अझै जोतिन्छन् मान्छे

हरिराम उप्रेती

गोरखा — जोत्ने खेत उही हो । हलो, अनौ, फाली, हरिस, सबै उही । हली पनि उस्तै हुन् । फरक के भने गोरुको सट्टा मान्छे नै नारिन्छन् । आधुनिक प्रविधिको विस्तारसँगै गाउँ गाउँका खेतबारी खनजोत गर्न ट्र्याक्टर पुगे पनि उत्तरी गोरखामा भने बारीमा मान्छे जोत्नुपर्ने बाध्यता अझै छ । यहाँ मकैको बीउ छर्ने बेला गोरुले नभई मान्छेले हलो तान्छन् ।

Citizen

धार्चे गाउँपालिका–४, लाप्राकका किसान मकै छर्न व्यस्त छन् । हलो तान्ने र अनौ समाउन व्यस्त बलिया युवा लाप्राकको पाखाबारीमा देखिन्छन् । लाप्राककै पाखोबारीमा गत शनिबार पसिना काढदै थाप्लोमा नाम्लो अड्याएर हलो तान्दै थिए जितान गुरुङ ।

अनौ समातेर घचेट्दै थिए कान्छा गुरुङ । हलोको पछिपछि मकैको बीउ छर्दै थिइन् माया । लाप्राकलगायत यहाँको उत्तरी क्षेत्रमा यसरी मान्छेले हलो तान्ने दृश्य देख्नु नौलो होइन ।

वर्षभरि खाने अन्न उब्जाउन यहाँका स्थानीयलाई थाप्लामा नाम्लो अड्याएर हलो तान्नु बाध्यता हो । मकै रोप्ने सिजन सुरु भएसँगै स्कुले विद्यार्थी पनि साँझ–बिहान हलो तानेर बाबुआमालाई सघाउँछन् । बारीमा ढुंगा भएका ठाउँमा हलो तान्दा भने असजिलो हुने गरेको किसानहरू बताउँछन् ।

‘बाँझो सुर्का भने गोरुले जोत्छ, मान्छेले सक्दैन, मकै छर्ने बेला मात्र मान्छेले तान्ने हो,’ स्थानीय कुलबहादुर गुरुङले भने, ‘गोरुको हल नारेर जोत्नुभन्दा मान्छेले हलो तान्दा समय कम लाग्छ ।’ यहाँका बासिन्दाले मकै बिहेअघि गोरुबाट बाँझो जोती मकै छर्न बारी तयार बनाएर गोठ खर्कमा सारेका छन् । खर्क पुग्न गाउँबाट एक दिनको पैदल यात्रा गर्नुपर्छ । ‘यतिखेर यहाँ वस्तुलाई खुवाउने घाँस पनि कम हुन्छ, गोठालोले गोरु जंगलको चरन क्षेत्रमा लगिसके,’ उनले भने, ‘गोरु फेरि गाउँ ल्याउनुभन्दा मान्छेले जोत्नै सजिलो ।’

गोरुले जोत्दा डल्ला बढी आउने उनले बताए । उनका अनुसार मान्छेले जोत्दा डल्ला त्यति निस्कँदैन र कुटोकोदालो लगाउनु पनि पर्दैन ।लाप्राकको खेतीयोग्य भूमिका गह्रा साँघुरा छन् । ‘साना सुर्कामा गोरु एक सियो जोत्दा फर्काउनुपर्छ, गोरु नअट्ने गरा पनि छन्, सुर्कैपिच्छे गोरु नार्न झन्झट हुन्छ, छेउकुना पनि भेटिँदैन,’ स्थानीय लालबहादुर गुरुङ भन्छन्, ‘यस्तो जग्गामा मान्छेले जोत्दा
सजिलो हुने भयो ।’

सामान्यतः परिवारले मिलीजुली हलो तान्ने, अनौ समात्ने, मकै छर्ने गरेको उनले बताए । ‘घरमा मान्छे नभए अर्मपर्म पनि चल्छ, हलो तान्नेले एक दिनमा ७/८ सय रुपैयाँसम्म ज्याला पाउँछ,’ उनले भने । पछिल्लो समय गोरु पाल्ने किसानको संख्या घटदै जान थालेको पनि स्थानीयको भनाइ छ । ‘एक हल गोरुको १५ सय पर्छ,’ उनले भने, ‘बाँझो जोत्न घरमा गोरु भए त्यही प्रयोग गर्ने नत्र ज्याला दिएर लगाउने हो ।’ जोत्न नसक्ने ठाउँमा कोदालोले खनेर पनि मकै रोप्ने गरिन्छ ।

हलो तान्न पनि जान्नैपर्ने उनको भनाइ छ । ‘लय मिलाउनुपर्छ, जोत्ने मान्छे अनुभवी हुनुपर्‍यो, तान्ने र घचेट्ने दुवैले सावधानी अपनाउनुपर्छ,’ स्थानीय लालबहादुरले भने, ‘हलोलाई हल्का प्रेस गरी धकेले तान्नेलाई सजिलो हुने भयो ।’ धान नफल्ने पाखोबारीमा यतिका दुःख गरी बाली लगाए पनि सोचेजस्तो उब्जनी नहुने स्थानीय भीमबहादुर गुरुङ बताउँछन् ।

‘यहाँ मकैलाई मुख्य खाद्य बालीका रूपमा लिइन्छ, मकै नलाए वर्षभर खान पनि पुग्दैन तर दुःख गरेअनुसार उब्जनी त छैन,’ उनले भने । बारपाक, गुम्दा लापुलगायत क्षेत्रमा पनि मकै छर्ने बेला मान्छेले हलो तान्ने चलन छ ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्

पाथीभरामा जहिल्यै प्रतिकूल मौसममा उडान

उच्चपदस्थ व्यक्तिहरू जसरी पनि मन्दिर पुग्ने र माैसम बिग्रिए पनि पटक–पटककाे प्रयासमा दर्शन गरेर फर्कने गरेका छन्
आनन्द गौतम

ताप्लेजुङ — पाथीभरा क्षेत्रमा विशिष्ट व्यक्तिहरूको प्रायः उडान प्रतिकूल मौसममा हुने गरेको छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत धेरैजसो उच्चपदस्थ व्यक्तिहरू पदमा रहेकै बेला पाथीभरा पुग्ने र प्रतिकूल मौसमबीच मन्दिर दर्शन गरेर र्फकने गरेका छन् । 

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी (राताे खादा लगाएका) गत बुधबार पाथीभारा मन्दिर दर्शन गरी हेलिकप्टरमा उड्नुअघिकाे तस्बिर । तस्बिर साैजन्य : पाथीभरा मन्दिर व्यवस्थापन समिति

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी पाथीभरा दर्शनका लागि पुगेका थिए । मन्दिर परिसरबाट उडेको केहीबेरमै हेलिकप्टर दुर्घटना हुँदा उनीसहित सात जनाको ज्यान गयो । प्रतिकूल मौसम बेवास्ता गर्दै हेलिकप्टर उडाइएकाले दुर्घटनामा परेको टीकाटिप्पणी भइरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी २०७४ कात्तिक १० गते पाथीभरा दर्शनका लागि आएकी थिइन् । बाक्लो कुहिरोका कारण मन्दिर परिसरमा हेलिकप्टर अवतरण हुन नसकेपछि उनी एक घण्टा सदरमुकाम फुङलिङमै रोकिनुपरेको थियो । सेनाको ब्यारेकबाट गरिएको दोस्रो प्रयासमा मात्रै उनी मन्दिर पुग्न सफल भइन् ।

तत्कालीन उपराष्ट्रपति परमानन्द झाले पाथीभरा दर्शन गर्न एक दिन कुर्नुपरेको थियो । काठमाडौंबाट हेलिकप्टरमा आएका उनी मौसम बिगि्रएपछि सदरमुकाम फुङलिङमै बसे । भोलिपल्ट पनि राम्ररी खुलेको थिएन । अघिल्लो दिनभन्दा केही सुधार भएपछि हेलिकप्टरमै मन्दिर परिसरमा ओर्लिएर पाथीभरा दर्शन गरी फर्किए ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको हेलिकप्टर अवतरण हुनै सकेन । सशस्त्र द्वन्द्वमा माओवादीले ध्वस्त बनाएको जिल्ला वन र जनस्वास्थ्य कार्यालयको भवन पुनर्निर्माणपछि उद्घाटनका लागि आएका उनको मुख्य उद्देश्य पाथीभरा दर्शन थियो । दर्शनपछि फर्किएर दुई कार्यालयको भवन उदघाटन गर्ने कार्यसूची थियो । निकैबेर आकाशमा घुमाउँदा पनि मन्दिर परिसरमा हेलिकप्टर अवतरण गर्न नसकेपछि उनले ढिलो गरी सदरमुकाम फर्किएर भवन उद्घाटन गरेका थिए । त्यसलगत्तै काठमाडौं फर्किए । पछि फेरि आएर दर्शन गरेको पुजारीहरू बताउँछन् ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको भ्रमण पनि अनुकूल मौसममा भएको थिएन । स्वागतका लागि मन्दिर पुगेका पाथीभरा क्षेत्र विकास समितिका तत्कालीन अध्यक्ष सजन पौडेलका अनुसार हेलिकप्टर अवतरण गरेको एक मिनेटमै कुहिरोले ढाकिएको थियो । उड्ने बेलाको मौसम पनि राम्रो थिएन । बाक्लो कुहिरैबीच हेलिकप्टर उडेको उनले जानकारी दिए । 'पाइलट सेनाका कर्णेल थिए, उनले हेलिकप्टर सिधै उचाइमा लगेर घुमाए,' पौडेलले थपे, 'अहिले सम्झँदा त्यो मौसम पनि राम्रो होइन रहेछ ।'

तत्कालीन राजा ज्ञानेन्द्र र छोरा पारस चढेको हेलिकप्टर मन्दिर परिसरमा बस्न नसकेपछि काफ्लेपाटीमा अवतरण गराइएको थियो, जुन मन्दिरभन्दा साढे चार किलोमिटर तल हो । 'दरबारकै आयोजनामा मन्दिरमा सप्ताह ज्ञान महायज्ञ लगाइएको थियो,' पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका तत्कालीन उपाध्यक्ष रणबहादुर कार्कीले भने, 'उदघाटन र समापनमा राजा आउने भनेर अनेक पटक प्रयास गरिएको थियो ।'

प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित पाथीभरामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य पनि दर्शनका लागि गएका थिए । ऐश्वर्यले सुनको सिक्री चढाएकी थिइन् । रानीले चढाएको भनेर पछिसम्म त्यो सिक्री राखिएको समिति अध्यक्ष प्रजापति काफ्ले बताउँछन् ।
पुजारी डिल्ली आचार्यका अनुसार तत्कालीन प्रधानमन्त्रीहरू सुशील कोइराला, झलनाथ खनाल र बाबुराम भट्टराई भने पदमा रहँदा पाथीभरा दर्शनका लागि आएका थिएनन् । पूर्वराष्ट्रपति रामवरण यादव पनि पाथीभरा आएनन् । प्रजातन्त्रपछिका बाँकी सबै सरकार प्रमुख दर्शनका लागि आएको उनले बताए ।

मीनेन्द्र रिजाललगायत केही नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा हिँडेरै मन्दिर पुगेका थिए । प्रधानमन्त्री केपी ओली तथा तत्कालीन प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र निर्वाचन गराउन बनेको मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले हेलिकप्टरमै गएर पाथीभरा दर्शन गरेका थिए । प्रधानन्यायाधीशहरू, निर्वाचन आयोगका आयुक्त पनि दर्शनका लागि आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

क्षमापूजा गरियो
मन्त्री अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटनापछि सोमबार मन्दिर परिसरमा क्षमापूजा गरिएको छ । जिल्ला समन्वय समिति संयोजक एवं पाथीभराको भेटी व्यवस्थापन समितिका संयोजक घनेन्द्र मादेनले गएर पूजा गरेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य सचिव उदय भट्टराईले बताए ।

आगामी दिन यस्ता दुर्घटना ननिम्तिऊन् भनेर पाथीभरा मातासँग कामना गरिएको संयोजक मादेनले बताए । पूजामा भट्टराईसहित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका सदस्य कृष्ण सुवेदी र माथिल्लो फेदीका व्यवसायी सहभागी थिए । आफूहरूले मन्त्रोच्चारण गरेर क्षमापूजा गरेको मन्दिरका पुजारी डिल्ली आचार्यले बताए ।

पाथीभरा क्षेत्र विकास समितिले माथिल्लो फेदीमा श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । सभामा एक मिनेट मौनधारण गरिएको थियो । सभालाई जिल्ला समन्वय समिति संयोजक मादेनलगायतले सम्बोधन गरेका थिए । सम्बोधनमा तत्काल घटनास्थलमा पुग्ने जाँगर देखाउने कर्मचारी र स्थानीय बासिन्दालाई धन्यवाद दिइएको थियो ।

दुर्घटना भएको ४५ मिनेटमै माथिल्लो फेदी प्राथमिक स्वास्थ्य केन्द्रका अहेव उमनाथ पौडेल, पाथीभराका कर्मचारी सुमित लिम्बू र प्रहरी जवान उपेन्द्र राई घटनास्थल पुगेका थिए ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्