भेडीगोठे डाक्टर

बालकृष्ण बस्नेत

काठमाडौँ — विदेशिएको तीन दशकपछि औषधि बोकेर डाक्टरसहित पुगेका डा.देवी गुरुङलाई मनाङको थोंचेका स्थानीयले भने-'गाउँका लागी देवी त भगवानै भयौ ।' स्वास्थ्य शिविर गर्दा ७० वर्ष नाघेकी एक वृद्धाले भनेको ती शब्द उनी कहिले भुल्दैनन् ।

मनाङ यात्राका क्रममा डा.देवी दम्पती ।

थोंचेकै स्वास्थ्य चौकीमा यसपटक आएर देवीले भने-'म भगवान होइन । जान्ने झाँक्री, लामा होइन र नेता पनि होइन ।'
म तपाईहरुकै गाउँमा भेडी, चौंरी चराउँदै हुर्केको गुरुङको छोरा हुँ ।
करिब एक महिनाअघि थोंचेको स्वास्थ्य चौकीमा एमविविएस डाक्टरसहितको मेडिकल टोली राख्न पुगेका उनले साह्रै भावुक बनी आफ्नो परिचय दिए । एक स्वास्थ्य सहायकको भरमा रहेको नासोङ्ग गाउँपालिकास्थित स्वास्थ्य चौकिमा दक्ष जनशक्ति राख्नका लागि मनाङबाटै विदेशिएका डा.गुरुङले पहल गरेका हुन् । गुरुङले नेतृत्व गरेका हिमालयन फेमिली हेल्थकेयरले चिकित्सकसहित अन्य जनशक्ति उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मनाङको तल्लो भेग तिलिचोमा जन्मिएका देवी संघर्ष गर्दै अमेरिका पुगेका हुन् । त्यहाँ पिएचडीसम्मको अध्ययन पूरा गरी जन्मथलोकै स्वास्थ्य अवस्था सुधार्न केही वर्ष अघिदेखि उनी नेपाल आउँदै फर्कंदै गर्न थालेका हुन् ।
सम्झौताअनुसार हिमालयन फेमिलीले उक्त चौकीमा एक एमविविएस डाक्टर, बरिष्ठ नर्स, स्वास्थ्य सहायक र औषधिसमेत उपलब्ध गराउने भएको छ । दुई महिना हिउँ पर्ने उक्त क्षेत्रमा बाँकी दस महिनाका लागि ती सेवा उपलब्ध गराउन तेत्तिस लाख रुपैयाँ लाग्नेछ । उक्त रकम देवीको अगुवाईमा उपलब्ध गराउन लागिएको हो ।

'यो असाध्यै ठूलो सहयोग हो । दुर्गमका बासिन्दाको स्वास्थ्यमा समस्या पर्दा निकै राहत हुनेछ, कार्यक्रममा समाजसेवी एवं स्थानीय अगुवा धोर्जे डण्डुल गुरुङले बताए । उनले जन्मथलो फर्किएर देवीले जिल्लावासीलाई समेत ठूलो गुण लगाएको टिप्पणी गरे । 'पहिले धेरै दु:ख पाएका देवीले आफूसक्षम भएपछि गाउँको स्वास्थ्य सुधार्ने लक्ष्यसाथ काम थालेका छन् । हामी सदैव साथ दिनेछौं,' उनी भन्छन् ।
नेपालमा हुने कार्यक्रममा बारे अमेरिकाको सेन्टलुइजमा सहकर्मीहरुबीच भएको कार्यक्रम ।

चौकीमा दक्ष चिकित्सकसहित टोली बस्दा अन्नपूर्ण र मनास्लु पदयात्रीलाई समेत सजिलो हुनेछ । यो क्षेत्रमा वार्षिक करिब तीस हजार पर्यटक घुम्ने गरेको तथ्यांक छ । उनीहरु दुर्घटनामा पर्दा वा आकस्मिक रुपमा केही बिरामी हुँदा हेलिकप्टरबाट पोखरा वा काठमाडौं लानुपर्ने अवस्था छ ।

कार्यक्रममा डा.देवीले टुहुरो हुदा आफु र परिवारले ठूलो संघर्ष गर्नुपरेको, काठमाडौंमा भाँडा माजेर बसेको र त्यही क्रममा एक 'गडफादर' मार्फत अमेरिका पुगेको प्रसङ्ग झिकेका थिए । गाउँमा अस्पताल नै बनाउने अभियान सुरु गरेको र त्यसका लागि ७ रोपनी जग्गा समेत किनिसकेको उनले जानकारी दिए । उनकी श्रीमती कोनीले आफनो माइती कोरिया र कर्मथलो अमेरिका भए पनि पतिको जन्मथलोमा आएर सेवा गर्न पाउँदा बेग्लै खुसी भएको सुनाएकी थिइन् । चौकीलाई सुविधासम्पन्न बनाउने र पछि अस्पताल समेत बनाउने विषयमा उनीहरुले नासोङ्ग गाउँपालिका प्रतिनिधिहरुसँग जानकारी लिएका थिए ।

