१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अनारलाई कागजको टोपी

टीकाप्रसाद भट्ट

रामेछाप — अनारका दानालाई कागजको टोपी लगाइदिने पहिलो किसान सुनारपानीका हिरालाल आचार्य हुन् । अनारबाजे नामले चिनिने उनले त्यसरी दस वर्षअघि थालेको प्रयोग अहिले रामेछापभरि फैलिएको छ । सदरमुकामको कृषि ज्ञान केन्द्रमा समेत उनकै सिको गरिएको छ । 

अनारलाई कागजको टोपी

अनारका चिचिलो दानामा कागजको थैलो स्टिच गरी अडयाइन्छ । यसरी टोपी लगाउँदा दानामा किरा लागेको पाइँदैन ।


पढेका पत्रिका काटेर उनीहरूले टोपी बनाउने गर्छन् । सानो पानी परेको अवस्थामा एक पटक लगाएको टोपीले दाना छिप्पिँदासम्म काम दिन्छ । 'दर्कने ठूलो पानी पर्दा टोपी फाट्छ,' अनारबाजे भन्छन्, 'त्यस्तो अवस्थामा तत्कालै अर्को फेर्नुपर्छ ।'


टोपी बनाउनलाई महँगो जापानी कागज पनि पाइन्छ । बजारमै पाइने सस्तो कागजलाई पानीबाट जोगाउन मट्टतिेलमा भिजाएर टोपी बनाउने गरेका छन् । केन्द्रका प्राविधिक ऋषि सुवेदीका अनुसार अनारमा फूलसहितको चिचिला जोगाउन टोपी (कागजको थैला) प्रभावकारी देखिएको छ । चिचिला अनारमा पुतली बस्न पाएन भने किरा लाग्दैन । कागजको टोपी लगाएपछि पुतलीले दाना देख्दैन । अधिकांश फलमा पुतलीले लार्भा छाड्ने र फल छिप्पिँदै जाँदा किरा बन्ने गर्छ ।


टोपी लगाएको अनारको दाना हेर्दै खाउँखाउँ लाग्ने रातो हुँदैन । घाम पर्न नपाएकाले दाना सेतो हुन्छ । स्वादमा भने केही फरक पर्दैन । 'छिप्पिएपछि मात्र टिपेर बजारमा लान्छौं,' सुकाजोरका किसान उमेश थापा भन्छन्, 'बाहिरबाट आएको अनार महिनौंदेखि शीतभण्डारमा बसेको हुन्छ । हाम्रो ताजा अनारै बजारमा रुचाउँछन् ।'


पर्याप्त वर्षा नभएर अन्न बाली घटेपछि किसानले होचो भूभागमा अनार, आँप, कटहरको बिरुवा बढी लगाउन थालेका छन् । अनार बजारमा प्रतिकेजी २ सय ५० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।


सुकाजोर, सुनारपानी, मन्थली, भटौली, भलुवाजोर, पकरवास, सालुलगायत ठाउँमा व्यावसायिक अनार खेती गरिएको छ । कृषि कार्यालयले अनारका बिरुवा खरिदमा अनुदान दिएकाले यसको खेती बढ्दै गएको हो ।

प्रकाशित : वैशाख १८, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?