एल्बममा बाबा

परराष्ट्र भन्छ– विदेशमा बेपत्ताहरूको तथ्यांकै छैन 
देवेन्द्र भट्टराई

काठमाडौँ — सिन्धुपाल्चोकको थुम्पाखर, लप्से गाउँमा जन्मेहुर्केकी रमिला सुनार अहिले १० वर्षकी भइन् । कतै भेटेपिच्छे उनका साथीभाइ आ–आफ्ना आमाबाका बारे अनेक कुरा गरिरहन्छन् । अनि रमिला झिक्छिन्, स्कुले किताबभित्र च्यापेर ल्याएको एल्बमको एउटा पाना जहाँ उनका बाबा आमा र दुई दिदीसँग छन् ।

रमिलाले आफ्ना बुबालाई फोटोबाहेक कतै देख्न पाएकी छैनन् । न स्वरै सुनेकी छिन् । उनी ३ महिनाकी छँदै परदेश गएका बाबु नवराज अझै फर्केका छैनन् । रमिलाका दुई दिदी रविना र सविनालाई भने बाबुको अनुहार धूमिल सम्झना छ । बोली पनि सम्झिरहेकै छन् ।

Citizen


‘कान्छी छोरी त काखैमा थिई । माइली र जेठी भने स्कुल जान थालेका थिए,’ तीन छोरीकी आमा कल्पना सुनारले बह पोखिन्, ‘श्रीमान् कतार गएको यत्तिका वर्ष भइसक्यो । न फर्केर आए, न जिउज्यानकै टुंगो भयो ।’ लप्से गाउँमा माइतीको भरथेगमा ३ छोरी छाडेर काठमाडौंमा रोजीरोटी गर्न आएकी कल्पना दिनहुँ ४/५ वटा घरमा धाएर कतै घरधन्दा त कतै सरसफाइको काम गर्छिन् ।

मुस्किलले महिनाको २० हजार रुपैयाँ कमाइ हुन्छ । ‘छोरीहरूलाई पढाउने, लुगाफाटा किनिदिने, खानपिन गराउने खर्च जुटाउनैपर्‍यो,’ ३६ वर्षिया कल्पनाले सुनाइन्, ‘फेरि आफ्नै एउटै भाइ मृगौलापीडित छ, डाइलासिसका लागि भक्तपुर धाउनुपर्छ । यो मुस्किलको घडीमा श्रीमान् भने बेपत्ता छन् । खोजेर पनि भेटेकी छैन ।’

लप्से गाउँमै जन्मेहुर्केकी कल्पना सुनारले गाउँकै प्राथमिक स्कुलमा कक्षा ३ सम्ममात्रै पढ्न पाइन् । घाँसदाउरा र घरधन्दा गरेरै उनको बाल्यकाल बित्यो । ‘पल्लो गाउँ पलाँती, ओख्रेनीमा बाआमाले म १६ वर्ष नलाग्दै बिहा गरिदिए,’ उनले भनिन्, ‘अनि माइती घर छँदाको संघर्ष श्रीमानको घरतिर सर्‍यो । लगालग दुई छोरी भइहाले, अरू केही सोच्नै नपाई घरधन्दामै व्यस्त भइहालें ।’ घरमै सानो कुटानीपिसानी मिल चलाएर बसिरहेका नवराजलाई साथीभाइको कुरा सुनेर विदेश जाने रहर जाग्यो । दुई छोरी जन्मिएपछि मलेसिया गएका उनी झन्डै ३ वर्षमा फर्केर आए । केही पैसा पनि ल्याए ।

रहँदाबस्दा कान्छी छोरी पनि जन्मिई । फेरि विदेश जाने लहड चलेर २०६६ सालको सुरुवातमै कतारतिर हिँडेका उनी कहिलेकाहीँ फोन गर्थे । ‘झन्डै एक वर्षसम्म फोनमा कुराकानी भइरहन्थ्यो,’ कल्पना सम्झन्छिन्, ‘कम्पनी खराब पर्‍यो, तलबै दिँदैन भनिरहनुहुन्थ्यो । कतार गएको एक वर्षमा ३० हजार रुपैयाँजति पठाउनुभएको थियो । त्यसपछि फोन सम्पर्क पनि हरायो । मान्छे पनि हराउनुभो ।’

आफ्ना लागि सिंगो संसार भनेकै माइती लप्से र घर पलाँती बनाएकी कल्पनाले सदरमुकाम चौतारासम्म पनि आउन पाएकी थिइनन् । काठमाडौं त कल्पनाकै कुरा भयो । श्रीमान् सम्पर्कहीन भएपछि जेठाजुको सहयोगमा काठमाडौंमा परराष्ट्र मन्त्रालयसम्म आएर र महाराजगन्जको एउट म्यानपावर कम्पनीमा पुगेर खोजी गरिदिन निवेदन दिएकी थिइन् । ‘आफूसँग श्रीमानको एउटा फोटोबाहेक केही थिएन । धन्न, नागरिकतामा पासपोर्ट लिएको नम्बर लेखिएको रहेछ,’ उनले सम्झिइन्, ‘त्यसैका भरमा खोजी गरियो । कतारमा श्रीमान् नरहेको भन्ने खबर आयो तर पुष्टि कहिल्यै भएन ।’

छोरीहरू हुर्कंदै थिए । खर्च पनि बढदै गयो । त्यहीबीच सासूससुरा दुवैको क्यान्सरका कारण निधन भयो । ‘अब के गर्ने ? अरू उपाय भएन । अनि नातामा भिनाजु पर्नेले कुवेतबाट घरेलु काम गर्ने गरी भिसा पठाइदिनुभयो,’ कल्पनाले सुनाइन्, ‘हुर्किरहेका र पढिरहेका छोरीहरूको अनुहार सम्झेर पनि २०७० सालमा म कुवेत गएँ । धन्न, राम्रो घर र घरेलु काम थियो । महिनाको तलब ३० हजार रुपैयाँजति थियो ।’ त्यहाँबाट कमाएको पैसाले छोरीहरूको लुगाफाटो, पढाइ, खानपिनको खर्च जुटाउन र भाइको उपचारमा सहयोग पुगिरहेकै थियो ।

तर, २०७२ सालको भुइँचालोपछि माइती र घर दुवैतर्फ क्षति पुगेको खबर कल्पनाले पाइन् । छोरीहरूले फोनमै रुँदै ‘आमा घर आउनु’ भनेको सुनेर उनी फर्किइन् । ‘कुवेत भन्ने देश कस्तो थियो, मैले थाहा पाइनँ,’ उनी सम्झिन्छिन्, ‘ठूलो पर्खालले घेरिएको घर थियो । भित्रै घरधन्दा गर्‍यो, समय बितायो । उही कुवेत जाँदा र आउँदा भने ठूलो प्लेनमा आइजाइ गरें, नेपाल र कुवेतका एयरपोर्टहरू देखें ।’

कल्पनाकी जेठी छोरी रविना अहिले १० कक्षामा पढछिन्, पाटीडाँडाको हाइस्कुलमा । माइली सविना ८ कक्षा पुगिन् । कान्छी रमिला रातमाटेको प्रावि स्कुलमा कक्षा ५ मा पढछिन् । सरकारी स्कुलको शिक्षा निःशुल्क भनिए पनि अनेक शीर्षकमा खर्च धान्नुपरेको कल्पनाको अनुभव छ ।

‘छोरीहरूले हाम्रो बा खोज्नुपर्‍यो भनिरहन्छन् । यस्तो खोजी गर्न मसँग जोगाड पैसा छैन, चिनेका मान्छे पनि छैनन् । त्यही भएर अब भने धामीझाँक्रीकहाँ जान थालेकी छु,’ शनिबार बिहान पाटनढोकमा भेटिएकी कल्पनाले नवराजको उही धूमिल तस्बिर देखाउँदै भनिन्, ‘उनीहरू अनेक कुरा गर्छन् । खोइ, के पत्याउने के नपत्याउने ?’

बाबु नभएको र छोरीहरूलाई स्कुल पढ्नै समस्या हुने अवस्थामा कल्पनाले हजुरबाको नामबाट छोरीहरूको जन्मदर्ता भने गराएकी छन् । उनी अहिले फुर्सदमा सिलाइबुनाइ पनि सिक्न थालेकी छन् । काठमाडौं बसे पनि भूकम्पले भत्केको घर बनाउन सिन्धुपाल्चोक धाइरहनुपर्छ । फेरि सरकारले दिएको सहयोग खारेज होला भन्ने डर छ ।

तथ्यांक छैन : परराष्ट्र
परराष्ट्र मन्त्रालयको कन्सुलर महाशाखाका महानिर्देशक गेहेन्द्र राजभण्डारीका अनुसार विभिन्न देशमा पुगेर हराएका नागरिकको खोजीसहितको प्रक्रियामा अहिलेसम्म नियमित कामकारबाही जारी रहे पनि तथ्यांकगत अभिलेख राखिएको छैन ।

‘मलेसिया, बहराइनको हकमा पारिवारिक वा अन्य कारणले आफैं सम्पर्कहीन बन्न चाहेका कामदार पनि भेटिएका छन्,’ राजभण्डारीले भने, ‘केही भने कागजातहीन रहेको अवस्था र यही कारण जरिवाना शुल्कका कारण पनि डरत्रासले सम्पर्कहीन बनेका छन् ।’ नवराजको केसमा राहदानी, भिसा, तत्कालीन कम्पनीको स्थितिबारे विस्तृत जानकारी पाउन सके थप खोजअनुसन्धान हुन सक्ने महानिर्देशक राजभण्डारीले बताए ।

कल्पना भने आफूसँग श्रीमान् कतार उड्ने बेलाको नागरिकता (पासपोर्ट नम्बर) बाहेक कुनै कागजात नरहेकाले परराष्ट्रका कर्मचारीले आफूलाई फिर्ता पठाएको सुनाइन् ।

प्रकाशित : फाल्गुन २६, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्

दुई व्यक्तिलाई एउटै भनी आदेश

दुई फरक नाम र नागरिकताको विवरण पेस भएको मुद्दामा उच्च अदालतले ती व्यक्ति एउटै हुन् भनी विवादास्पद आदेश गरेको छ ।
कृष्ण ज्ञवाली

काठमाडौँ — उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुई फरक व्यक्तिलाई एउटै व्यक्ति भनी आदेश गरेको भेटिएको छ । न्यायाधीशहरू कुमारप्रसाद पोखरेल र गोकर्ण डाँगीको इजलासले फरक–फरक व्यक्ति रहेका नन्दकुमारी थापा र रनकुमारी थापालाई एउटै व्यक्ति भनी किटानी गरिदिएको हो ।

अंशसम्बन्धी विवादको मुद्दामा गरिएको आदेशका कारण पतिबाट अंश नपाएर पीडित बनेकी एक महिलाको आधा अंश खोसिएको छ ।

तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्वसदस्य पीताम्बर थापाका ४ वटी श्रीमती थिए । पहिलो र दोस्रो श्रीमतीलाई विभिन्न आक्षेप लगाउँदै उनले घरबाट निकालेका थिए । पहिलो श्रीमतीकी एक छोरी छिन् । तेस्रो श्रीमतीबाट तीन छोरी जन्मिए । यस्तैमा उनले चौथो श्रीमती भित्र्याए र उनका साथमा एउटा छोरा जन्मियो । तेस्री श्रीमती सुकुम थापाले दायर गरेको अंश मुद्दामा चलखेल हुँदै जाँदा न्यायाधीशहरूले ‘रहस्यमय’ आदेश गरेको भेटिएको हो ।

मुद्दाको मिसिलमा उल्लेख भएअनुसार पीताम्बरको काठमाडौं र रूपन्देहीमा केही जग्गाजमिन छ भने स्याङ्जामा पुर्ख्यौली सम्पक्ति छ । अंश विवाद हुँदा काठमाडौंको जग्गा बित्री भइसकेको देखिन्छ । काठमाडौं जिल्ला अदालतबाट सुरु भएको अंश मुद्दा तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्चसम्म पुग्यो । पीताम्बरको दाबीअनुसार उनकी आमा नन्दमाया थापाले आफ्नो मृत्युपछि छोरा पीताम्बर थापाले अंश पाउने भनी बकस गरिदिएकी थिइन् ।

पीताम्बरले आमाको अंशलाई आफ्नो मात्रै भनी त्यसमा पत्नीहरू र उनका सन्तानको दाबी नहुने जिकिर गरेका थिए । तर सर्वोच्च अदालतले पीताम्बर, उनकी तीन पत्नी, चार छोरी र एक छोरा गरी नौ अंश लाग्ने भनी फैसला गर्‍यो । फैसला कार्यान्वयनका क्रममा रूपन्देही जिल्ला अदालतको तहसिल शाखाले आमाको अंश पीताम्बरको मात्रै हक हुने गरी पीताम्बरका नाममा रहेको सम्पत्ति मात्रै ९ भाग लगाइदिन खोज्यो ।

त्यसविरुद्ध जिल्ला अदालतमा निवेदन पर्‍यो । जिल्ला अदालतले तहसिलदारको निर्णय बदर गरिदियो । पुनरावेदन हुँदै सर्वोच्चसम्म मुद्दामामिला भयो । सर्वोच्च अदालतले फेरि पनि सबै सम्पत्तिमा ९ भाग लाग्ने भनी जिल्ला अदालतको निर्णय सदर गरिदियो ।

दोस्रो पटकको मुद्दामामिलापछि अन्तिममा अंशबन्डा हुनुपर्ने थियो । यसपछि भने पीताम्बरकी कान्छी पत्नी रक्षा थापाले नयाँ चाल चलिन् । सासू नन्दकुमारीले मृत्युपछिको अंश आफूलाई दिनु भनी बकसपत्र लेखिदिएको भन्दै त्यसमा अरू सौता र उनका सन्तानको हक नहुने दाबी गरिन् । दाबीका साथमा उनले पेस गरेको कागजातमा सासूको नाम रनकुमारी थापा उल्लेख थियो । उनले आफूलाई अंश बकसपत्र दिएकी सासू रनकुमारी र पहिले आफ्नो पतिलाई बकसपत्र दिने नन्दमाया एउटै व्यक्ति भएको दाबीसमेत गरी स्थानीय तहबाट सिफारिस पेस गरिन् ।

सुरुको मुद्दामामिलाका क्रममा आफ्नो हक लाग्ने कागजात नदेखाएको, तर निकै पछि मात्रै पेस गरेको भन्दै जिल्ला अदालतले रक्षा थापाको निवेदनलाई अस्वीकार गर्‍यो । जिल्ला अदालतको आदेशविरुद्ध रक्षाको साथमा उनका पति पीताम्बर थापा उच्च अदालत, तुलसीपुरको बुटबल इजलास पुगे ।

न्यायाधीशहरू कुमारप्रसाद पोखरेल र गोकर्ण डाँगीको इजलासले गत फागुन ९ मा नन्दमाया र रनकुमारी थापा एउटै भएको आदेश गरिदियो । ‘हाम्रो न्यायालयमा यो ढंगको आदेश हुन्छ भनेर कल्पनै हुँदैनथ्यो,’ मिसिलको अध्ययन गरेका उच्च अदालतका एक न्यायाधीशले भने, ‘जहाँ लगेर जतिसुकै छलफल गरे पनि यस्तो आदेशको औचित्य पुष्टि हुन सक्दैन ।’

उच्च अदालतका न्यायाधीश कुमारप्रसाद पोखरेल र गोकर्ण डाँगीले २०७५ फागुन ९ गते गरेको आदेशमा नन्दमाया थापा र रनकुमारी थापा एउटै व्यक्ति भएको उल्लेख गरेका छन् । तर ऊक्त मुद्दाको बहसका त्रममा पेस भएको प्रमाणमा भने दुई व्यक्ति फरक भएको देखिन्छ । नन्दमाया थापाको नाममा जिल्ला प्रशासन कार्यालयबाट ३६५१ नम्बरमा २०४० जेठ २० गते नागरिकताको प्रमाणपत्र जारी भएको देखिन्छ । रनकुमारी थापाको नाममा २०४६ जेठ २० गते १०५१ नम्बरको नागरिकता छ । ‘अदालतले दुई फरक नागरिकता वाहक व्यक्ति एउटै हो भनेर आदेश गर्‍यो,’ उच्च अदालत बुटवल स्रोतले भन्यो, ‘यस्तो गाईजात्रा पनि हुन्छ ?’

आदेशमा अर्को पनि पत्याइनसक्नु विषय उल्लेख छ । भनिएको छ, ‘२०६५ वैशाख २५ गते सर्वोच्च अदालतबाट नन्दकुमारी भन्ने रनकुमारी थापासमेतले आफ्नो अंश भाग पाउने गरी फैसला भएको छ ।’ तर सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरू रामप्रसाद श्रेष्ठ र गौरी ढकालको इजलासले जारी गरेको फैसलामा भने ‘रनकुमारी थापा’ भन्ने नाम नै उल्लेख छैन । ‘रनकुमारीको नाममा कागजात खडा गरी जबर्जस्ती रनकुमारी नै नन्दमाया हुन् भनी स्थापित गर्ने प्रयास भयो,’ स्रोतले भन्यो, ‘इजलासले त्यही दाबीलाई बिनाआधार सदर गरिदियो ।’

उच्च अदालतको मिसिलमा उल्लिखित विवरणमा नन्दमाया थापाले आफ्नो अंश मृत्युपछि छोरा पीताम्बरको नाममा बकस गरिदिएको कागज संलग्न छ । मालपोत कार्यालयमा ६०७ नम्बरमा २०६८ साल असोज २६ गते उक्त निवेदन रजिस्ट्रेसन भई दर्ता गरेको देखिन्छ । पछि रक्षा थापाले अर्को विवरण पेस गरिन् । रक्षाको दाबीअनुसार उनकी सासू नन्दमाया थापा नै रनकुमारी थापा हुन् । रनकुमारीले रक्षालाई २०५३ साल भदौ ३१ गते मृत्युपछि आफ्नो सम्पत्ति बुहारीका नाममा होस्् भनी मालपोत कार्यालयमा १४७९ नम्बरमा रजिस्ट्रेसन गरिदिएको देखिन्छ ।

दुवै कागजात हेर्दा नन्दमायाले सुरुमा बुहारीका नाममा अनि त्यसको १५ वर्षपछि छोराका नाममा बकसनामा गरिदिएकी थिइन् । शेषपछिको बकसपत्र भनिने घोषणापत्र मालपोत कार्यालयमा दर्ता हुन्छ भने व्यक्तिको मृत्युपछि मात्रै त्यसको कार्यान्वयन हुन्छ । उच्च अदालतले पहिलेको बकसपत्रलाई मान्यता दिएर रक्षाको पक्षमा आदेश गरेको देखिन्छ ।

आदेशमा भनिएको छ, ‘रनकुमारीले पीताम्बरलाई शेषपछिको बकसपत्र दिए पनि अघिको लिखतलाई कानुनी प्रक्रिया पुर्‍याई बदर गरेको अवस्था छैन ।’ दुई फरक व्यक्तिलाई बकस गरिएको भए पछिल्लो बकसपत्रले मान्यता पाउने नजिर स्थापित भएको छ । नन्दमायाले पीताम्बरलाई दिएको बकसपत्रलाई अदालतले रनकुमारीले दिएको भनी उल्लेख गरेको छ ।

मुद्दामामिलाका क्रममा स्याङ्जाको हरिनास गाउँपालिकाको वडा नम्बर ७ की वडाध्यक्ष केशमाया थापाको भूमिकामा समेत प्रश्न उठेको स्रोतले बतायो । उनले सिफारिसपत्र लेखी विभिन्न कागजातमा नाम फरक भए पनि नन्दमाया, नन्दकुमारी र रनकुमारी थापा भन्ने व्यक्ति एकै रहेको उल्लेख गरेकी छन् । २०७४ माघ २६ गते उक्त सिफारिसपत्र बनेको थियो ।

बकसपत्र पीताम्बरका नाममा हुने ठहर भए कुल सम्पत्तिमा ९ अंश लाग्थ्यो र अंश बराबर भाग हुन्थ्यो । रक्षाले बकसपत्र पाउने ठहर भएपछि उनले पाएको बकसमा सौताको हक लाग्दैन र आधा अंशमा मात्रै ९ भाग लाग्छ । त्यही खेलअन्तर्गत मुद्दा दायर भएको स्रोतले बतायो । मुद्दा परेदेखि नै न्यायाधीश पोखरेलले आफ्नो इजलासमा पेसी तोक्दै आएका थिए । पाँचपटक पेसी तोकिएकामा एक पटकबाहेक अरूमा न्यायाधीश पोखरेलले आफ्नो इजलासमै पेसी तोकेका थिए ।

प्रकाशित : फाल्गुन २६, २०७५ ०७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्