किन माथि पुग्दैन अफ्रिका ?

लन्डन — ‘जति बेला म आइभोरी कोस्टका प्रशिक्षक थिएँ, एकपल्ट डिडियर ड्रोग्बालाई भनेको थिएँ– हामीसँग निकै राम्रा खेलाडी छन्, हामी विश्वकपमा लामो दूरी तय गर्न सक्छौं,’ स्येन गोरान इरिक्सनले भनेका रहेछन् । ड्रोग्बाको उत्तर थियो, ‘होइन, हामी सक्दैनौं ।’

किन माथि पुग्दैन अफ्रिका ?

यो कुराकानीको एउटै सन्देश हो, किन अहिलेसम्म कुनै अफ्रिकी देशले विश्वकप जित्न सकेको छैन त ? जबकि पेलेले सन् २००० भित्र अफ्रिकी देशले विश्वकप जितिसक्ने दाबी गरेका थिए, २० वर्षअगाडि नै ।


इरिक्सनले सन् २०१० मा राम्रोसँग बुझे । खासमा ड्रोग्बा नकारात्मक भएका थिएनन् । बरू उनी साँचो बोलिरहेका थिए । वास्तवमै अफ्रिकी देशले किन विश्वकप जित्न सक्दैन त ? ‘यसको उत्तर एक शब्दमा पाइन्छ र त्यो हो, संगठन,’ इरिक्सन अहिले भन्छन् । पेलेको भविष्यवाणी त्यति बेला सत्यसाबित हुने छाँट देखिएको थियो, जति बेला सन् १९९४ को विश्वकपमा अर्जेन्टिना र डिएगो म्याराडोनासम्मिलित समूहमा नाइजेरिया पहिलो भयो ।


फेरि ९० को दशकतिर जे जे ओकाचा र जर्ज वेहजस्ता खेलाडीले युरोपेली फुटबलमा तहल्का पनि मच्चाइरहेका थिए । तर जनसंख्याको आधारमा दोस्रो ठूलो महादेश अफ्रिका अहिलेसम्म सबैभन्दा माथि पुगेको भनेकै क्वाटरफाइनल हो । यस्तोमा उपाधि चुम्ने दाबी त धेरै टाढाको भयो । यहाँनिर के पनि सम्झिनुपर्छ भने अफ्रिकामा सर्वाधिक लोकप्रिय खेल पनि फुटबल नै हो ।


यसपल्टको विश्वकपमा इजिप्ट, मोरक्को, नाइजेरिया, सेनेगल र टयुनिसियाले अफ्रिकाको प्रतिनिधित्व गर्दै छन् । तर कसैमाथि फाइनलको छेउछाउ पनि पुग्ने विश्वास छैन । यसमा एक त क्यामरुनी डिफेन्डर लुरेन पनि हुन् । उनी भन्छन्, ‘कुनै दिन अफ्रिकी टिम सेमिफाइनल पुग्नेछ तर एउटा अर्को तथ्य के पनि हो भने हामी ठूला टिमको तुलनामा धेरै पछाडि छौं ।’
पछाडितर्फ अग्रसर ?

नाइजेरियाका जोन ओगु । तस्बिर : एएफपी


रुसमा जति टिमले विश्वकप खेल्छन्, त्यसमध्ये शीर्ष २० भित्र कुनै पनि अफ्रिकी टिम छैन । पूर्व नाइजेरियाली फरवार्ड पिटर ओडेमविन्गीलाई के लाग्छ भने अफ्रिकी फुटबल अगाडि होइन पछाडितर्फ अग्रसर छ । उनको तर्क छ, ‘अफ्रिकी फुटबल खासमा खस्किरहेको छ ।’ सन् २०१० र २०१४ को विश्वकप खेलेका यी खेलाडीले वेस्ट ब्रोम, कार्डिफ र स्टोकबाट पनि खेले । उनको भनाइ छ, ‘सन् १९९४ को विश्वकपमा नाइजेरिया अफ्रिकी टिममध्ये उत्कृष्ट थियो ।’


हामीले विश्व फुटबलमा सनसनीपूर्ण खेल प्रदर्शन गरिरहेका थियौं । हामीले ब्राजिल र अर्जेन्टिनाजस्ता टिमलाई हराएर सन् १९९६ को ओलम्पिक स्वर्ण जितेका थियौं । सबैले अनुभव गर्न थालेका थिए । हो, हामीले अब केही गर्न सक्छौं ।’ तर रुसमा छैटौंपल्ट विश्वकप खेल्न लागेको नाइजेरिया त्यो उपलब्धिबाट अझ धेरै टाढा नै छ । अहिलेसम्म तीन टिमले क्वाटरफाइनल यात्रा तय गरेको छ । त्यो सफलता क्यामरुन, सेनेगल र घानाले पाएको हो ।


यी त भए सहारा नजिकका अफ्रिकी टिम । यसपल्ट रुसमा उत्तर अफ्रिकी टिमको बढी प्रतिनिधित्व छ । ती हुन्, इजिप्ट र मोरक्को । इजिप्ट २८ र मोरक्को २० वर्षपछि विश्वकप खेल्दै छन् । उत्तरी अफ्रिकाका अधिकांस खेलाडी विदेशमा जन्मेका छन् वा युरोपेली क्लब फुटबलमा यो खेल सिकेका छन् । ओडेमविन्गी के मान्छन् भने उत्तर अफ्रिकी खेलाडी अरुको तुलनामा बढी चलाख हुन्छन् र उनीहरूको शारीरिक बनावट पनि फरक छ ।


‘जति बेला एन्थोनी जोसुआले फ्लोएड मेवेदरसँग बक्सिङमा भिड्दा के हुन्छ, यस्तै स्थिति सहारा नजिकका खेलाडी र उत्तरतिरका खेलाडीबीच तुलना गर्दा हुन्छ । उत्तरतिरका खेलाडी केही दुब्ला छन् । उनीहरू छरितो हुन्छन्, फ्रि–किक चाँडै लिन सक्छन् । उनीहरूको मानसिक स्थिति पनि बलियो छ,’ ओडेमविन्गी भन्छन् ।


विवाद र बहिष्कार
सन् २०१४ मा क्यामरुन, घाना र नाइजेरियाली टिम गलत कारणले समाचारमा छाए । पारिश्रमिक नपाएको झोंकमा घानाका खेलाडीले अभ्यास नै बहिष्कार गरे । पछि सरकारी हस्तक्षेप आवश्यक पर्‍यो र उसले ३० लाख डलर पठाउनुपरेको थियो । क्यामरुनी खेलाडी यस्तै विवादका कारण दक्षिण अफ्रिकामा ढिलो पुगे । यसपल्टको विश्वकपमा खेलाडीले पाउने सुविधाका लागि नाइजेरियाली खेलाडी र त्यहाँको एफएबीच सम्झौता नै आवश्यक भयो ।


टयुनिसियाका पूर्व विश्वकप डिफेन्डर राघी जाइडी मान्छन्, वचनअनुसार काम नहुनु नै समस्या हो । उनी भन्छन्, ‘युरोपतिर खेलाडीले देशका लागि खेल्छन् र पाउनु सबै सुविधा समयमै पाउँछन् । अफ्रिकातिर आफ्नो देशका लागि खेल्दा भने यस्तो हुन्न । खेलाडीले खाली झुटा आश्वासन मात्र पाउँछन् ।’ त्यसो त उत्तरी अफ्रिकाका खेलाडी र संघबीच यस्तो विवाद भएको बिरलै पाइन्छ ।


अफ्रिकामा यस्तै हुन्छ
इरिक्सनले सन् २०१० मा आइभोरी कोस्ट सम्हाल्दा टिममा ड्रोग्बासँगै सलोमन कलोउ र याया टाउरे जस्ता खेलाडी थिए । ड्रोग्बा र कलोउले त चेल्सीका लागि इंग्लिस प्रिमियर लिग पनि जितिसकेका थिए । तर टिमको तयारी निकै कमजोर थियो । पोर्चुगल, ब्राजिल र उत्तर कोरियासम्मिलित समूहमा परेको थियो, आइभोरी कोस्ट । स्वीट्जरल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल खेल्न ड्ेरसिङ रुम छिर्दा खेलाडीको सर्ट, किट केही पनि थिएन, जबकि खेल सुरु केही समयमात्र बाँकी थियो ।


उनी भन्छन्, ‘खेल सुरु हुन ४५ मिनेटअगाडि किट आइपुग्यो र ती दुई ठूला ब्यागमा थिए । सबै खेलाडी आफूलाई मिल्ने किट खोज्न व्यस्त रहे । खेल सुरु हुनैलाग्दा एक खेलाडीले भनेमा थिए, म खेल्न सक्दिनँ । मैले प्रश्न गरें– के तिमी घाइते छौं त ? उनको उत्तर थियो– होइन, मेरो त बुट नै छैन ।’ त्यति नै बेला ड्रोग्बाले इरिक्सनलाई भनेछन्, ‘अफ्रिकामा यस्तै हुन्छ, गोरान ।’

–बीबीसी

प्रकाशित : जेष्ठ ३०, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?