सिर्जनामुखी स्नातक

साधारण धारबाट सुरू भएको शिक्षा प्राविधिक तथा व्यावसायिक हुँदै हाल विज्ञान तथा प्रविधिमा केन्द्रित हुन थालेको छ किनकि सूचना प्रविधिबिना शिक्षा गुणस्तरको परिकल्पना गर्ने स्थिति छैन ।
गणेश राई

विसं १९७५ मा उच्च शिक्षाको व्यवस्था गर्न त्रिचन्द्र कलेज (तत्कालीन त्रिभुवन चन्द्र कलेज) को स्थापना भएपछि नेपालमा उच्च शिक्षाको लहरो तन्किन थालेको हो  । कलकत्ता विश्वविद्यालयसँगको सम्बन्धनमा सुरु भए पनि १९८० मा पटना विश्वविद्यालयसँग सारिएको थियो  । २०१६ असारमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्थापना भएपछि नेपालमै उच्च शिक्षा विस्तारको ढोका खुलेको हो ।

सिर्जनामुखी स्नातक

साधारण धारबाट सुरु भएको शिक्षा प्राविधिक तथा व्यावसायिक हुँदै हाल विज्ञान तथा प्रविधिमा केन्द्रित हुन थालेको छ । किनकि सूचना प्रविधिबिना शिक्षा गुणस्तरको परिकल्पना गर्ने स्थिति छैन । विगतमा दस कक्षा पास, मेट्रिक पास वा आईए पासले समाजमा निकै ठूलो महत्त्व राख्दथ्यो । आईए (प्रवीणता प्रमाणपत्र तह) दुई दशकअघिसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुचारु हुनुले पनि अर्थपूर्ण बनेको हो । अहिले कक्षा १२ सम्म विद्यालय तह कायम छ । त्यसैले स्नातक तहबाट उच्च शिक्षा आरम्भ हुन्छ ।


सुरुमा ब्याचलर्स डिग्री दुई वर्षको हुन्थ्यो । त्यसपछि तीन हुँदै अधिकांश कोर्स हाल चारवर्षे भएका छन् । अन्तर्राष्ट्रिय डिग्रीले नेपालका विश्वविद्यालयबाट समानता र समकक्षता पाउनुपर्ने हुँदा नेपालका विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरूलाई परिवर्तन तथा परिमार्जन गर्दै आएका छन् । वार्षिक परीक्षा प्रणाली विस्तारै हटाइएका छन् भने सेमेस्टर प्रणाली अनिवार्य बन्दैछन् । हाल एसईई नतिजा प्रकाशन ग्रेडिङ सिस्टममा भएकाले अब कक्षा १ देखि नै ग्रेडिङ सिस्टम लागू हुने भएको छ । भर्खरै कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नतिजा हो । जसमा नियमित २ लाख ९२ हजार १ सय ५३ र ग्रेडवृद्धि तथा आंशिकसहित ४ लाख २८ हजार ६७ परीक्षार्थी थिए । नतिजा प्रकाशनले उच्च शिक्षाको ढोका खुलेको छ । विद्यार्थीले आफ्नो नतिजा (जीपीए) अनुसार उच्च शिक्षा ताक्ने छन् ।


उच्च शिक्षाको सुनौला ढोकाहरू उघारै छन् । प्रवेशीहरूको चाहना ती ढोकाबाट भित्र प्रवेश गरेपछि उत्कृष्ट शिक्षा पाइयोस् । पढेपछि श्रम बजारको ज्ञान होस् । प्रतिस्पर्धामा अब्बल हुन सक्ने क्षमता हासिल गरौं । अन्तर्राष्ट्रिय शिक्षालयसम्म पहुँच पुग्ने क्षमता हासिल गरौं । ललितकला, कानुन, मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान र प्रविधि, इन्जिनियरिङ, मेडिसिन आदि उच्च शिक्षाका संकाय हुन् । विद्यार्थीले यिनै संकायअन्तर्गत विविध विषयमध्ये छानेर पढ्ने हो । कक्षा ११ र १२ मा पढेका विषयमध्येकै छानेर पढ्नुपर्ने भएकाले त्यत्ति नयाँ कुरो नहुन सक्छ ।

नयाँ जोस लिएर युनिमा फड्को मार्ने कायदा भने विद्यार्थी स्वयंमा भर पर्दछ । मुलुकमा ११ विश्वविद्यालय छन् । जेठो त्रिवि, माइलो नेपाल संस्कृतदेखि नेपाल खुला विश्वविद्यालयसम्म छन् । सबैजसो विश्वविद्यालयहरूले दिने सेवा उस्तै खालका छन् भन्ने आरोप पनि यदाकदा सुनिन्छ । शिक्षाविद् केदारभक्त माथेमाका अनुसार कलेजहरू संख्यामा मात्र वृद्धि नभई अनुसन्धानमुखी हुनुपर्ने टड्कारो आवश्यकता छ । नेपालका कलेजहरूले स्वदेशीका साथसाथै विदेशी विश्वविद्यालयको सम्बन्धनमा कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । अनौपचारिक तथ्यांकअनुसार नेपालका विभिन्न विश्वविद्यालयले (विदेश सम्बन्धनका समेत) स्नातक तहअन्तर्गत २ सय ५९ भन्दा बढी विषयको पठानपाठनको अवसर प्रदान गरेका छन् ।


त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँ विश्वस्तरीय विश्वविद्यालयले आफ्ना कार्यक्रमहरूको मार्केटिङ गर्ने गरेका बताउँछन् । ‘मार्केटिङ भनेको विज्ञापन नै गर्नुपर्छ भन्ने होइन,’ उनी भन्छन्, ‘हाम्रो साइन्स, इन्जिनियरिङ, भोकेसनल, म्यानेजमेन्ट, सोसलसाइन्सका प्रोग्राम यस्ता छन् । त्यसको स्टाटस यो यो छ । अब भविष्यमा यसरी जाने कोसिसमा छौं । त्यो उत्कृष्ट शिक्षाका निम्ति समयमै भर्ना लिन्छौं र समयमै परिणाम निकाल्छौं ।’ खनियाँले हाम्रा विश्वविद्यालयमा बन्द, हडताल केही हुँदैन भनेर आन्तरिक रूपमा विश्वासको वातावरण बनाउनु अत्यन्त आवश्यक भएको बताउँछन् ।

विश्वविद्यालय र कलेजहरूको एउटै सार छ, विद्यार्थीलाई उत्पादनशील, सिर्जनात्मक, अनुसन्धानमुखी र व्यक्तिगत प्रतिभा तथा समर्पणका माध्यमबाट समाजलाई समृद्ध तुल्याउनु नै हो । त्यसैले प्रत्येक शिक्षालयले आफ्ना शैक्षिक कार्यक्रमहरूलाई समय सन्दर्भअनुकूल पारदर्शी र कानुनसम्म ढंगले मार्केटिङ गर्न जरुरी छ । ललितकला, कानुन, उच्च शिक्षाका निम्ति मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान र प्रविधि, इन्जिनियरिङ, मेडिसिन आदि संकायअन्तर्गतका विषय रोज्ने विद्यार्थीका निम्ति सहज हुने निश्चित छ । त्यसो हुँदा विद्यार्थीका निम्ति नयाँ जोस र उमंगको फड्को फलदायी हुनेछ ।

प्रकाशित : श्रावण १७, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?