बन्यो झमकको घर

कान्तिपुर संवाददाता

काठमाडौँ — अबको केही महिनापछि साहित्यकार झमक घिमिरेलाई भेट्न धनकुटा पुगिरहनुपर्ने छैन । काठमाडौं गोठाटारस्थित साढे तीनतले घरको ग्राउन्ड फ्लोरमा उनी आगन्तुकसँग खुट्टाले संवाद गरिहेकी हुने छिन् । १२ आना क्षेत्रफलमा फैलिएको घरको बगैंचामा साहित्य सिर्जना गरिरहेकी हुने छिन् ।

‘जीवन काँडा कि फूल’ आत्मवृत्तान्त कृतिका लागि मदन पुरस्कार पाएकी उनलाई सरकारले घर बनाइदिएको छ । प्रक्रिया सुरु भएको झन्डै चार वर्षपछि घर निर्माण अन्तिम चरणमा पुगेको हो । बुधबार झमक साहित्य कला प्रतिष्ठानकी उपाध्यक्ष अनिता लामा घरको अवलोकनका लागि गोठाटार पुगेकी थिइन् । ‘दसैंअघि रंगरोगनसहित हरियाली बगैंचा पनि बनिसक्ने छ,’ ठेकेदार दीपक पराजुलीले लामालाई जानकारी दिए, ‘त्यहीअनुरूप तीव्रगतिमा काम भइरहेको छ ।’

बुधबार बिहान कामदारहरू फल्स सिलिङको काम गरिरहेका थिए । भुइँ र बाथरुममा पार्केटिङको कार्य पनि सुरु भएको छ । सरकारले गरेको घरको डिजाइनअनुसार झमकको बसाइ भुइँतलामा हुने छ । यो तलालाई पूरै अपांगमैत्री बनाइएको छ । घस्रिएर हिँड्नुपर्ने भएकाले ढोकाहरूको तल्लो भागको चौकास राखिएको छैन । बाथरूम झमकका लागि बेग्लै छ । आगन्तुक भेटघाट कक्ष, अध्ययन कक्षसँगै झमकका लागि यही तलामा भव्य पुस्तकालय पनि हुने छ । उनका लागि भान्साकोठा पनि यही तलामा छ ।

झमकको भेटघाट कक्षबाटै सुरु हुने लिफ्ट दोस्रो तलामा पुगेपछि शयन कक्ष देखिने छ । पाहुना र परिवारका लागि छुट्टाछुट्टै कोठा पनि यही तलामा हुने छन् । तेस्रो तलामा दक्षिण फर्केको सानो कौशी । यहीँबाट बौद्ध र पशुपति मास्तिरको खुला र शान्त आकाश हेर्न सकिन्छ । बेलाबेला साहित्यिक कार्यक्रम, मिनी कवि गोष्ठी एवं बैठक गर्ने गरी यही तलामा ठूलो सभाकक्ष पनि बनाइएको छ । झमक प्रतिष्ठानको कार्यलय पनि यहीँ हुने छ ।

सबै तलामा सजिलै जान सकिने गरी विद्युतीय लिफ्ट जडान गरिसकिएको छ । सागपात र फलफूल खेती गर्न सकिने गरी थोरै जग्गा छोडिएको छ आँगनमा । दसैंसम्ममा हरियो दुबो र फूलका गमलाले आँगनको केही भाग सजिने छ । ‘अब दसैं मनाएपछि झमकलाई यहाँ ल्याउँछौं,’ प्रतिष्ठानकी उपाध्यक्ष लामाले भनिन्, ‘यो खबरले झमक निकै खुसीमा छिन् ।’ प्रधानमन्त्री केपी ओलीको विशेष चासोमा आनन्द पोखरेल संस्कृति तथा पर्यटनमन्त्री भएको बेला झमकका लागि घर बनाउने प्रक्रिया अघि बढेको थियो ।

पशुपति विकास कोषले १२ आना एक पैसा जग्गा उपलब्ध गराए पनि निर्णय छिट्टै नटुंगिँदा ठेक्का प्रक्रिया ढिला हुन पुगेको थियो । उपाध्यक्ष लामाका अनुसार बीचमा प्रदेश सरकारले बनाउने कि संघीय सरकारको मन्त्रालयले बनाउने भन्ने अलमल पनि भयो । एकपटक प्रदेशको मन्त्रालयअन्तर्गत जिम्मेवारी पुगे पनि ढिलाइ हुने देखेपछि संघीय सरकारकै सहरी विकास मन्त्रालयमा जिम्मेवारी फर्कियो । यो बीचमा तीनपटक प्रधानमन्त्री पत्नी राधिका शाक्य निर्माण कार्यको अवलोकन गर्न पुगिन् । काम फटाफटअघि बढ्यो ।

ठेकेदार दीपक पराजुलीका अनुसार भवनको सम्पूर्ण लागत १ करोड ८० लाख हो । भूकम्पप्रतिरोधी, अपांगमैत्री अचारसंहिता र विश्व सम्पदा मापदण्डअनुसार घर बनाइएको उनले बताए । ‘एउटै पिलरमा २० बोरासम्म सिमेन्ट हालेर बनाइएको छ,’ उनले भने, ‘१६ इन्च मोटा डन्डी प्रयोग गरिएको छ ।’ पिलरका लागि पनि सामान्यतः जमिनमुनि पाँच वर्गफिटको जाली बनाइने भए पनि झमकको घरका लागि १० वर्गफिटको जाली राखिएको छ । सबै झ्यालहरू झमकले खोल्न सकिने गरी बनाइएको छ ।

विश्व सम्पदा क्षेत्रभित्र भएकोले सम्पदा मापदण्डअनुसार नेपाली घरको डिजाइनजस्तै देखिने गरी टायलको छडके छानो बनाउँदा भने कौशीको भाग केही अग्लो हुन गएको देखिन्छ । कौशीबाट पनि झमकले वरिपरि देखिने गरी आँखी झ्याल जस्तो संरचना बनाउन पाएको भए राम्रो हुन्थ्यो । ‘सम्पदा मापदण्डले गर्दा डिजाइन यस्तै बनेर आयो,’ निर्माण कम्पनी ज्ञानज्योति विर्ल्डसका पराजुलीले भने,‘अब कौशीको संरचना फेर्नचाहिँ सम्भव छैन ।’

घर अवलोकनपछि बुधबार दिउँसै झमकसँग फेसबुक च्याट गर्ने क्रममा उनले आफू निकै खुसी रहेको बताइन् । तर, विस्तृत प्रतिक्रिया भने काठमाडौं आएर घर हेरेपछि मात्रै दिने जनाइन् । उनी यति बेला धनकुटा कचिडेस्थित जन्मघरमा बस्दै आएकी छन् । सेलेब्राल पाल्सी नामक प्रतिमस्तिकीय रोगबाट पीडित उनी जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न सक्ने अवस्थाबाट गुजि्रँदै आएकी छन् ।

खुट्टाको ३ औंला मात्र चल्ने उनले तिनै ३ औंलाका भरमा थुप्रै कृति लेखेकी छन् । अचेल उनी खुट्टाका यी तीनवटा औंलाकै सहयताले मोबाइल चलाउँछिन्, फेसबुकमा पोस्ट राख्छिन् र च्याट पनि गर्छिन् । उनका चर्चित कृति ‘जीवन काँडा कि फूल’ सँगै ‘संकल्प’, ‘आफ्नै चिता अग्नि शिखातिर’, ‘मान्छेभित्रका योद्धाहरू’, ‘झमक घिमिरेका कविताहरू’ ‘क्वाँटी संग्रह’ लगायतका कविता कृति छन् । आत्मवृत्तान्त कृति ‘जीवन काँडा कि फूल’ माथि फिल्मसमेत निर्माण गरिएको छ ।

प्रकाशित : श्रावण २३, २०७६ ०८:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

तीज गीतको लहर

अमृता अनमोल

बुटवल — तीज आउन एक महिना बाँकी छ । यहाँ भने तीज गीतको लहर चलेको छ । माइक्रोबसदेखि म्युजिक सेन्टरमा तीज गीत घन्किन थालेका छन् । लोकगीतका पारखी धेरै भएर होला, यहाँ गीत सार्वजनिक गर्ने होड चलेको छ ।

होटल तथा रेस्टुरेन्ट र पार्कमा सुटिङ चलिरहेका छन् । प्रतिस्पर्धाका लागि विद्यालय, संघसंस्था र क्लबले तीज गीत अभ्यास थालिसकेका छन् । होटलका दोहोरीमा पनि तीज भाका गाउन सुरु भएको छ ।

साउने संक्रान्तिदेखि तीजको रौनक सुरु हुन्छ । त्यसलाई पछ्याउँदै कलाकार गीत निकाल्न प्रतिस्पर्धा गर्छन् । बुटवलमा ५ वटा म्युजिक सेन्टर छन् । तिनले यस वर्ष ४० वटा तीज गीत निकालिसकेका छन् । गीत रेकर्डिङ हुने क्रम अझै जारी छ । यहाँस्थित श्रीनगर फिल्मले मात्रै २५ वटा गीत उत्पादन गर्‍यो । अहिले धमाधम छायांकन चलिरहेको छ ।

‘राम्रो गुणस्तरमा काठमाडौंभन्दा सस्तोमा गीत उत्पादन हुन्छन्,’ श्रीनगर फिल्मका सञ्चालक मनीष पन्थले भने, ‘त्यसैले प्रदेश ५ का अधिकांश कलाकार यहाँ ओइरिएका छन् ।’ पन्थ दृश्य निर्देशक पनि हुन् । एउटा गीतका लागि २ लाख रुपैयाँसम्म खर्च गरे राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने गीत बनाउने दाबी उनले गरे ।

यहाँ गीतसंगीतको बजार फस्टाउँदै गएको छ । यहीँ रेकर्डिङ, मिक्सिङ र छायांकनको व्यवस्था छ । यसले कलाकारलाई जाँगरिलो बनाएको छ । गीत निकाल्न जिल्ला मात्र होइन, बाँकेदेखि स्याङजासम्मका कलाकार आएका छन् । दाङकी राधिका परियार यिनैमध्येकी एक हुन् । पेसाले राजनीतिकर्मी उनी स्थानीय चुनावमा शान्तिनगर गाउँपालिकाबाट प्रतिस्पर्धामा उत्रिएकी थिइन् तर पराजित भइन् ।

उनी आफूमा भएको राजनीतिक चेतना तीज गीतमार्फत बाहिर ल्याउन चाहन्छिन् । लक्ष्मी कार्की र अमरनाथ कार्कीसँग मिलेर ‘जनतालाई कति भुलाउँछौं’ बोलको गीत निकाल्दै छन् । यो गीतको अहिले होटल डल्फिन र पार्कमा छायांकन भइरहेको छ । नृत्य निर्देशन गरिरहेका लोकेन्द्र शाहले गीतले चेतना फैलाउने दाबी गरे ।

गायिका शिलु भट्टराईले यसपालि एक दर्जनभन्दा बढी तीज गीतमा स्वर दिइन् । उनले व्यंग्यात्मक गीत ‘ल्याप्चे’ निकालेकी छन् । त्यसमा खुमन अधिकारीको शब्द र लय छ । गायनमा पनि अधिकारीले साथ दिएका छन् । समाजमा देखिएका यथार्थ र कटु सत्यलाई गीतका माध्ययमबाट बाहिर ल्याएको भट्टराईले बताइन् ।

उनका यसअघिका तीज गीत ‘भँगेरी चरी, बालुमै, घुम पाकुम घुम र ठोक् न मादल ठोक्’ ले राष्ट्रिय रूपमै चर्चा कमाएका थिए । ‘तीज गीत भनेको लोकलयमा आधारित हुनुपर्छ’, उनले भनिन्, ‘त्यसैले मेरा गीत धेरै रुचाइएका हुन् ।’ राष्ट्रिय रूपमा दरिएकी गायिका प्रिया भण्डारीले पनि बुटवलबाटै तीज गीत निकाल्दै छिन् । उनको ‘बामरी’ गीत छायांकन क्रममा छ ।

तीज गीत निकाल्ने स्थापित कलाकारदेखि कलामा करियर खोज्दै गरेका सिकारुसम्म छन् । कल्पना कुसुम पेसाले शिक्षक हुन् । सुरिलो स्वरकी धनी उनले लगातार पाँच वर्षयता तीज गीत सार्वजनिक गरेकी छन् । उनका सबै गीत मौलिक र पुरानो लयलाई नयाँ शब्दमा ढालिएका छन् । यसपालि ‘हाम्रा बाबाले किन्देको पछ्यौरी’ बोलको गीत बजारमा ल्याएकी छन् । अर्को गीत निकाल्ने तयारीमा छिन् । ‘तीज गीत असाध्यै मन पर्छ,’ उनले भनिन्, ‘त्यसैले बर्सेनि गीत निकाल्छु ।’

तीज गीत मौलिकता जोगाउने र कलाकारलाई मञ्चमा चिनाउने गतिलो माध्यम भएको उनले बताइन् । शिक्षक तथा कलाकार मीना केसीले पनि लगातार ६ वर्षयता तीज गीत निकालेकी छन् । यसपालि ‘घन्की दे मादलु’ बोलको गीत निकालेकी छन् । सानैदेखि गीतसंगीतमा रुचि राख्ने मीनाले यहाँ हुने तीज विशेष कार्यक्रममा मञ्चमा गाउने अवसर पाउँछिन् ।

लगातार तीज गीत निकाल्नेमध्येकी अर्की हुन् इन्दिरा गैरे । उनले यसपालि ‘शिरफूल’ बोलको गीत निकालेकी छन् । असार महिनामै सार्वजनिक यस गीतले बजारमा राम्रो चर्चा कमाएको छ । ‘आफ्नो क्षेत्रमा तीज गीत बढी रुचाइने भएकाले पनि निकाल्न मन लाग्छ,’ उनले भनिन्, ‘नयाँ कलाकारलाई चिनाउन पनि सहयोग गर्छ ।’

प्रकाशित : श्रावण २३, २०७६ ०८:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्