१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अनगिन्ती सम्भावना

समृद्ध पूर्व
१४ जिल्ला समेटिएको प्रदेश १ मा ३ हिमाली, ९ पहाडी जिल्ला छन् । तराईका ३ जिल्ला खाद्यान्नका लागि प्रसिद्ध छन् ।
माधव घिमिरे

 
प्रदेश १ को विकासका लागि पर्यटन, जलस्रोत, कृषि, उद्योगको विकासलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ  । यी क्षेत्रमा व्यवस्थित लगानी हुन सके आर्थिक दृष्टिले अग्रणी बन्ने आधार प्रशस्त छ  ।

अनगिन्ती सम्भावना

हिमाल, पहाड र तराई तीनैखाले भौगोलिक विशेषता यही प्रदेशमा पाइन्छ । भरपुर प्राकृतिक सम्पदा, सम्भावनायुक्त कृषि क्षेत्र, जलस्रोतको पर्याप्तता, औद्योगिक क्षेत्र अनि जैविक–सांस्कृतिक विविधिताजस्ता पक्षलाई भरथेग गर्दै पूर्वाधार विकास गरे ती क्षेत्रबाट अधिकतम लाभ लिन सकिने अवस्था छ । कृषिको व्यावसायीकरण गरी आम्दानी बढाउन सकिन्छ । पर्यटन र जलस्रोतको विकासले पनि आर्थिक उन्नतिमा टेवा पुर्‍याउने अवस्था छ ।


१४ जिल्ला समेटिएको यो प्रदेशमा ३ हिमाली जिल्ला छन् । तिनमा पर्यटन विकासको ठोस योजना बन्नुपर्ने आवश्यकता देखिन्छ । कृषिमा अग्रणी ९ पहाडी जिल्ला छन् । तराईका ३ जिल्ला खाद्यान्नका लागि प्रसिद्ध छन् । १ महानगर, २ उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिका रहेको प्रदेशको जनसंख्या करिब ४५ लाख छ । पर्यटन व्यवसायी भविष श्रेष्ठ पर्यटन यो प्रदेशको विकासका लागि मुख्य आधार भएको बताउँछन् । सर्वोच्च शिखर सगरमाथा र ८ हजार मिटरभन्दा अग्ला ५ हिमाल पनि यहीं छन् । सगरमाथा वन्यजन्तु आरक्ष, मकालु वरुण वन्यजन्तु आरक्ष, कञ्चनजंघा संरक्षण क्षेत्र, कोसीटप्पु वन्यजन्तु आरक्षजस्ता जैविक विविधतायुक्त क्षेत्र यहीं पर्छन् । पाथिभरा, हलेसी, कन्काई, बराहक्षेत्र, विष्णुपादुका, चतरा, रामधुनी, छिन्ताङदेवी र सभापोखरीलगायत अनेक धार्मिक पर्यटकीय स्थलले पनि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिरहेका छन् । ती क्षेत्रलाई थप व्यवस्थित गरी पर्यटक आगमन अझ बढाउन सकिने अवस्था छ ।


चिया, अलैंची, अदुवा, रुद्राक्षजस्ता बढी मूल्य भित्र्याउन सकिने उत्पादनको भरपर्दो बजार विस्तार गर्नतिर नीति निर्माताको ध्यान जानु आवश्यक देखिन्छ । उत्पादन बढाएर गुणस्तरमा ध्यान दिए हाल भइरहेको निर्यात परिमाणलाई बढाउन सकिने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका क्षेत्रीय प्रमुख कृष्ण रेग्मी बताउँछन् । प्रदेश १ को निर्यात व्यापारमा कृषि उपजको महत्त्वपूर्ण योगदान छ ।गत आवमा प्रदेश १ ले करिब ३० अर्ब ५४ करोड ३९ लाख बराबरको निकासी व्यापार गरेको तथ्यांक छ । यसमा कृषिजन्य उत्पादन, चिया, अदुवा, अम्लिसो, जडीबुटी, तयारी पोसाक, मासुजन्य पदार्थ र केही औद्योगिक उत्पादनको महत्त्वपूर्ण योगदान छ ।जलस्रोतका हिसाबले पनि अग्रणी जिल्ला प्रदेशमा समेटिएका छन् । तमोर, सुनकोसी, दूधकोसी, अरुणजस्ता नदीको पानी उपयोग गरी जलविद्युत् उत्पादन गर्न सकिने अवस्था रहेको उद्योग वाणिज्य महासंघ प्रदेश समिति उपाध्यक्ष राजेन्द्र राउत बताउँछन् । यो प्रदेशबाट २० हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन हुन सक्ने अनुमान छ । मुलुककै पुरानो सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा साना–ठूला गरी ५ सय बढी उद्योग छन् । तिनबाट हुने कतिपय उत्पादन विदेश निर्यात भइरहेका छन् । कृषिमा आधारित उद्योगहरू स्थापना र विस्तार गर्न सके कच्चा पदार्थ उपयोग हुने साथै निर्यात बढाउन सकिने प्रशस्त आधार रहेको उद्योगीहरूले बताउँदै आएका छन् ।


नेपालको कुल कृषि उत्पादनको २१.५ प्रतिशत प्रदेश १ मा हुन्छ भने औद्योगिक योगदान १६.८ छ । सेवा क्षेत्रमा १३.६ योगदान दिने प्रदेश १ ले देशको कुल गार्हस्थ उत्पादनमा १७.५ प्रतिशत योगदान छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?