३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बिमाले बचत

पर्यटन-पूर्वाधार

 
पछिल्लो समय रूपन्देही र यस आसपासको क्षेत्रमा बिमाको आकर्षण बढेको छ  । जिल्लामा प्रत्येक घरमा बिमाका फाइदा र बेफाइदाबारे बहस हुन्छ  ।

बिमाले बचत

सर्वसाधारणको आकर्षण देखेर बुटवल र भैरहवामा थुप्रै बिमा कम्पनीले शाखा सञ्चालन गरेका छन् । यहाँ बिमा गर्नेको संख्या पनि बढेको छ ।


सिद्धार्थनगरकी उर्मिला सिलवालले बिमाबारे बुझेपछि वार्षिक ५० हजार रुपैयाँ तिर्ने गरी युनियन लाइफ इन्स्योरेन्सबाट बिमा गराएकी छन् । उनले २५ लाख रुपैयाँको बिमाका लागि ५० हजार रुपैयाँ प्रिमियम बुझाउने गरेकी हुन् । उनले दुई सन्तानको पनि दुई–दुई लाख रुपैयाँको बिमा गराएकी छन् । ‘परिवारकै बिमा गरेपछि भविष्यमा हुन सक्ने जोखिम कम गर्न सहयोग पुग्छ,’ उनले भनिन्, ‘किस्तामा थोरै थोरै जम्मा गरेर एकमुष्ट पाइने भएकाले यसतर्फ आकर्षित भएकी हुँ ।’ अमूल्य मानिने जीवनको कुनै भर नभएकाले भविष्यमा परिआउने कष्टमा यस्तो रकमले राहत मिल्ने भएकाले बिमा गरेको उनले बताइन् । आर्जन हुन्जेल बचत गर्न बिमा गर्नुपर्छ भनेर अन्यलाई समेत सन्देश दिने गरेको उनले सुनाइन् ।


उनीजस्तै बुटवलकी स्वास्थ्यकर्मी धनु श्रेष्ठले जीवन बिमा गरेको तीन वर्ष भयो । बिमाबारे धेरै ज्ञान र चासो नभए पनि छिमेकमै रहेका बिमा अभिकर्ताले आग्रह गरेकाले पाँच लाख रुपैयाँको बिमा गरेको बताइन् । ‘एलआईसी कम्पनीबाट बिमा गरेकी छु,’ उनले भनिन्, ‘भवितव्यका लागि बचत गरेपछि राम्रै होला ।’ व्यापारका सिलसिलामा डुलिरहने प्रकाश मल्लले ६/६ महिनामा जम्मा गर्ने गरी पाँच लाख रुपैयाँको बिमा गरेका छन् । ‘भोलि कसैले नदेखेकाले यो बचत राम्रो हो,’ उनले भने, ‘सन्तानको अध्ययनका लागि पनि बिमा रकम उपयोगी ठानेको छु ।’


बिमा गर्नेको संख्या पहिलेको तुलनामा बढिरहेको छ । बिमा कम्पनी खुल्ने क्रम पनि बढिरहेको छ । मानिसले आफ्नो र परिवारको मात्रै नभएर सवारी साधन र उद्योग व्यवसायको समेत बिमा गरेका छन् । १९ वटा जीवन बिमा कम्पनीमध्ये सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेर मुलुकका सबै जिल्लामा काम गरिरहेको छ । यस कम्पनीका एक लाखभन्दा बढी ग्राहक छन् । चार क्षेत्रमा विभाजित यस कम्पनीको बुटवलस्थित क्षेत्रीय कार्यालय तेस्रोमा पर्छ । नेपालमै सर्वाधिक २ अर्ब ५० करोड रुपैयाँको पुँजीसहित सञ्चालन भइरहेको यस इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपीओ जारी गर्ने तयारी गरेको क्षेत्रीय व्यवस्थापक सुनील पोख्रेलले बताए । ‘बिमांक रकमको दुई गुणा साथै बोनसको सुविधा छ,’ उनले भने, ‘कुनै व्यक्तिले इन्स्योरेन्स गरेमा ९० वर्षसम्म त्यसको अवधि रहन्छ र ऋण पनि पाउँछ ।’ यस कम्पनीले क्यान्सर, मुटुजस्ता २० घातक रोगको अधिकतम ५० लाख रुपैयाँसम्म बिमा रकम दिने बताए । अहिलेसम्म एक करोड रुपैयाँसम्मको बिमा रकम हस्तान्तरण गर्न सफल भएको जानकारी दिए । राज्यले कृषिदेखि बाली र पशुमा बिमाको अवधारणा ल्याएपछि यसप्रतिको आकर्षण केही बढेको पोख्रेलले सुनाए ।


बिमाको पोलिसी सेग्मेन्ट सुनेकाले यसबाट फाइदा लिने गरेको सूर्या लाइफ इन्स्योरेन्सकी शाखा प्रबन्धक जुना कुँवरले बताइन् । ‘आफन्त र साथीभाइको सल्लाहले बिमा गर्नेको संख्या धेरै छ,’ उनले भनिन्, ‘नेटवर्किङको भ्रमले अझै मान्छेको त्रास नहटेकाले चेतना जगाउन आवश्यक छ ।’ मानिसले आफूसँगै आफ्ना साधन र व्यवसायको समेत बिमा गर्ने गरेका छन् । भइपरिआएमा राहत मिल्ने विश्वासका साथ बिमा गरेको बुटवल कालिकानगरका विशाल भण्डारीले बताए । उनी मोटरसाइकल प्रयोग गर्छन् । वार्षिक १० हजार रुपैयाँ बुझाउने गरी उनले बिमा गरेका छन् । ‘सवारी साधनको प्रयोग गर्दा कहाँ कतिबेला दुर्घटना हुन्छ भन्ने थाहा हुँदैन,’ उनले भने, ‘जम्मा गर्दै गएपछि साधनलाई केही भएमा इन्स्योरेन्स कम्पनीले क्षति बेहोरिदिन्छ ।’


सरकारले तेस्रो पक्ष बिमा अनिवार्य गरेकाले सवारी साधनको बिमा गर्ने बानीको विकास भएको सिद्धार्थ इन्स्योरेन्स लिमिटेड प्रदेश प्रमुख यमप्रसाद तिवारीले बताए । ‘त्यसबाहेक उद्योगका लगानीकर्ता पनि बिमाबारे सचेत छन्,’ उनले भने, ‘आवासीय बिमाबारे जनचेतना जगाउन आवश्यक छ ।’ भूकम्पजस्तो भवितव्यको क्षतिमा राहत दिन बिमाले सहयोग पुर्‍याउँछ ।’

प्रकाशित : जेष्ठ २०, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?