समाज बुझ्न मानविकी

मानविकी यस्तो विषय हो, जसले मानिसलाई सामाजिक परिवेशमा बाँच्न र कार्य गर्न सिकाउँछ । यसले मानिसलाई सिजर्नशील बनाउनुका साथै असल नागरिक बन्न सदैव प्रेरित गर्छ ।
बुद्धिसागर मरासिनी

नेपालमा अझै पनि राम्रो नतिजा ल्याउने अधिकांश विद्यार्थी डाक्टर, इन्जिनियर, पाइलट बन्ने इच्छा राख्छन् । त्यस्ता विद्यार्थीहरू आफ्नो जीवनलाई सफल र सार्थक बनाउन मानविकी पनि उत्कृष्ट विषय हो भन्ने जानकारीको कमी देखिन्छ । वास्तवमा, जागिरका लागि विश्व बजारमा हाल हुने आधाभन्दा बढीको माग मानविकी अध्ययन गर्ने विद्यार्थीले पूर्ति गर्छन् ।

हालै बेलायतमा गरिएको एक सर्वेक्षणअनुसार देशको समग्र रोजगारीको करिब ६० प्रतिशत मानविकी अध्ययन गर्ने विद्यार्थीले पूर्ति गर्छन् । पश्चिमा देशहरूमा मानविकीका विषयहरूलाई उच्च श्रेणीमा राख्ने गरिएको भए पनि हाम्रोजस्तो विकासोन्मुख देशमा यो पछि परेको छ । खासगरी अध्ययनपश्चात रोजगारीको चिन्ताले पनि त्यसो भएको कतिपयको बुझाइ छ ।


नेपालमा पनि अन्य विषय अध्ययनको तुलनामा रोजगारीमा संलग्न मानविकीका विद्यार्थीको अनुपात बढी छ । तर अन्य विषयको तुलनामा मानविक तथा समाजशास्त्रका विषयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, प्रयोगात्मक शिक्षाको व्यवस्था र विद्यार्थीको माग भने क्याम्पस, विश्वविद्यालय तथा सरकारका तर्फबाट सम्बोधन हुन सकेको छैन् । खासगरी भाषा, इतिहास र संस्कृतिमार्फत मानिसहरूबारे जानकारी लिनका लागि मानविकी निकै महत्त्वपूर्ण विषय हो । त्यसैगरी, सामाजिक न्याय, समानता, नैतिकतालाई बढावा दिने वा यस क्षेत्रलाई विकास गर्नमा मानविकीकै विद्यार्थीहरूको योगदान रहिआएको छ ।
मानविकी यस्तो विषय हो, जसले मानिसलाई सामाजिक परिवेशमा बाँच्न र कार्य गर्न सिकाउँछ । यसले मानिसलाई सिजर्नशील बनाउनुका साथै असल नागरिक बन्न सदैव प्रेरित गर्छ ।


त्यसका साथै कुनै विषयको गहिराइसम्म पुग्न, त्यसलाई व्याख्या वा विश्लेषण गर्न र समस्या समाधानका उपायहरू निकाल्न मानविकी निकै उपयोगी विषय हो । वास्तवमा भन्नुपर्दा मानविकीका विविध विषयले समाजलाई गतिशीलता प्रदान गर्दैै मानव सभ्यताको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
करिब एक दशकदेखि राजधानीका विभिन्न कलेजमा सामाजिक कार्य विषय अध्यापन गराउँदै आएका राजेशमान सिंह सामाजिक कार्य, समाजशास्त्र तथा मानवशास्त्र लगायतका विषयले समाज तथा सामाजिक गतिविधिबारे विद्यार्थीलाई सिकाउने मात्र नभई त्यसलाई चलायमान बनाउने सहयोग पुर्‍याउने बताउँछन् । उनी भन्छन्, समाजलाई गति दिन तथा मानव सभ्यताको विकासका लागि यी विषयहरू निकै महत्त्वपूर्ण छन् ।


त्यसैगरी, पछिल्लो समय बजार विस्तार र सूचना प्रविधिको प्रयोगसँगै कतिपय नयाँ नयाँ विषय तथा पाठ्यक्रमहरूसमेत मानविकी संकायमा थपिएका छन् । ती विषयहरूको अध्ययनले रोजगारीका अवसरसमेत बढाएका छन् । पछिल्लो समय स्नातक तहमा पढाइ हुने सामाजिक कार्य, आमसञ्चार तथा पत्रकारिता, ब्याचलर इन डेभलपमेन्ट स्टडिज (बिडेभ्स), ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए), तथा अन्य विषयहरूले मानविकीको दायरा झन् फराकिलो बनाउँदै लगेको छ । त्यसमध्ये मानविकीअन्तर्गत अध्ययन, अध्यापन हुने अंग्रेजी तथा नेपाली भाषाले कुनै पनि विषयवस्तुप्रति मानिसको बुझाइको दायरा फराकिलो पार्छ । नीति कलेजहरूमा करिब एक दशकदेखि अंग्रेजी भाषाको अध्यापनमा संलग्न हरिकृष्ण लामिछाने भन्छन्, भाषा साहित्यको अध्ययनले मानिसलाई सिर्जनशील बनाउँछ र कुनै पनि विषयबारे विश्लेषण गर्न वा अवधारणा निर्माण गर्न सिकाउँछ ।


सरकार कार्यालय, निजी कम्पनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामा माग बढेसँगै कानुनमा स्नातक गर्ने विद्यार्थीहरूको संख्या ह्वात्तै बढेको छ । अध्ययनपश्चात् स्वरोजगारीको अवसर पनि हुने भएको कानुन विषयप्रति विद्यार्थीको आकर्षण देखिएको जानकारहरू बताउँछन् । त्यसैगरी, बढ्दो बजारीकरण तथा विश्वव्यापीकरणले मानविकीका विषयको दायरा झन् बढेको छ । प्रविधिको विस्तारसँगै फैलिएका आमसञ्चारका माध्यमहरू, गैरसरकारी संस्थाहरू तथा मानिसहरूमा अध्ययन अनुसन्धानको रुचिले पनि मानविकीको माग बढ्दै गएको छ । त्यसैगरी, अर्थशास्त्र, मनोविज्ञान, राजनीतिशास्त्र, दर्शनशास्त्र, भूगोल, इतिहास, ललितकला, साहित्य, फेसन प्रविधि, भाषा साहित्य, नाट्यकला, लगायतका विषयप्रति विद्यार्थीहरूको रुचिका कारण पनि मानविकीले बजारको माग बढाएको छ ।


यी सबै विषयहरू समाज र व्यक्तिका विभिन्न पक्ष तथा दैनिक क्रियाकलाहरूसँग कुनै न कुनै हिसाबले सम्बन्धित छन् । विद्यार्थीहरूमा सकारात्मक सोचको विकास, भाषागत दक्षता, प्रभावकारी प्रस्तुतीकरण, व्यक्तिगत खुबी, नयाँ नयाँ खोज तथा अनुसन्धान, नेतृत्व विकास गर्न तथा निर्णय क्षमतामा निपुण भई समाजलाई बाटो देखाउन मानविकीका विषयहरू अध्ययन गर्न आवश्यक छ ।


मानविकीका अधिकांश विषयहरूले समाजसँग सम्बन्ध राख्ने भएकाले विद्यार्थीहरूले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा समाजमा नै प्रयोग गर्नसमेत सक्छन् । त्यसैले स्नातक अध्ययनका लागि कसैको दबाब वा प्रभावमा नपरी विद्यार्थीले आफ्नो रुचि र क्षमता अनुसार विषय छनोट गरेको खण्डमा पक्कै पनि सफल बन्न सकिन्छ । किनकि व्यक्ति, समाज र राष्ट्रका लागि हरेक विषयको अध्ययन उत्तिकै महत्त्वपूर्ण छ।

प्रकाशित : श्रावण १७, २०७६ ११:०७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सूचना प्रविधि : थुप्रै छन् विकल्प

विजय तिमल्सिना

स्नातकमा आईटी पढ्नेका लागि धेरै विकल्प छन्  । नेपालभित्रैका विभिन्न विश्वविद्यालयले विभिन्न विषयमा ब्याचलर कार्यक्रम चलाइरहेका छन् भने विदेशी विश्वविद्यालयको सहकार्यमा पनि केही कलेजहरूले ब्याचलरमा आईटी कोर्स चलाइरहेका छन्  ।

विद्यार्थीहरूले आफ्नो रुचिसहित आफूले दिन सक्ने समय र गर्न सक्ने खर्चका आधारमा कोर्स छनोट गर्न सक्छन् । त्रिभुवन विश्वविद्यालयलये आईटीमा पनि कोर्स सञ्चालन गरिरहेको छ । त्रिविसँग आवद्ध विभिन्न कलेजहरूले यसै आधारमा विद्यार्थी भर्ना लिइरहेका छन् ।


त्रिभुवन विश्वविद्यालयले आवद्ध कलेजहरूले ब्याचलरमा ८ सेमेस्टरको बीएससी सीएसआईटीको पढाइ सञ्चालन गरिरहेका छन् । त्रिवि आवद्ध ब्याचलर कोर्सको सामान्यतः सेप्टेम्बरमा प्रवेश परीक्षा हुन्छ र नोभेम्बर महिनादेखि पढाइ सुरु हुँदै आएको छ । समेस्टर प्रणालीमा विद्यार्थीको मूल्यांकन सैद्धान्तिक र व्यावहारिक दुवै खालको हुन्छ ।पोखरा विश्वविद्यालयले ब्याचलर अफ इन्फर्मेसन सिस्टमको पढाइका लागि आफूअन्तर्गतका कलेजलाई सम्बन्धन दिएको छ । एक दर्जन बढी कलेजमा यसको पढाइ हुन्छ । पोखरा विश्वविद्यालयले सम्बन्धन दिएका कलेजमा ब्याचलर अफ सफ्टवेयर इन्जिनियरिङ, ब्याचलर अफ कम्युटर इन्जिनियरिङ, ब्याचलर अफ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ, ब्याचलर अफ कम्प्युटर एप्लिकेसन, ब्याचलर अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ हुन्छ ।


पूर्वाञ्चल युनिभर्सिटीले पनि ४ वर्षे ब्याचलर इन इन्फर्मेसन सिस्टम (बीआईटी) को पढाइका लागि विभिन्न कलेजलाई सम्बन्धन दिएको छ । यसमा सूचना प्रविधि, कम्प्युटिङ र प्रविधिको विषयमा पढाइ हुन्छ । विद्यार्थीले आफ्नो रुचि र पायक पर्ने कलेज छनोट गरी यी कोर्सलाई रोज्न सक्छन् । यस्ता अधिकांश कलेजहरू नेपालमै विश्वविद्यालयले डिजाइन गरेका आईटीका यी कोर्सहरू पढ्ने विद्यार्थीले एनालिस्ट, प्रोग्रामर, आईटी म्यानेजर, सिस्टम प्रोग्रामर, सिस्टम एनालिस्ट, डिजिटल मिडिया स्पेसलिस्ट, वेब डेभलपर, सफ्टवेयर इन्जिनियरिङ, डाटाबेस एड्मिन, नेटवर्क एड्मिन, सिस्टम म्यानेजरजस्ता पदमा काम पाउन सक्छन् । नेपालमै बसेर आईटीमा ब्याचर गर्न चाहनेका लागि विदेशी विश्वविद्यालयमा आवद्ध कलेजहरूले पनि विभिन्न पाठ्यक्रम पढाइरहेका छन् । ती कलेजमध्ये ब्रिटिस कलेज पनि एक हो । ब्रिटिस कलेजले बेलायतको लिड्स बेकेट विश्वविद्यालयसँगको सहकार्यमा बीएससी कम्प्युटिङ कार्यक्रम सञ्चालन गरिरहेको छ ।


कलेजका सञ्चार प्रमुख सुमन श्रेष्ठका अनुसार यो कोर्समा प्रोग्रामिङ, डाटाबेस डेभलपमेन्ट, नेटवर्किङ, वेबसाइट डेभलपमेन्ट र कम्प्युटर सेक्युरिटीजस्ता विषयमा पढाइ हुन्छन् । यो कोर्स त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत पढ्दा बीएससी सीएसआईटी र बीआईटीजस्ता कोर्स जत्तिकै मान्यता प्राप्त हो । कलेजले वार्षिक २ पटक यो विषयमा भर्ना लिने श्रेष्ठले जानकारी दिए । चारवर्षे यो कार्सको खर्च १५ देखि १७ लाख लाग्छ ।

अध्ययन अवधिमा विद्यार्थीलाई लन्डनसमेत लगेर पढाइने श्रेष्ठले बताए । ‘यो कोर्स पढ्नेहरूलाई रोजगारीको समस्या भएको छैन,’ प्रधानले भने । उनका अनुसार कोर्स पूरा गर्नेहरूले थप पढाइका लागि विदेशमा पनि सजिलै भर्ना पाउँछन् । ब्रिटिस कलेजस्तै इस्लिङ्टन कलेजले पनि लन्डनको अर्को विश्वविद्यालयसँगको सहकार्यमा ब्याचलरमा तीनवटा आईटी कोर्सको पढाइ सञ्चालन गरिरहेको छ । कलेजका हेड अफ आईटी स्कुल रोहित पाण्डेका अनुसार ब्याचलर तहमा तीनवटा कोर्सको पढाइ भइरहेको छ । तीनवटै कोर्सको फरकफरक विशेषता रहेका छन् ।


लन्डन मेट्रोपोलिटन युनिभर्सिटीको सहकार्यमा कलेजले मल्टिमिडिया टेक्नोलोजी, कम्प्युटिङ तथा कम्युटर नेटवर्किर र आईटी सेक्युरिटी कोर्स सञ्चालन गरिरहेको छ । यिन तीन कोर्स पढ्नेहरूले हार्डवेयर, सफ्वेटयर, नेटवर्किङ, डिजिटल फरेन्सिक, मल्टिमिडियाजस्ता क्षेत्रमा करिअर बनाउन सक्छन् ।यी तीनवटा कोर्सका लागि लाग्ने खर्च फरकफरक छन् । शाक्यका अनुसार ब्याचलरमा यी तीन कोर्सको पढाइका लागि साढे १० देखि ११ लाख खर्च लाग्छ ।

प्रकाशित : श्रावण १७, २०७६ ११:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT