रहेनन् गुरुबा

हिमेश बज्राचार्य

काठमाडौँ — नेपाली फुटबल इतिहासमा यस्तो एउटा कालखण्ड थियो । जति बेला यो खेल काठमाडौंका क्लबहरूले चलाएका थिए । त्यो क्लब फुटबल भित्री काठमाडौंको टोल-टोलबाट उठेको थियो । व्यावसायिकता पटक्कै थिएन तर आफ्नो क्लब भनेपछि जीवनै अपर्ण गर्नेहरू पनि थिए । अहिले सुन्दा ती सबै घटना कथाजस्तै लाग्नसक्छ । अहिलेको फुटबल त्यही कथाजस्तै धेरैको समर्पणमा त टिकेको छ । त्यही जमानाका एक नायक बैजुनाथ कपाली मंगलबार रहेनन् ।

उनी आफ्नो नामले भन्दा 'गुरुबा' का रूपमा बढी चिनिए । उनले आफ्नो सारा जीवन फुटबलकै लागि दिए । त्यो अन्नपूर्ण क्लब आरसीटीका लागि समर्पित थियो । असनलाई केन्द्रबिन्दु बनाएर चलेको फुटबलको एउटा आन्दोलनका योद्धा थिए उनी । आरसीटी पछिल्लोपल्ट ए डिभिजनबाट रेलिगेसनमा पर्दा प्रशिक्षक उनै थिए । क्लबको एउटै उद्देश्य टिमलाई फेरि माथिल्लो डिभिजनमा चढाउनु थियो । त्यसैले हालै मात्र सकिएको बी डिभिजनमा पनि क्लबको जिम्मा उनलाई नै दिइएको थियो ।

नभन्दै आरसीटी बी डिभिजन च्याम्पियन पनि भयो । तर समयले तिनै गुरुबासँग गरेको मजाक के रह्यो भने पछिल्ला लिगमा न त बढुवा थियो, न घटुवा नै । अन्नपूर्ण ०५२ सालमा रेलिगेसनमा पर्दा पनि कपाली आफ्नो जीवनमै सबैभन्दा दुःखी थिए । खासमा क्लब अन्नपूर्ण हो भने त्यसबाट फुटबल खेल्ने टिम भने आरसीटी (रानीपोखरी कर्नर टिम) हो । अन्नपूर्णले पनि फुटबल नखेलेको होइन । सहिद स्मारक लिग लिग विजेता पनि रह्यो । आरसीटी र अन्नपूर्णमा के फरक छ त ?

त्यो कपालीले बाहेक सायद अरूले कमै मात्र बुझे । उनकै शब्दमा आरसीटीबाट टोलबाहिरका खेलाडी बढी खेल्थे भने अन्नपूर्णबाट स्थानीय घरेलु खेलाडी नै । त्यसैले धेरैका लागि आरसीटीभन्दा अन्नपूर्ण बढी प्यारो थियो । कपाली अन्नपूर्णलाई बढी माया गर्नेमा पर्छन् । यसकै लागि खेले । आरसीटीका लागि खेलेनन् । त्यति बेला एउटै परिवारका तीन चार जना खेलाडी हुने गथ्र्यो । कमलाक्षीको उनको परिवार पनि त्यस्तै थियो । उनको बुवाको पुस्ताले पनिफुटबल खेले ।

खेलाडीभन्दा पनि उनको परिचय भने प्रशिक्षकका रूपमा बढी रह्यो । उनले ०३७ सालदेखि प्रशिक्षकको भूमिका निभाए । त्यही बेलादेखि उनलाई गुरुबा भन्न सुरु भएको हो । सुरु-सुरुमा नेपाली फुटबलमा प्रशिक्षकको चलन नै थिएन । सिनियर खेलाडीले नै प्रशिक्षकको भूमिका निभाउने गर्थे । यस्तोमा उनी आरसीटीका सम्भवतः प्रशिक्षकको अलगै भूमिका निभाउने पहिलो थिए । त्यो आरसीटीले खेलेको अन्तिम प्रतियोगिता बी डिभिजनसम्म पनि कायम रह्यो ।

पछिल्लो समय उनको गुनासो थियो, आरसीटीले फुटबलमा कम रूचि देखाएकोमा । अन्नपूर्ण आरसीटीको परिचय नै फुटबलमात्र हो भने किन त्यसबाट पछाडि हट्नुपरेको हो भन्ने उनको प्रश्न थियो । प्रशिक्षककै रूपमा उनी राष्ट्रिय खेलकुद परिषद्मा जागिरे पनि थिए । श्रीलंकामा भएको सार्क गोल्डकपका बेला उनी नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक थिए । उनले अरू अवसरमा उमेर समूहको राष्ट्रिय टिम पनि हेर्ने अवसर पाए ।

समग्रमा नेपाली फुटबलको उनको सबैभन्दा ठूलो योगदान बालगोपाल महर्जन, उपेन्द्रमान सिंह, वसन्त थापा र नरेश जोशी जस्ता खेलाडीलाई हुर्काउने र परिपक्व बनाउनुमा रह्यो । नेपाली फुटबल इतिहासमा प्रायः दोहार्‍याएर सुनाइने घटना हो, १ सय १ गोलको खेल । त्यसमा आरसीटीले ०३३ सालको ए डिभिजन लिगमा अन्नपूर्णलाई १०१-१ ले हराएको थियो । अन्नपूर्णबाट खेल्नेमा एक खेलाडी तिनै कपाली थिए । त्यो एकमात्र गोल उनकै नाममा थियो ।

९ दिनअघि मात्र उनी घरको बाथरुममा लडेका थिए । उनलाई मस्तिष्कघात भएको थियो । आखिरमा उनको त्यसै कारणले ६८ वर्षको उमेरमा निधन भयो । उनका श्रीमतीसँगै दुई छोरी र एक छोरा छन् । उनको मंगलबार नै शैव पाशुपत नाथ सम्प्रदायको चलनअनुसार पार्थिव शरीर गाडेर समाधिको स्वरूप दिँदै अन्तिम संस्कार गरियो ।

अन्नपूर्ण आरसीटीलेमंगलबारै वक्तव्य जारी गर्दै कपालीको निधनले क्लबलाई अपूरणीय क्षति पुगेको जनाउँदै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रकाशित : वैशाख १८, २०७६ ११:०१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

थ्रीस्टारको यात्रा

पर्वत पोर्तेल

काँकडभिट्टा — रुस्लान थ्रीस्टार १-० को कठिन जितसाथ चौथो मेचीनगर गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । डिफेन्डर अनन्त तामाङको निर्णायक गोल मदतले थ्रीस्टार मंगलबार अन्तिम चारमा पुगेको हो ।

माइभ्यालीका कप्तान मनीष थापाबाट बल खोस्दै थ्रीस्टार -नीलो) का कप्तान विक्रम लामा । तस्बिर: पर्वत/कान्तिपुर

काँकडभिट्टा माविको मैदानमा अन्तिम क्वाटरफाइनलमा थ्रीस्टारले माइभ्याली फुटबल क्लब इलामको चुनौती समाप्त पारेको थियो । थ्रीस्टारले फाइनल प्रवेशका लागि बिहीबार त्रिभुवन आर्मीको सामना गर्नेछ ।

अनन्तले दोस्रो हाफको ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सुशील राईको क्रसपासमा अनन्तले नाटकीय ढंगबाट गोल गर्दा माइभ्यालीका गोलरक्षक सोजित गुरुङ अवाक बने । सोजितलाई लागेर रिबाउन्ड भएको बलमा अनन्तले गोल गरे । उनको प्रहार पोस्टको बार छुँदै भित्र छिरेको थियो ।

पहिलो हाफमा थ्रीस्टारलाई माइभ्यालीले दबाबमा राखेको थियो । उसले पटक-पटक गोल अवसर चुकायो । १७ औं मिनेटमा माइभ्यालीका राजीव लोप्चनको प्रहार पोस्ट माथिबाट बाहिरियो । ३० औं मिनेटमा पनि बललाई राजीवले पोस्टको दिशा दिन सकेनन् । ३४ औं मिनेटमा सुशील यादवको क्रसमा उनले अर्काे मौका खेर फाले ।

४५ औं मिनेटमा थ्रीस्टारका कप्तानलाई फाउल हानेपछि माइभ्यालीका कप्तान मनीष थापाले पहेँलो कार्ड पाए । खेलको २२ औं मिनेटमा थ्रीस्टारका सुनील बलको क्रसमा माइभ्यालीका एलोन म्याक्सवेलको प्रहार हावामा बाहिरियो ।

पहिलो हाफ गोलरहित सकिएको थियो । थ्रीस्टार दोस्रो हाफपछि लयमा त फर्कियो । तर स्कोर गर्न ४१ मिनेट कुर्नुपर्‍यो । पहिलो मिनेटमा थ्रीस्टारका विदेशी खेलाडी एलोन म्याक्सवेलले प्रहार गरे । गोल भएन । आठौं मिनेटमा मनसा वेभागुइको प्रहार पनि पोस्ट माथिबाट गयो । २९ औं मिनेटमा थ्रीस्टारका रुपेश केसीको क्रसमा सुशील राईको हेडरले समेत पोस्टको दिशा तय गर्न सकेन । अनन्तको स्कोरसँगै माइभ्यालीको हार निश्चित बनेको थियो ।

माइभ्यालीका प्रशिक्ष्ाक पासाङ शेर्पाले विदेशी र नेपाली खेलाडीबीचको तालमेल नमिल्दा राम्रो प्रदर्शनका बाबजुद पनि पराजित हुनुपरेको बताए । उनले भने, 'पाएका धेरै मौका पनि खेर फालियो । भाग्यले पनि साथ दिएन ।'

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले शतप्रतिशत प्रदर्शनमा खेलाडी चुकेको बताए । उनले थपे, 'सोचेजस्तो खेल प्रदर्शनमा टिम चुक्यो ।' म्यान अफ द म्याच थ्रीस्टारका सुशील राई भए । उनले ११ हजार रुपैयाँ पाए । बुधबार पहिलो सेमीफाइनलमा नेपाल पुलिस क्लबले सीएमजी संकटाको सामना गर्नेछ ।

प्रकाशित : वैशाख १८, २०७६ ११:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT