होटल 'हब'

पर्यटन-पूर्वाधार
अधिकांश पुराना होटल तारेमा फेरिदैं छन् । बुटवल–भैरहवा र भैरहवा–लुम्बिनी खण्डमा मात्रै करिब दर्जन पाँचतारे होटल सञ्चालन तयारीमा छन् । यीमध्ये केहीले निर्माण थालिसके भने केही नापनक्सा र डिजाइनको चरणमा छन् ।
अमृता अनमोल

लुम्बिनी आउने पर्यटक लक्षित गरेर रूपन्देहीको चिलियामा वैदेशिक लगानीमा क्यासिनोसहितको पाँचतारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा छ  । रिसोर्टमा स्वदेशीका साथै विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ  ।

होटल 'हब'

भारतका विभिन्न सहरबाट दैनिक पर्यटक ओइरिने गरेका छन् । ठूलो लगानीको रिसोर्ट अहिले भारतीय पर्यटकमा निर्भर देखिन्छ ।


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनासाथ लुम्बिनी घुम्न आउने विदेशीलाई आकर्षित गर्ने लक्ष्य रिसोर्टले लिएको छ । हङकङ बेस सिल्भर कम्पनी अस्ट्रेलियाको सेयर बजारमा सूचीकृत कम्पनीले रिसोर्ट निर्माण गरेको हो । १५ बिघा क्षेत्रफलमा बनेको रिसोर्टमा १ सय २ सुविधा सम्पन्न कोठा रहेका छन् । २४सै घण्टा रेस्टुरेन्ट सुविधा रहेको रिसोर्टमा भिल्ला शैलीका स्विट रुम छन् । यसको क्यासिनो निर्माणमा मात्रै २ अर्ब रुपैयाँ लगानी गरिएको छ ।


जिल्ला र आसपास होटल सञ्चालनको लहर चलेको छ । यहाँ रहेका पुराना होटलले स्तर वृद्धि गरेका छन् । अधिकांश पुराना होटल अहिले तारेमा वर्गीकरण भएका छन् । बुटवल–भैरहवा र भैरहवा–लुम्बिनी खण्डमा अहिले करिब एक दर्जन पाँचतारे होटल सञ्चालनको तयारीमा छन् । यीमध्ये केहीले निर्माण थालिसकेका छन् । केही नापनक्सा र डिजाइनको चरणमा छन् । मध्यम र उच्च स्तरका होटलको संख्या धेरै छ ।


बुद्ध जन्मस्थल लुम्बिनीको महजिदियामा भैरहवास्थित पवन समूहले ५० करोड रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण गरेको छ । उक्त होटलमा १ सय २० कोठा छन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि लुम्बिनी आउने पर्यटक लक्षित गरेर होटलमा लगानी गरेको प्रबन्ध निर्देशक पवन हलवाईले बताए । विमानस्थल छिटो सञ्चालनमा आएमा मात्र लगानी सुरक्षित हुने उनले बताए । अहिले निर्माणाधीन भैरहवा–तौलिहवा सडकको काममा भइरहेको ढिलाइले चिन्तित तुल्याएको उनले बताए । उक्त होटलमा अत्याधुनिक सबै सेवा उपलब्ध हुने बताए । तीनवटा रेस्टुरेन्ट, कफी सप, दुई वटा कन्फ्रेन्स हल रहनेछन् । स्विमिङ पुल, हेल्थ क्लब, स्पा, मेडिटेसन हलको व्यवस्था गरिएको उनले जनाए ।


बुद्ध जन्मस्थलको प्रचार र महत्त्व बढ्दै जाँदा लुम्बिनीलाई केन्द्र मानेर होटल व्यवसाय फस्टाउँदै गएको हो । भैरहवामा अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालन हुनासाथ विश्वका बौद्धमार्गी मुलुकबाट पर्यटक ओइरिने र अन्य मुलुक आउ–जाउ गर्ने पर्यटकको हब बन्ने विश्वासले होटल निर्माणको होड चलेको हो । रूपन्देही मुलुकको मध्यभागमा रहेको छ । यहाँ परम्परागत रूपमा बेलहिया नाका रहेको छ । यही नाका भएर स्थलमार्गबाट मुलुकमै धेरै पर्यटक भित्रिने गरेका छन् । यसरी आउने पर्यटक लक्षित गरेर यसअघि बुटवल र भैरहवामा केन्द्रित होटल निर्माण अहिले विकेन्द्रित भएको हो । नयाँ सुविधा र अत्याधुनिक संरचनासहित तारे होटल निर्माण बढेको हो । जिल्लाभर होटल सञ्चालन गर्ने लहर देखिन्छ ।


एक वर्षको अवधिमा रूपन्देहीमा करिब १ सय मध्यम र ठूला आधुनिक होटल थपिएका छन् । अधिकांश नयाँ होटलमा पर्यटकीय क्षेत्रको भ्रमण प्याकेज, स्विमिङ पुल, सेमिनार हल, मनोरञ्जन हल, ध्यान योग शिविर, डान्स तथा दोहोरी राखिएका छन् । सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका महासचिव लीलामणी शर्माले लुम्बिनीमा आउने पर्यटकले गर्ने माग र उनीहरूको चाहना अनुसार होटल खोल्ने र सेवा थप्ने क्रम बढेको बताए । ‘पैसा खर्च गर्न र समय बिताउन चाहने पर्यटकलाई ध्यानमा राखेर धेरै होटल खुलेका छन्,’ उनले भने ।


पछिल्लोपटक होटलमा वैदेशिक लगानी भिक्रिने त्रम जारी छ । विदेशी लगानीमा सञ्चालनमा आएको पहिलो पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट हो । गत वर्ष लुम्बिनीको खुनगाईमा पाँचतारे होटल भिजालियो प्रालिको शिलान्यास गरिएको छ । पहिलो चरणमा साढे तीन बिघा क्षेत्रफलमा १ अर्ब ५९ करोड रुपैयाँ लगानीमा उक्त होटल सञ्चालन हुने लगानीकर्ताले जनाएका छन् । भैरहवाको बुद्धचोकमा घिमिरे समूहको लगानीमा पाँचतारे होटल निर्माण सुरु भएको छ । भैरहवामै ट्र्याक्टर व्यवसायमा प्रख्यात बालकृष्ण भुसालको अगुवाइमा अर्को पाँचतारे होटल निर्माणको क्रममा रहेको छ । भैरहवास्थित एसआर ग्रुपले अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पाँचतारे होटल निर्माण गर्न लागेको सञ्चालक सुरज उप्रेतीले बताए । उनका अनुसार छिट्टै भैरहवा–लुम्बिनी करिडोर र आसपास करिब एक दर्जन पाँचतारे होटल सञ्चालनको तयारीमा छन् ।


भैरहवास्थित होटल बोधी रेडसन, निर्वाणा, तिलोत्तमामा रहेको ड्रिमल्यान्ड रिसोर्टले चारतारेमा स्तर वृद्धि गरेका छन् । १ सय ६ वटा कोठा रहेको बोधी रेडसनले पर्यटक आकर्षित गर्न कोठामा तापमान अत्यधिक भएमा पानी फाल्ने प्रविधि (फायर फाइटिङ) जडान गरेको छ । एकैसाथ दुई सय जनाभन्दा बढीलाई बसाउन मिल्ने उक्त होटलमा ७० करोडमाथि लगानी भइसकेको महाप्रबन्धक अमृत खनालले बताए ।
भैरहवामै रहेको होटल पौवाले आफूलाई चेनमा परिणत गरेको छ । मुलुकमा प्रमुख पर्यटकीय स्थलमा शाखा सञ्चालन गरिरहेको छ । जुम्ला र गोसाइँकुण्डमा होटल पौवा सञ्चालनमा छ । धमाधम सेवा र स्तर वृद्धि गरेको छ । शान्त वातावरणमा रम्ने, रमाउने तथा बिहे, पार्टी गर्नका लागि पौवा आकर्षक स्थल बनेको छ । जसमा मध्यम वर्गले समेत पहुँच राख्न सक्छन् । होटल पौवा ग्रुपले तिलोत्तमाको योगीकुटीमा करिब १० करोड रुपैयाँ लगानीमा होटल खोलेको छ । त्यसको परीक्षण सुरुआत भइसकेको छ ।


पहिले लगानीकर्ता लुम्बिनी र भैरहवा केन्द्रित हुन्थे । अहिले तिलोत्तमा, बुटवल, सैनामैना, नुवाकोटमा फैलिएका छन् । लुम्बिनी आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले विभिन्न सुविधा र गतिविधिसहित होटल खुलेका छन् । नयाँ वर्षको सुरुआतसँगै स्थानीय चार युवाले १२ करोड रुपैयाँ लगानीमा मणिग्राममा छहारी क्लब हाउस एन्ड बेन्क्वेट प्रालि सुरु गरेका हुन् । क्लबमा फिटनेस, खेल मैदान, आवासीय सुविधा छन् । खेलकुदमा रुचि राख्नेका लागि ब्याडमिन्टन, बास्केटबल र फुटसल कोर्ट, स्विमिङ पुल छन् । बुटवल–११, कालिकानगरमा एक महिनाअघि १० करोड रुपैयाँ लगानीमा महाराजा रिसोर्ट सञ्चालनमा आएको छ । स्थानीय १० उद्यमीको यसमा लगानी छ । रिसोर्टमा प्रदेश राजधानीमा आउने र बुद्ध जन्मस्थल आउने बाह्य पर्यटकलाई लक्षित गरिएको छ । महाराजामा नाम अनुसारकै विशेष खानाका परिकार उपलब्ध हुन्छन् । संयोजक ताराप्रसाद भण्डारीले सबै प्रकारका नेपाली खानाका परिकार उपलब्ध रहेको बताए । लुम्बिनी आउने पर्यटक लक्षित गरेर बुटवल–१३, ढबाहामा आरम्भ रिसोर्ट सञ्चालनमा आएको छ । २५ करोड रुपैयाँ लगानीमा एक वर्षअघि खुलेको रिसार्टमा आरम्भ ग्रुप अफ हस्पिटालिटी अन्तर्गत १ सय ४० जनाको लगानी छ । करिब चार बिघा क्षेत्रफलमा रिसोर्ट फैलिएको छ । रिसोर्टमा स्विमिङ पुल, कन्फेरेन्स हल, पार्टी प्यालेससहित मास्टर किङ साइजका वातानुकूलित ५० बेडरुम छन् । अहिले जिल्लामा जहाँ गयो, त्यहीँ स्तरीय होटल र रेस्टुरेन्ट देखिन्छन् । प्रत्येक टोलमा नयाँ–नयाँ रेस्टुरेन्ट खुल्ने क्रम जारी छ ।


बुटवलदेखि १५ किलोमिटर उत्तरपश्चिममा नुवाकोट रहेको छ । उचाइमा रहेको नुवाकोटबाट रूपन्देही जिल्ला अवलोकन गर्न सकिन्छ । हाइकिङका लागि उपयुक्त उक्त स्थानमा हिलसाइड भिलेज रिसोर्ट निर्माण सुरु गरिएको छ । चालु वर्षमा रिसोर्ट सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ४० रोपनी क्षेत्रफलमा निर्माण हुने रिसोर्टमा ३० करोड रुपैयाँ लगानी लाग्ने सञ्चालक माधव नेपालले बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउँदासम्म रिसोर्ट पनि तयार भइसक्छ,’ उनले भने, ‘त्यसैले निर्माणको रफ्तार बढाएका छौं ।’ नुवाकोटबाट प्राकृतिक दृश्यावलोकनसँगै तराईको गर्मी र बजारको कोलाहल छल्ने रमणीय स्थलका रूपमा रिसोर्ट तयार हुँदैछ ।


अन्तर्राष्ट्रिय विमानस्थलले बाह्य पर्यटक बढ्ने अपेक्षामा पहिल्यैदेखि सञ्चालनमा रहेका होटलले लगानी र सुविधा बढाउँदै लगेका छन् । त्यसको उदाहरण ड्रिमल्यान्ड गोल्ड रिसोर्ट हो । मणिग्राममा रहेको उक्त रिसोर्टले स्विमिङ पुल, हेल्थ क्लब, स्टिम सावर, बाल उद्यान, रेस्टुरेन्ट, भीआईपी लन्च कक्ष सुरु गरेको छ । २७ कोठा थपेर ५१ पुर्‍याएको छ । १ हजार ५ सय जना अट्ने सुविधासम्पन्न हल बनाएको छ । यसमा एक अर्ब रुपैयाँ लगानी पुगेको छ । रिसोर्टका अध्यक्ष गोपाल रानाले प्रदेश राजधानी, अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी भ्रमण वर्षले पर्यटकको चाप बढ्ने अपेक्षामा सुविधा थप गरिएको बताए । ‘लुम्बिनी आउने विदेशी पर्यटकलाई लक्ष्य गरेर सुविधा र लगानी बढाएका हौं,’ उनले भने, ‘पर्यटकको हैसियत अनुसार बस्ने व्यवस्था मिलाउन डिलक्स, सुपर डिलक्स र सुइट रुमसमेत निर्माण गरेका छौं ।’

बुटवलमा रहेका क्लब डेनेभो, न्यु इरा, सिद्धार्थ, सिन्दूरलगायतका होटलले सेवा थपेका छन् । बुटवलकै होटल डार्सिस इन्टरनेसनल, एभिन्यु, एभरेस्टलगायतले बाह्य पर्यटक केन्द्रित सेवा दिएका छन् । तातो–चिसो पानीमा रमाउनेका लागि तिलोत्तमा नगरपालिकाको शंकरपुरमा वाटर पार्क सञ्चालन भइरहेको छ । लुम्बिनी हेल्थ वाटर किङ्डम प्रालिले साढे २ करोड रुपैयाँ लगानीमा एक वर्षदेखि पार्क सञ्चालनमा ल्याएको छ । पार्कमा गर्मीमा चिसो पानी र जाडोमा तातो पानीमा रमाउन सकिन्छ । २ बिघा ३ कट्ठा क्षेत्रफलमा बनाइएको पार्क स्वास्थ्य र मनोरञ्जन दुवै एकै ठाउँमा गराएर पर्यटकलाई फरक खालको अनुभूति दिलाउन पार्क खोलिएको सञ्चालक गोपालबहादुर पोखरेलले बताए । एकपटकमा एक हजारजनाले सेवा लिन सक्ने पार्कमा लुम्बिनी आउने पर्यटकलाई ल्याएर मनोरञ्जन दिने प्रमुख उद्देश्य हो । खाजा खाँदै पानीमा रम्न भारतीय पर्यटक पनि प्रसस्त आएका छन् । प्रदेश ५ सरकारले एक वर्षमा २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेर लुम्बिनी भ्रमण वर्ष मनाइरहेको छ । संघीय सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदै छ । त्यसमा पनि लुम्बिनी केन्द्रित गरेको छ । यस्ता कार्यक्रमले गर्दा पनि रूपन्देहीमा पर्यटनमैक्री होटल र व्यवसाय सञ्चालन हुने त्रम बढेको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अनुसार एक वर्षमा जिल्लामा एक सय स्तरीय होटल थपिएका छन् । तीन, चार र पाँचतारे होटल पनि छन् । पर्यटकीय क्षेत्रको भ्रमण प्याकेज, स्विमिङ, सेमिनार हल, मनोरञ्जन हल, खानाका विशेष परिकार, ध्यान योग शिविर, सरसफाइ सवारी साधन, डान्स तथा दोहोरीलगायतका सेवा छन् । ‘लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरेर जिल्लाभर होटल व्यवसायमा लगानी थपिएको छ,’ होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ (सीपी) ले भने, ‘विमानस्थल निर्माण सकिंदासम्म स्तरीय होटलको संख्या दोब्बर हुनेछ ।’


लुम्बिनी र आसपास पर्यटकीय सहर बन्दै जाँदा अन्यत्र होटल व्यवसायमा जमेका व्यवसायीसमेत यहाँ आकर्षित भएका छन् । पोखरामा नाम कमाएका होटल व्यवसायी र पर्यटनकर्मी हरि शर्माको ध्यान यता तानिएको छ । पोखरा भिलेज रिसोर्टका सञ्चालक उनले बुद्ध जन्मस्थल लुम्बिनीमा २५ करोड रुपैयाँ बढी लगानीमा आधुनिक होटल सञ्चालन गर्दै छन् । ‘लुम्बिनी आउने स्तरीय पर्यटकलाई पोखरा, काठमाडौं, चितवनसम्म सजिलै पुर्‍याउन सकिन्छ,’ उनले भने, ‘पर्यटकीय गन्तव्य जोड्न सकेमा सबैलाई लाभ मिल्छ ।’ होटल व्यवसायी संघ रूपन्देहीका अनुसार जिल्लामा मात्र होटल व्यवसायमा करिब ३० अर्ब रुपैयाँ लगानी भइसकेको छ । संघका अध्यक्ष समुन्द्र जीसीले स्थल नाका र अन्तर्राष्ट्रिय विमानस्थलका कारण होटल थपिँदै गएको बताए । ‘एकातिर अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छ । अर्कोतिर चिनियाँ रेल लुम्बिनी आउने कुरा छ,’ उनले भने, ‘यी दोहोरो सम्भावनाका कारण पनि रूपन्देहीमा ठूला होटल खुल्ने होडबाजी चलेको छ ।’

प्रकाशित : जेष्ठ २०, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?