रुसको गर्जन, साउदीको आस

कमजोर वरीयताका टोलीबाट विश्वकप सुरुआत
रोयटर्स

मस्को — चाहेर पनि कसैले प्रतियोगिताको दुई कमजोर टोलीलाई प्रतियोगिताको उद्घाटन खेलमा उतार्ने थिएन । तर आयोजक रुस र साउदी अरेबिया बिहीबार मस्कोमा विश्वकै सर्वाधिक रुचाइएको खेलकुद महोत्सवको उद्घाटन खेलमा आमनेसामने हुँदै छन् ।

आयोजक रुस र साउदी अरेबिया प्रतियोगिताका सबैभन्दा तल्लो वरीयताका टोली हुन् । दुवै टोली खराब फर्ममा गुज्रिइरहेका छन् । यद्यपि यिनै दुई टोलीको खेलले फुटबल महाकुम्भ सुरुहुनेछ ।

अन्तर्राष्ट्रिय खेलमा सहभागिता नजनाएका कारण रुस फिफा वरीयताको ७० औं स्थानमा पुगेको छ । विश्वकप टोलीका लागि यो निकै कम वरीयता मानिन्छ । यता विश्वकपमा एसियाबाट सिधै छनोट भएको साउदीको पनि वरीयता ६७ औं स्थानमात्र छ ।


रुसले सन् २०१७ अक्टोबरयता खेलेका ७ खेलमा जित दर्ता गर्न सकेको छैन । यसका बाबजुद आयोजक रुस दोस्रो चरणलाई स्थान बनाउने अपेक्षामा छ । यस समूहका अरु टोलीमा इजिप्ट र उरुग्वे छन् ।

रुसका प्रशिक्षक स्टानिस्लाभ चर्चेसोभले टोलीलाई एकीकृत गर्न निकै मिहिनेत गरेका छन् । रक्षात्मक हिसाबमा टोलीलाई चोटले सताए पनि उनले प्रतियोगिताअवधिमा टोलीले अझै सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् । पछिल्लोपल्ट रुसले दक्षिण कोरियालाई ४–२ ले पराजित गरेको खेलमा दुई आत्मघाती गोलको सहारा लिनुपरेको थियो । गत साता खेलेका वार्मअप खेलमा रुसले अस्ट्रियासँग पराजय बेहोर्‍यो भने टर्कीसँग १–१ को बराबरी खेलेको थियो ।

रुसलाई मैत्रीपूर्ण खेलमा आक्रमण बुन्न कठिन भइरहेको थियो भने दशकअघि युरोपेली च्याम्पियनसिपमा देखिएको स्वर्णिम युगको कुनै छनक नै थिएन । सन् २००८ युरोको सेमिफाइनल पुगेको टोली त्यसअघि र पछिको विश्वकपमा छनोट हुन असफल रहेको थियो । सन् २०१४ को संस्करणमा पनि खराब प्रदर्शन गर्दै टोली समूहमा बेल्जियम र अल्जेरियाभन्दा पछाडि रहयो ।

खराब लय
केही महिनायता खराब लयबाट गुज्रिरहेको रुसले घरेलु मैदानमै खेलिरहे पनि ठूलो आशा राख्ने ठाउँ छैन । यद्यपि खेलाडीलाई समर्थकको साथ र प्रतियोगिताको महत्त्वले केही उर्जा भने थपिन सक्छ । सन् २०१४ मा टोलीबाट हटाइएपछि पुनरागमन गरेका फरवार्ड फ्योडोर स्मोलोभले लगातार गोल गरिरहेकाले टोलीलाई केही राहत मिलेको छ । पछिल्ला तीन सिजनमा घरेलु क्लब क्राजोन्डारका लागि ६० गोल गरिसकेका स्मोलोभलाई सहकर्मी मिडफिल्डरले उचित पास मिलाइदिएको खण्डमा रुसले गोल खोज्न टाढा जानुपर्दैन ।

रुसले विश्वकपमा उत्कृष्ट सुरुआत पाउने हो भने साउदी नै उचित विपक्षी हो । साउदीले पछिल्ला मैत्रीपूर्ण खेलमा इटाली, पेरु र जर्मनीसँग पराजय बेहोरेको छ । साउदीले कुनै समय राम्रो प्रदर्शनको संकेत दिँदै मे महिनामा अल्जेरिया र ग्रिसलाई हराएको पनि थियो ।

घरेलु लिगका खेलाडीले भरिपूर्ण साउदी टोलीमा अन्तर्राष्ट्रिय अनुभवको कमी छ । राष्ट्रिय टोलीका खेलाडीलाई स्पेनमा खेल्न पठाउने प्रयोग पनि सफल हुन नसक्दा टोली थप संकटमा पर्‍यो ।

विश्वकपकै प्रदर्शन हेर्ने हो भने पनि सन् २००६ पछि साउदीको यो पहिलो सहभागिता हो । पछिल्ला तीन सहभागितामा टोलीले ७ हार र २ बराबरी नतिजा प्राप्त गरेको छ ।

रुसले योभन्दा राम्रो मौकाको अपेक्षा गर्न सक्दैनथ्यो । प्रशिक्षक चर्चेसोभ समर्थक र खेलाडीले केही आत्मविश्वास जरुरी रहेको बताउँछन् । ‘म कसैलाई विश्वास दिलाउन कुनै थेरापिस्ट त होइन । तर हामीले अगाडि बढ्नु छ भने आफैंमा विश्वास राख्नुपर्छ । समर्थकको साथ पनि उत्तिकै जरुरी छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०७:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्पेनिस प्रशिक्षक बर्खास्त

हिएरोले टिम सम्हाल्ने
एएफपी

सोची — स्पेनले नाटकीय रूपमा प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गर्दै बुधबार महासंघका खेलकुद निर्देशक फर्नान्डो हिएरोलाई विश्वकपको दुई दिनअघि टिम सम्हाल्ने जिम्मेवारी दिइएको छ ।

बर्खास्त गरिएका प्रशिक्षक जुलेन लोपेटेगुई अघिल्लो दिन अभ्यासका क्रममा जेरार्ड पिकेसँग भलाकुसारी गर्दै । स्पेनका नवनियुक्त प्रशिक्षक फर्नान्डो हिएरो बुधबार क्रास्नाडोर एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा (दायाँ) । तस्बिर : एएफपी

आश्चर्यजनक रूपमा मंगलबार रियल म्याड्रिडले जिनेदिन जिदानको स्थान विश्वकपपछि लोपेटेगुईले लिने घोषणा गरेको थियो । त्यसले स्पेनी फुटबल महासंघ र स्पेनी समर्थकलाई क्रुद्ध बनाएको थियो । विश्वकपमा स्पेनी टिम रहेको स्थान क्रास्नाडोरमा पत्रकार सम्मेलन गर्दै स्पेनी फुटबल महासंघ (आरएफईई) का प्रमुख लुइस रुबियल्सले घटनाको समय उचित नभएको भन्दै त्यसले स्पेनको विश्वकप सम्भावनालाई खतरामा पारेको बताएका थिए ।

‘राष्ट्रिय टिम सबै स्पेनीको हो र यहाँ केही निर्णयले हामीलाई मान्यताको सुरक्षा गर्नुपर्ने महसुस गरायो,’ रुबियल्सले भने, ‘छलफल न्यायोचित छ तर यस्तो भएको छ कि महासंघलाई जानकारी नदिई नै प्रेस विज्ञप्ति जारी गरियो । महासंघका सबै कर्मचारीलाई केही गर्नकालागि सही माध्यम भएको पनि सन्दैश दिन चाहन्छु ।’

स्पेनले पछि रियल म्याड्रिडकै पूर्व कप्तान हिएरोलाई रुसमा हुने विश्वकपका लागि प्रशिक्षकको जिम्मेवारी दियो । ‘फर्नान्डो हिएरोले विश्वकपमा प्रशिक्षकको जिम्मेवारी लिनेछन्,’ महासंघले घोषणा गर्‍यो । ५० वर्षीय हिएरोले वास्तवमा प्रशिक्षकको अनुभव स्पेनको दोस्रो डिभिजन क्लब ओभिएडोबाट एक सिजनमात्र गरेका छन् ।

स्पेनका नवनियुक्त प्रशिक्षक फर्नान्डो हिएरो बुधबार क्रास्नाडोर एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा । तस्बिर : एएफपी

लोपेटेगुईले गत महिना मात्र सन् २०२० सम्मको लागि स्पेनी टिमको प्रमुख रहनमा सम्झौता गरेका थिए । उनले २० खेलमा स्पेनी टिम सम्हालेका थिए र त्यसमा उनको टिम अपराजित रहेको थियो । स्पेनले युरोपेली च्याम्पियन पोर्चुगलको सामना गर्दै शुक्रबार विश्वकप यात्रा थाल्नेछ । त्यसपछि उसले समूह ‘बी’मा इरान र मोरक्कोविरुद्ध खेल्नेछ ।

लोपेटेगुईको नियुक्तिले पुराना प्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोनालाई लिएर स्पेनी टिममा विभाजन आउन सक्ने डर थियो । सन् २००६ यता पहिलोपल्ट ठूला प्रतियोगितामा सहभागी स्पेनी टिममा म्याड्रिडका खेलाडीको वर्चस्व रहेको छ । यसपालि रियलका ६ खेलाडी रहेको टिममा बार्सिलोनाका जेरार्ड पिके, जोर्डी अल्बा र सर्जियो बुस्केट्ससँगै क्याम्प नोउमा १६ वर्षे करिअर गत महिना टुंग्याएका बार्सा लिजेन्ड आन्द्रेस इनिस्टा छन् ।

अन्तिम समयसम्म खेलाडीले लोपेटेगुईलाई बर्खास्त गर्नबाट रोक्ने प्रयास गरेको बताइएको छ । महासंघ प्रमुख रुबियल्सले सबै खेलाडीसँग छलफल गरेको र उनीहरूले नयाँ प्राविधिक टिमसँग मिलेर सम्भव भएसम्म अगाडि बढाउन सबै किसिमको शक्ति प्रयोग गर्ने बताए ।

‘ला रोजा’ लाई यसपालि उपाधि जित्नका लागि दाबेदार टिमका रूपमा लिइएको छ तर विश्वकप सुरु हुने बेला भएको आश्चर्यजनक घटनाक्रमले उसको सम्भावना ध्वस्त पार्नसक्छ । लोपेटेगुईले गोलकिपरको भूमिकामा बार्सिलोना र रियलबाट छोटो समय बिताएका थिए । उनको प्रशिक्षकको करिअर त्यस्तो धेरै राम्रो नभए पनि उनले युरो २०१६ को अन्तिम १६ बाट स्पेन बाहिरिएपछि भिसेन्ट डेल बस्कीको आठवर्षे युग अन्त्य गरेका थिए । रायो भालेकानो र रियलको युवा टिम रियल म्याड्रिड कास्टिलापछि लोपेटेगुईले स्पेनको यू–१९ र यू–२१ टिममा सफलता हात पारेका थिए । त्यसपछि पोर्टो पुगेका उनी दोस्रो सिजन नै च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएपछि १८ महिनामा बर्खास्त भएका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT