'उत्पादन निर्यातको वातावरण बनाऊ'

पर्यटन पूर्वाधार

मुलुकमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बेला रुपन्देहीको बेलहिया नाका सहज सञ्चालन भइरहेको थियो  । वीरगन्ज र नेपालगन्ज नाकामा अवरोधका कारण आयात–निर्यात प्रभावित थियो  ।

प्रतिकूल समयमा पनि नाका सहज सञ्चालन भएपछि मुलुकभरका लगानी र आयात–निर्यातकर्ताको ध्यान भैरहवा नाकाले तान्यो । भारतबाट कच्चा पदार्थ र उद्योगका लागि आवश्यक मेसिनरी आयात गर्न यो नाका छोटो र प्रभावकारी साबित भइरहेको छ । अर्कातर्फ यस वर्षभित्र सञ्चालनमा आउने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण पर्यटक पूर्वाधारमा लगानीको ओइरो छ । तीव्र सहरीकरण र ठूला आयोजना सञ्चालन भइरहेकाले सिमेन्ट, स्टिललगायत निर्माण सामग्रीको उत्पादन ह्वात्तै बढेको छ । यहाँका विभिन्न क्षेत्रमा लगानी गरेका उद्योगी–व्यवसायीले राज्यले उत्पादन निर्यातको वातावरण तयार गर्नुपर्ने बताएका छन् । उद्योगमैत्री पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने पनि उनीहरूको भनाइ छ ।

पवन हलुवाई, प्रबन्ध निर्देशक
पवन होटल समूह

वि.सं ०२५ मा टिनको छाप्रोबाट हाम्रो मिठाई पसल सुरु भएको हो । यसमा मेरा बुबा, हजुरबुबा–आमाको योगदान छ । ०२७ सालमा मेरो जन्मपछि पसलको नामकरण ‘पवन मिष्ठान्न भण्डार’ गरिएको हो । हामीले बनाउने पेडा ब्रान्ड बनेपछि व्यावसायिक सफलता मिल्यो । यस अवधिमा उतारचढाव झेल्नुपर्‍यो । ०५६ सालमा साढे ३ करोड रुपैयाँ लगानीमा होटल पवन इन्टरनेसनल सञ्चालन गर्‍यौं । ०५८ मा बुटवलमा शाखा सञ्चालन गर्‍यौं । हाम्रो ब्रान्डको ख्यातिपछि एउटा कम्पनी भारतको श्राबस्तीमा होटल पवन प्यालेस सञ्चालन गरिरहेको छ । यसको व्यवस्थापन मैले नै सम्हाल्दै आएको छु । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास भएपछि लुम्बिनीमा साढे २ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल पवन प्यालेस सञ्चालनमा ल्याएका छौं । आमाको सम्झनामा अस्पताल निर्माणको तयारी भइरहेका बेला लुम्बिनीमा पर्यटक ओइरिने देखेपछि ठूलो होटलमा लगानी गर्‍यौं । अहिले विमानस्थल सञ्चालनमा ढिलाइ भइरहेको छ । भैरहवा–लुम्बिनी खण्डको स्तरोन्नतिमा समय लागेको छ । यसले चिन्तित तुल्याएको छ । यी संरचना छिट्टै पूरा नभए होटलमा लगानी डुब्ने चिन्ताले सताउन थालेको छ । सडक धुलाम्य छ । पर्यटक फर्किरहेका छन् । विमानस्थल छिटो सञ्चालन भयो भने होटल चलेर बैंकको ब्याज बुझाउन सकिएला ।

ध्रुव न्यौपाने, प्रबन्ध निर्देशक
पैंचो पसल प्रालि


ग्रामीण भेगका किसानलाई दक्ष बनाउँदै उत्पादनको गुणस्तर सुधार र बजारीकरण गर्ने उद्देश्यले ०७१ सालमा पैंचो पसल प्रालि सुरु भएको हो । गुल्मीको बलेटक्सारमा यसको मुख्य कार्यालय रहेको छ । रेसुंगा, दरबार देवीस्थान, छत्रकोट, रुरु, अर्घाखाँचीको पणेना र पाल्पाको तानसेनमा प्रशोधन केन्द्र छन् । बुटवल, तानसेन, रिडी र तम्घासमा तरकारी बजार सञ्चालित छन् । २० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको पैंचो पसलमा २५० जनाले रोजगारी पाएका छन् । तीमध्ये ६० प्रतिशत महिला छन् । किसानका उत्पादन संकलन तथा बिक्रीका लागि ५० भन्दा बढी स्थानमा कार्यालय छन् । प्रालिले किसानलाई बिचौलियाबाट बचाएर बजारीकरणमा सहयोग गरेको छ । जडीबुटीयुक्त नेपाली उत्पादनलाई प्राथमिकतामा राखेको छ । निर्वाहमुखी खेती गरेर जीवन गुजारा गरिरहेका पहाडी तथा उच्च पहाडी भेगका किसानलाई व्यावसायिक खेती गराउने र बजारको अभावमा खेर गइरहेको उपजलाई सहरमा ल्याएर बिक्री गरिरहेको छ । नेपालभरि शाखा सञ्चालन गरेर किसानलाई सहयोग गर्ने चाहना भए पनि पुँजीले नभ्याउने भएपछि कृषिमै केन्द्रित रहेर काम गरिरहेकालाई समेट्दै अघि बढ्ने योजना पैंचोको छ । पैंचोका उद्योग रहेका स्थानमा अन्य कृषि उद्योग नभएकाले ६० हजार किसानले यसलाई सहयोगी मानेका छन् । किसानका लागि उत्पादन लागत घटाउनेदेखि नयाँ बालीको जानकारी, रोग निराकरणको उपाय र सामूहिक ज्ञान साटासाटका लागि पाठशाला चलाएका छौं ।


राजेश अग्रवाल, प्रबन्ध निर्देशक
सिद्धार्थ ग्रुप

उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार र अनुकूल वातावरण भएकाले केही वर्षदेखि प्रदेश ५ मा उद्योग खुल्ने क्रम बढेको छ । पर्यटन र वस्तुगत उद्योगका लागि यस क्षेत्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गरिरहेको छ । औद्योगिक विकास र विस्तारले मुलुककै आर्थिक समृद्धिका लागि ठूलो योगदान पुर्‍याउँदै आएको छ । मुलुकमा भइरहेको कुल औद्योगिक उत्पादनमध्ये ४० प्रतिशतभन्दा धेरै यस क्षेत्रमा हुने गरेको छ । मुलुकको मध्यभाग र आपसी सद्भाव भएकाले धमाधम पूर्वाधार निर्माण भइरहेका छन् । यसका लागि सिमेन्ट, छड, इँटा, नदीजन्य निर्माण सामग्री, पेन्ट, फलामे तथा प्लास्टिकका निर्माण सामग्री उत्पादन हुनु जरुरी छ । प्रदेशमा विशेष गरी चुनढुंगाको अथाह खानी छ । यसको समुचित प्रयोग गरेर सिमेन्ट उद्योगको विस्तार गर्नेतर्फ सरकारले चासो दिएमा सिमेन्टमा अति चाँडो नेपाल आत्मनिर्भर बन्ने मात्र होइन, भारतमा समेत निर्यात गर्न सकिन्छ । औद्योगीकरण र
पर्यटनको माध्यमबाट राष्ट्रले ठूलो फाइदा लिन सरकारले भैरहवासम्म १३२ केभीएको विद्युत् प्रसारणको व्यवस्था, एकीकृत जाँच चौकी (आईसीपी) को शीघ्र सञ्चालन, औद्योगिक क्षेत्रको स्थापना र सिमानादेखि ११ किमिपर भारतको नौतनवासम्म रहेको रेलमार्गलाई आईसीपी र सेजसम्म जोड्ने कार्यलाई अति प्राथमिकतामा राख्न जरुरी छ ।


मनीष रुंगटा, प्रबन्ध निर्देशक
एसियन कंक्रिटो प्रालि


भैरहवा–भुमही खण्डमा रहेको एसियन कंक्रिटो प्रालि पूर्ण रूपमा वातावरणमैत्री उद्योग हो । माटोबाट भन्दा कंक्रिटबाट उत्पादित सामग्री पाँच गुणा धेरै बलियो हुन्छ । समय र लगानी बचत हुन्छ । यसको प्रयोगले छोटो समयमा निर्माण सम्पन्न हुने भएकाले लागत कम हुन्छ । यसको वेस्टेज पनि कम हुन्छ । संरचनाहरू धेरै वर्षसम्म टिक्छन् । यसले वर्षामा पानी सोस्ने भएकाले हिलो हुने, लेउ लागेर चिप्लिने समस्या हुँदैन । यसबाट निर्माण गरिएका सडक २०/२५ वर्षसम्म टिक्छन् । पछिल्लो समय नेपालमा यस्ता उद्योग बढ्दै छन् । सरकारले यस्ता कंक्रिट उद्योगको संरक्षण गर्न जरुरी छ । यस्ता सामग्रीको अभावले यहाँ सञ्चालित योजना समयमै पूरा भएका छैनन् । एसियन कंक्रिटोको प्रतिदिन एक लाख पिस उत्पादन गर्ने क्षमता छ । सरकारले वातावरणमैत्री उद्योग स्थापनामा जोड दिने नीति लिए पनि कार्यान्वयन चुनौतीको विषय बनेको छ । यस्ता उद्योगलाई प्रोत्साहन गर्न सरकारले बैंक ब्याजदरमा सहुलियत र आय करमा छुट दिन जरुरी छ ।


सुरज उप्रेती, महाप्रबन्धक
एसआर औद्योगिक समूह

एसआर औद्योगिक समूहले छड, सिमेन्ट, ह्युमपाइप, क्रसर उद्योग सञ्चालन गर्दै आएको छ । खाद्यान्न र होटलमा लगानी गर्दै छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पाँचतारे होटल सञ्चालन गर्दै छौं । एसआर फुड्स चार वर्षदेखि सञ्चालनमा छ । यो समूहले विभिन्न क्षेत्रमा गरी ३ अर्ब रुपैयाँ लगानी गरेको छ । जर्मन प्रविधिबाट नेपालमै पहिलोपटक ३ सयदेखि १ हजार ६ सय एमएम क्षमताको यू ड्रेड (यू आकारको) ह्युमपाइप र अन्य कंक्रिट प्रिकास्ट उत्पादन गर्दै आएको छ । उद्योगका लागि मानव संशाधनको कमी, कच्चा पदार्थमा परनिर्भरता, बजार अध्ययन र अनुसन्धानबिनै देखासिकीमा उद्योग खोल्ने प्रवृत्तिले समस्या थपेको छ । दक्ष जनशक्ति विदेशबाट मगाउनुपरिरहेको छ । एसआर फुड्सले ६० प्रतिशत गहुँ भारतबाट आयात गर्छ । स्टिलका लागि कच्चा पदार्थ, फलामे एमएस ब्लेडदेखि नटबोल्ड र सबै मेसिन बाहिरबाट आयात गर्नुपर्छ । उद्योग स्थापना गर्नुअगावै राम्ररी अध्ययन नगरी अरू उद्योग सञ्चालन भएको देखासिकीमा समान खालका उद्योग स्थापना गर्दै जानुले अस्वस्थ प्रतिस्पर्धा बढ्न थालेको छ । नेपालमा उद्योग सञ्चालनका लागि यी चुनौतीका विषय हुन् ।


गोविन्द रिमाल, सेल्स एन्ड मार्केटिङ म्यानेजर
एरोब्रिक्स कम्पनी लिमिटेड


यो कम्पनी चितवनको चैनपुरमा रहेको छ । एरोब्रिक्स कम्पनी लिमिटेडले बालुवा, सिमेन्ट, जिप्सम र चुनको मिश्रणबाट एएसी (अटोक्लेभ्ड एरिएटेड कंक्रिट) निर्माण हुन्छ । सन् २०१५ बाट बजारमा यो उपलब्ध छ । यसको उत्पादन इँटा र अन्य ब्लकभन्दा २.७५ गुणा हल्का हुन्छ । यसको थर्मल इन्सुलेसन प्रपर्टी अन्य वस्तुको तुलनामा ४ देखि ५ गुणा राम्रो हुन्छ । यसको आगो थेग्न सक्ने क्षमता अन्य वस्तुको भन्दा दुई गुणा बढी हुन्छ । यसको बढी प्रतिदिन उत्पादन क्षमता दैनिक ५ सय घनमिटरभन्दा बढी रहेको छ । प्रतिदिन नर्मल फस्टक्लास इँटाको बिक्री हटाउने हो भने २० प्रतिशत वित्तीय बचत हुन्छ । यो वातानुकूलित छ । यस्तो उत्पादन गर्ने तीन/चारवटा कम्पनी नेपालमा सञ्चालित छन् । यसको आकार ठूलो हुने भएकाले निर्माणमा समय र लागत बचत गर्न सकिन्छ । अहिले यसको बजार एकदम राम्रो छ । मासिक दोब्बरले यसको प्रयोग र बिक्री बढेको छ ।


प्रस्तुति ः माधव ढुंगाना र सञ्जु पौडेल

प्रकाशित : जेष्ठ २०, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?