कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तिम्रो मेरो माटो बराबर

अनिश तिवारी

सिन्धुपाल्चोक — उनी पत्नी बनेर भिक्रिइन् । अनि बनिन् त्रमशः बुहारी र आमा । घर आफ्नै हो, परिवार पनि । तर कहिल्यै लागेन– सम्पत्ति आफ्नै । यो वर्षको नारी दिवस भने उनका लागि विशेष बनेर आयो । र, सम्पत्तिको मालिक बनाएर गयो । 

तिम्रो मेरो माटो बराबर

हेलम्बु गाउँपालिका– ४ महाकालकी गोमादेवी तामाङले शुक्रबार श्रीमान् र आफ्नो नाममा संयुक्त लालपुर्जा पाइन् । ‘श्रीमान् बराबर दुःख गरें । समान अधिकारको प्रमाण पाएकाले बल्ल श्रमको सम्मान भएको ठानेकी छु,’ उनले भनिन्, ‘बिहे गरें । यही घरको श्रीमती, बुहारी अनि आमा बनें । तर सम्पत्तिमा अधिकार भएको अनुभव कहिल्यै हुन सकेको थिएन । आज महिला दिवसको दिन यो कमी पूरा भएको छ, मनमा छुट्टै आनन्द लागेको छ ।’


महिलामैत्री अभियान लिएर गाउँमै पुगेको मालपोत कार्यालयको शिविरमा संयुक्त लालपुर्जा पाएपछि उनी सञ्चारकर्मीसँग खुसी व्यक्त गरिरहेकी थिइन् । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको ‘भूमिमा महिला स्वामित्व अभियान’ अन्तर्गत हेल्भेटास नेपालको साझेदारीमा संयुक्त पुर्जा बनाउने शिविरमा उनी पनि सम्पत्तिको मालिक बनेकी हुन् । ‘श्रीमान् र श्रीमती बराबर भयौं । दुवैको दुःख र अधिकार समान रहने भयो । पुरुष र नारी बराबरी भनेको बल्ल मिल्यो,’ हेलम्बु गाउँपालिका– ६ इचोककी फूलमाया तामाङले भनिन् । श्रीमान् र आफ्नो नाममा लालपुर्जा पाएपछि उनले सुनाइन्, ‘अब पो दुःख गर्न पनि मज्जा आउँछ । आफ्नो पनि जमिनमा अधिकार छ भन्ने भएको छ ।’


पति लीलानाथसँगै आएकी हेलम्बु ४ महाकालकी हरिमाई लामिछानेले संयुक्त लालपुर्जा देखाउँदै भनिन्, ‘बूढाबूढी दुवैले बराबर अधिकार पाएको ठानेकी छु ।’ हेलम्बुको किउल, महाकाल, इचोकदेखि ह्याल्मोलगायत क्षेक्रका २ सय १५ जनाले शिविरबाट संयुत्त लालपुर्जा लिएका छन् । शिविर शनिबारसम्म चल्ने भएकाले यो संख्या थपिने मालपोत अधिकृत शान्ता बस्न्यातले बताइन् । ‘संयुक्त लालपुर्जा अभियानलाई सार्थक बनाउन महिला दिवस पारेर शिविर राखेका हौं,’ उनले भनिन् । हेलम्बु गाउँपालिकाको १५ स्थानमा शिविर राखिएको छ ।


बस्न्यातका अनुसार सरकारले एक सय राजस्वमा संयुक्त लालपुर्जा बनाउन सकिने कार्यक्रम ल्याएको हो । महिलाको भूमिमा कानुनसम्मत स्वामित्व १९.७१ प्रतिशत मात्रै छ । २०६८ को जनगणनाअनुसार जिल्लामा ५१.५ प्रतिशत महिला छन् । १९.७१ प्रतिशत परिवारमा मात्र घरजग्गा महिलाको स्वामित्व रहेको तथ्यांक छ । त्यस्तै महिला घरमूली २५.७३ प्रतिशत छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?