हिम्मतिला महिला

नारी दिवस
मधु शाही, अमृता अनमोल

बाँके/बुटवल — नेपालगन्ज, धम्बोजीकी चन्द्रकला उप्रेतीको मनमा डर पटक्कै छैन । ६७ वर्षीया उनका दुःखका आँसु समयसँगै सुकिसके । अब उनीसँग विश्वास र लगनशीलतामाक्रै बाँकी छ । १० वर्षे जनयुद्धका त्रममा राज्यपक्षबाट जीवनसाथी बेपत्ता पारिए । स–साना नानीहरू र घरपरिवारको जिम्मेवारी उनको काँधमा आयो ।

साधना महिला विद्यालयमा अध्ययन गर्दै पाका आमाहरू । तस्बिर : अमृता/कान्तिपुर

श्रीमान् बेपत्ता भएपछि आफैंले रोजगारको बाटो खोज्नुबाहेकविकल्प रहेन । सुरुमा उनले घरमै बसेर आलु चिप्स र दालमोटलगायत बनाएर बेच्न थालिन् । तर, ३ सन्तान पढाउन यति कमाइले पुगेन ।

Citizen

उनी सहकारीमा बचत गर्नतिर लागिन् । ज्योतिकुञ्ज महिला सहकारीमा बचतकर्ताका रूपमा सक्रिय भइन् । दैनिक बचत गरेर उनले छोरीलाई स्टाफ नर्स बनाएकी छन् । ‘छोरीले जागिर गर्न थालेपछि सहारा पाएकी छु,’ उनले भनिन्, ‘तर, श्रीमान् अझै आउँछन् कि भन्ने आशा मरेको छैन ।’

बेपत्ता श्रीमान्को पहिचानको खोजीमा उनको संघर्ष अझै जारी छ । न्यायका लागि द्वन्द्वपीडित समाज बाँकेकी अध्यक्षसमेत रहेकी उनीलगायत थुप्रै एकल महिला राज्यसँग लडिरहेका छन् । राज्यसँग उनीहरूको एउटै माग छ, ‘कि लास देऊ, कि सास।’ श्रीमान्ले बीचैमा छाडेको अधुरो सपना पूरा गर्न उनी एक्लै संघर्षरत छिन् । यद्यपि, उनको गुनासो भाग्यभन्दा सरकारसँग छ । घरको जिम्मेवारीसँगै राज्यसँग लडिरहेकी चन्द्रकलाले भनिन्, ‘माग पूरा नहुँदासम्म पछि हड्दिनँ, लडिरहन्छु ।’

कोहलपुर–१२ की ४५ वर्षीया कौशिल्या श्रेष्ठ पनि द्वन्द्वकालमा माओवादी पक्षबाट श्रीमान् बेपत्ता पारिएको बताउँछिन् । घरमै सुतिरहेका बेला माओवादीले लिएर गएको उनले सम्झिइन् । ‘कहिले आउँछन् भन्दै बाटो हेरिरहें, अहिलेसम्म आएनन्,’ उनले भावुक हुँदै भनिन्, ‘आसै आसमा उमेर ढल्किसक्यो ।’

कौशिल्याको एकल कथा अझै चोटिलो छ । पितृसत्तात्मक समाजमा उनी एक्लै भएकीले धेरै पीडा, विभेद र हिंसा खेप्नुपरेको छ । ६ र ७ वर्षका दुई छोरीलाई हुर्काउनु उनको ठूलो जिम्मेवारी थियो । सीप केही थिएन । पढ्न र लेख्न आउँदैन । जानेको सीप भनेकै घरमा भात पकाउनु थियो । ज्याला मजदुरी गरेर केही वर्ष छोरी पढाइन्, तर बिरामी हुँदा घरमा चुल्हो बल्दैनथ्यो । त्यसपछि उनले होटल व्यवसाय गर्न थालिन् । ३/४ वर्ष होटल चलाउँदा उनले एकल महिला भएकै कारण विभिन्न हिंसा खेप्नुपरेको बताइन्। ‘बोक्सी भन्दै होटलमा पिट्नसमेत आए,’ उनले भनिन्, ‘लोग्नेमान्छेसँग त बोल्नै नहुने, नराम्रो सोचिहाल्ने ।’

कसैले केही भने रुने र सहने बानी थियो उनको । समाजको कठोर व्यवहारले उनलाई निडर बनाउँदैछ । आफ्नै कमाइले एकतले घर बनाएकी उनले त्यहीं अर्को सानो छाप्रो हालेर होटल चलाएकी छन् । ‘होटल चलाएरै छोरी पालेकी छु,’ उनले भनिन्, ‘दुःखसँग डराएर होइन, लडेर सफलता पाइन्छ ।’

बर्दियाकी ५१ वर्षीया भीमसरा खाँडले फुटपाथमा फलफूल व्यापार गरेर श्रीमान्को उपचार गरिरहेकी छन् । ५ वर्षदेखि मिर्गौलाका बिरामी श्रीमान्लाई मासिक ६ हजार रुपैयाँ खर्च जुटाउनुपर्छ । उनी एक्लै संघर्ष गर्छिन् । फलफूल बेचेरै छोराछोरी हुर्काएकी उनले अहिले श्रीमान् बचाउन पनि यही व्यापार गरिरहेको बताइन् । भएको जग्गा–जमिन सबै उपचारमा बेचेको उनले सुनाइन् । अब उनीसँग सम्पत्तिका नाममा बास र गाँस जुटाउने आधार फलफूल व्यापार हो । ‘देख्दा सामान्य देखिन्छ, फलफूलमा जस्तो फाइदा केहीमा छैन,’आफ्नो कर्मप्रति सन्तुष्ट हुँदै भनिन्, ‘तर, काम गर्दा लाज भने पटक्कै मान्नुहुन्न ।’

अटोरिक्सा चलाउँदै जयरूपा चौलागाइँ । तस्बिर : मधु/कान्तिपुर

कोहलपुर–२ की गौरीदेवी शर्माको कथा पनि उस्तै छ । २० वर्षअघि श्रीमान् घर छाडेर कहाँ गए, अहिलेसम्म उनले पत्तो पाएकी छैनन् । सिउँदोमा सिन्दुर, हातमा चुरा र गलामा पोतेले पति जीवितै भएको विश्वासमा उनी बाँचेकी छन् । ‘जीवनभर साथ दिन्छु भन्नेले बाटैमा थाहा नदिईछोड्लान् भन्ने कल्पनासमेत गरेकी थिइनँ,’ उनले भनिन्, ‘सिउँदोको सिन्दुर पुछ्न पनि सकेकी छैन ।’ गौरीको मनमा एउटै कुराखड्किएको छ । श्रीमान्ले भन्दै नभनी किन घर छाडेर गए भन्ने कौतुहल छ । ‘सायद केही गल्ती भयो कि ?’ गौरीले भनिन्, ‘जवाफै नपाई मर्छु कि भन्ने डर छ ।’

फुटपाथमै फलफूल व्यापार गरेर जीविकोपार्जन गर्दै आएकी उनी छोरीलाई बीबीएस पढाउन सक्षम भएकी छन् । छोराछोरीले जागिर नखाँदासम्म उनले ठेलामै व्यापार गरेर घर धान्ने बताइन् । ३८ वर्षीया जयरूपा चौलागाइँले श्रीमान्सँग सम्बन्धविच्छेद गरिन् ।

छोराछोरी आफैंले पाल्ने निधो गरिन् । हातमा सीप केही थिएन । होटलमा भाँडा माझेर केही वर्ष गुजारा गरिन् । अर्काको मजदुरी गर्नुभन्दा आफ्नै पौरखमा आम्दानी गर्ने उनको सोच आयो । ५ वर्षअघि अटोरिक्सा चलाउने महिला विरलै भेटिन्थे । उनले पुरुषहरूको माझमा एक्लै अटो चलाउने आँट गरिन् । ‘महिलाले रिक्सा चलाउने भन्दै हाँस्थे,’ उनले विगत सम्झँदै भनिन्, ‘मैले काम गरिरहेँ । अरू जागिर खोज्नै परेको छैन ।’

जयरूपाले अटोरिक्सावाली बनेर सम्मानका साथ परिवार पालेकी छन् । उनको हिम्मत देखेर सिको गर्ने अरू महिला बढ्दै गएका छन् । ‘एकल महिला कहिल्यै कमजोर हुँदैनन्,’ उनले भनिन्, ‘कमजोर छ त हाम्रो समाजको सोच ।’

प्रकाशित : फाल्गुन २४, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

नारीको निर्णय सर्वोपरि

आनन्द गौतम

ताप्लेजुङ — फक्तालुङ गाउँपालिका ६ लेलेपको इलाडाँडामा पैदलमार्ग छेउमै तीन वटामात्रै घर छन् । यो पर्यटकीय गाउँ ओलाङचुङगोला जाने बाटोमा पर्छ । यो यस्तो गाउँ हो, जहाँ ओलाङचुङगोला पुग्न बेलुका बास बस्नुपर्छ अनि बिहानको खाना खाएरमात्रै हिंड्नुपर्छ ।यहाँबाट ओलाङचुङगोला नपुग्दासम्म बीच बाटोमा खाने, बस्ने व्यवस्था छैन ।

फक्तालुङ–६ इलाडाँडाकी ङिमाकिपा शेर्पा । तस्बिर : आनन्द/कान्तिपुर

तमोर नदीको किनारै किनार भएर पुगिने गोलामा उकालो जाँदा हाइअल्टिच्युट हुने भएकाले सुस्तिरको यात्रा गर्नुपर्छ । बिहान ९/१० बजे खाना खाएर हिंडे बेलुका साँझपखसम्ममा पुगिन्छ । हिंडाइका आधारमा समयनिर्धारण हुन्छ ।

होमस्टेजस्तै हुन् यी घर । यहाँ बेलुकाको बास बस्न र बिहानको खाना घरायसी वातावरणमा पाइन्छ । तर, यहाँको अर्को विशेषता भनेको पाहुनाले खाए/बसेको हिसाबचाहिँ आमाहरूले गर्छन् ।

यदि तपाईंले आफ्नो हिसाबको पैसा घरधनी पुरुषलाई बुझाउनुभयो भने पनि त्यो आमाकै हातमा पुग्छ, उत्तिखेरै । हरेक पुरुषले पैसा बुझाउनेलाई कि ‘आमालाई दिनु नि’ भन्छन्, कि त आफैंले थापेर तत्काल आमाको हातमा थमाउँछन् । फिर्ता गर्नुपर्ने भए आमाबाटै हुन्छ ।

ङिमाग्याबु शेर्पासँग १६ वर्षअघि प्रेमविवाह गरेकी कविता लिम्बू आफ्ना पतिले राम्रो व्यवहार गरेको बताउँछिन् । हाँस्दै उनले भनिन्, ‘राम्रै सम्मान गर्छन् र त अन्तरजातीय बिहे गरेको नि ।’ यहाँ दावा र ङिमाकिपा शेर्पा, नाम्ग्या र पासाङल्हामु शेर्पा तथा ङिमाग्याबु र कविता लिम्बू शेर्पाको मात्रै घर छ ।

‘सबै व्यवहार महिलाले गर्ने भएकाले व्यवहार पनि यस्तै देखिएको हो,’ कविताले थपिन्, ‘प्रायः पुरुषहरू ट्रेकिङमा हिंड्ने, बाहिरी काम गर्ने गर्नुहुन्छ, घरायसी व्यवहार हामी गर्छौं ।’ ङिमाकिपा भने आफूले यस्तो व्यवहारआफ्नो सासूबाट सिकेको र आफ्ना सन्ततिलाई पनि यस्तै सिकाएको बताउँछिन् ।

दावा र ङिमाकिपा नाम्ग्या र पासाङल्हामु तथा ङिमाग्याबु र कविताका बाबुआमा तथा सासू–ससुरा हुन् । घरबाहिरको काम गर्ने भए पनि हरेक पुरुषले निर्णय लिनुअघि र कहीँकतै जानुपरे आमालाई सोध््ने गरेको दाबाले सुनाए । तर यो प्रथा यहाँको गाउँमा मात्रै होइन । यो क्षेत्रमै आमाको निर्णय सर्वमान्य हुन्छ । कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने हरेक गाउँमा आमा समूह छ ।

‘आमाले जे निर्णय गर्छन् त्यो गाउँमा कार्यान्वयन हुन्छ,’ कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बोले भने, ‘आमा समूहले वन संरक्षण, डढेलो नियन्त्रण, परिवार नियोजनजस्ता महत्त्वपूर्ण निर्णय गरेका छन् ।’ कार्यान्वयनमा समेत सफलता भएकाले अगुवा महिला तथा समूहलाई अब्राहम संरक्षणलगायत पुरस्कार दिएको उनले बताए ।

आमा समूहले आफ्नो कोषको रकमबाट संरक्षण क्षेत्रका हरेक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिन्छ । यसले विपन्न वर्गकाले उच्चशिक्षा हासिल गर्न पाएको ङिमादिकी शेर्पा बताउँछिन् ।

सभा/सम्मेलनमा उपस्थिति पनि पुरुषको तुलनामा महिलाको बढी हुने फक्तालुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ बताउँछन् । कञ्चनजंघा क्षेक्रमा त्रियाशील समूहमा कोष रकम ४ करोड रुपैयाँभन्दा बढी छ । अहिले सबै रकमलाई सहकारीकरण गरिँदैछ । यसको नेतृत्व पनि आमाहरूले गरिरहेको फेम्बो बताउँछन् ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्