२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

औषधिका खोलबाट मूर्ति

सुशीला तामा‌ङ

काठमाडौँ — ‘हृवाट एक्सेलेन्ट, सोच्नै नसकिने कन्सेप्ट । कन्सेप्ट मात्र नभएर मेटिरिएलको पनि नयाँ प्रयोग । मैले पहिलो पटक यस्तो कला देखेँ,’ बिहीबार राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा कला अवलोकनका लागि आएका सरिन श्रेष्ठ यसो भन्दै थिए ।

औषधिका खोलबाट मूर्ति

भारतीय मूर्तिकार विमान नागले ट्याबलेट औषधिका पत्ताहरू संकलन गरेर बनाएको दुर्गा माताको मूर्ति साँच्चिकै नौलो थियो ।


‘इन्डो–नेपाल आर्ट इभेन्ट’ का क्रममा राखिएका नागका मूर्तिकला देखेर अवलोकनकर्ताहरूमा कौतुहलता नै थियो । ‘त्यतिकै खेर जाने सामान पनि राम्रोसँग प्रयोग गर्न सकेमा फाइदा लिन सकिन्छ,’ मूर्तिकार नागले भने । ग्यालरी भ्रमणमा आउनेहरूलाई आफ्नो कलाकृतिबारे बुझाउनमै व्यस्त रहेका उनले फालिएका ट्याबलेट औषधिका खोलहरू कलामा मूर्तिकै रूपमा प्रयोग गरिएको भारतमा सम्भवतः आफू नै पहिलो कलाकार रहेको दाबी पनि गरे ।


नागल बनाएको दुर्गा माताको मूर्तिमा अवधारणा पनि नौलो छ । हिन्दु धर्मअनुसार दुर्गा माता भन्नेबिक्तिकै सत्ययुगमा मानव जातिलाई दुःख दिएको दानवसँग युद्ध गरेर मुत्ति दिलाएको अनि हातमा त्रिशूल, तरबार, धनुष आदि बोकेर बाघमाथि विराजमान भएको फिगर हाम्रो मानसपटलमा आउँछ । उनको बनाएको दुर्गा माताको हातमा भने तरबारको सट्टामा पातसहित कमलको फूल छ, जसमा लडाइँ, युद्ध मात्र नभएर शान्तिको पनि आवश्यकता छ भनी देखाउन खोजेको उनले बताए । प्रदर्शनीका संयोजक सपना शाहले कलाकार नागले बताएका मूर्तिहरू नै प्रदर्शनीमा आकर्षणको केन्द्र बनेको बताइन् । उनका अनुसार नेपालमा यी कला एकदमै नौलो हो ।


‘मूर्तिकलाले नौलो प्रयोग मात्रै हैन यो, हाम्रा वरिपरि कला सामग्रीहरू त्यसै खेर गइरहेका छन् भन्ने सन्देश पनि हो,’ उनले भनिन् ।


प्रदर्शनीमा नै राखिएको गणेशको मूर्तिमा अझै सुन्दर ढंगको नयाँ कन्सेप्ट पाइन्छ । औषधिकै खोलबाट तयार गरिएको गणेशलाई एउटा घुँडा टेकेर भायोलिन बजाइरहेको स्वरूपमा ढालेका छन् नागले । शरीरमा सिल्भर कलरका खोलहरूका साथै भायोलिन, गणेशको आँखा, कपडा, गहनामा देखिएका गोल्डेन कलरका खोल झनै उत्कृष्ट देखिन्छन् । औषधिकै खोलबाट नै बनेका बिरालो, बुद्धका मूर्तिहरू पनि त्यतिकै सुन्दर छन् ।


भारतीय चित्रकार रितु सिंहको एउटी महिला र नवजात शिशु अनि शिवपार्वतीको क्यानभास उत्तिकै अर्थपूर्ण छन् । यता नेपाली चित्रकार मिथिला यादव, हरि खडका, नरेश सैंजू, सपना पौडेल महर्जनका साथै माला श्रेष्ठ, रोशन प्रधानजस्ता कलाकारले उतारेका प्राकृतिक, धार्मिक, सामाजिक तथा मानवीय संवेदनाका क्यानभास उत्तिकै उत्कृष्ट छन् । नेपालमा भएको यस कला प्रदर्शनी एकदमै रमाइलो र अर्थपूर्ण भएकोमा भारतीय चित्रकार गायत्री मभुरुले खुसी व्यक्त गरिन् । ‘नेपालजस्तै नेपालीहरू पनि राम्रो हुनुहुन्छ । हामीले नेपालबाट माया, सम्मान र सद्भाव लिएर जाँदै छौँ । यहाँहरूको स्वागतले हामी खुसी छौँ,’ उनले भनिन् ।


भारतीय कलाकारलाई बिदाई गर्ने क्रममा बुधबारे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले फरक फरक देशका कला अवधारणा र शैलीगत प्रस्तुतिले नयाँ ज्ञान दिने बताउँदै भिन्न समाज र संस्कृतिको अन्तरघुलनमा कलाले सघाउने दाबी गरे ।


प्रदर्शनीमा भारत, बंगलादेश, बेलायत तथा नेपालका ३५ जना कलाकारका ६५ भन्दा बढी चित्रकलाका साथै ५ मूर्तिकला र एउटा भिडियोकलासमेत राखिएका छन् । कार्यक्रम औपचारिक रूपमा बिहीबार समापन भए पनि प्रदर्शनीमा राखिएका नेपाली चिक्रहरू शुत्रबारसम्म ग्यालरीमा रहनेछन् । प्रदर्शनी सांस्कृतिकको आदानप्रदानमा निकै उपयोगी रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभागकी प्रमुख सुषमा राजभण्डारीले बताइन् ।


प्रकाशित : वैशाख २०, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?