कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

नोयर, अनि जर्मनीको भाग्य

अधिकांस बाजी राख्ने संस्थाका तथ्यांकका अनुसार यसपालि ब्राजिलको सम्भावना नै बढी छ

वासिङटन — इंग्लिस खेलाडी ग्यारी लिनेकरले भनेका थिए, ‘फुटबल एकदम सामान्य खेल हो । २२ खेलाडी ९० मिनेटका लागि मैदानमा बलको पछाडि लाग्छन् र अन्त्यमा खेल जर्मनीले जित्छ ।’ यो पंक्ति साहित्यिक रूपमा जति सान्दर्भिक सुनिन्छ, त्यति नै बढी यथार्थपरक पनि छ ।फेरि एकपल्ट जर्मनी विश्वकपमा उपाधिको दाबेदारमा सहभागी हुँदै छ ।

नोयर, अनि जर्मनीको भाग्य

यसपालिको जर्मन टोली सन् २०१४ मा एकपक्षीय रूपमा उपाधि जित्ने टोलीभन्दा अझै सुधारिएको छ । फिफा वरीयताअनुसार पनि जर्मनी शीर्षस्थानमा छ । अन्तराष्ट्रिय प्रतियोगितामा जर्मनीले जुलाई २०१६ यता कुनै खेल हारेको छैन । यसपालि रुसमा छनोट हुने क्रममा टोलीले युरोपेली छनोटका सबै १० खेलमा जित पायो । यो उपलब्धि यसअघि सन् २०१० को स्पेनी टोलीले मात्र प्राप्त गरेको थियो ।


जर्मन टोलीमा विश्वका उत्कृष्टमध्येका गोलरक्षक म्यानुयल नोयर छन् । उनले सन् २०१४ को विश्वकपमा गोल्डेन ग्लोभ्स नै जितेका थिए । अझै पनि टोलीमा प्रशिक्षक जोचिम लो नै छन् । सन् २००६ मा योर्गन क्लिन्समनको स्थानमा जर्मन टोली सम्हालेका लोले त्यसयता अन्तर्राष्ट्रिय फुटबलमा असीमित सफलता हात पारेका छन् ।


यसका बाबजुद लगातार विश्वकप उपाधि जित्नु सहज भने हुने छैन । हालसम्म दुईपल्ट मात्र विश्वकप उपाधि रक्षा सफल भएको छ । सन् १९३४ र १९३८ मा इटालीले विश्वकप उपाधि रक्षा गरेको थियो भने सन् १९५८ र ०६२ मा ब्राजिलले सो उपलब्धि हासिल गर्‍यो । जर्मन टोलीमा प्रतिभाशाली खेलाडीको कुनै कमी छैन, तर युगान्तकारी स्टार खेलाडी भने यो टोलीमा छैनन् । डिफेन्डिङ च्याम्पियन हुनुका बाबजुद टोलीमा अनुभवको कमी छ । सन् २०१४ विश्वकप जित्ने टोलीका ९ खेलाडी मात्र रुस जाने टोलीमा छन् । टोलीको औसत उमेर २७.१ वर्ष छ,
जुन प्रतियोगिताकै छैटौं युवा टोली हो ।


जर्मनीको विश्वकप जित्ने लक्ष्यमा कप्तान नोयरको भूमिका मुख्य हुनेछ । उनका सहकर्मीले पनि उनलाई टोलीका सबैभन्दा महत्त्वपूर्ण खेलाडी मानेका छन् । उनी बल खुट्टामा हुँदा टोलीका डिफेन्डर भन्दा पनि संयमित देखिन्छन् र उनमा डिफेन्सझैं काउन्टर अटयाकको सुरुआत गर्ने क्षमता पनि छ । ९ महिनाको चोटपछि गतसाता सम्पन्न मैत्रीपूर्ण खेलमा उनले पुनरागमन गरे । उनको अनुभव र नेतृत्वसँगै जर्मनीका वैकल्पिक गोलरक्षकको प्रदर्शन राम्रो नहुनुले पनि उनको भूमिका महत्त्वपूर्ण बनेको हो ।

रुसी विश्वकपका लागि तयार जर्मनी टोलीका खेलाडी ।


मैदानको अग्रभागमा जर्मनीको सम्पूर्ण भर थोमस मुलरमाथि हुनेछ । नोयरसँगै तेस्रो विश्वकप खेल्ने तयारीमा रहेका मुलर पनि सानो चोटबाट ठीक हुँदै छन् । करिअरको सुरुआतमा गोलकर्ताको भूमिका निभाएका मुलरले सन् २०१० को विश्वकपमा गोल्डेन बुट जितेका थिए । पछिल्ला केही सिजनमा भने उनले बायर्नबाट गोल सिर्जना गर्ने भूमिका निभाइरहेका छन् । मुलर यसपालि पछिल्ला संस्करणको लय कायम गर्ने सुरमा हुनेछन् । यदि जर्मनीले अपेक्षित प्रदर्शन गर्न सकेन भने त्यसको कारण मुलर आफ्नो भूमिकामा खरो उत्रन नसकेको पनि हुनेछ ।


सन् २०१४ मा आयोजक ब्राजिलविरुद्ध ७–१ को जित दर्ता गरेको स्मरणयोग्य सेमिफाइनलमा मुलरले नै पहिलो गोल गरेका थिए । यसपालि पनि जर्मनीको उपाधि यात्रामा त्यही ब्राजिलियन टोली बाधक बन्न सक्छ । अधिकांस बाजी राख्ने संस्थाका तथ्यांकका अनुसार यसपालि ब्राजिलको सम्भावना नै बढी छ ।


नकआउट चरणमा पुगेपछि खेलतालिकाले पनि ठूलो भूमिका खेल्नेगर्छ । यसपल्ट जर्मनीको सम्भावित खेलतालिका पनि टोलीलाई सहयोग गर्ने खाले छ । समूहमा रहेको अर्को बलियो टोली मेक्सिको छ भने अर्को चरणमा सम्भावित विपक्षी स्वीट्जरल्यान्ड, सर्बिया वा कोस्टारिका रहनेछन् । यी खेल त्यति सहज नभए पनि गाह्रो भने छैन । त्यसपछिका सम्भावित प्रतिद्वन्द्वी इंग्ल्यान्ड, बेल्जियम वा कोलोम्बिया भने जर्मन टोलीका लागि टाउको दुखाइ बन्नसक्नेछन् । यो चरण पार गरेर अर्को एक जित हासिल गरे जर्मनी लगातार विश्वकप फाइनलमा पुग्नेछ ।


जब खेलको महत्त्व बढ्दै जान्छ, खेलको रुप पनि गम्भीर हुन्छ । यो अवस्थामा टोलीको भविष्य छिनोफानो डिफेन्सले गर्छ । सामान्यतया गोलरक्षक त्यसका नायक हुन्छन् । र जर्मनी यस दशककै सबैभन्दा उत्कृष्ट डिफेन्स लिएर रुस जाँदै छ ।
– द वासिङ्टन पोस्ट

प्रकाशित : जेष्ठ ३०, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?