सारा पीडा भुलेर

मोरङको जहदा गाउँपालिकास्थित शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजमा अध्ययनरत भूकम्पपीडित छात्रा पढाइ सकेर घर फिर्ने तयारीमा
जितेन्द्र साह

काठमाडौँ — भूकम्पको त्रासदी भोगेपछि सरकारी कोटामा पढ्न मधेस झरेका अति प्रभावित जिल्लाका ४० छात्रासँग तीन वर्षअघि पहिलोपटक विराटनगरको मधुमारास्थित छात्रावासमा भेट भएको थियाे । त्यतिबेला उनीहरू थिलथिलिएका थिए । मनभरी पीडाको पोको थियो । मनोबल टुटेको थियो । पढाइ पूरा गर्न नसकिएला कि भन्ने मनोदशामा थिए । 

तीन वर्षपछि तिनै चेलीहरू कलेज परिसरमा ध्यान मग्न भई पढिरहेका भेटिए । पीडालाई शक्तिमा परिणत गरी उनीहरू उज्ज्वल भविष्यको पथमा अघि बढिसकेका रहेछन् । विगतलाई सम्झेर दुःख मनाउ गर्नुभन्दा वर्तमानमा अथक श्रम गरिरहेका छन् । भावी जीवन र ‘करिअर’ प्रति आशावादी छन् ।

Citizen

‘अब घर फर्कने बेला भयो,’ भूकम्पपीडित २० वर्षीया सुप्रिया गुरुङले हाँस्दै भनिन्, ‘पढाइ पनि सोचेभन्दा धेरै राम्रो भयो ।’ गोरखा धार्चे गाउँपालिका ५ सिङ्लाकी उनी तीनवर्षे स्टाफ नर्स पाठ्यक्रमको अन्तिम वर्षको परीक्षा दिँदै छिन् । परिवारकी सबैभन्दा कान्छी हुन्, सुप्रिया । १० वैशाखबाट सुरु भएको परीक्षा सकिएलगत्तै उनी आफ्नै गाउँ जानेछिन् । ‘अब परीक्षाफल निस्केपछि प्रमाणपत्र लिन मात्र आउँछु,’ उनले भनिन्, ‘सेवा गर्दै जाँदा कतै न कतै त भेट भइहाल्ला नि ।’

तत्कालीन सरकारले भूकम्पबाट अति प्रभावित परिवारका छोराछोरीका लागि ल्याएको कार्यक्रमअर्न्तगत उनले मोरङको सीमावर्ती जहदा गाउँपालिकास्थित शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजको छात्रावासमा बसेर पढाइ सकेकी हुन् । उनीलगायत पहाडी भेगका ४० छात्राले यहाँ नर्सिङ अध्ययन गरिरहेका छन् । उनीहरूबाहेक अन्य १ सय २० जनाले समेत नर्सिङ (प्रमाणपत्र तह) पढ्दै छन् ।

‘त्यो महाविनाशपछि शून्यको स्थितिमा थियौं,’ सुप्रियाले भनिन्, ‘सरकारले पीडित परिवारका सन्तानलाई प्राविधिक शिक्षा दिने योजना ल्याएको साथीहरूबाट थाहा पाएपछि छनोटका लागि प्रवेश परीक्षा दिएँ ।’ उनले रुचिअनुरूप नर्सिङ विषय छानिन् । ‘स्वास्थ्यको हेरचाहबारे ज्ञान हुने, सेवा गर्न पाइने र सामुदायिक चेतनामा योगदान दिन सकिने भएर यो विषय पढ्न मन लाग्यो,’ सुप्रियाले भनिन् ।

सदरमुकाम गोरखा बजारदेखि उत्तरपट्टि गाउँ छ । ०७२ वैशाख १२ को महाभूकम्पमा घर ध्वस्त भएपछि सपरिवार त्रिपालमुनि १५ दिनसम्म बसेको उनले बिर्सेकी छैनन् । उनको ८ सदस्यीय परिवार छ । सरकारकै सहयोगमा एक वर्षअघि घर बनिसकेको छ ।

सुप्रियाकै सहपाठी हुन्, दोलखा गौरीशंकर गाउँपालिका २ स्थायी घर भएकी २२ वर्षे सुलोचना खड्का । ‘यहाँ पढ्न पाउँदा पहाड र काठमाडौंसँगै मधेस पनि बुझ्न पाएँ,’ उनले भनिन् ।तीन वर्षअघि १२ वैशाखको भुइँचालोमा सदरमुकाम चरिकोट पश्चिमको उनको गाउँको ढुंगामाटाको दुईतले छकोठे घर आंशिक भत्कियो भने २९ वैशाखको अर्को पराकम्पमा ध्वस्त भयो ।

काठमाडौंमा रहेकी उनको दायाँ हातको जोर्नी भाँचियो । ‘नर्सिङकै परीक्षाको तयारीका क्रममा दिदीहरूसँग काठमाडौं बसेकी थिएँ, भूकम्पको त्यो दिन पदम कन्या क्याम्पसमा टेस्ट परीक्षा भइरहेको थियो,’ सुलोचनाले भनिन्, ‘लडेर घाइते भएँ, ग्रान्डी अस्पतालमा उपचार भयो ।’

तीन दिनसम्म शान्तिनगरमा त्रिपालको बासपछि उनी बसबाट गाउँ फर्केकी थिइन् । भुइँचालोपछिको सारा पीडालाई बिर्साएर सरकारले करिअर बनाउन दिएको अवसरको सदुपयोग गरेको उनले बताइन् । फारममा पढ्नलाई ठाउँ छनोट गर्न दिइएको विकल्पमा खड्काले पहिलोमा पाल्पा, दोस्रोमा विराटनगर र अन्तिममा रौतहतमा ‘टिक’ लगाएकी थिइन् ।

मधेसकै सर्लाही शंकरपुरस्थित मामाघरमा बेलाबेलामा आइरहे पनि उनले पहिलोपटक पूर्वी तराईमा पाइला टेकेकी थिइन् । ‘सुरुमा यहाँको ठाउँ, संस्कृति र मान्छेहरू कस्ता होलान् भन्ने चिन्ता थियो,’ सुलोचनाले भनिन्, ‘पढाइकै क्रममा अस्पतालमा तालिमका लागि जाँदा बिरामीको सेवा गर्ने मौकासँगै थोरथोर भाषा संस्कृति बुझेँ ।’

अब हिमाल र पहाडसँगै मधेस पनि बुझेको हुनाले सेवा गर्न जहाँ अवसर पाए पनि जाने बताइन् । सरकारले दिएको ३ लाख रुपैयाँ पुनर्निर्माण खर्चबाट सुलोचनाको परिवारले नयाँ घर बनाएका छन् ।

जहदास्थित उक्त पोलिटेक्निक र वरिपरिका अन्य कलेजमा पढ्ने भूकम्पपीडित छात्रछात्रामा परिवारका सदस्य गुमाउने पीडित पनि छन् । नर्सिङ पढिरहेकी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका अमलेकी २४ वर्षीया सीमा खनालले भूकम्पमा ७० वर्षीया हजुरआमा भगवतीलाई गुमाइन् ।

सदरमुकाम चौतारादेखि बस चढेर पाँच घण्टामा उनको घर पुगिन्छ । भुइँचालोले माटाढुंगाको दुईतले घर खसेपछि आँगनमा बसिरहेकी उनकी हजुरआमा थिचिएकी थिइन् । यो घटना हुँदा उनी धादिङ नौबिसेको गाडीमा सवार थिइन् । ‘मकवानपुरस्थित मावलीबाट फर्किर्दैं थिएँ,’ सीमाले भनिन् । छुटपुटमा परेको हुनाले उनको पहाड घर अझै बन्न सकेको छैन । ‘पूरा किस्ता नपाएकाले घर निर्माणाधीन अवस्थामै छ,’ उनले भनिन् ।

यहाँ भेटिएकी २२ वर्षीया अर्की छात्रा विद्यालक्ष्मी श्रेष्ठले भुइँचालोमा दाइ, भाउजु र भतिजी गुमाएकी छन् । धादिङको सिद्धलेख गाउँपालिका १ की विद्याले यही कलेजमा नर्सिङ र भाइ १९ वर्षीय मीनबहादुरले मोरङको बुढीगंगा गाउँपालिकास्थित मनमोहन स्मृति पोलिटेक्निक कलेजमा सिभिल इन्जिनियर पढिरहेका छन् ।

भूकम्पपीडित विद्यार्थीबीच भएको खुला प्रतिस्पर्धाबाट छानिएका उनीहरूमध्ये कतिपय विभिन्न संकायमा दस जोड दुई र स्नातक तहमा अध्ययरत थिए । चाँडो आत्मनिर्भर भएर परिवारलाई सहयोग पुर्‍याउन उनीहरू प्राविधिक शिक्षातिर अग्रसर भएका हुन् ।

भूकम्पको त्रासदी भोगेका छात्रा भएकाले उनीहरूको मनोविज्ञान अनुरूपको पढाइसँगै बसोबासको प्रबन्ध गरिएको शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजका प्रिन्सिपल सन्तबहादुर अधिकारीले बताए ।‘नयाँ शिक्षिकाले भावना नबुझलान् भनेर तीन वर्षको अवधिसम्म यो कार्यक्रमको संयोजक फेरेनौं,’ उनले भने, ‘केही समय विराटनगरको छात्रावासमा राखेपछि कलेजकै छात्रावासमा लग्यौं जहाँ उनीहरू निकै रमाए ।’

भूकम्प प्रभावित छात्राहरूले यो ग्रामीण परिवेशमा प्राविधिक शिक्षा पाउनुका साथै हिमाल–पहाडबाहेकको विशाल नेपालको अनुभूति गर्न पाएको उक्त कलेजका प्राध्यापक एवं समाजशास्त्री मुकेश सिंहले बताए ।

विगतलाई कोट्याउँदा आहत हुन सक्ने सम्भावनाका कारण यी छात्राहरूलाई वर्तमानमा व्यस्त राखेर झविष्यका लागि कसरी सशक्त जनशत्ति बनाउन सकिन्छ भन्नेतर्फ सारा अनुभव लगाएर काम गरेको उक्त कलेजका नर्सिङ पाठ्यक्रम संयोजक रत्नमाया तामाङले बताइन । भनिन्, ‘उनीहरू अहिले असह्य पीडाबाट बाहिर निस्की अब केबल सुन्दर भविष्यबारे सोचिरहेका छन्, योभन्दा ठूलो उपलब्धि हामी सम्पूर्ण गुरुगुरुमाका लागि अरू के पो हुन सक्छ र ?’

प्रकाशित : वैशाख १२, २०७६ ०९:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

थारू फिल्मलाई च्यारिटीकै भर

ठाकुरसिंह थारू

बर्दिया — हालै निर्माण सम्पन्न थारू भाषाको फिल्म ‘भुरभुरा रहर’ को निर्माण लागत ४० लाख रुपैयाँ दाबी गरिएको छ । ‘भुरभुरा रहर’ को अर्थ हुन्छ ‘काँचो सपना’ । थारू भाषाको फिल्म निर्माण सुरु भएको तीन दशक बितिसक्दा पनि लगानी उठाउने मामलामा भने ‘काँचो सपना’ जस्तैको स्थितिबाट गुज्रिरहेका छन् फिल्मकर्मीहरू ।

प्रदर्शनको तयारीमा रहेको थारू भाषाको फिल्म 'भुरभुरा रहर’ को एक दृश्य ।

व्यावसायिक हलले नपत्याउने र सम्बन्धित सरकारी निकायबाट प्रोत्साहन नपाउने हुँदा अधिकांश थारू फिल्महरू च्यारिटी सोमै भर पर्न बाध्य छन् ।

‘आदिवासी मातृभाषी फिल्मलाई सौतेलो व्यवहार भयो,’ थारू फिल्मकर्मी मदन चौधरी भन्छन्, ‘मौलिक संस्कृति र विषयवस्तुको ठूलो सम्भावना बोकेको क्षेत्र स्पष्ट नीति नहुँदा व्यावसायिक बन्न सकेको सकिरहेको छैन ।’
थारू भाषामा व्यावसायिक फिल्म निमार्णको इतिहास तीन दशक लामो छ ।

२०४६ मा पहिलो पटक रामलाल र पर्शुराम चौधरीले ‘करम’ (भाग्य) नामक थारू भाषाको फिल्म बनाएका थिए । भर्खरै प्रजातन्त्रमा खुल्दै गएको थारू समुदायबीच यो फिल्मले निकै राम्रो लोकप्रियता कमायो । आफ्नै भाषामा फिल्म हेर्न पाए पनि थारू समुदाय पनि दंग पर्‍यो । तर फिल्मलाई वितरक र हलवालाले भने खासै स्थान दिएनन् । त्यो समय च्यारेटी सोबाट मात्रै फाइदा उठ्ने कुरै भएन । लगानीकर्ताले मातृभाषामा फिल्म बनाएकोमा धन्यवाद त पाए तर फाइदा नपाएपछि अर्को फिल्म बनाउने हिम्मत गरेनन् ।

त्यसको लामो समयपछि अर्को व्यावसायिक फिल्म आयो । ‘कमैया’ नामक यो फिल्म निर्माण गरेका थिए रेशम चौधरीले । आफ्नै लगानी, आफैं निर्माता र मुख्य कलाकारको भूमिकामा देखिएका उनको फिल्मलाई पनि ठूला हल र वितरकहरूले विश्वास गरेनन् ।

यसपछि यो फिल्मलाई उनले थारू भाषी बहुल्य रहेका जिल्लाका गाउँगाउँमा प्रदर्शन गरे । अंग्रेजी सब–टाइटल गरेर विदेशतिर पनि प्रदर्शनमा लिएर गए । लगानी उठ्यो । तर, धेरैले फिल्ममा जोखिम मोल्न चाहेनन् । लामो समयपछि केही अघि मात्रै थारू भाषाकै व्यावसायिक फिल्म भनिएको ‘भुरभुरा रहर’ र ‘लवा जुनी’ को ट्रेलर सार्वजनिक भएको छ ।

हालै सुटिङ सकिएको दुई फिल्मलाई पनि व्यावसायिक भनिएको छ । ‘भुरभुरा रहर’ को सुटिङमा फोरके र ड्रोनसमेत प्रयोग गरिएको छ । ‘भुरभुरा रहर’ का निर्माता रामलाल चौधरी हुन भने ‘लवा जुनी’ का निर्माता दाङका केएल पीडित हुन् । प्रदर्शनको अनुमति पाइसकेका फिल्मका निर्माताहरूले भने वितरक र हल सञ्चालकको व्यवहार सकारात्मक पाएका छैनन् ।

‘थारू भाषाको फिल्मलाई वितरकहरूले पत्याउँदैनन् । हल सञ्चालकहरूले च्यारेटी मात्रै (हल भाडामा) दिन खोज्छन् । त्यसैले थारू भाषाका फिल्मले व्यावसायिकता नपाएको हो,’ ‘भुरभुरा रहर’ का निर्देशक समेत रहेका मदन भन्छन्, ‘भाषाभाषीको फिल्मलाई हेर्ने दृष्टिकोण नै फरक छ । स्थानीय निकायको पनि चासो छैन ।’

यस्तो भएपछि उनले लगानी उठाउनका लागि नयाँ रणनीति अपनाइएको बताए । सुरुमा सबैभन्दा बढी थारू बहुल क्षेत्र बर्दियामा प्रदर्शनको तयारी छ । ‘थारू गाउँका सार्वजनिक स्थलमा सशुल्क फिल्म देखाउने छौं,’ उनले भने, ‘त्यसपछि तराईका अन्य जिल्लामा पनि प्रदर्शन गर्ने तयारी छ । थारू बहुल क्षेत्रबाटै लगानी उठाउने लक्ष्य छ ।’ ‘भुरभुरा रहर’ का लेखक सुशील चौधरीले नेपाली फिल्महरू समेत व्यावसायिक रूपमा सफल नभइरहेका बेला थारू भाषाको फिल्मलाई वितरकहरूले महत्त्व नदिएको हुन सक्ने बताए ।

उनले सरकारको वस्तुगत नीतिको अभावमा नेपालमा पनि हलिउड र बलिउड फिल्मको ठुलो प्रभाव रहेको जनाउँदै स्थानीय र आदिवासी फिल्महरूलाई विशेष प्रोत्साहनको नीति हुनुपर्ने औंल्याए । ‘सरकारको प्रोत्साहन छैन । हलले ठाउँ दिँदैनन् । निजी लगानीमा लाखौं डुब्ने खतरा मोल्न कोही चाहँदैन,’ उनले भने, ‘भाषाभाषी फिल्मलाई राज्यले फरक ढंगले हेर्नुपर्छ ।’

यसअघि चम्पन संस्कृति समूहकले ‘भौँरा’ (भमरा) नामक चलचित्र निर्माण गरेको थियो । अहिलेसम्म ‘बौछार’, ‘जाली संसार’, ‘लुटल जिन्दगी’, ‘करम’, ‘बहार’ लगायतका दर्जन बढी थारू फिल्म निर्माण भइसकेका छन् ।

व्यावसायिकतामा भने अझै केही कमी छ । थारू अभिनेत्री सुनीता चौधरीले सांस्कृतिक रूपमा थारू फिल्मको भविष्य राम्रै रहेको दाबी गर्छिन् । ‘मलाई विश्वास छ हाम्रो संस्कृतिका फिल्महरूको दिन अझै छ,’ उनले भनिन् । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले राष्ट्रिय चलचित्र नीति कार्यान्वयनमा गएपछि भाषाभाषीको फिल्मलाई ‘सकारात्मक विभेदको नीति’ अपनाइने बताए ।

प्रकाशित : वैशाख १२, २०७६ ०८:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्