जहाँ प्रतिस्पर्धा, त्यहाँ गुणस्तर’

कान्तिपुर संवाददाता

‘उच्च शिक्षा नेपालमै : स्वदेशमै शिक्षा, सबैको इच्छा’ भिजन मिडिया र एजुकेसन डटकमले यही साउन १७ र १८ गते काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा शैक्षिक मेलाको आयोजना गरेको छ  । यो छैटौं संस्करणको शैक्षिक मेलाको सन्दर्भमा आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोलेसित गरिएको कुराकानी :

स्टडी इन नेपालको अवधारणा कहिले र कसरी ल्याउनुभयो ?
स्टडी इन नेपाल अवधारणा आजभन्दा ६ वर्ष अगाडि परिकल्पनासहित व्यवहारमा उतारेका हौं । उतिखेर ब्याचलर्स र मास्टर्स प्रोग्रामको तयारी कक्षाहरू सञ्चालन गर्थ्यौं । धेरैजसो परामर्शदाताहरूले विदेशको प्रोमोसनमात्र गर्थे । त्यसो हो भने किन नेपालमै उच्च शिक्षा हुन सक्दैन ? ‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने सारांश अघि सार्‍यौं । त्यसको अर्थ नेपालमै सीमित हुनुपर्छ भन्ने होइन । अन्तर्राष्ट्रिय युनिभर्सिटीको सम्बन्धनमा उच्च शिक्षा नेपालमा दिन सकिन्छ । त्यस्ता कलेजहरू छन् ।

टिममा कतिजना हुनुहुन्छ ?
हामी टिममा चार जना छौं । चारै जनाले त्रिवि शंकरदेव कलेजबाट एमबीएस सकेपछि नेपालमै केही गरौं । शिक्षा देशको मेरुदण्ड हो । शिक्षा क्षेत्रमा गर्न सकिन्छ । नयाँ पुस्तालाई सचेतना पैदा गरौं । औपचारिक तथा प्राज्ञिक शिक्षा महत्त्वपूर्ण छ ।

छैटौं संस्करणसम्म आइपुग्दाको अनुभव ?
सुरुमा शैक्षिक अवधारणा बनाउँदा धेरैजसो कलेज, संस्था र व्यक्तिले हामीलाई विश्वास गरेका थिएनन् । ‘स्टडी इन नेपाल पनि हुन्छ?’ भनेर जिस्काए । भविष्यमा सम्भव छ भन्यौं । विश्वविद्यालय र कलेज बढेका छन् । आपसी प्रतिस्पर्धा छ । प्रवर्द्धन गरेमात्र दीर्घकालीन रूपमा चल्छ । हाम्रो धारणाअनुसार हरेक वर्ष शैक्षिक मेलामा कलेजहरूको अप्रोच र एक्सेस बढेको छ ।


विद्यार्थी संख्या बढ्दो छ । सुरुमा छ सयजनाले अवलोकन गरेका थिए । अहिले नौ हजारभन्दा बढीले अवलोकन गरेका छन् । कलेज सञ्चालकहरूमा शैक्षिक कार्यक्रमहरूको प्रवर्द्धन गर्नुपर्छ भन्ने धारणाको विकास भएको छ । जहाँ प्रतिस्पर्धा हुन्छ, त्यहाँ गुणस्तर वृद्धि हुन्छ ।

शैक्षिक मेला कुन तह केन्द्रित छ ?
यो ब्याचलर्स एजुकेसनमा बढी केन्द्रित छ । विद्यार्थीका निम्ति ब्याचलर्स डिग्री भनेको भविष्य तय गर्ने शिक्षा हो । अबको दस वर्ष, बीस, तीस वर्षपछिका निम्ति कुन क्षेत्रमा जान सकिन्छ । त्यो गन्तव्य निर्धारण गर्ने बेला हो । मेलामा ३६ वटा कलेज सहभागी छन् । त्यसमा त्रिवि, केयू, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध विभिन्न कलेजहरू पर्दछन् । सरकारी कलेज पनि सहभागी छन् ।

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेझैं हो ?
ब्रान्ड मार्केटिङ सरकारी होस् या निजी सबैलाई चाहिन्छ । इन्डियन गभर्नमेन्टले प्रवर्द्धनको लागि शिक्षाको मात्रै होइन अन्डाको विज्ञापन गर्छ । तर नेपालमा त्यो छैन । त्यसैले हामी प्राइभेट संस्था जुटेर शिक्षाको प्रवर्द्धनमा जुटेका हौं । युवा विदेशिन्छ भनेर उसलाई रोक्न कडा नीतिमात्र काम गर्दैन । स्वदेशी शिक्षालाई राम्रो बनाउन जरुरी छ ।

यो मेलालाई सरकारले कसरी बुझेको छ ?
शैक्षिक मेला आयोजना गर्न शिक्षा मन्त्रालयबाट स्वीकृति लिएका छौं । तर सम्बन्धित निकाय टप लेभलको नीति निर्मातालाई थाहा नहुन सक्छ । हाम्रो अपेक्षा, सरकारले आर्थिक सहयोग गर्ने होइन । तर, अन्य लजिस्टिक, आइडियाहरू दिन सक्छ । विद्यार्थीलाई विदेशका विश्वविद्यालयमा हुने अन्तर्राष्ट्रिय कार्यशालाहरूमा नेपालका बारेमा प्रस्तुत गराउने नीति सरकारले ल्याउन जरुरी छ ।

पेडागोजीको विषयमा के कस्तो छ ?
नेपालका सबै विश्वविद्यालयको नीतिगत पक्ष लगभग एकैखाले छ । विश्वविद्यालयको शैक्षिक कार्यक्रम, अपडेट कोर्सहरू, क्यालेन्डरअनुसार परीक्षा सञ्चालन, नतिजा प्रकाशन मननीय पक्ष हो । संसारभरि चलेका अपडेटेड कोर्सहरू, फ्याकल्टी महत्त्वपूर्ण छन् । क्रेडिट कोर्स, ननक्रेडिट कोर्स जीवनोपयोगी सीप क्षमता दिन्छ/दिंदैन ? क्रेडिट कोर्सले सर्टिफिकेट दिने हो । ननक्रेडिट कोर्सले उनीहरूलाई बजारमा बिकाउ बनाइदिन्छ । त्यही भएर ननक्रेडिट कोर्स र प्राक्टिकल एक्सपोज कुन कलेजले बढी दिन्छ । त्यो हेरे विद्यार्थीले कलेज छान्न जरुरी छ । त्यसैले एउटै छानामुनि यो शैक्षिक मेला आयोजना गरिएको हो ।

संघीय संरचनामा मेला काठमाडौंमात्र हो ?
शैक्षिक मेलाको चौथो संस्करणसम्म काठमाडौंमा मात्रै केन्द्रित गरेका थियौं । पाँचौं शैक्षिक मेला उपत्यका बाहिर विराटनगर, वीरगन्ज, चितवन, बुटवल, नेपालगन्ज र धनगढीमा पनि आयोजना गर्‍यौं । स्थानीय कलेजहरूको समेत सहभागिता रह्यो । अहिले छैटौं काठमाडौंमा मात्र हुँदै छ । सातौं संस्करण उपत्यका बाहिर हुनेछ ।

शिक्षाको गुणस्तर बढावा दिने कसरी ?
हाम्रो उद्देश्य स्वदेशको विश्वविद्यालय, कलेजहरूले हाम्रो प्रवर्द्धन गर्ने हो । हाम्रो राम्रो प्रवर्द्धन भयो भने विदेश जाने आफैं रोकिन्छ । पहिले आफ्नो शैक्षिक संस्था बलियो बनाउनुपर्छ । अन्तर्राष्ट्रिय रूपमा काम लाग्ने कोर्स पढ्न नेपालमै सस्तोमा पढ्न पाइन्छ । त्योअनुसारको टेक्नोलोजी, पेडागोजी, भौतिक पूर्वाधार, दक्ष शिक्षक छन् । तर मान्छेले विश्वास गर्दैन । विश्वास दिलाउन क्रेडिबिलिटी बढाउनुपर्छ, शैक्षिक संस्थाले ।

यहाँ प्रवर्द्धन मात्रै गरेर पुग्दैन गुणस्तरमा पनि ध्यान दिनुपर्छ । सरकारले निश्चित विषयका नमुना कलेज प्रवर्द्धन गरोस् । त्यसनिम्ति विदेशबाट प्रोफेसर झिकाउन सकियोस् । स्वायत्त संस्थामा राजनीतिक हस्तक्षेप नहोस् । त्यसको नतिजा दस वर्षपछि निश्चित रूपमा बाहिर देखिनेछ । त्यतिखेर नेपालमा पढ्न विदेशी विद्यार्थीहरू आकर्षित हुनेछन् ।

प्रकाशित : श्रावण १७, २०७६ ११:०६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भारतीय पत्रकार रविशकुमारलाई म्यागासासे

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका चर्चित पत्रकार रविश कुमार रामोन म्यागासासे अवार्डबाट पुरस्कृत भएका छन् । फिलिपिन्सका पूर्वराष्ट्रपति रामोन म्यागासासेको नाममा स्थापित पुरस्कार एसियाको नोबलका नामले चिनिन्छ । 

पुरस्कार छनोट समितिले आवाजविहीनलाई आवाज दिनका लागि पत्रकारितालाई माध्यम बनाएको भन्दै रविशलाई यस वर्षको म्यागासासेअवार्डबाट पुरस्कृत गरिएको जनाएको छ । टेलिभिजन च्यानल एनडीटीभीका प्रबन्ध सम्पादक कुमारले भारतीय राजनीतिक र ग्रामीण मुद्दालाई प्रखर रूपमा उठाउँदै आएका छन् ।

यस वर्ष म्यागासासेबाट रविशसँगै म्यान्मारका पत्रकार को सी विन, थाइल्यान्डकी अधिकारकर्मी अग्खंना निलापाइजित, फिलिपिन्सका संगीतकार रेमन्ड पुजान्ते कायाब्याब र दक्षिण कोरियाका अधिकारकर्मी किम जोङ की पनि पुरस्कृत भएका छन् ।
म्यान्मारका चर्चित पत्रकार तथा अलनाइन न्युज पोर्टल म्यान्मार वानका सम्पादक विनलाई पनि आमसञ्चारमाध्यमको सत्यतथ्य पस्कने क्षमता र शक्ति विकास गर्न योगदान गरेबापत् उनलाई पुरस्कृत गरिएको जनाइएको छ ।

सामाजिक सद्भाव भड्काउने किसिमको समाचार फेसबुकमा प्रेषित गरेको भन्दै उनलाई म्यान्मार सरकारले दूरसञ्चार कानुनअन्तर्गत मानहानिको मुद्दा लगाएको थियो । जसका कारण उनी करिब दुई वर्ष कैद भोग्न बाध्य भए । विनले फेसबुकमा सेयर गरेको समाचारमा म्यान्मारका बौद्ध भिक्षुहरूले रोहिंग्यालगायतका अल्पसंख्यक समुदायबाट तालिवानले जस्तैअमानवीय व्यवहार गरेको विषयवस्तु समेटिएको थियो ।

तर, उनको गिरफ्तारीलाई लिएर म्यान्मार सरकारको अन्तर्राष्ट्रिय रूपमैचर्को आलोचना भएपछि एक महिना मात्र उनलाई रिहा गरिएको थियो । पुरस्कार आगामी ९ सेप्टेम्बरमा फिलिपिन्सको राजधानीमा मनिलामा एक कार्यक्रमका वितरण गरिने छ ।

नेपालबाट अध्येता महेशचन्द्र रेग्मी, चिकित्सक सन्दुक रुइत, सूचनाप्रविधि अभियन्ता महावीर पुन, वरिष्ठ पत्रकार भारदत्त कोइराला र चेलिबेटी बेचबिखनविरुद्ध सक्रिय संस्था शक्ति समूहले पनि यो पुरस्कार पाइसकेका छन् ।

जनपक्षीयपत्रकारिता सम्मानित
अहिले भारतमा मात्र होइन, सबैजसो देशमा पत्रकारिता संकटमा छ । स्वतन्त्र पत्रकारिताको स्थान छैन । राजनीतिले नियन्त्रणमा लिएको छ । बाहिरबाट हेर्दा कर्पोरेट प्रभाव देखिए पनि राजनीतिको पकड छ । त्यसकारण पनि पत्रकारिता बाँच्छ कि बाँच्दैन भन्ने शंकाउपशंका सुरु भएको छ ।

तर, यो पुरस्कारले अझै पनि वास्तविक पत्रकारिताको भविष्य छ भन्ने देखाएको छ । यस किसिमको पत्रकारिता गर्नेहरूमा आशा पलाएको छ । जनताको पक्षमा गरिने पत्रकारिताको अझै पनि दर्शक छन् भन्ने कुराको पुष्टि पनि हो । पुरस्कार मैले पाए पनि यो नयाँ पुस्ताका लागि प्रेरणा हो ।

साथै यसले जनपक्षीय पत्रकारिताको स्कोप छ भन्ने पनि पुष्टि गरेको छ । प्रोपोगान्डा पत्रकारिता नै सबैथोक हो भन्ने बुझाइ बढिरहेका बेला जनपक्षीय पत्रकारितालाई मान्यता दिनु सुखद ठानेको छु ।

पत्रकारितामा कर्पोरेट र राजनीतिक क्षेत्र हाबी हुनुमा पत्रकारबीच मेल नहुनु पनि प्रमुख कारण हो । एउटा पत्रकारले सम्झौता गर्‍यो भने अरूलाई त्यसो गर्नबाट रोक्नु अन्य पत्रकारहरूको जिम्मेवारी हो । त्यसो भयो भने, जनताको स्वतन्त्र समाचार पढ्न, सुन्न र देख्न पाउने अधिकारको रक्षा हुने छ ।

त्योभन्दा मिडियामा कमजोरी नभएको होइन । मिडियाको सबैभन्दा ठूलो कमजोरी भनेको सहर र नेता केन्द्रित पत्रकारितामा सीमित हुनु हो । अझै पनि मिडिया गाउँका दूरदराजमा जाने छ भन्नेमा म आशावादी छैन ।

मुख्यमन्त्री र ठूला नेताका पछि लागेर मात्र हुँदैन । मिडियाको प्राथमिकतामै कमजोरी छ । त्यसैले यसको प्रभाव पनि कम हुँदै आएको छ । यहाँनेर मिडियाले पनि आत्मसमीक्षा गर्नुपर्छ । जब मिडियाले आत्मसमीक्षा गरेर निर्धक्क ढंगले अघि बढ्छ, तब नेता र कर्पोरेट कुनै पनि प्रभाव वा नियन्त्रणले काम गर्दैन ।

प्रकाशित : श्रावण १७, २०७६ १०:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT