यसरी छानौं विद्यालय

विद्यार्थीले रुचिको विषय खुट्ट्याइसकेपछि सम्बन्धित विद्यालय खोज्नुपर्छ । अनावश्यक विज्ञापनको पछि नलागी आफूले पढ्न लागेको विषय कसरी पढाइन्छ, कस्ता शिक्षकले पढाउाछन् र विद्यालयको वातावरण बुझ्न जरुरी छ ।
कञ्चन अधिकारी

 पश्चिम नवलपरासी, सुनवल–४ की रञ्जिता तिमिल्सिनाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बी प्लस ल्याइन्  । सुनवलको रमापुर माध्यमिक विद्यालयबाट एसईई दिएकी उनले ११ कक्षा कहाा पढ्ने र कुन विषय पढ्ने निधो गरिसकेकी छैनन्  ।

उनका अभिभावकले पनि यही विद्यालय र यही विषय पढाउने भन्ने निर्क्योल गरेका छैनन् । उनकी अभिभावक पार्वती तिमिल्सिना भन्छिन्, ‘धेरै विद्यालय बुझिरहेका छौं । त्यहाा पढाइ हुने विषय, भौतिक संरचना, शिक्षक र वातावरण बुझिरहेका छौं । अब केही दिनमा कहाा पढाउने, के पढाउने पक्का गर्नुपर्ला ?’


एसईईको नतिजा निस्केपछि कुन विद्यालय र कुन विषय पढाउने भन्ने चिन्ताले अभिभावक/विद्यार्थीलाई सताउने गर्छ । धेरै विद्यार्थी र अभिभावकलाई विज्ञापनको तामझामका बीच कस्तो विद्यालय रोज्ने भन्ने तनावकै विषय हो । सयौ विद्यालयमा कुन राम्रो/नराम्रो भन्ने छुट्याउनु सजिलो काम होइन । तर यो हतारमा निर्णय गरिहाल्ने विषय पनि होइन । किनकि यसमा विद्यार्थीको भविष्य जोडिएको छ । शिक्षाविद्हरू सबैभन्दा पहिला अभिभावक र विद्यार्थीलाई आफ्नो छोराछोरी र आफ्नो रुचि के हो त्यो छुट्ट्याउन सल्लाह दिन्छन् । शिक्षाविद् प्रकाश भट्ट भन्छन्, ‘आफ्ना छोराछोरीको स्ट्रेन्थ केमा छ, त्यो थाहा पाउन जरुरी छ अभिभावकले । अनि विद्यार्थीले पनि आफ्नो रुचि के विषयमा हो त्यसमा क्लियर हुनुपर्छ ।’


अभिभावक र विद्यार्थी रुचिको खुट्ट्याइसकेपछि अब बल्ल आफूले पढ्न चाहेको विषयसाग सम्बन्धित विद्यालय खोज्नुपर्ने भट्ट बताउाछन् । उनले भने, ’अहिले विज्ञापनको जमाना छ । विज्ञापनमा अनेक भनिएको हुन्छ । त्यसको पछि लाग्नुभएन । आफूले पढ्न लागेको विषय कसरी पढाइन्छ, कस्ता शिक्षकले पढाउाछन् । विद्यालयको वातावरण के छ बुझ्न जरुरी छ ।’ एउटै विषय पढाउने दर्जनौं विद्यालयहरू छन् । यस्तो अवस्थामा कुन राम्रो हो छुट्याउन गार्‍हो हुन्छ र कतिपयले विज्ञापनको भरमा निर्णय गर्छन् । ‘आफ्नो इच्छा र चाहनाअनुसार छनोट गर्ने हो’ भट्टले भने, ‘जहाँ धेरै ‘हाईफाई’ छ त्यहाँ जानुपर्छ भन्ने छैन ।’ विद्यालय छनोट गर्दा विद्यालयको बाहिर तडकभडक होइन भित्री कुरा बुझ्नुपर्छ । पुरानो शैक्षिक रेकर्ड कस्तो छ, त्यसलाई बुझ्नुपर्छ । बाहिर ठूलाठूला हल्ला मात्र गर्नेहरू पनि हुन सक्छन् । कतिपय विद्यालयको कुनै समय राम्रो अध्यापन गराएर ‘ब्रान्ड’ को रूपमा स्थापित भए पनि अहिले शैक्षिकस्तर खस्केको हुन सक्छ । त्यसैले ‘ब्रान्ड’ कै पछि लागेर, अरूले भनेको भरमा मात्र दौडिइहाल्नु बुद्धिमानी हुँदैन । उनले भने, ‘विद्यार्थीलाई मीठा नारा, सफासुग्घर पूर्वाधार र छुट नै छुटका घुमाउरो योजना बनाएर भर्ना गर्ने प्रयास सबैजसो विद्यालयले गर्छन् । विद्यालय छनोट गर्दा त्यसको शुल्क, संरचना, शिक्षकहरूको विज्ञता, पुराना विद्यार्थीहरूको सफलता र अभिभावकको आम्दानीका बीच सन्तुलन मिलाउन जरुरी छ ।’


निश्चित पाठ्यक्रममा आधारित पुस्तक अध्ययन–अध्यापन गर्ने, परीक्षा दिने र पास गर्ने, यति मात्र प्रयोजनका लागि प्रयोग हुने थलो विद्यालय होइन । अध्ययनभित्र अतिरिक्त क्रियाकलाप पनि पर्छन् । ‘त्यस्ता गतिविधि हुन्छन् कि हुँदैनन् भन्ने बुझ्नुपर्छ’ जनप्रेमी कलेजका प्रिन्सिपल नीलेश आचार्यको सुझाव छ, ‘अतिरिक्त क्रियाकलापले पाठ्यक्रमभन्दा बाहिरका कुरामा पनि सिक्ने अवसर प्राप्त हुन्छ ।’
शैक्षिक पूर्वाधार कति र कस्तो त्यसको आधारमा पनि विद्यालय छान्नुपर्छ । प्रयोगात्मक विषय अध्ययन गर्नेहरूका लागि त यो झन् महत्त्वपूर्ण हो । कतिपय विद्यालयहरूले विज्ञापनमा अनेक सुविधाका आश्वासन बाँडिएका हुन्छन् । तर त्यसअनुसारका गतिविधिहरू गर्दैनन् । प्रयोगात्मक सामग्री, पर्याप्त पुस्तकहरू भएको पुस्ताकालयलगायतका आधारभूत संरचना नै नभएका पनि हुन्छन् । यसमा ध्यान पुर्‍याउनुपर्छ । सबै विद्यालयको कुरा पूर्वाधार, प्राध्यापक, पुस्तकालय, प्रयोगशाला उस्तै उस्तै लागेमा कम्तीमा ४/५ वटा विद्यालयको अध्ययन गरी तुलनात्मक रूपमा राम्रो लागेकामा भर्ना गर्ने निर्णय गर्नु राम्रो हुन्छ । निर्णय प्रक्रियामा अभिभावकहरूलाई पनि सामेल गराए पढ्नुपूर्व नै सामूहिक व्यवस्थापनको अभ्यास यो विषय पढ्ने विद्यार्थीमा हुनेछ । शिक्षाविद् भट्ट भन्छन्, ‘सकिन्छ भने अभिभावक र विद्यार्थी मिलेर ‘मिनी रिसर्च’ गरे पनि हुन्छ ।’


शिक्षाविद् भट्ट भन्छन्, ‘जतिसुकै कुरा गरे पनि अभिावक र विद्यार्थीले अन्तिममा आफ्नो आर्थिक अवस्थाको पनि ख्याल गर्नैपर्छ । आफ्नो हैसियतका विद्यालय छान्दा उपयुक्त हुन्छ ।’ धेरै प्रतिशत नम्बर ल्याएर पास भएको भन्दैमा छिमेकी र आफन्तको देखासिकी गरेर महँगो विद्यालयमा जाँदा पछि आर्थिक रूपमा धान्नै गार्‍हो पर्न सक्छ । विद्यालयको अध्ययनमा एक दुई दिन मात्र होइन वषौंसम्म लगातार खर्च गर्नुपर्ने हुन्छ । यातायात, पाठ्यपुस्तक, पाठ्यसामग्रीलगायतका नियमित खर्चमा चर्को शुल्कको भारी पनि थपिँदा सामान्य आर्थिक अवस्था भएकाहरूलाई उठ्नै नसक्ने बोझ पर्न जान्छ ।


हुन त दुःखै गरेर भए पनि राम्रो शिक्षा लिने कुरामा ‘कम्प्रोमाइज’ गर्नुहुँदैन । अधिकांश अभिभावक र विद्यार्थीको पनि यस्तै सोच हुन्छ । राम्ररी अनुसन्धान गर्ने हो भने कम शुल्कमा गुणस्तरीय शिक्षा दिने विद्यालयहरू आफ्नै टोलछिमेकमा हुन सक्छन् । तडकभडक र पुराना ‘ब्रान्डेड’ भन्दा समान्य विद्यालयले राम्रो नतिजा ल्याइरहेका हुन सक्छन् । कत्तिपय सामुदायिक र सरकारी विद्यालयहरूले सस्तोमा गुणस्तरीय अध्यापन गराइरहेका हुन सक्छन् । त्यसैले आर्थिक अवस्थाअनुसार आफूलाई उपयुक्त हुने विद्यालयको छनोट गर्नु उत्तम हुन्छ।

प्रकाशित : असार १८, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्

मिहिनेती बन्न विज्ञान

गणित राम्रो छ भने विज्ञान पढ्नु राम्रो । अन्य प्रणाली तथा नीतिगत विषयमा इच्छा भने अर्को विषय छनोट गर्न भने हिच्किचाउनु हुंदैन ।
गोविन्द पोखरेल

राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष लिएको एसईई नतिजा बिहीबार सार्वजनिक गरेको छ  । कुन विषय किन लिने भन्नेबारे विद्यार्थीहरू अन्योलमा हुन सक्छन्  ।

आफ्नो रुचिअनुसारको विषय छनोट गर्न सके त्यसैलाई आफ्नो करियर बनाउन सकिन्छ । उत्कृष्ट अंक ल्याउनेले विज्ञान, अलिक कम अंक ल्याउनेले व्यवस्थापन अनि त्योभन्दा कम अंक ल्याउनेले मानविकी लिनुपर्छ भन्ने गलत मानसिकता छ । सबै विषयको महत्त्व आ–आफ्नै हुन्छ । अंकले विद्यार्थीको भविष्य निर्क्योल गर्दैन । विद्यार्थीको रुचि र क्षमताले विषयमा छनोटमा प्रभाव राख्छ । जुनसुकै क्षेत्रमा पनि सीप र दक्षता आवश्यक हुन्छ । त्यही भएर कसैको दबाब र प्रभावमा परेर विषय छनोट गरिहाल्नुहुँदैन । साथीले फलानो विषय लियो म पनि त्यही विषय लिन्छु भन्ने मानसिकता विद्यार्थीले हटाउनुपर्छ ।

साथीको सिको गर्न खोज्दा आफ्नो भविष्य अन्धकार बन्न सक्छ, त्यसैले विषय छनोटमा बेलैमा विचार पुर्‍याउनुपर्छ । २०७५ सालमा ५० हजार १ सय ८४ जना विद्यार्थीले कक्षा ११ मा विज्ञान विषय पढ्नका लागि फाराम भरेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । उनका अनुसार यो संख्या औसत हो । कक्षा ११ मा विज्ञान विषय लिने विद्यार्थीहरूको संख्या बढ्ने/घट्नेभन्दा पनि स्थिर छ । अघिल्लो वर्ष पनि ५० हजार विद्यार्थीहरूले नै कक्षा ११ मा विज्ञान संकाय पढ्न फाराम भरेका थिए । अहिले शैक्षिक संस्थाहरू पनि बढिरहेका छन् । विज्ञानमा आखिर के छ त्यस्तो ? राम्रो ग्रेड ल्याउने विद्यार्थीहरू किन विज्ञानतर्फ तानिन्छन् त ? विषयको चर्चा गर्नॅअघि विद्यार्थीहरूले एउटा दृढसंकल्प गर्न जरुरी छ । कक्षा ११ र १२ को विज्ञान आधारभूत भए पनि उच्च शिक्षाका लागि यो महत्त्वपूर्ण खुड्किलो हो । बुझे सजिलो नबुझे गाह्रो छ, विज्ञान । त्यसैले आफ्नो रुचिअनुसार मात्रै विज्ञान अध्ययन गर्ने निर्णय गरौं ।


विज्ञान संकाय लिन्छु भनेर मात्र हुँदैन । यसमा धेरै मिहिनेत र लगनशीलता आवश्यक छ । विज्ञानले विद्यार्थीहरूलाई मिहिनेती बन्न सिकाउँछ । अनुसन्धान गर्न सिकाउँछ । राजधानीस्थित नोबेल एकेडेमीका प्रिन्सिपल सुरेन्द्र श्रेष्ठ भन्छन्, ‘विज्ञानको दायरा फरक छ । भविष्यमा डाक्टर र इन्जिनियर बन्ने खोज्नेको पहिलो रोजाइ हुने नै भयो । त्यसबहेक आईटी र नर्सिङ करियरका लागि पनि उपयुक्त हुन्छ ।’ उनका अनुसार अहिलेका विद्यार्थीहरूमा विज्ञानको आकर्षण धेरै छ । सबै विषयमा जान पाउन भएकाले विद्यार्थीहरू यो संकाय पढ्न लालायित छन् ।


विज्ञानका विद्यार्थीलाई छुट हुँदैन । दिइएको एसाइन्मेन्ट समयमै बुझाउनैपर्छ । विज्ञानले विद्यार्थीलाई व्यस्त बनाइदिन्छ । प्रयोगात्मक कक्षा अनि कार्य अनिवार्य हुन्छ । अझ विभिन्न वैज्ञानिक सिद्धान्त, नियम अनि फर्मॅलाहरू याद गर्नॅ त छँदै छ । यसबाहेक नियमित कापी चेकजाँच र शिक्षकको प्रश्नले बेलाबेला ‘बेकारमा विज्ञान’ पढेछु भन्ने पनि अनुभूति हुन्छ ।


अधिकांश विद्यार्थीहरू डाक्टर र इन्जिनियर बन्ने सपना बोकेर विज्ञान रोजेका हुन्छन् भने केही कम्प्युटर तथा प्रविधि क्षेत्रमा काम गर्न । इन्जिनियरिङ र एमबीबीएसलगायतमा असफल भएपछि विज्ञानको स्नातकमा भर्ना हुने विद्यार्थीको संख्या पनि धेरै छ । त्यसैले विषय छनोटमा गम्भीर हुनुपर्छ । कक्षा ११ र १२ मा जीवविज्ञान लिने विद्यार्थीलाई स्वास्थ्य, कृषि, वातावरण, जीवन, प्रकृति विज्ञान पढ्न पाउँछन् । होइन म जीव, जगत् र स्वास्थ्य क्षेत्र नभएर इन्जिनियरिङ र आईटी क्षेत्र रोज्छु भन्ने लाग्छ भने गणित र कम्प्युटर लिनुपर्छ । रसायनशास्त्र भने दुवैमा अनिवार्य छ । कक्षा १२ पछिको आफ्नो रुचिबारे भने विद्यार्थी पहिले नै प्रस्ट हुनु जरुरी हुन्छ ।


हाल कक्षा ११ मा विज्ञान लिने विद्यार्थीलाई भौतिकशास्त्र, रसायनशास्त्र र गणित अनिवार्य गरिएको छ । जीवविज्ञान र कम्प्युटर ११ ऐच्छिक छन् । कक्षा १२ मा भौतिकशास्त्र र रसायनशास्त्र अनिवार्य छ । जीव विज्ञान, गणित र कम्प्युटर ऐच्छिक छन् । कक्षा १२ मा गणित र जीवविज्ञान दुवै लिन्छु भन्दा पनि पाइन्छ । त्यसकारण विद्यार्थीहरूले आफ्नो रुचिअनुसारको विषय छनोट गर्न सके सफल हुन सहज हुन्छ ।
त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन रामप्रसाद खतिवडा भन्छन्, ‘विज्ञान पढ्नेले मिहिनेत गर्न सिक्छ ।’ कक्षा ११ र १२ विज्ञान अध्ययन गरेका विद्यार्थीले भाषासम्बन्धी केही विषयबाहेक सबैजसो संकायमा पढ्न पाउँछन् ।


एमबीबीएस, बीपीएचस, बीएस्सी एमएलटी, बीएमआईटी, ब्याचलर्स इन फार्मेसी, मेडिकल माइक्रो बायोलोजी, फुड टेक्नोलोजी लिन सक्छन् । सिभिल, इलेक्ट्रोनिक्स, कम्युनिकेसन, कम्प्युटर, इलेक्ट्रिकल, मेकानिकल इन्जिनियरिङ गर्न सक्छन् । ब्याचलर्स इन जियोम्याटिक्स, बायोमेडिकल इन्जिनियरिङ, सूचना प्रविधि पढ्न पाउँछन् । कम्प्युटर क्षेत्रकै कुरा गर्ने हो भने बीएस्सी सीएसआईटी, बीईआईटी, बीआईटी, बीसीए, बीई कम्प्युटर र बीई सफ्टवेयर इन्जिनियरिङ गर्न पाउँछन् । भविष्यमा अनुसन्धान गर्छॅ, वैज्ञानिक बन्छु भन्ने सोच बनाएका विद्यार्थीहरूले आफ्नो रुचिअनुसार भौतिकशास्त्र, रसायन, जीवविज्ञान, वनस्पतिविज्ञान, जल तथा मौसम, हाइड्रोलोजी, जियोलोजी, माइक्रोबायोलोजी, स्टाटिस्टिक्सलगायत विषय रोज्न सक्छन् ।


खतिवडाका अनुसार विज्ञान पढ्ने विद्यार्थीलाई सबै क्षेत्रमा अवसर हुन्छ । विद्यार्थीले एक–दुईवटा संकायबाहेक अन्य सबै संकायमा पढ्न पाउँछन् । उनी भन्छन्, ‘गणित राम्रो छ भने विज्ञान पढ्दा राम्रो । अन्य प्रणाली तथा नीतिगत विषयमा इच्छा भने अर्को विषय छनोट गर्न भने नहिच्किचाउनुस् ।’

प्रकाशित : असार १८, २०७६ १०:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्