सूर्योदयसँगै अस्ताए ‘डीआर दाइ’

सुदीप कैनी

काठमाडौँ — पूर्वशिक्षा मन्त्री धनीराम पौडेल (डि.आर) पछिल्लो समय प्रायः शिक्षा मन्त्रालयमा नै भेटिन्थे । सरकारले गठन गरेको उच्चस्तरीय शिक्षा आयोगका सदस्य थिए उनी । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको आयोगमा पूर्वशिक्षा मन्त्रीद्वय पौडेल र गंगालाल तुलाधर पनि सदस्य थिए ।

सरकारलाई शिक्षा सम्बन्धि नीति, नियम बनाउन सुझाव दिनु पौडेलको जिम्मेवारी थियो। गत माघ १ गते प्रधानमन्त्री केपी ओलीलाई आयोगले प्रतिवेदन बुझाएपछि पनि पौडेलको दौडधुप मन्त्रालयमा नै देखिन्थ्यो। मन्त्रालयका कोठाकोठा चहारेर मन्त्री पोखरेलदेखि कर्मचारीसँग बहालवाला मन्त्री जस्तै सरसल्लाह र छलफलमा पौडेल व्यस्त हुन्थे। सरकारले आयोगको प्रतिवेदन लामो समय सार्वजनिक नगरेपछि उनले सञ्चारकर्मीहरुसँग भनेका थिए, ‘आफ्नै पार्टीको सरकार छ, तर पनि आयोगको रिपार्ट सार्वजनिक गर्न दबाव दिनुपर्ने अवस्था छ।’

सार्वजनिक शिक्षाको सुधार गर्न उनी जोड दिन्थें। मन्त्रालयमा मन्त्री जस्तै व्यस्त जिम्मेवारीमा देखिने उनी मन्त्री पोखरेले सरसल्लाह गर्ने मध्येका नजिकका सहयोगी हुन्। त्यसो त पोखरेल र पौडेल पुरा साथी र एउटै पार्टीका सहयोद्धा पनि थिए। मन्त्रालय बाहिर भने सामान्य नागरिकभन्दा फरक थिएनन् पौडेल। ललितपुरस्थित खुमलटारमा भाडाको कोठामा बस्थें भने सार्वजनिक यातायात चढेर मन्त्रालय आउथे। लवाइखुवाइ त्यस्तै सामान्य।

तिनै पूर्वशिक्षा मन्त्री सत्तारुढ नेकपामा केन्द्रीय सदस्य पार्टी कार्यकर्ताका ‘डीआर दाइ’ शुक्रबार सूर्योदयसँगै अस्ताए। घर निर्माणको सिलसिलामा केही दिनदेखि उनी गृहजिल्ला चितवनमा थिए। शुक्रबार बिहानै ५४ वर्षीय पौडेल हृदयघातका कारण ढले। आफन्त र छिमेकीले उपचारका लागि माडी नगरपालिकास्थित बघौडा अस्पताल पुर्‍याउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरे। पार्टी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री पोखरेल चितवन पुगेर उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जिली अर्पण गरे।

सहयोद्धा गुमाएको पत्याउन गाह्रो घटनाले मर्माहत बनाएको शिक्षामन्त्री पोखरेलले जनाए। ‘मुलुकको शिक्षा क्षेत्रमा उहाँले दिनुभएको योगदान सदा स्मरणीय रहन्छ,’ उनले भने, ‘सादा, सरल र सालिन व्यक्तित्व सबैले सिक्न लायक थियो।’ मन्त्री हुँदा र त्यसपछि पनि पौडेलले निरन्तर शिक्षा क्षेत्रमा योगदान गर्दै आएको उनले बताए। पाटीको काम बाहेक मन्त्रालयको काममा सहयोग गर्नु उनको दिनचर्या थियो।

दाहाल दोस्रोपटक (२०७३ साउनदेखि २०७४ जेठसम्म) प्रधानमन्त्री हुँदा पौडेल शिक्षामन्त्रीको जिम्मेवारीमा थिए। मन्त्री हुँदा पनि सरल जीवन शैली र निष्ठालाई उनले डगमगाउन दिएनन्। यद्यपी मन्त्री हुँदा क्षमता देखाउन नसकेको आरोप उनीमाथि छ।

त्यतिबेला शिक्षा ऐनको आठौं संशोधन भएको थियो। छोटो समय (करिब ९ महिना) मन्त्री बनेका उनले संशोधनअनुसार नियमावली ल्याउन सकेनन्। त्यसपछिका मन्त्री गोपालमान श्रेष्ठले नियमावली नआउँदै ऐनको नवौं संशोधन गरे। संशोधनले शिक्षा क्षेत्रमा दुरगामी असर गर्ने ऐन बन्यो। ‘अवधि त छोटो थियो, डीआर सरले मन्त्री हुँदा खासै क्षमता देखाएर काम गर्न सक्नु भएन,’ त्यतिबेला मन्त्रालयका कार्यरत एकउपसचिवले भने, ‘तर राम्रो काम धेरै गर्न नसकेपनि नराम्रो पनि गर्नु भएन।’

विसं २०२२ कार्तिक ४ गते स्याङजा जिल्लाको दरौ गाविस कुञ्चेबारीमा उनको जन्म भएको हो। बुबा हरिप्रसाद र आमा हिमादेवीको जेठो सन्तानका रुपमा जन्मेका उनी २०३७ सालदेखि वामपन्थी राजनीतिमा लागेका थिए। २०३४ सालमा पौडेल परिवार बसाइ सरेर माडी-५ पिपरिया आएको थियो। मोहनविक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को विद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गरेका उनी २०३९ मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तात्कालीन नेकपा (एकताकेन्द्र) विभाजन पछि अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय संयोजक चुनिए।

२०४२ सालमा नेकपा (चौम) को सदस्यता लिएर २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य बनेका थिए। २०४६ सालको जनआन्दोलनमा उनी केही समय गौरको जेलमा परे। २०५१ को पार्टी विभाजनपछि नारायणकाजी श्रेष्ठलाई साथ दिए। त्यसपछि लगातार पार्टीको केन्द्रीय समितिमा छन्। त्यतिबेला पार्टीको वैचारिक मुखपत्र जनएकता साप्ताहिकको सम्पादक भई पत्रकारिता समेत संलग्न रहे। २०६५ मा माओवादी र एकताकेन्द्र मसालबीच पार्टी एकता भयो। उनी केन्द्रीय सदस्य हुँदै पोलिटव्युरो समेत बने। मसाल र एकीकृत माओवादीमा हुँदा उनले पार्टीको पूर्वी पहाडी र पश्चिम क्षेत्रको विभिन्न जिल्लाको जिम्मेवारीमा थिए।

२०७० को दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट उनी सभासद चुनिए। २०७३ मा शिक्षामन्त्री बनेका थिए। २०७४ को निर्वाचनमा टिकट पाएनन् तर एमाले र माओवादी केन्द्रको एकता पछि उनी केन्द्रीय सदस्य बने। दाङकी पार्टी नेतृ गंगा बेलबासेसँग उनको विवाह भएको थियो। स्नातकसम्म अध्ययन गरेका स्वर्गीय पौडेलका बुवाआमा, श्रीमती र दुई छोरी छन्। ‘४० सालदेखिको सहयोद्धा गुमाउँदा पार्टी र मन्त्रालय टीमको महत्वपूर्ण सदस्य गुमाएका छौं,’ अन्त्येष्टिस्थलबाट मन्त्री पोखरेलले कान्तिपुरसँग भने, ‘आयोगले दिएको सुझावअनुसार शिक्षा ऐन र नीति नबन्दै हामीलाई छाडेर जानुभयो, यसलाई टुंगोमा पुर्‍याउन उहाँको अभाव भइ नै रहनेछ।’

प्रकाशित : जेष्ठ ३१, २०७६ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्

अत्यधिक गर्मीले जनजीवन प्रभावित

बिनु तिम्सिना

(विराटनगर) — इलामका दिलाराज गोर्खाली विराटनगर आएको एक महिनामात्रै भयो । उनी एक छोरा र श्रीमतीसहित अटो रिक्सा चलाउन विराटनगर झरेका हुन् । तीन दिनदेखि बढेको गर्मीमा उनले अटो चलाउन सकेका छैनन् । शुक्रबार पनि गर्मीका कारण अटो चलाउन नसकेर उनी दिनभर शितल छहारीमा बसी रहे ।

'इलामजस्तो जाडो ठाउँबाट आएको मलाई त विराटनगरको गर्मीले हैरान नै बनायो,’ उनले भने, ‘ठूलो सहर भनेर अटो चलाउन आएको यहाँ त धेरै पो गर्मी हुने रैछ ।’ खर्च कटाएर दैनिक एक हजार आम्दानी गर्ने गोर्खालीले बिहीबार ५ सय मात्रै कमाइ भएको बताए । शुक्रबार त झन् अटो चलाउन नै नसकेको उनले बताए ।
यस्तै विराटनगर १५ रानीका जयराम साहले रिक्सा चलाउन थालेको लगभग २० वर्ष भयो । विराटनगरका सिटी रिक्सा र अटोले रिक्सालाई विस्थापित गराउन लागेको अवस्थामा गर्मीले झन् काम गर्नै नसक्ने बनाएको साहले बताए । दैनिक ५ सय आम्दानी गर्ने उनले दुई दिनदेखि त रिक्सा चलाउन नै नसकेको बताए । ‘अटो र सिटिले धेरै बजार खाएको छ,’ उनले भने, 'कमाइ नै खासै हुँदैन त्यसमा पनि तीन दिनदेखि बढेको गर्मीले त काम गर्न सकेकै छैन ।’

विराटनगरमा भएका रुख बिरुवा पनि काटेकाले छहारी कतै नभेटिने उनले गुनासो गरे । 'पहिला पहिला त विराटनगरमा धेरै रुखहरु थियो, सवारीलाई गन्तव्यमा पुर्‍याएर एक छिन छहारीमा शितल खाएपछि फेरि हिँड्न सकिन्थ्यो,’ उनले भने, 'अहिले त विराटनगरमा रुख बिरुवा भेट्टाउनै मुस्किल छ ।’

पूर्वी तराईमा तीन दिनदेखि बढेको गर्मीले जनजीवन अस्तव्यस्त छ । वायुमण्डल सफा रहँदा सूर्यको चर्को तापक्रमले तराईको जनजीवन प्रभावित बनेको छ । वायुमण्डलीय तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ । मजदुर र विद्यार्थीहरु गर्मीका कारण धेरै समस्यामा परेका छन् ।

शुक्रबार विराटनगरको तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताइन् । यस्तै बिहीबार ३७ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो । अझै तीन दिन विराटनगरमा ठूलो वर्षा हुने सम्भावना कमै रहेको उनले जानकारी दिइन् ।

गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । गर्मी छल्न पेयपदार्थ पिउनेसँगै सर्वसाधारणले अन्य उपाय अपनाउँदै आएका छन् । नियमित विद्युत् आपूर्ति नहुँदा र विद्युतको भोल्टेज कम हुँदा बढ्दो गर्मीमा सर्वसधारण झनै पिरोलिएका छन् ।

गर्मीमा छाला ढाक्ने कपडा लगाउन, घाममा हिँड्दा नियमित अन्तरालमा बसेर शीतल पानीले हात मुख धुने जस्ता सुझाव चिकित्सकको छ । नियमित पानी पर्दा वायुमण्डलीय तापक्रम घटाउन सहयोग गर्ने भए पनि पछिल्लो एक सातामा पानी परेको छैन । मनसुनको कतै कुनै अत्तोपत्तो छैन ।

गर्मीका कारण दही, चिसो पेय पदार्थ, खर्बुजा, स्याउ, आइसक्रिम लगायतका सामाग्रीको बिक्री भने बढेको छ । विराटनगरस्थित गुद्री बजारमा फलफूलको व्यापार गर्दै आएका दिनेशकुमार साहले तीन/चार दिनयता खर्बुजाको बिक्री बढेको बताए । अन्य समयमा दैनिक ४०/५० वटा खर्बुजा बिक्री हुने गरेकोमा अहिले दैनिक सय वटासम्म बिक्री भइरहेको उनले बताए ।
सन् २०१६ अप्रिल ९ तारिखमा विराटनगरको तापक्रम ४० दशमलव ५ डिग्रिसम्म पुगेको थियो । त्यसभन्दा माथि विराटनगरको तापक्रम पुगेको रेकर्ड छैन ।

अत्याधिक गर्मी भएपछि छहारीमा विश्राम गर्दै । विनु तिम्सिना/कान्तिपुर

प्रकाशित : जेष्ठ ३१, २०७६ १८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्