उनी पहिलोपल्ट अमेरिकाबाट ९ वर्षअघि मनाङ फर्किएका हुन् ।

देवीको कष्टपूर्ण यात्रा
देवी फर्किएको खबरले तल्ला मनाङको विकट गाउँ थोंचे, आसपासको धारापानी, बगरछाप, दानाक्यु हुँदै चामेसम्मका स्थानीय औधी रमाए । थोरैले चिनेका, धेरैले सुनेका देवी मनाङ फर्किएका थिए । देवी ठूलो संघर्षपछि डा.देवी गुरुङको परिचय बनाएर फर्किएका थिए ।

मनाङका आफ्नै समस्या र विशेषता छन् । करिब १० हजार मात्र जनसंख्या भएको यो जिल्लालाई हिमालपारिको जिल्ला भनिन्छ । सदरमुकाममा केही वर्ष मात्रै भयो मोटरबाटो बनेको । तर, प्रतिव्यक्ति आय भने सबैभन्दा बढी छ ।

'मलाई धेरैले हरायो भन्ठानेका थिए', उनले सुनाए ।
भेडीगोठका ती साथीसंगी जसले उ बेलाको देवीलाई एक गोठालाका रुपमा मात्र चिन्थे, एक टुहुरो संगीका रुपमा चिन्थे, ती अहिले दंग परेका छन् । 'सपना हो कि विपनाझैं भएको छ, देवीका बाल्यकालका सखी शंकर गुरुङले भने ।

कुनै बेला थियो, राजधानीका सडकबालकको सूचीमा उनको नाम पनि सामेल थियो । 'काठमाडौंमा मेरो कोही थिएन, म कति दिन त भोकै बसेको थिए', उनको स्मृतिमा आफ्नो संघर्षप्रति गर्वको भावना छ । समय फेरिएको छ । उनले नजिकैबाट नियालेको मस्र्याङ्गदी र बाग्मतीमा धेरै पानी बगेको छ । यो बेला उनी सडक बालक होइनन, पीएचडी डाक्टरका रुपमा मनाङ आइरहेका छन् ।

भूकम्प प्रभावित क्षेत्र सिन्धुपाल्चोकको कुभिण्डे पुग्दा डा.देवीको टोलीलाई स्थानीयबाट भएको स्वागत ।

वर्षौंपछि फर्किदा उनले बाटोघाटो, बिजुली, धारा बनेको देखे । तर, स्वास्थ्य र शिक्षामा भने जिल्लामा त्यति काम भएको पाएनन् । एउटा एक्सरे मेसिन पनि आफ्नो गाउँमा नभएको सुने । सिटामोल पनि भनेको बेला नपाइने । यो अवस्था परिवर्तन गर्न उनी स्वास्थ्य पूर्वाधार बनाउनतर्फ जुटेका हुन् ।

गाउँको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने उनको लक्ष्य छ । थोंचेमै १० शय्याको सामुदायिक अस्पताल बनाउने उनको योजना थियो । त्यसका लागि उनी सन् २०१० देखि पटक पटक गाउँ पुगेका छन् । स्थानीय बुद्धिजीवी, शिक्षक, राजनीतिकर्मी, प्रशासनसँग समन्वय गरेका छन् । अस्पतालकै लागि भनेर जग्गा किने । तर नजिकै सरकारी स्वास्थ्य चौकीको भवन बनेकाले पछिल्लो समय भने त्यहाँ एमविविएस डाक्टरसहितको जनशक्ति र प्रविधि सहयोग गर्ने अभियानमा छन् । स्वास्थ्य मात्रै होइन, आसपासका सरकारी विद्यालयका शैक्षिक गुणस्तर बढाउनका लागि कोष बनाउने, अमेरिकाबाट स्वयंसेवी शिक्षक झिकाउने प्रबन्ध भइरहेको छ ।

तीस वर्ष अघि एक छिमेकीको साथ लागेर उनी राजधानी छिरेका थिए । काठमाडौं पहिलो पल्ट पसेपछि उनी हराउन थाले । छिमेकीको साथ पनि छुट्यो । काम खोजे, केही पाएनन् । केही सीप नलागेपछि झोंछेको गल्लीमा हात थाप्दै माग्न सुरु गरे । कहिले त पेटभरि खान पुग्थ्यो । कहिले भोकै । 'मागेरै गुजारा चलाउँथे । वास पाटीमा हुन्थ्यो, उनी ती दिन सम्झन्छन् । उनी जस्तै श्याम केसी नामको एक साथी थिए । श्यामबाहेक उनको साथी पनि कोही थिएन । 'एक दिन उ बिरामीले नराम्ररी थलियो । के भयो भन्ने थाहा भएन । उपचार गर्नलाई पैसा थिएन, खानै पुग्दैनथ्यो । उपचारै नपाइ मेरो साथी मर्‍र्यो । म हेरेको हेर्‍र्यै भएँ, उनका आँखा रसाए । देवीका यस्ता धेरै स्मृति छन्, जसले अहिले पनि बेलाबेला उनका परेला भिजाइदिन्छन् । बोल्दाबोल्दै बोली रोकिन्छ । तैपनि देवी आफ्नो कथा भन्न रोकिन्नन् ।

'मैले कैयौंपल्ट चियापसलमा पसेर अर्काको टेबुलको तात्तातो चिया घुट्क्याएर भागेको छु, खाजा खाएको छु । भोकभोकै बस्न नसकेपछि के गर्ने ?' उनले भने-'एक दिन भोकको सुरमा बागबजारको एउटा पसलमा पुगेर हात थापें । साहुजीलाई काम खोजिदिन भनें । साहुले घर छेवैका दुई काठका मुडा देखाएर हातमा बन्चरो दिएर भने, ल यो काठ चिर । यति काम गरेपछि खान पाइने भयो भनेर दंग परेर उचालेको बन्चरो फुस्केर घरको भित्तामा लाग्यो । साहुजीले त कम्मरको पेटी फुकालेर हिर्काउन थाले ।'

त्यतिबेला सहरमा आफूले पाएको दुःख सम्झिँदा उनको आँखा फेरि आँसुले भरिए । 'त्यहाँ केही खान नपाएपछि ठमेलतिर लागें । ठमेलमा केसिज रेष्टुरेन्टमा गएर भाँडा माझ्ने काम मागें', उनी सम्झन्छन्,'केही समय काम गरेपछि साहुजीलाई मेरो काम र इमानदारी मन परेछ, जुनियर वेटर बनाए ।'

रेष्टुरेन्ट ट्रनिङ्ग प्वाइन्ट
केसिज रेष्टुरेन्ट प्रवेश उनको जीवनको सबैभन्दा ठूलो मोड बनेर आयो । त्यहीं काम गर्दागर्दै एक दिन रेष्टुरेन्टमा अमेरिकी पाहुना आइपुगे, डा.जेम्स स्टेट्स । सगरमाथा आरोही उनलाई देवीले खाना पुर्‍याए । जेम्सले 'यति सानो उमेरमा यस्तो काम किन गरेको ?' भनी जिज्ञासा राखे । उनी भक्कानिए । बरर्रर आँशु झार्दै आफ्ना दुःख टुटेफुटेको अंग्रेजी भाषामा सुनाए । ती पाहुनको मन फराकिलो बन्यो । जेम्सले देवीलाई आफ्नो छोरो बनाई अमेरिका लैजाने भए । खपिनसक्नु दुःख पाएका देवी त्यसका लागि तयार भए । अमेरिका पुगेपछि उनको दिन फिर्र्यो । त्यहींको वाावरणमा हुर्के । पढ्न थाले र अहिले डा.देवी बन्न सफल भए । अमेरिकाको नोभा साउथ इस्टर्न विश्वविद्यालयबाट स्वास्थ्य विज्ञानमा उनले २००६ मा विद्यावारिधि गरे । अन्य दुई विषयमा स्नातकोत्तर पनि गरे ।

अध्ययन सकेपछि उनले रेष्टुरेन्ट व्यवसायमा समेतमा पाइला चाले । सन् १९९४ मा अमेरिकामा 'एभरेष्ट क्याफे एन्ड बार' खोले । पढेको मान्छेले रेष्टुरेन्ट खोल्यो भनेर कतिले आश्चर्य पनि माने । उनीसँग आफ्नै तर्क थियो । 'मैले कामलाई नै प्यारो ठानें, सानैदेखि कामको महत्व बुझेको थिएँ, उमेरले ५ दशक कटाएका डा.देवीले सुनाए । सेन्ट लुइजमा रहेको उनको व्यवसायलाई कोरियन श्रीमती कोनी र दुई छोराले सघाइरहेका छन् । हिमालयन फेमेलीमा भने अमेरिकैमा रहेका उत्साही युवाहरु प्रकाश शाही, हरिश चन्द, दिवेश प्रधानसहितको साथ पाएका छन् ।

डा.देवीको जीवन-संघर्षबारे वृत्तचित्र बनिसकेको छ । अमेरिकाका कैयौं सञ्चारमाध्यममा उनले कभरेज पाएका छन् । उनको जीवन कथा स्वयं कुनै फिल्मको भन्दा कम मार्मिक र रोमाञ्चक छैन । कुनै बेला एक दुई रुपैयाँँका लागि सडकमा हात थाप्ने देवी अहिले आफै समाजसेवामा जुटी जन्मथलो सुधारमा लागिपरेका छन् ।

आफूले पढेको, सिकेको कुरा बताउन, पाएको अनुभव बाँडन र हिमालयन फेमेलीमार्फत समाजमा काम गर्न उनी नेपाल फर्किन थालेका हुन् । महाभूकम्पका बेला सिन्धुपाल्चोकमा उनले विद्यालय र खानेपानीमा काम गरेका थिए । स्वास्थ्य क्षेत्रमा भने आफ्नै जन्मथलोमा अघि सरेका हुन् ।

तर, यस्तो काममा बेलाबखत स्थानीयमा घुसेको राजनीतिक खिचातानीले डा.देवीलाई दुखी पनि बनाएको छ । 'विकासको काममा राजनीति गर्नु राम्रो होइन । भोट त सबैले आ-आफ्नै आस्था बोकेको दललाई हाल्ने हो । तर समाजसेवाको काममा सबैले साथ नदिए कसरी समाज परिवर्तन हुन्छ ?' उनको प्रश्न छ ।

मनाङमै काम गर्दा स्थानीय दलका नेताहरुले खिचातानी गरेको तीतो यथार्थ उनी सुनाउँछन् । 'तर, उहाँहरुले बुझ्नुहुन्छ । यदि साँच्चै विकासका लागि राजनीति गर्ने हो भने स्वास्थ्य, शिक्षामा काम गर्नैपर्छ । त्यसमा हाम्रो सदैव साथ सहयोग हुनेछ', देवी भन्छन् ।

गुरुङसमक्ष मनाङबाहेक अन्य दुर्गम जिल्लाबाट समेत सहयोग गरिदिनका लागि अनुरोध आइरहेको छ । 'म मेरो कमाईको हिस्सा नेपाल र नेपालीको पक्षमा जोडन लागिरहेको छु । यसमा मलाई आनन्द लाग्छ' उनी भन्छन् ।

हालै नेपालको सरकारी विद्यालयको कक्षा ७ को नैतिक शिक्षामा उनको अनुकरणीय यात्राबारे बेग्लै पाठ समेत राखिएको छ । एक महिना अघि उनी मनाङ पुग्दा स्कुले विद्यार्थीहरुले उनलाई घेरे । आफूले किताबमा पढेको देवी गाउँमै भेट्दा उनीहरु खुब रमाएका थिए । 'यसले मलाई आनन्द दियो', देवी खुसी सुनाउँछन् ।

संघर्षपूर्ण यात्रा बोकेका देवीको यात्राको सफलताले विदेशिएका अन्य नेपालीलाई पनि प्रेरणा दिनेछ । कर्मथलो जता भएपनि यस्ता प्रयासले नेपाललाई जोडिरहनेछ ।
bkbasnet@gmail.com

प्रकाशित : चैत्र २६, २०७५ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्

'स्वास्थ्य विमालाई कल्याणकारी प्रणालीमा रूपान्तरणको खाँचो'

अतुल मिश्र

काठमाडौँ — जनस्वास्थ्य विज्ञहरुले स्वास्थ्य विमा सामाजिक न्यायमा आधारित नरहेको दाबी गर्दै यसलाई कल्याणकारी विमा प्रणालीमा रुपान्तरण गर्नुपर्ने खाँचो औंल्याएका छन् । उनीहरुले स्वास्थ्य विमा प्रणालीलाई प्रत्यक्ष रुपले बजारको अर्थशास्त्रसँग जोड्न नहुनेसमेत बताए । 


राष्ट्रिय बीमा बोर्डको तेस्रो वाषिर्कोत्सवका अवसरमा मंगलबार आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य लगायतका विभिन्न क्षेत्रका विज्ञहरुले उक्त कुरा औंल्याएका हुन्। 'हाम्रो विमा सामाजिक न्यायमा आधारित छैन, बजार उन्मुख छ', जनस्वास्थ्य विशेषज्ञ डा.शरदराज वन्तले भने, 'हालको विमा प्रणालीले सर्वव्यापी स्वास्थ्य पहुँच (युनिभर्सल हेल्थ कभरेज)को मर्मलाई प्रतिबिम्बित गर्दैन।'

