२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

वन्यजन्तुको पछिपछि

विपिन श्रीस

काठमाडौँ — बाघ गर्जिरहेको छ, मयूर नाचिरहेको, चराहरू उडिरहेका छन्, एकसिंगे गैंडा मस्तसँग पानीमा पस्दै छ । साँच्चिकै हैन, तस्बिरमा । राजधानीको भृकुटी मण्डपस्थित पर्यटन बोर्डमा जारी ‘वाइल्ड लाइफ फोटो प्रदर्शनी’ मा राखिएका तस्बिरहरू भने साँच्चिकै जस्ता छन् । यी तस्बिर खिचेका हुन् चितवनका वाइल्ड लाइफ फोटोग्राफर सागर गिरीले । 

वन्यजन्तुको पछिपछि

उनले वाइल्ड लाइफ फोटोग्राफी गर्न थालेको धेरै भएको छैन । आधा दशककै बीचमा उनले चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत तराई विभिन्न भूभागमा पुगेर अनगिन्ती तस्बिर खिच्न भ्याएका छन् । तीमध्ये एक सिंगेगैंडा, हात्ती, पातेबाघ, चितुवा, भालु, कृष्णसार, बाह्रसिंहे, गौरलगायतका जंगली जनावरसँगै मयूर, सारस, डार्टर, पोन्ड हेरोनलगायतका पक्षीहरूको ३८ थान तस्बिर यति बेला प्रदर्शनीमा हेर्न सकिन्छ ।


नेपालको तराई भूभागमा पाइने जंगली जनावर एवं पक्षीहरूलाई विश्वमाझ चिनाउने उनको खास ध्येय हो । यसमा उनको आफ्नै धारणा पनि छ । ‘फोटो र भिडियोहरूमा देखिने जनावर भन्नेबित्तिकै अफ्रिकाका जंगलको हो भन्ने नेपालीकै बुझाइ छ,’ उनले भने, ‘हाम्रै मुलुकमा पनि सुन्दर वन्यजन्तु छन् भन्ने देखाउन चाहना पूरा गर्न वन्यजन्तु फोटोग्राफी रोजेको हुँ । नेपालको पर्यटन भन्नेबित्तिकै सामान्यतः हिमाली पर्यटन बुझिने अवस्था रहेकोमा त्यसलाई विविधीकरण गर्न पनि आफूले तराई क्षेत्र रोजेको उनले बताए । उनले खिचेका तस्बिरहरू निकै कलात्मक छन् । कलात्मक फ्रेमिङमा वन्यजन्तुको चाल पकडन उनी सफल छन् ।


प्रदर्शनी अवलोकन गर्न पुगेका फोटो पत्रकार मीनरत्न बज्राचार्यले सागरले खिचेका तस्बिरहरू अन्तर्राष्ट्रिय स्तरको भएको दाबी गरे । ‘जनावर एवं पक्षीहरूको चाललाई राम्रोसँग खिचेका छन्,’ उनले भने, ‘यसले उनको फोटोग्राफी क्षमता त देखाउँछ नै, उनका तस्बिरहरूले नेपाललाई विश्वमाझ चिनाउन पनि मद्दत पुर्‍याउँछ ।’ तस्बिर नियाल्दै गर्ने क्रममै भेटिए, रत्नराज्य लक्ष्मी क्याम्पसका फोटो पत्रकारिता अध्यापक नरेश श्रेष्ठ । उनले पनि सागरको फोटोग्राफी कम्पोजिसन ‘सिर्जनात्मक र माझिएको’ भन्दै प्रशंसा गरे । ‘सागरको फोटो हेरेपछि फोटो खिचेकै स्थानमा गएर ती जनावर एवं पक्षीहरू हेर्न मन लाग्छ,’ उनले भने ।


पर्यटन बोर्ड र भिजिट नेपाल टान्टी टान्टीले प्रदर्शनी गरेको हो । बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले फोटो प्रदर्शनीले नेपालको जैविक विविधतालाई चिनाउँदै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । ‘जैविक सम्पदाबारे विश्वले थाहा पाउन यस्ता तस्बिरहरूले सघाउँछन्,’ उनले भने । प्रदर्शनी चैत २८ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : चैत्र २६, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?