१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

काठमा कोलिय युग

काठमाडौँ — बुद्धको मावली र ससुराली मानिन्छ देवदहलाई । कोलिय राज्यको इतिहास बोकेको यो थलोमा मूर्तिकारहरूले सात दिन बिताउँदा बुद्ध सामुदायिक वनको दृश्य फेरिएको छ । ‘घुम्दै हिँड्दा यहाँ अब बुद्धका ससुरा र सानिमा पनि भेटिने छन्,’ मूर्तिकला कार्यशाला सकाएर शनिबार राजधानी फर्केका मूर्तिकार लालकाजी लामाले भने, ‘जंगलमा सजिएका काष्ठकलाले अब कोलिय राज्यको कथा भन्छ ।’ 

काठमा कोलिय युग

उनका अनुसार रुपन्देहीका मूर्तिकार गोविन्द चौधरीले बुद्धका ससुरा सप्रबुद्धको मूर्ति बनाएका छन्, गुल्मीका यम थापाले सानिमा प्रजापति गौतमीको । बुद्धलाई तिनै सानिमा गौतमीले हुर्काएकी थिइन् । लालकाजीले भने मायादेवी र लिटिल बुद्धको सात पाइला काठमै उतारेर लुम्बिनीको झल्को दिएका छन् ।


गुल्मीकै मूर्तिकार भुवन थापाले पाकडीको रूख, पुरानो देवदहको नक्सा र रथको पांग्रा जोडेर कोलियकालीन समयको सभ्यता दर्साउन खोजेका छन् । लक्ष्मण भुजेलले गर्भावस्थाकै बुद्ध र कमलको फूलको काठमा कुँदेका छन् भने राजन काफ्लेले ज्ञानको ज्योतिलाई उतारेका छन् । ‘बुद्धको समयको सभ्यता झल्किने प्रतीकहरू छाडेर फर्केका छौं हामी,’ मूर्तिकार भीम श्रेष्ठले भने, ‘कोलियकालीन समयलाई थिम बनाएर पहिलोपटक यति महत्त्वपूर्ण मूर्ति कार्यशाला भएको हो ।’ उनले भने कार्यशालामा बुद्धको ज्ञानमुद्रालाई उतारेका छन् ।


काठमाडौंका प्रथमराज बज्राचार्यले ज्ञानको खोजीमा भौंतारिँदा बुद्धले पाएको दुःखलाई जीर्ण शरीरमार्फत देखाएका छन् । चितवनकी आनमारी तामाङले यशोधरा र बुद्धको सम्बन्धलाई अमूर्त शैलीको मूर्तिमार्फत देखाएकी छन् । ‘त्यति बेलाको समय उतार्दा बुद्ध र यशोधराबिचको प्रेमपूर्ण समयलाई पनि सम्झिनुपर्ने हुन्छ,’ उनले भनिन् ।


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र बुद्ध सामदायिक वनले गरेको कार्यशालामा निर्मित १७ वटा मूर्ति कोलिय राज्यको झझल्को दिनेगरी पार्कमा सजाएर राखिने प्राज्ञ लालकाजी लामाले बताए । मूर्तिकला विभागका प्रमुखसमेत रहेका लामाले खुल्ला कला संग्रहालयको अवधारणाअनुरूप काम गरिएको जनाए ।


‘हामीले चिनोस्वरूप मूर्तिहरू छाडेर आएका छौं,’ उनले भने, ‘स्थानीय आमा समूह र राष्ट्रिय गौतमबुद्ध उद्यान समितिले संरक्षण गर्ने जिम्मा लिएका छन् ।’ कार्यशालामा राजु पिथाकोटे, दिनेश्वर महतो, हरिराम अधिकारी, हरि थापा, बुद्ध थारू, कुवेर देवान, कुमार थापालगायतले भाग लिएको लामाले बताए ।

प्रकाशित : जेष्ठ १९, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?