स्वास्थ्य विमा प्रणालीलाई प्रत्यक्ष रुपले बजारको अर्थशास्त्रसँग जोड्न नहुने औंल्याउँदै उनले हालको विमाअन्तर्गत शतप्रतिशत नेपाली संलग्न भए पनि यसले मुलुकमा सर्वव्यापी स्वास्थ्य पहुँच प्राप्त गर्न नसकिने दाबी गरे। विज्ञहरुका अनुसार कल्याणकारी मोडेल अन्तर्गतको स्वास्थ्य विमा प्रणालीमा योगदान (प्रिमियम) आम्दानीका आधारमा हुनुपर्ने र हुनेले तिर्ने, नहुनेले नतिर्ने, धेरै हुनेले धेरै तिर्ने गरी सवै जनताले बहन गर्नु पर्छ। योगदान जसले जस्तो गरे पनि आवश्यकता अनुसार सवैले आवश्यक, उपयुक्त र गुणस्तरीय स्वास्थ्य सेवा पाउनै पर्छ।

हाल धेरैजसो देशमा लागू भएको स्वास्थ्य विमा योगदान आयको आधारमै निर्धारित गरिएको जनाउँदै डा.वन्तले प्रश्न गरे -'राज्यले कार्ड वाडेर गरिवलाइ चिन्न सक्छ तर यो धनी छ यसवाट यति योगदान उठाउनु पर्छ भन्ने किन चिन्न सक्दैन।' हाल मुलुकमा गरिब व्यक्तिले नै स्वास्थ्य सेवाका लागि धेरै मुल्य चुकाइरहेको अवस्था रहेकेा उनले बताए।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले हाल विमाको मोडेललाई सुधार गरेर अधिकतम उपयोग गर्नुपर्ने बताए। 'यही वर्षदेखि सरकारी कर्मचारीको तलबबाट योगदान लिने व्यवस्था सुरु गर्नुपर्छ', डा.कोइरालाले विमा कार्यक्रम कार्यान्वयनमा ढिलाई भइरहेको जनाउँदै सबै जिल्लामा गरिबको परिचयपत्र समेत तत्काल बाँड्नुपर्ने बताए। यस्तै श्रम स्वीकृति लिएकाहरुको परिवारलाई समेत विमा कार्यक्रममा समेटिनुपर्ने उनले बताए।
जिआइजेडका डा.रोल्याण्ड पनियाले आफू ६४ वर्षको भएको र हालसम्म आफूलाई स्वास्थ्य उपचारका लागि कहिल्यै पनि पैसा खर्च गर्नु नपरेको बताए। आफ्नो मुलुकमा १ सय ३५ वर्षदेखि स्वास्थ्य विमा रहेको जनाउँदै उनले भने, 'पुनः सोच्नु पर्छ यसमा गरिबलाई कसरी समावेश गर्न सकिन्छ।'
प्रधानमन्त्रीका सञ्चार सल्लाहकार कुन्दन अर्यालले सरकारले 'समृद्ध नेपाल, सुखी नेपाली' को प्रतिबद्धता गरेकोमा यसको एउटा प्रमुख घटक स्वास्थ्यसमेत रहेकाले विमा कार्यक्रमको प्रभावकारी व्यवस्थापन हुनुपर्ने बताए।
वरिष्ठ चिकित्सक डा भोला रिजालले कसैलाई पनि स्वास्थ्य सेवाबाट बञ्चित गर्न नमिल्ने भन्दै विमाले यो सबै कुरा सम्बोधन गर्नुपर्ने बताए। बैंकर अनिलकेशरी शाहले विमासम्बन्धी उपयुक्त प्रकृया पहिचान गरी विमामार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताए।
हाल मुलुकका ४२ जिल्लामा स्वास्थ्य विमा कार्यक्रम सञ्चालित रहेकोमा आगामी आर्थिक वर्षसम्म यसलाई ७७ वटै जिल्लामा पुर्‍याउने लक्ष्य राखिएको छ। करिब १६ लाख ५० हजार विमित रहेको सरकारी विमा कार्यक्रमबाट हालसम्म करिब ५ लाख व्यक्तिले सेवा लिएका छन्। सेवा लिनेमध्ये ५८ प्रतिशत महिला छन्। विमित महिलाको प्रतिशत ५३ छ।

प्रकाशित : चैत्र २६, २०७५ २१:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT