कंक्रिटमा जर्मन प्रविधि

पर्यटन-पूर्वाधार

 
जर्मन प्रविधिबाट उत्पादन गरिएका कंक्रिटका निर्माण सामग्री लोकप्रिय बनेका छन्  । दुई अर्ब रुपैयाँ लगानीमा पश्चिम नवलपरासीस्थित भैरहवा–परासी सडक खण्डअन्तर्गत हकुईमा डेढ वर्षअघि उद्योग सञ्चालनमा ल्याइएको हो  ।

कंक्रिटमा जर्मन प्रविधि

यहाँका उत्पादन विदेश निर्यात गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको थियो । यसको दैनिक उत्पादन क्षमता पाँच सय टनभन्दा धेरै छ ।


बालुवा, गिट्टी, सिमेन्ट, केमिकल र प्रशोधित पानीको सम्मिश्रणबाट उद्योगले कंक्रिटका इँटा, पेभर्स (फुटपाथ र सडक किनारमा बिछ्याउने), कंक्रिट टायल्स, कर्भिस्टोन (सडकमा डिभाइडरको काम गर्ने) उत्पादन गर्दै आएको छ । भवन निर्माण, ठूला सडक, अपार्टमेन्ट, पार्किङ, कम्पाउन्ड, सडक किनारका पेटी निर्माणमा प्रयोग हुन्छन् । यो उद्योग शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित छ । विश्वकै उत्कृष्ट जर्मनीस्थित मासा कम्पनीको प्राविधिक सहयोगमा प्रालिले उत्पादन गरिरहेको छ । कंक्रिटका ब्लक उद्योगमा यो मुलुकमा अहिलेसम्मको ठूलो र अत्याधुनिक हो । उद्योगमा मानवयन्त्र (रोबर्ट) को प्रयोग गरिएको छ । यसका उत्पादनको भारतीय बजारमा उच्च माग छ । यस्तै उत्पादन भारतको बैंग्लोर र मद्रासमा मात्र हुने गर्छ । त्यहाँबाट ढुवानी लागत महँगो हुने हुनाले नेपाली उत्पादनको माग बढेको हो । भारतले आफ्नो देशमा यसको आयातमा उच्च भन्सार महसुल कायम गरेकाले यहाँबाट निकासी हुन सकेको छैन ।


‘सरकारले माथिल्लो तहमा कुरा गरेर पहल गरेमा उत्पादन भारतीय बजारमा सहजै पुर्‍याउन सकिन्छ,’ प्रालिका प्रबन्ध निर्देशक मनीष रुंगटाले भने, ‘भारत निर्यात गर्ने वातावरण मिलाइदिएमा ठूलो परिमाणमा भारतीय मुद्रा आर्जन गर्न सकिन्छ । व्यापार घाटा कम हुन्छ ।’ उत्तर प्रदेश र बिहारमा सञ्चालित ठूला निर्माण आयोजनाबाट यसको माग भए पनि उच्च भन्सार महसुल कायम भएकाले निकासी गर्न नसकिएको उनले बताए । ‘गोरखपुर, कानपुर, लखनउ, बनारसलगायत उत्तर प्रदेश र बिहारका ठूला ठेकेदार कम्पनीले सामग्री उपलब्ध गराइदिन सम्पर्क गरेका छन्,’ रुंगटाले भने, ‘भारत सरकारले आफ्नो देशमा यसको आयात हुँदा मार्बल र ग्रिनाइटसरह अत्यधिक मूल्यांकन कायम गर्दा लागत मूल्य महँगो पर्ने भएकाले निकासी गर्न सकिएको छैन ।’


नेपालले कूटनीतिक माध्यमबाट भारतलाई यी बस्तु विदेशबाट आयात गरिएको नभई स्वदेशकै कच्चा पदार्थबाट निर्माण गरिएको हो भनेर विश्वास दिलाउन जरुरी रहेको रुगंटाले बताए । ‘यसका लागि हामीले आफ्नो तहबाट पनि पहल जारी राखेका छौं,’ उनले भने, ‘यति ठूलो लगानीको संरक्षण राज्यले गर्नुपर्छ, निर्यातको वातावरण बनाउनु पर्छ ।’ भारतबाहेक बंगलादेश र पाकिस्तानमा पनि निर्यातको सम्भावना रहेको उद्योगका निर्देशक अनिल जाटियाले बताए । अहिले भारतबाट महँगो मूल्य तिरेर बंगलादेश निर्यात भइरहेको छ । ‘तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थबाट यसको उत्पादन गरिएको भन्ने भ्रममा भारत देखिन्छ,’ जाटियाले भने, ‘हाम्रो उत्पादन शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित छ ।’


उत्पादित वस्तुको गुणस्तर उच्चस्तरको कायम राख्ने सर्तमा जर्मनीको मासा र आफ्नो कम्पनीबीच भएको सम्झौताअनुरूप उद्योग सञ्चालन गरिएको उनले जनाए । सम्झौता अनुरूप उद्योगको सम्पूर्ण सञ्चालन मासा कम्पनीबाटै हुने गरेको छ । जर्मनीबाटै निगरानीका लागि उद्योग परिसरमा ३६ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । अनलाइनबाट मासाका कर्मचारीले निगरानी गरी निर्देशन दिने गर्छन् ।


जाटियाका अनुसार मासा कम्पनीले बनाएको ब्लक उत्पादन गर्ने उपकरण पूर्ण रूपमा स्वचालित प्रविधिमा आधारित छ, जसले यूरोप, मध्यपूर्वी देशहरू, उत्तर तथा दक्षिण अमेरिका, रुस, भारतलगायतका देशमा उपकरण आपूर्ति गर्ने गरेको छ । ०७२ सालको महाभूकम्पपछि नेपाली टोली जर्मनी गएर उनीहरूलाई नेपालको भौगोलिक अवस्था, नेपालमा पाइने कच्चा पदार्थ र त्यसका विशेषताका बारेमा जानकारी गराएको थियो । नेपालीको धेरै अनुरोधपछि मात्रै मासाले आफ्नो प्रविधिको प्लान्ट दिन सहमत भएको हो ।

प्रकाशित : जेष्ठ २०, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?