सतुआ र बरी

जुडशीतलमा चुलोलाई विश्राम दिने चलन छ ।
शिल्पा कर्ण

काठमाडौँ — चाडपर्व आयो कि खानेकुरा सम्झिन पुग्छु  । सानैदेखि चाडपर्व भनेकै मीठो–मसिनो खाने दिन भन्ने बुझ्थें, अहिलेसम्म पनि त्यो सोच जस्ताको तस्तै छ  । अहिले भूमिका भने फेरिएको छ । उबेला एकाबिहानै भान्सामा पुगेर कहिले खाना पाक्छ र खान पाउँ जस्तो हुन्थ्यो । कहिलेकाहीँ त जिद्दी गरेर ममीलाई केही परिकार आधा बन्दै माग्न थाल्थें ।

अहिले भने चाडपर्वमा भान्साको जिम्मेवारी आफ्नै हुन्छ वा आफू पनि भान्सामा पकाउने जिम्मा पाएकी हुन्छु । यस्तै एक विशेष दिन हुन्थ्यो, नव वर्ष र त्यसको भोलिपल्टको दिन । नव वर्षका दिन त्यसै खुसियाली, यो दिनलाई ‘सतुआइन’ पनि भनिन्छ । भोलिपल्टै फेरि ‘बाइस पावनी’ वा ‘जुडशीतल’ । अहिले तीन वर्ष जति भइसक्यो, न नव वर्षमा सतुआ खाइएको छ न त बरी । नयाँ वर्षमा मैले ‘मिस’ गर्ने यी दुई नै हुन् ।

बाल्यकालको नयाँ वर्ष सम्झिन्छु, जब ममीले बिहानै नुहाएर आउनेबित्तिकै अर्थोक केही खान दिनुहुन्नथ्यो । पहिले सख्खर हालेको सत्तु एक गिलास खाएपछि मात्र अन्य खानेकुरा हात लगाउन पाइन्थ्यो । खास मन नपरे पनि सत्तु अनिवार्य थियो त्यो दिन । त्यसपछि दाउरा बाल्न भनी राखेको चिर्पट वा तुलसीको मठमा बलेर ठुटो मात्र बाँकी रहेको अगरबत्तीको सिन्का लिएर भान्सामा पसिन्थ्यो । ममीले परबल, आलु, कोबी, भिन्डी, भ्यान्टा लगायतका तरुआ बनाउनुहुन्थ्यो । तात्तातो हातले खान सक्ने कुरै भएन । सिन्कामा घोचेर फुफु गर्दै खान्थ्यौं ।

मिथिला परम्परामा ‘सतुआइन’ का दिन बिहानै ‘तामा’ अर्थात् खाना पकाउँदा चामल नाप्ने काठ/बाँसको भाँडाको पछाडिपट्टि सातपल्ट सतुआ राखेर जम्मा गरिन्छ । त्यसमा सख्खर र पानी हालेर खाने चलन छ । हाम्रो पालामा काठको तामा थिएन । चामल नाप्ने प्लास्टिककै भाँडोको पनि पिँधमा सत्तु अडिन सक्ने ठाउँ थिएन । त्यसैले आफैंले चम्चाले झिकेर सत्तुमा चिनी हालेर खान्थ्यौं, सख्खर मन नपरेर । त्यसपछि अन्य परिकार पाक्थे भान्सामा ।

भोलिपल्ट मिथिलामा ‘जुडशीतल वा ‘बाइस’ पर्व मनाइन्छ । बिहानै ओछ्यानमै छँदा टाउको भिज्थ्यो । लगत्तै उठेर ‘जुराउनेलाई’ पानी खुट्टामा राखेर ढोगिन्थ्यो । जुडशीतलका दिन आफूभन्दा ठूलालाई गोडामा पानी राखेर ढोगिन्छ । ठूलाले भने सानालाई वर्षभरि ‘सबै कुरा पुगोस्, मन शीतल र शान्त रहोस्’ भनेर शिरमा पानी थप्थपाएर आशीर्वाद दिन्छन् । बिहानै ‘घाटबाट पटाउँछन्’ अर्थात् घरआँगन, ढोकाको दुईपट्टि र सडकमा पानी छर्किन्छन्, रूखबिरुवामा पानी हाल्छन् । यस दिन हामी उठ्दा खाना पाकिसकेको हुन्थ्यो । किनकि अँध्यारो छँदै वा अर्को दिन लाग्न नपाउँदै चुलोचौको सक्नुपर्ने हुन्छ । बेलुका खाना पकाउनपरे अर्को चुलो प्रयोग गर्ने गरिन्थ्यो । हाम्रो भने बिहानै बुबाले ‘जुराउनु’ भएपछि चिसोले आँखा खुल्थ्यो । यो दिन आफन्त र छरछिमेकमा नाता पर्नेको घरमा गएर ढोग्ने र आशीर्वाद लिने चलन छ । यस्तो सबै कामका लागि बासी पानीको प्रयोग गरिन्छ ।

जुडशीतलमा चुलोलाई विश्राम दिने चलन छ । अर्थात् त्यो दिनभरि चुलोमाथि खाना पकाइँदैन । अचेल ग्यासको जमानामा भने त्यसो गर्ने कम छन् । अँध्यारोमै पकाएको खानामध्येबाट जुठो नहाल्दै पहिलो भाग निकालेर राखिन्छ । त्यो खाना मल्हानको पात वा केराको पातमा राखेर हरेक ढोकाको दुई छेउमा चढाइन्छ ।

चुलोलाई पनि यसैगरी ख्वाइन्छ । केटाकेटी हुँदासम्म ममीको पछिपछि उहाँले भात चढाएपछि पानी हाल्ने गरेको सम्झिन्छु । अलि ठूली भएपछि भने भान्साको कामतिरै व्यस्त हुन थालियो । एक दिनअघि नै अर्थात् सतुआइनमै पकाएको पुरी, बरी र अन्य खानेकुरा मुछेर भोको पेट नै पूजा गरेझैं चुलोलाई चढाइन्छ । यस दिन हुनैपर्ने तरकारी हो ‘सोहीजन’ वा मुनुगा । त्यसैगरी ‘टिकोला’ वा काँचो आँप पनि यही दिनदेखि खान सुरु गरिन्छ । देउतालाई चढाएपछि मात्र यसको चट्नी, अचार वा अन्य रूपमा आँपको प्रयोग सुरु हुन्छ । घाटबाट छर्किने पानीमा पनि टिकोला राखिएको हुन्छ ।

जुडशीतल पनि सानोतिनो होली नै हो, रंग नभई हिलोको । यस दिन पानी र हिलो खेल्ने चलन छ । नुहाउन जाँदा पोखरीको वा घरमै माटो मुछेर हिलो बनाउने र एकअर्कालाई छ्यापेर रमाइलो गर्ने गरिन्छ । गाउँदेहातमा भने अहिले पनि ‘होरैया’ आउँछन्, होलीमा झैं हूल बाँधेर । टिकोलाकै माला र गहना लगाएर शिवझैं अचम्मको रूपमा आएका पुरुषको टोलीमा एक जना शिव बनेका हुन्छन् अर्काचाहिँ पार्वतीको भूमिकामा । अन्य शिवको जन्ती बनेर गाउँ डुल्छन्, धूलो, हिलो खेल्दै । टोल घुम्दै मान्छेका आँगनमा जाने र वाद्यवादनसहित गीत गाउँदै रमाइलो गर्ने गर्छन् । यसमा ‘महेशवाणी’ अर्थात् शिवका र पार्वतीसँगका प्रेमका गीत र ‘नचारी’ अर्थात् पार्वतीको दृष्टिबाट शिवको प्रशंसासहितका गीत गाइन्छन् । घरैपिच्छे डुल्ने होरैयालाई घरधनीले पैसा वा खानेकुरा दिएर बिदा गर्छन् ।

नव वर्षले परिवारमा मात्र होइन, विद्यालयमा पनि छुट्टै उत्साह हुन्थ्यो । तर त्यो बेला स्कुल बिदा हुन्थ्यो, लामो समयदेखि बिदा बसिरहेको भएर होला नव वर्षको बिदाले खासै खुसी दिएन बाल्यकालमा । विद्यालयको वार्षिक परीक्षा सकिएको हुन्थ्यो, नतिजा पनि डेढ महिना जति पछि मात्र आउँथ्यो । लामो बिदाले वाक्क भइसकेका हुन्थ्यौं । सानो छँदा किताब पसलमा हिरो–हिरोइनका फोटो भएका पोस्टकार्ड किन्न पाइन्थ्यो, एक रुपैयाँमा । केही दिन नव वर्ष आउनुअघि नै परीक्षा सकिन्थ्यो । त्यही बेला नत्र नतिजा आइसकेपछि ती पोस्टकार्ड साथीलाई दिइन्थ्यो । बुबाममीले कहिल्यै त्यसका लागि पैसा दिनुभएन । एक त फिल्मी क्षेत्र अझ हिरो–हिरोइनको फोटोतिर लागे भने बच्चा बिग्रिएलान् भन्ने पीर थियो रे ।

तर चोरेर भए पनि, जम्मा गरेको वा भेटेको पैसा जम्मा गरेर भए पनि नव वर्षमा ‘ह्याप्पी न्यु इयर’ वाला ‘सायरी’ सहितको पोस्टकार्ड एकअर्कालाई बाँड्ने गर्थ्यौं । विशेषगरी केटाले कोही केटी साथीलाई यसरी पोस्टकार्ड दिए, क्लासभरि ती दुईको ‘लभ परेको’ हल्ला चल्थ्यो । हिन्दी र नेपाली सिनेमाका नायक–नायिकाका सुन्दर, बोल्ड र अन्य विभिन्न पोजमा खिचाइएका फोटो पाइन्थे । ती बेलाका सायरीको पनि आफ्नै महत्त्व छ । चल्तीको सायरी थियो, ‘रोज इज रेड, स्काई इज ब्लु, ओ माई फ्रेन्ड, आई लभ यु/आई मिस यु ।’ यसबाहेक अन्य पनि थिए, तर अंग्रेजीमा लेख्नुपर्दा प्रायः यही लेख्थे सबैले ।

अहिले झन्डै तीन वर्ष भयो, सतुआ खान कर गर्ने कोही नभएर खाएकी छैन । न त त्यो दिन बरी नै पकाउन सकिएको छ । अघिपछि सत्तु र बरी दुवै पकाएर खाने भए पनि त्यो दिन घरमा हुँदा जस्तो अनिवार्य पकाउनुपर्ने हुन्न । न त अन्य विधि गर्न नै कर हुन्छ, न अचेल साथीहरूको नामबाट पोस्टकार्ड नै पाइन्छ । नयाँ वर्ष सायद यी विधि र खानेकुराबिना खल्लो हुने रहेछ । साथै ती चल्तीको हिरो–हिरोइनका तस्बिरयुक्त पोस्टकार्डबिना । अचेल नव वर्षको शुभकामना फेसबुकको इनबक्समा आउँछ र त ‘नव वर्ष’ आएको थाहा हुन्छ । नत्र त जस्तो अरू दिन त्यस्तै नव वर्ष ।

प्रकाशित : चैत्र २९, २०७५ १५:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाली युवा अस्ट्रेलियामा सांसद्‌का उम्मेदवार

नारायण खड्का

अस्ट्रेलिया — यहाँको सत्तारुढ दल लिबरलले नेपाली युवा प्रमेज श्रेष्ठलाई संसद्‌मा उम्मेदवार बनाउने निर्णय गरेको छ । न्यु साउथ वेल्सको लिबरल पार्टीले उनलाई सिड्नीको बार्टन निर्वाचन क्षेत्रबाट उम्मेदवारका रुपमा चयन गरेको हो ।

अस्ट्रेलियामा यही मे १८ मा संसदीय निर्वाचन हुँदैछ । निर्वाचनमा उनले लेबरकी नेतृ लिण्डा बर्नी, ग्रिन्सका कोनोर पेरिसिस, युनाईटेड अस्ट्रेलियाका बेन ल्यु लगायतकासँग प्रतिस्पर्धा गर्नेछन् । यस निर्वाचन क्षेत्रले सिड्नीमा नेपालीहरुको सबैभन्दा धेरै बसोबास रहेका क्षेत्रहरु मानिने रकडेल, टेम्पे, वलाईक्रिक, कोग्राहा, हस्ट्रभिल, म्यारिकभिल लगायतका स्थानहरु समेट्छ । श्रेष्ठ अस्ट्रेलियामा रहेका नेपालीहरुको लिबरल पार्टी सम्बद्ध लिबरल फ्रेण्डस् अफ नेपालको युवा संयोजकसमेत हुन् । सत्तारुढ दलले नेपालीलाई संसद्को उम्मेदवारमा सिफारिस गरेको यो पहिलो अवसर हो ।

१ लाख ७ हजार मतदाता रहेको उक्त क्षेत्रमा विपक्षी दल लेबरले अधिकांश निर्वाचनमा जित हासिल गरेको भए पनि लिबरलको समेत राम्रो पकड रहेको क्षेत्रका रुपमा चिनिन्छ । सो निर्वाचन क्षेत्रमा सन् २०१३ मा भएको निर्वाचनमा लिबरलका निकोलास भारभारिसले जित हासिल गरेका थिए भने अघिल्लो निर्वाचनमा लेबरकी नेतृ लिण्डा बर्नि निर्वाचित छिन् । श्रेष्ठले अधिकांश युवाहरुको भोट तान्न सक्ने अनुमान लगाइएको छ ।

'यो मेरो लागि मात्र नभएर अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई समेत अघि बढ्न प्रेरित गर्ने अवसर हो ।' सांसद्का उम्मेदवार बनेपछि उनले कान्तिपुरसँग भने । उनले अस्ट्रेलिया र अस्ट्रेलियाली मात्र नभएर नेपाली तथा नेपालले गर्व गर्नयोग्य काम गर्ने सुनाए । उनले आफ्नो चुनावी अभियान सुरु गरिसकेको समेत जानकारी दिए ।

प्रकाशित : चैत्र २९, २०७५ १५:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT