कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सारा पीडा भुलेर

मोरङको जहदा गाउँपालिकास्थित शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजमा अध्ययनरत भूकम्पपीडित छात्रा पढाइ सकेर घर फिर्ने तयारीमा
जितेन्द्र साह

काठमाडौँ — भूकम्पको त्रासदी भोगेपछि सरकारी कोटामा पढ्न मधेस झरेका अति प्रभावित जिल्लाका ४० छात्रासँग तीन वर्षअघि पहिलोपटक विराटनगरको मधुमारास्थित छात्रावासमा भेट भएको थियाे । त्यतिबेला उनीहरू थिलथिलिएका थिए । मनभरी पीडाको पोको थियो । मनोबल टुटेको थियो । पढाइ पूरा गर्न नसकिएला कि भन्ने मनोदशामा थिए । 

सारा पीडा भुलेर

तीन वर्षपछि तिनै चेलीहरू कलेज परिसरमा ध्यान मग्न भई पढिरहेका भेटिए । पीडालाई शक्तिमा परिणत गरी उनीहरू उज्ज्वल भविष्यको पथमा अघि बढिसकेका रहेछन् । विगतलाई सम्झेर दुःख मनाउ गर्नुभन्दा वर्तमानमा अथक श्रम गरिरहेका छन् । भावी जीवन र ‘करिअर’ प्रति आशावादी छन् ।

‘अब घर फर्कने बेला भयो,’ भूकम्पपीडित २० वर्षीया सुप्रिया गुरुङले हाँस्दै भनिन्, ‘पढाइ पनि सोचेभन्दा धेरै राम्रो भयो ।’ गोरखा धार्चे गाउँपालिका ५ सिङ्लाकी उनी तीनवर्षे स्टाफ नर्स पाठ्यक्रमको अन्तिम वर्षको परीक्षा दिँदै छिन् । परिवारकी सबैभन्दा कान्छी हुन्, सुप्रिया । १० वैशाखबाट सुरु भएको परीक्षा सकिएलगत्तै उनी आफ्नै गाउँ जानेछिन् । ‘अब परीक्षाफल निस्केपछि प्रमाणपत्र लिन मात्र आउँछु,’ उनले भनिन्, ‘सेवा गर्दै जाँदा कतै न कतै त भेट भइहाल्ला नि ।’

तत्कालीन सरकारले भूकम्पबाट अति प्रभावित परिवारका छोराछोरीका लागि ल्याएको कार्यक्रमअर्न्तगत उनले मोरङको सीमावर्ती जहदा गाउँपालिकास्थित शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजको छात्रावासमा बसेर पढाइ सकेकी हुन् । उनीलगायत पहाडी भेगका ४० छात्राले यहाँ नर्सिङ अध्ययन गरिरहेका छन् । उनीहरूबाहेक अन्य १ सय २० जनाले समेत नर्सिङ (प्रमाणपत्र तह) पढ्दै छन् ।

‘त्यो महाविनाशपछि शून्यको स्थितिमा थियौं,’ सुप्रियाले भनिन्, ‘सरकारले पीडित परिवारका सन्तानलाई प्राविधिक शिक्षा दिने योजना ल्याएको साथीहरूबाट थाहा पाएपछि छनोटका लागि प्रवेश परीक्षा दिएँ ।’ उनले रुचिअनुरूप नर्सिङ विषय छानिन् । ‘स्वास्थ्यको हेरचाहबारे ज्ञान हुने, सेवा गर्न पाइने र सामुदायिक चेतनामा योगदान दिन सकिने भएर यो विषय पढ्न मन लाग्यो,’ सुप्रियाले भनिन् ।

सदरमुकाम गोरखा बजारदेखि उत्तरपट्टि गाउँ छ । ०७२ वैशाख १२ को महाभूकम्पमा घर ध्वस्त भएपछि सपरिवार त्रिपालमुनि १५ दिनसम्म बसेको उनले बिर्सेकी छैनन् । उनको ८ सदस्यीय परिवार छ । सरकारकै सहयोगमा एक वर्षअघि घर बनिसकेको छ ।

सुप्रियाकै सहपाठी हुन्, दोलखा गौरीशंकर गाउँपालिका २ स्थायी घर भएकी २२ वर्षे सुलोचना खड्का । ‘यहाँ पढ्न पाउँदा पहाड र काठमाडौंसँगै मधेस पनि बुझ्न पाएँ,’ उनले भनिन् । तीन वर्षअघि १२ वैशाखको भुइँचालोमा सदरमुकाम चरिकोट पश्चिमको उनको गाउँको ढुंगामाटाको दुईतले छकोठे घर आंशिक भत्कियो भने २९ वैशाखको अर्को पराकम्पमा ध्वस्त भयो ।

काठमाडौंमा रहेकी उनको दायाँ हातको जोर्नी भाँचियो । ‘नर्सिङकै परीक्षाको तयारीका क्रममा दिदीहरूसँग काठमाडौं बसेकी थिएँ, भूकम्पको त्यो दिन पदम कन्या क्याम्पसमा टेस्ट परीक्षा भइरहेको थियो,’ सुलोचनाले भनिन्, ‘लडेर घाइते भएँ, ग्रान्डी अस्पतालमा उपचार भयो ।’

तीन दिनसम्म शान्तिनगरमा त्रिपालको बासपछि उनी बसबाट गाउँ फर्केकी थिइन् । भुइँचालोपछिको सारा पीडालाई बिर्साएर सरकारले करिअर बनाउन दिएको अवसरको सदुपयोग गरेको उनले बताइन् । फारममा पढ्नलाई ठाउँ छनोट गर्न दिइएको विकल्पमा खड्काले पहिलोमा पाल्पा, दोस्रोमा विराटनगर र अन्तिममा रौतहतमा ‘टिक’ लगाएकी थिइन् ।

मधेसकै सर्लाही शंकरपुरस्थित मामाघरमा बेलाबेलामा आइरहे पनि उनले पहिलोपटक पूर्वी तराईमा पाइला टेकेकी थिइन् । ‘सुरुमा यहाँको ठाउँ, संस्कृति र मान्छेहरू कस्ता होलान् भन्ने चिन्ता थियो,’ सुलोचनाले भनिन्, ‘पढाइकै क्रममा अस्पतालमा तालिमका लागि जाँदा बिरामीको सेवा गर्ने मौकासँगै थोरथोर भाषा संस्कृति बुझेँ ।’

अब हिमाल र पहाडसँगै मधेस पनि बुझेको हुनाले सेवा गर्न जहाँ अवसर पाए पनि जाने बताइन् । सरकारले दिएको ३ लाख रुपैयाँ पुनर्निर्माण खर्चबाट सुलोचनाको परिवारले नयाँ घर बनाएका छन् ।

जहदास्थित उक्त पोलिटेक्निक र वरिपरिका अन्य कलेजमा पढ्ने भूकम्पपीडित छात्रछात्रामा परिवारका सदस्य गुमाउने पीडित पनि छन् । नर्सिङ पढिरहेकी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका अमलेकी २४ वर्षीया सीमा खनालले भूकम्पमा ७० वर्षीया हजुरआमा भगवतीलाई गुमाइन् ।

सदरमुकाम चौतारादेखि बस चढेर पाँच घण्टामा उनको घर पुगिन्छ । भुइँचालोले माटाढुंगाको दुईतले घर खसेपछि आँगनमा बसिरहेकी उनकी हजुरआमा थिचिएकी थिइन् । यो घटना हुँदा उनी धादिङ नौबिसेको गाडीमा सवार थिइन् । ‘मकवानपुरस्थित मावलीबाट फर्किर्दैं थिएँ,’ सीमाले भनिन् । छुटपुटमा परेको हुनाले उनको पहाड घर अझै बन्न सकेको छैन । ‘पूरा किस्ता नपाएकाले घर निर्माणाधीन अवस्थामै छ,’ उनले भनिन् ।

यहाँ भेटिएकी २२ वर्षीया अर्की छात्रा विद्यालक्ष्मी श्रेष्ठले भुइँचालोमा दाइ, भाउजु र भतिजी गुमाएकी छन् । धादिङको सिद्धलेख गाउँपालिका १ की विद्याले यही कलेजमा नर्सिङ र भाइ १९ वर्षीय मीनबहादुरले मोरङको बुढीगंगा गाउँपालिकास्थित मनमोहन स्मृति पोलिटेक्निक कलेजमा सिभिल इन्जिनियर पढिरहेका छन् ।

भूकम्पपीडित विद्यार्थीबीच भएको खुला प्रतिस्पर्धाबाट छानिएका उनीहरूमध्ये कतिपय विभिन्न संकायमा दस जोड दुई र स्नातक तहमा अध्ययरत थिए । चाँडो आत्मनिर्भर भएर परिवारलाई सहयोग पुर्‍याउन उनीहरू प्राविधिक शिक्षातिर अग्रसर भएका हुन् ।

भूकम्पको त्रासदी भोगेका छात्रा भएकाले उनीहरूको मनोविज्ञान अनुरूपको पढाइसँगै बसोबासको प्रबन्ध गरिएको शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजका प्रिन्सिपल सन्तबहादुर अधिकारीले बताए । ‘नयाँ शिक्षिकाले भावना नबुझलान् भनेर तीन वर्षको अवधिसम्म यो कार्यक्रमको संयोजक फेरेनौं,’ उनले भने, ‘केही समय विराटनगरको छात्रावासमा राखेपछि कलेजकै छात्रावासमा लग्यौं जहाँ उनीहरू निकै रमाए ।’

भूकम्प प्रभावित छात्राहरूले यो ग्रामीण परिवेशमा प्राविधिक शिक्षा पाउनुका साथै हिमाल–पहाडबाहेकको विशाल नेपालको अनुभूति गर्न पाएको उक्त कलेजका प्राध्यापक एवं समाजशास्त्री मुकेश सिंहले बताए ।

विगतलाई कोट्याउँदा आहत हुन सक्ने सम्भावनाका कारण यी छात्राहरूलाई वर्तमानमा व्यस्त राखेर झविष्यका लागि कसरी सशक्त जनशत्ति बनाउन सकिन्छ भन्नेतर्फ सारा अनुभव लगाएर काम गरेको उक्त कलेजका नर्सिङ पाठ्यक्रम संयोजक रत्नमाया तामाङले बताइन । भनिन्, ‘उनीहरू अहिले असह्य पीडाबाट बाहिर निस्की अब केबल सुन्दर भविष्यबारे सोचिरहेका छन्, योभन्दा ठूलो उपलब्धि हामी सम्पूर्ण गुरुगुरुमाका लागि अरू के पो हुन सक्छ र ?’

प्रकाशित : वैशाख १२, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?