१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

साख जोगाउँदै साँखु

दामोदर न्यौपाने

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले केही बस्तीलाई 'सम्पदा बस्ती' घोषणा गर्दा त्यसमा साँखु पनि पर्‍यो । शंकरापुर नगरपालिकाले पनि मौलिकता जोगाउने नीति ल्याएपछि साँखु प्राचीनता जोगिने गरी पुनर्निर्माण भइरहेको छ ।

साख जोगाउँदै साँखु

साँखुका राजन श्रेष्ठले झट्ट हेर्दा दरबार वास्तुकला झल्कने घर बनाएका छन् । घरको अगाडिपट्टिकाे भाग परम्परागत शैलीको छ । सन्झया, टिकी झयाजस्ता परम्परागत झयाल राखिएका छन् । इँटा देखिने गरी गारो लगाइएको छ ।

यस्तै घर बनाउने अर्का स्थानीय हुन्, श्रीराम श्रेष्ठ । उनले पनि परम्परागत नेवारी वास्तुकला झल्कने गरी घर बनाएका छन् । साँखुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी चलिरहेकै बेला भुइँचालो गएको थियो । प्राचीन यो बस्ती क्षणमै खण्डहरमा परिणत भयो ।


नयाँ निर्माण गर्दा यहाँको वास्तुकला मासिएला भन्ने चिन्ता संरक्षण अभियन्ताको थियो । उनीहरूले झकझकाउने काम गरिरहे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले केही बस्तीलाई 'सम्पदा बस्ती' घोषणा गरेर काम अगाडि बढायो, त्यसमा साँखु पनि पर्‍यो । शंकरापुर नगरपालिकाले पनि मौलिकता जोगाउने नीति ल्यायो । त्यही कारण साँखु प्राचीनता जोगिने गरी पुनर्निर्माण भइरहेको छ ।


उपत्यकाका बस्तीमध्ये भुइँचालोले सर्वाधिक धनजनको क्षति पुर्‍याएको बस्ती हो, साँखु । लगभग ९५ प्रतिशत घरमा क्षति पुगेको थियो । क्षतिग्रस्तमध्ये अधिकांश घर निर्माण भइसकेका छन् । शंकरापुर नगरपालिका ३ का वडाध्यक्ष सन्तबहादुर वाइवाका अनुसार ८५ प्रतिशत घर निर्माण भइसकेका छन् ।


विश्व सम्पदामा राख्न असर नपर्ने गरी बस्ती निर्माण गर्न नगरपालिकाले मापदण्ड बनाएको छ । यो मापदण्ड पूरा गर्नेलाई सहुलियत दिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छवटा सहरलाई प्राचीन सहर घोषणा गरेको छ । त्यसमध्ये साँखु पनि पर्छ ।


प्राचीन सहर घोषणा गरेको ठाउँमा मौलिकता झल्कने गरी बनाइएको घरलाई थप सहुलियत दिएको छ । यस्तो घरलाई प्राधिकरणले थप ५० हजार रुपैयाँ अनुदान दिन्छ । आफ्नो मापदण्डअनुसार बनाउने घरलाई शंकरापुर नगरपालिकाले थप १ लाख रुपैयाँ अनुदान दिएको छ । प्राधिकरण र नगरपालिकाको अनुदानसमेत गरेर पीडितले थप डेढ लाख रुपैयाँ पाउँछन् ।


'सबै सहुलियत गरेर झन्डै ६ लाख रुपैयाँ पाउँछन् सम्पदा बस्तीले,' वडाध्यक्ष वाइवा भन्छन्, 'हामीले कर छुट दिएका छौं । टिम्बर कर्पाेरेसनले ५० क्युफिट काठ सहुलियतमा दिएको छ । यही सुहलियत दिएकै कारणले पनि साँखुमा परम्परागत घर बनाउन प्रोत्साहन भयो ।' ५० हजार थप अनुदान परम्परागत इँटा खरिद गर्न दिएको हो ।


प्राचीन सहर घोषणा गरिएको बस्तीमा साँखुु, ललितपुरको खोकना, बुङमती, गोरखा बजार, दोलखाको भीमेश्वर र नुवाकोट दरबार क्षेत्र छन् । ती बस्तीको पुरानो सम्पदा र स्वरूपलाई कायम राख्दै त्यहाँको कला, संस्कृति संरक्षण गर्न प्राधिकरण कार्यकारी सदस्य ध्रुवप्रसाद शर्मा र हरिराम पराजुली रहेको कार्यदलसमेत बनाइएको थियो । ती बस्तीको बाहिरी स्वरूप प्राचीन शैलीकै बनाउन इँटाको गारो बाहिर देखिने गरी लगाउन र परम्परागत झयाल हाल्न प्रोत्साहन गरिएको थियो । बस्तीमा नक्सा पास निःशुल्क गर्नसमेत प्राधिकरणले स्थानीय सरकारलाई सिफारिस गरेको थियो ।


बस्तीभित्र छिर्दा पहिलाको भन्दा पनि राम्रो साँखु बनेको बताउँछन्, स्थानीयवासी महेन्द्र श्रेष्ठ । पहिला सानो घर हुनेले पनि अहिले ठूलो बनाएका छन् । पहिला परम्परागत नहुनेले पनि अहिले परम्परागत बनाएका छन् ।


झट्ट हेर्दा बनेको देखिए पनि भित्री कथा भने बेग्लै छ । सरकारले दिएको ४ लाख ५० हजारले कस्तो घर बनाउनु ? साँखुका पवनलाल श्रेष्ठ यस्तै प्रश्न गर्छन् । उनले पुर्खाले जोडेको जग्गा बेचेर घर बनाए । पाँच आना एक पैसा खेतीयोग्य जमिन बेचेर घर ठडयाएका छन् । 'साढे दुई तलाको घर बनाएँ,' उनी भन्छन्, 'जग्गा बेचेर २१ लाख रुपैयाँ आयो । सरकारले दिएको अनुदानले त के पुग्नु ? एक तला पनि पुगेन ।'


उपत्यकाका बस्तीमध्ये भुइँचालोले सर्वाधिक धनजनको क्षति पुर्‍याएको बस्ती हो साँखु । लगभग ९५ प्रतिशत घरमा क्षति पुगेको थियो । ७० जनाको मृत्यु भयो । भुइँचालो गएको केही घण्टामै देशविदेशबाट सहयोगको ओइरो लाग्यो ।


दाताहरूको प्रतिबद्धता आएको सुन्दा साँखुका पवनलाल श्रेष्ठले जग्गा बेचेर घर बनाउनुपर्ला भनेर कल्पनै गरेका थिएनन् । उनले घर बनाउन पुर्खाले जोडेको जग्गा बेचेका छन् । पाँच आना एक पैसा खेतीयोग्य जमिन बेचेको उनले सुनाए । 'साढे दुई तलाको घर बनाउन सुरु गरेको छु । ढलान सकियो । अब निर्माण सम्पन्न गर्नु छ,' उनी भन्छन्, 'जग्गा बेचेर २१ लाख रुपैयाँ आयो । यसमा सरकारले दिने अनुदानसमेत गर्दा खर्च पुग्छ होला ।'


जग्गा बेचेर घर बनाउने पवनलाल एक्ला होइनन् । घर बनाउने सबैजसोले जग्गा बेचेरै बनाउन लागेका छन् । '९९ प्रतिशतले जग्गा बेचेरै बनाउन लागेका हुन्,' श्रेष्ठ भन्छन्, 'अरू आम्दानी नभएपछि के गर्नु ? सधैं टहरोमा बस्ने कुरा पनि भएन । भुइँचालो जानासाथ विदेशबाट सहयोगको ओइरो लागेको समाचार आएका थिए । त्यो समाचार सुन्दा त जग्गा बेचेर घर बनाउनु पर्ला भनेर कल्पनै गरिएको थिएन तर सोचे जस्तो भएन ।'


बाबुबाजेको सम्पत्ति बेचेर घर बनाउँदा गर्व नलागेको श्रेष्ठको गुनासो छ । 'कमाएर बनाउन सकेको भए पो,' उनी भन्छन्, 'बाउबाजेको सम्पत्ति मासियो । पछि पनि यस्तै समस्या आइपर्ला । फेरि घर भत्केला । पुख्र्यौली सम्पत्ति मासिएपछि आउँदो पुस्ताले के गरी खाला ?'


बस्तीमा ८ सय ८५ घर थिए । त्यसमध्ये ८ सय घरमा क्षति पुगेको थियो । साँखुमा थोरै जमिनमा धेरै घर छन् । मुख्य समस्या यही हो । भुइँचालो गएपछि झन् धेरै परिवारले घर बनाउनुपर्‍यो । जग्गा थोरै छ । थोरै जग्गा पनि भाइ-भाइमा बाँड्नुपर्दा क्षेत्रफल सानो हुन गयो । सानो क्षेत्रफलमा नगरपालिकाको मापदण्डअनुसार नक्सा बनाउन समस्या भयो । कुनै घर तीन दाममा समेत बनेका छन् ।


यस्तो समस्या पर्नेलाई सुरुमा नगरपालिकाका कर्मचारीले दुःख दिए । यही विषय समेटेर समाचार छापियो । त्यसपछि भने सहज भएको श्रेष्ठ बताउँछन् । 'पहिला पास गर्न झमेला गरिदिए,' श्रेष्ठ भन्छन्, 'पछि सञ्चार माध्यममा समाचार आएपछि सजिलो भयो । नत्र नक्सा पास गर्न नगरपालिकाका कर्मचारीले पूरै सिन्डिकेट लगाइदिएका थिए । नगरपालिकाकाकै इन्जिनियरले बनाइदिए तुरुन्त पास गरिदिने । बाहिरको बनाए दुःख दिने गरेका थिए ।'


साँखु उपत्यकाको प्राचीन बस्ती हो । सन् २०१० मा नेपाल र जापानका भूगर्भविद्ले काठमाडौं उपत्यकाबारे अध्ययन गरेका थिए । अध्ययनअनुसार उपत्यका तलाउ हुनु पहिला नै यसको तल्लो र माथिल्लो क्षेत्रमा बस्ती बसिसकेको थियो । जापनाको टोली र नेपालका प्राध्यापक मृगेन्द्रलाल सिंहलगायत अनुसन्धानमा सहभागी थिए । त्यो अनुसन्धानअनुसार उपत्यकाको तलाउ दुईपटक फुटयो ।


पहिलोपल्ट ३० हजार वर्ष पहिला फुटयो । दोस्रोपल्ट १० हजार वर्ष पहिला फुटयो । उपत्यका दह भएकै बेलामा वरिपरिका अग्ला भागमा मानव बस्ती बसिसकेका थिए । त्यतिबेला थने, दधु र क्वने भन्ने बस्ती थिए । थने भनेको माथिको, दधु बीचको र क्वने भनेको तलको बस्ती हो । थने साँखु थियो । बीचको कुन थियो भन्ने यकिन छैन । क्वने खोकना थियो । प्राचीन छुट्टै देश भनेर चिनिएका थिए, बस्ती ।


भुइँचालोले क्षतिग्रस्त बनाउनुअघि साँखुलाई विश्व सम्पदा सूचीमा राख्ने पहल भइरहेको थियो । 'बज्रयोगिनीलाई मात्रै राख्ने कि बजारलाई पनि राख्ने भनेर छलफल भइरहेको थियो,' श्रेष्ठ भन्छन्, 'छलफलकै क्रममा भुइँचालोले बस्ती सखाप बनाइदियो । बस्ती पूरै बन्न अझै तीन-चार वर्ष लाग्छ । त्यसपछि फेरि यसलाई विश्व सम्पदामा लैजान पहल गर्नेछौं ।'

प्रकाशित : वैशाख १२, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?