि डुल्ने हो,’ साइँलीले भनिन् । एउटै गाउँको बिहे भए पनि जन्ती फेरि ठूलो आँगन पुग्दा साँझको ५ बज्यो ।

मकैको बिहेलाई रमाइलो बनाउन कन्ये केटी र केटालाई दुलाहादुलही बनाउने गरेको गाउँलेले बताए । ‘एउटा घरकाले गच्छेअनुसार मकै दिएको हुन्छ, त्यो मकै आधा भुटेर जन्तीलाई खाजा बाँडिन्छ, नभुटेको मकै बीउ राखेको ठाउँमा मिसाइन्छ,’ बिसानी गुरुङले भनिन् । उक्त मकै बीउमा मिसाउँदा धेरै उब्जनी हुने स्थानीयको विश्वास छ ।

साँझ घाटु नाचेपछि लाप्राकीको यस वर्षको मकै बिहे सकिएको छ । यहाँको मुख्य खाद्य बालीका रूपमा रहेको मकै छर्नेबेला यसरी बिहे गर्दा उब्जनी राम्रो हुने जनविश्वास छ । ‘बिहे नगरी मकै छर्न हुँदैन भन्ने मान्यता छ, यो वर्ष अहिलेसम्म लाप्राकमा कसैले मकै छरेका छैनन्,’ बिसानीले भनिन्, ‘भोलिबाट छर्न सुरु हुन्छ ।’

वडाध्यक्ष राज गुरुङका अनुसार यो परम्परा बोन संस्कृतिमा आधारित छ । धार्चे आसपासका गाउँमा पनि यो चलन छ । ‘यो प्राकृतिक पूजा हो । धर्ती, माटो, हावा, पानीको पूजा गरेपछि अशुभ हुँदैन,’ उनले भने ।

बारी खनजोत गरेर तयारी अवस्थामा राखेका गाउँलेहरूले अब बीउ छर्नेछन् । ‘मानो रोपेर मुरी उब्जाउन पूजा गरिन्छ,’ उनले भने, ‘नांगा जमिनमा हरियाली होस्, धेरै फलोस् भन्ने कामना पनि हो यो ।’

स्थानीयवासीका अनुसार १६औं शताब्दीदेखि यो परम्परा जारी छ ।

प्रकाशित : फाल्गुन १५, २०७५ ०८:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हयातको जग्गा प्रकरण : सञ्चालक समितिको नाममा फर्जी पत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका नामबाट फर्जी पत्र जारी भएको भेटिएको छ । कान्तिपुर दैनिकमा दुई दिनअघि प्रकाशित समाचारको खण्डन पठाउने क्रममा सञ्चालक समितिको निर्णयबिना झूटो विवरण पठाएको भेटिएको हो । 

सरकारी जग्गा कम्पनीका नाममा पास गराउन तारा गाउँ विकास समितिकी तत्कालीन सदस्य सचिव निर्मला पोखरेललगायतले दिएको निवेदन (बायाँ) र कम्पनीका नाममा पास गर्ने भनी समितिले गरेको निर्णयपछिको पत्राचार ।स्रोत : मालपोत कार्यालय चाबहिलको अभिलेख 

लिमिटेडका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले ‘सञ्चालक समितिको निर्देशनअनुसार’ आफूले प्रतिक्रिया पठाएको उल्लेख गरेका छन् । ‘तर पछिल्लो एक साता सञ्चालक समितिको बैठक बस्नु त परको कुरा, त्यसबारे कुनै जानकारीसमेत छैन,’ लिमिटेडका एक सञ्चालक सदस्यले भने, ‘सञ्चालक समितिको निर्णयबिना नै सञ्चालक समितिको आज्ञाका नाममा चिठी पठाउनु फर्जी काम हो ।’ उनले तारागाउँकै इमेल ठेगाना प्रयोग गरेका छन् ।

प्रतिक्रियामा परियारले तारागाउँ विकास समितिको गठन प्रकृति र क्षेत्राधिकारका बारेमा व्याख्या गरेका छन् । जबकि तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले आफ्नो सेयरधनीमध्येको एकको कानुनी हैसियतमाथि व्याख्या गर्नु कुनै अर्थ नभएको यस मामिलामा छानबिन गरिरहेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका एक सदस्यले बताए ।

‘होटलले आफ्नो माउ सेयरधनीका बारेमा टिप्पणी गर्दै हिँड्ने होइन,’ उनले भने, ‘आवश्यक परे तारागाउँ विकास समितिले नै सक्रियता देखाउला ।’

प्रतिक्रियामा अर्को झूटो विवरणसमेत उल्लेख छ । २०४९ मंसिर ४ को मन्त्रिपरिषदको निर्णय भन्दै ‘प्रतिरोपनी १० लाख रुपैयाँका दरले हुने रकम बराबरको सेयर समितिको नाममा लिई १५० रोपनी जग्गाको स्वामित्व कम्पनीको नाममा हस्तान्तरण गर्ने गरी राजीनामा नामसारी गरिदिएको’ भनी उल्लेख गरिएको छ ।

यथार्थमा मन्त्रिपरिषद्ले ‘तारागाउँ विकास समिति र राधेश्याम सर्राफबीच संयुक्त लगानीसम्बन्धी सम्झौता गरी तारागाउँ क्षेत्रमा तारागाउँ रिजेन्सी होटल लिमिटेड स्थापनाका लागि तारागाउँ विकास समितिअन्तर्गत रहेको ३०४ रोपनी जग्गामध्ये १५० रोपनी प्रतिरोपनी १० लाख रुपैयाँका दरले उक्त लिमिटेडमा तारागाउँ विकास समितिले सेयर लगानी गर्ने र बाँकी १५४ रोपनी लिजका रूपमा दिनेबारे पर्यटन मन्त्रालयमार्फत प्रस्तुत विषय उल्लेखभएअनुसार गर्न स्वीकृति दिने ।’ मन्त्रिपरिषद्मा नभएको ‘राजीनामा’ भन्ने शब्दलाई होटलले आफ्नो विज्ञप्तिमा थपेको हो ।

आफ्नो व्यक्तिगत विवरणमा कानुनमा स्नातक उपाधि पाएको भनी खुलाएका नेपाल प्रहरीका पूर्वएसपीसमेत रहेका परियार खण्डनका बारेमा बारम्बार प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहेनन् । उनले इमेलमा मालपोत ऐन, २०३४ को दफा २४ को प्रतिबन्धात्मक व्यवस्थाले सरकारी जग्गा नेपाल सरकारबाट उचित ठहर्‍याएको कुनै कामका लागि व्यवस्था गर्न सक्ने अधिकार दिएको दाबी गर्दै त्यससम्बन्धी नजिरसमेत रहेको जिकिर गरे । तर सरकारी वकिल एवं अन्य अधिकारीका अनुसार सरकारी स्वामित्वको र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता
गर्न मिल्दैन ।

प्रकाशित : फाल्गुन १५, २०७५ ०८:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT