२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

स्पेनिस प्रशिक्षक बर्खास्त

हिएरोले टिम सम्हाल्ने
एएफपी

सोची — स्पेनले नाटकीय रूपमा प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गर्दै बुधबार महासंघका खेलकुद निर्देशक फर्नान्डो हिएरोलाई विश्वकपको दुई दिनअघि टिम सम्हाल्ने जिम्मेवारी दिइएको छ ।

स्पेनिस प्रशिक्षक बर्खास्त

आश्चर्यजनक रूपमा मंगलबार रियल म्याड्रिडले जिनेदिन जिदानको स्थान विश्वकपपछि लोपेटेगुईले लिने घोषणा गरेको थियो । त्यसले स्पेनी फुटबल महासंघ र स्पेनी समर्थकलाई क्रुद्ध बनाएको थियो । विश्वकपमा स्पेनी टिम रहेको स्थान क्रास्नाडोरमा पत्रकार सम्मेलन गर्दै स्पेनी फुटबल महासंघ (आरएफईई) का प्रमुख लुइस रुबियल्सले घटनाको समय उचित नभएको भन्दै त्यसले स्पेनको विश्वकप सम्भावनालाई खतरामा पारेको बताएका थिए ।

‘राष्ट्रिय टिम सबै स्पेनीको हो र यहाँ केही निर्णयले हामीलाई मान्यताको सुरक्षा गर्नुपर्ने महसुस गरायो,’ रुबियल्सले भने, ‘छलफल न्यायोचित छ तर यस्तो भएको छ कि महासंघलाई जानकारी नदिई नै प्रेस विज्ञप्ति जारी गरियो । महासंघका सबै कर्मचारीलाई केही गर्नकालागि सही माध्यम भएको पनि सन्दैश दिन चाहन्छु ।’

स्पेनले पछि रियल म्याड्रिडकै पूर्व कप्तान हिएरोलाई रुसमा हुने विश्वकपका लागि प्रशिक्षकको जिम्मेवारी दियो । ‘फर्नान्डो हिएरोले विश्वकपमा प्रशिक्षकको जिम्मेवारी लिनेछन्,’ महासंघले घोषणा गर्‍यो । ५० वर्षीय हिएरोले वास्तवमा प्रशिक्षकको अनुभव स्पेनको दोस्रो डिभिजन क्लब ओभिएडोबाट एक सिजनमात्र गरेका छन् ।

स्पेनका नवनियुक्त प्रशिक्षक फर्नान्डो हिएरो बुधबार क्रास्नाडोर एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा । तस्बिर : एएफपी

लोपेटेगुईले गत महिना मात्र सन् २०२० सम्मको लागि स्पेनी टिमको प्रमुख रहनमा सम्झौता गरेका थिए । उनले २० खेलमा स्पेनी टिम सम्हालेका थिए र त्यसमा उनको टिम अपराजित रहेको थियो । स्पेनले युरोपेली च्याम्पियन पोर्चुगलको सामना गर्दै शुक्रबार विश्वकप यात्रा थाल्नेछ । त्यसपछि उसले समूह ‘बी’मा इरान र मोरक्कोविरुद्ध खेल्नेछ ।

लोपेटेगुईको नियुक्तिले पुराना प्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोनालाई लिएर स्पेनी टिममा विभाजन आउन सक्ने डर थियो । सन् २००६ यता पहिलोपल्ट ठूला प्रतियोगितामा सहभागी स्पेनी टिममा म्याड्रिडका खेलाडीको वर्चस्व रहेको छ । यसपालि रियलका ६ खेलाडी रहेको टिममा बार्सिलोनाका जेरार्ड पिके, जोर्डी अल्बा र सर्जियो बुस्केट्ससँगै क्याम्प नोउमा १६ वर्षे करिअर गत महिना टुंग्याएका बार्सा लिजेन्ड आन्द्रेस इनिस्टा छन् ।

अन्तिम समयसम्म खेलाडीले लोपेटेगुईलाई बर्खास्त गर्नबाट रोक्ने प्रयास गरेको बताइएको छ । महासंघ प्रमुख रुबियल्सले सबै खेलाडीसँग छलफल गरेको र उनीहरूले नयाँ प्राविधिक टिमसँग मिलेर सम्भव भएसम्म अगाडि बढाउन सबै किसिमको शक्ति प्रयोग गर्ने बताए ।

‘ला रोजा’ लाई यसपालि उपाधि जित्नका लागि दाबेदार टिमका रूपमा लिइएको छ तर विश्वकप सुरु हुने बेला भएको आश्चर्यजनक घटनाक्रमले उसको सम्भावना ध्वस्त पार्नसक्छ । लोपेटेगुईले गोलकिपरको भूमिकामा बार्सिलोना र रियलबाट छोटो समय बिताएका थिए । उनको प्रशिक्षकको करिअर त्यस्तो धेरै राम्रो नभए पनि उनले युरो २०१६ को अन्तिम १६ बाट स्पेन बाहिरिएपछि भिसेन्ट डेल बस्कीको आठवर्षे युग अन्त्य गरेका थिए । रायो भालेकानो र रियलको युवा टिम रियल म्याड्रिड कास्टिलापछि लोपेटेगुईले स्पेनको यू–१९ र यू–२१ टिममा सफलता हात पारेका थिए । त्यसपछि पोर्टो पुगेका उनी दोस्रो सिजन नै च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएपछि १८ महिनामा बर्खास्त भएका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?