क्यानभासमा गोदना

दाङ — क्यानभास रित्तै थियो । नगिना हरिजनलाई भने त्यसमा आकृति उतार्नु थियो । रंग र कुची त्यसअघि नदेखेको मान्छेले क्यानभास सजाउनु पहाडजस्तै भारी थियो । दाङकी ५० वर्षीया नगिनाले हातभरि कुँदेका ‘गोदना’ का आकृति नियालिन् । गोदानाका बुट्टामा उनले कलात्मक पक्ष देखिन् । त्यसैलाई क्यानभासमा उतार्ने जमर्को गरिन् । 

क्यानभासमा गोदना

गढवा गाउँपालिकामा उनीजस्तै ३४ जना स्थानीय महिला र पुरुषले हस्तकला, चित्रकला र लोककला सिर्जना गरे । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको लोककला विभागले ३ दिने कार्यशालाको चाँजोपाँजो मिलाएको थियो । चित्रकार पुनम दासले प्रशिक्षण दिइरहेकी थिइन् ।


गढवा–५ की नगिनाले तीन दिनमा पूरा गरेको क्यानभास नवनी देखिन्थ्यो । त्यहाँ चित्र मात्र कोरेकी थिइनन् । परम्परागत रूपमा चलनचल्तीमा ल्याएको ‘गोदना’ परम्पराको महत्त्व झल्काएकी थिइन् । गोदनालाई आधुनिक जीवन शैलीमा टाटु भनिन्छ ।


बिहे भएपछि गोदना अर्थात् टाटु खोप्नै पर्ने मधेसी समुदायको परम्परा रहेको नगिनाले बताइन् । चित्र बनाउँदै उनले विगत सम्झिन् । ‘मैले बिहे भएपछि गोदना कुदेकी थिएँ,’ उनले भनिन्, ‘गीत गाउँदै नटिनी (गोदना खोप्ने महिला) ले शरीरमा सियोले खोप्दा दुखेको थियो ।’ उनका अनुसार दुखाइ अनुभूति कम गराउन नटिनीले गीत गाउँदै गोदना खोप्ने प्राचीन चलन रहेको सुनाइन् । अहिले पनि बिहे गर्नुअघि गोदना गोदिन्छ । पहिले धेरै नपर्ने उनले सुनाइन् ।


कार्यशालामा हरिजन, यादव, मगर, थारू, मुस्लिमलगायत विभिन्न समुदायले प्रतिनिधित्व गरेका थिए । उनीहरूले आफ्नो संस्कृति र परम्परा झल्किने आकृति एवं कला उतारेका थिए । मुस्लिम समुदायका तर्फबाट एक जना महिला मात्रै सहभागी थिइन् । २७ वर्षे हिना ठाकुर (मुस्लिम) ले बुर्का खोलेर क्यानभास कोरेको पहिलो अनुभूति थियो ।


उनले मेहर पर्वमा ताजिया (धार्मिक आकृति) बनाउने परम्परालाई क्यानभासमा सजाएको बताइन् । उनले ब्रस चलाउँदै गर्दा हात कामेका थिए । सिधा लाइन बांगोटिंगो भएको थियो । रंगीबिरंगी रंगमा कुची तोप्दै आकृति बनाउँदा उनी दंग परेकी थिइन् । ‘हामी मुस्लिम महिला घरबाट बाहिर जान पाइँदैन,’ उनले भनिन्, ‘चित्र कोर्नु भनेको त नवीन कुरा हो ।’


गढवा ३ की चञ्चला चौधरीले क्यानभास पोतिरहँदा आफ्नै संस्कृति बिर्सिंदै गएको महसुस गरिन् । कृष्ण जन्माष्टमीका दिन बनाइने ‘अस्तिमकी’ का थुप्रै आकृति उनले भुलिसकेकी रहिछन् । ‘अचेल पुराना बुट्टा र आकृति हराउँदै छन्,’ उनी गम्भीर भावमा भन्छिन्, ‘चित्रमा सम्झिन सकेको मात्रै उतार्न सके ।’ कार्यशालाको बीचमा थिए, मगर समुदायका आशिष कल्पवृक्ष ।


२८ वर्षे उनी साहित्यकार हुन् । कला र साहित्यको संगम जोड्न उनले कार्यशालामा अवसर पाएको पाए । उनको क्यानभासमा मगर समुदायको पहिचान दिने ‘खुर्पेटो’ को आकृति थियो । आशिष भन्छन्, ‘खुर्पेटो कम्मरमा बाँध्नु र चित्रमा उतार्नु धेरै फरक हुँदो रहेछ ।’ प्रतिष्ठानकी लोक कला विभाग प्रमुख मिथिलादेवी यादवले स्थानीय कला संस्कृतिको दस्तावेज गराउन कार्यशाला आवश्यक रहेको बताइन् ।


चिन्ता ढकियाको

कार्यशालामा थारू समुदायका महिलाले ढकिया बुनेका थिए । विनीता चौधरीले ढकिया थारू समुदायको बिहे पर्वमा नभई नहुने सामग्री रहेको बताइन् । ढकिया बनाउन पुन्जा (काँस) र मुज (सिक्की घाँस) चाहिन्छ । पछिल्ले समय भने मुज (सिक्की) को खोजीमा कपलिवस्तुसम्म धाउनुपर्ने सितारी चौधरीले सुनाइन् ।


खोला, जंगल र नदीमा पाइने सिक्की लोप हुन लागेकोमा थारू समुदाय चिन्तित छन् । गंगादेवी चौधरीका अनुसार परम्परागत ढकियाको व्यावसायीकरण हुन नसक्दा लोप हुन थालेको बताइन् । दिनभरिमा फुलबुट्टे ढकिया एउटा मात्रै बनाउन सकिन्छ । मिहिनेतअनुसारको मूल्य नपाउँदा थारू समुदायका महिला ढकिया बनाउन जाँगर नगर्ने उनले सुनाइन् ।


कार्यशालामा गंगादेवी, विनीता, सितारीलगायत थारू महिलाले घरबाटै ढकिया बनाउने सामग्री ल्याएका थिए । ‘सामान जुटाउनै गाह्रो छ हामीलाई,’ उनीहरू भन्छन् ।

प्रकाशित : चैत्र ३, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?