कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पोखरामा विश्वकप फुटबलको रौनक

दीपक परियार

लेखनाथ(कास्की) — रुसमा बिहीबारबाट सुरु हुने विश्वकप हेर्न जहाँ संसारभर खेलप्रेमी तम्तयार छन्, त्यही पर्यटकीय सहर पोखरालाई पनि चटारो छ । जेठको गर्मीसँगै विश्वकप फुटबलको माहोलले यतिबेला पोखरा तातेको छ । 

पोखरामा विश्वकप फुटबलको रौनक

विश्वकपले पोखराको खेल गतिविधि र आर्थिक कारोबारमा पनि वृद्धि गरेको छ । खेल सामाग्रीका पसलमा मन परेका देशको जर्सी र खेलाडीका पोस्टर किन्नेको भीड छ । नयाँ टीभी किन्न होडबाजी नै चलेको छ ।

होटल रेस्टुरेन्टहरूले बडेमानका स्क्रीन राखेर फुटबल हेर्ने व्यवस्था मिलाइरहेका छन् । घरमै ठूलो पर्दामा हेर्न रुचाउनेहरूले प्रोजेक्टर नै राख्न थालेका छन् । पोखराको बजारमा बुधबार साँझ सबै पसलका प्रोजेक्टरहरू बिक्री भइसकेको व्यवसायीले बताएका छन् ।

पोखराको रानीपौवा स्पोटर्स सेन्टरले बिहीबार फुटबल फिभर फुटसल टुर्नामेन्ट नै गर्दैछ । सहभागी हुन चाहने टिमले मन परेको देशको जर्सी लगाउनुपर्ने नियम छ । सेन्टरका सञ्चालक जितेश प्रधान २० भन्दा बढी टिमले प्रतियोगितामा सहभागिता जनाउने बताउँछन् ।


ब्राजिल कि अर्जेन्टिनाकाः

नेपालमा जस्तै पोखरामा पनि ब्राजिल र अर्जेन्टिनाका फ्यान धेरै छन् । त्यसपछि बेलायत, जर्मनी, स्पेन, फ्रान्स, इटाली लगायत युरोपियन मुलुकका फ्यान छन् । ब्राजिल र अर्जेन्टिनाका फ्यानबीचमा सामाजिक सञ्जालमा जुहारी नै चल्ने गरेको छ । एकअर्कालाई खिस्सी गर्दै ट्रोल बनेका छन् ।


सहारा क्लबका पूर्व अध्यक्ष वीरभद्र आचार्य नेपालमा कुनै एक आदर्श खेलाडीलाई हेरेर टिमको प्रशंसक बन्ने परिपाटी रहेको बताउँछन् । पोखरेली पनि महान् फुटबलर पेलेलाई हेरेर ब्राजिल र म्याराडोनालाई हेरेर अर्जेन्टिनाको फ्यान बढी भएको उनको अनुभव छ ।

उनी स्वयं भने बेलायतको फ्यान हुन् । ‘मलाई डेभिड बेकह्याम मन पर्ने भएकोले बेलायत मन परेको हो,’ उनले भने । यद्यपि अहिलेको विश्व कपमा ब्राजिल र अर्जेन्टिना फाइनलमा भिड्ने उनको अनुमान छ । ‘दुवैतर्फ उत्कृष्ट खेलाडी छन्,’ उनी भन्छन्, ‘दुवैलाई जित्नुपर्ने दबाब पनि छ ।’


पोखरामा जर्मनी र फ्रान्सका प्रशंसक पनि उत्तिकै छन् । ब्राजिल र अर्जेन्टिनाका प्रशंसक अघि उनीहरुको स्वर भने मसिनो छ । पोखरा न्युरोडका फुटबलप्रेमी अमर गिरी कुनै एक खेलाडी हेरेर भन्दा पनि टिमको खेल हेरेर प्रशंसक हुनुपर्ने बताउँछन् ।

‘मैले क्वालिफायर खेलहरु हेरेपछि मात्रै आफ्नो धारणा बनाउँछु,’ उनी भन्छन्, ‘ब्राजिल र अर्जेन्टिना बलिया टिम हुन् तर पोर्चुगल र स्पेनको सम्भावनालाई पनि नकार्न सकिन्नँ ।’


बढ्यो जर्सीको व्यापारः

पृथ्वीचोकको सहारा स्पोटर्स कर्नरमा विश्वकपको माहोल तात्नु अघि दैनिक २-३ वटा मात्रै जर्सी बिक्री हुन्थ्यो । कर्नरका सञ्चालक वीरभद्र आचार्य विगत एक महिनायता दैनिक १५ देखि २० वटासम्म जर्सी बेचेको बताउँछन् ।

उनको पसलमा ब्राजिलको जर्सी बढी बिक्री भएको छ । त्यसपछि धेरै जर्सी बिक्री भएको अर्जेन्टिनाको हो । जर्मनी, पोर्चुगल र स्पेनका जर्सी दैनिकजसो बिक्री भइरहेको उनले सुनाए । ‘विश्वकप चार वर्षमा आउने चाड हो,’ उनले भने, ‘यतिबेला जर्सी मात्रै बेचेर पनि राम्रो आम्दानी हुन्छ ।’


कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष चन्द्र गुरुङ महेन्द्रपुलमा डिलाइट स्पोटर्स पसल सञ्चालन गर्छन् । एक महिनायता उनको पसलमा पनि जर्सीको व्यापार ह्वात्तै बढेको छ । दैनिक औसत् १५ वटा जर्सी बिक्री भइरहेको उनले बताए ।

उनले १ हजार देखि ५ हजार रुपैयाँ सम्मका जर्सी बेच्छन् । उनले अर्जेन्टिनाको बढी बिक्ने अनुमान गरेर धेरै जर्सी ल्याएपनि ब्राजिलको बढी बिक्री भइरहेको सुनाए । उनको पसलमा चर्चित खेलाडीको नाम भएको र आफ्नै नाम प्रिन्ट गर्न मिल्ने जर्सी खोज्दै आउने ग्राहक पनि टन्नै छन् । यतिखेर फुटबलको व्यापार पनि उत्तिकै बढेको छ । विश्वकप सम्बन्धी झण्डा, कि–रिङ, स्टीकर, घडी, सोभेनरको व्यापार पनि बढेको गुरुङले बताए ।


टीभी बेच्न भ्याइनभ्याइः

पोखरा गैह्रापाटनका राजकुमार श्रेष्ठ बुधबार चिप्लेढुंगाको एक टीभी पसलमा भेटिए । उनले ३२ इन्चको एलईडी टीभी खरिद गरे । ‘घरको टीभी पुरानो पनि भएको थियो,’ उनले भने, ‘विश्व कपकै मेसोमा अलि ठूलो र नयाँ किने ।’ साथीसँगी जम्मा पारेर घरमै विश्वकप हेर्ने योजना रहेको उनले सुनाए ।


पस्र्याङका नवीन कोइरालाले ४३ इन्चको टीभीसँगै होम थ्रिएटर खरिद गरे । ‘ठूलो स्क्रिन र साउन्डमा फुटबल हेर्नुको मज्जा छुट्टै हुन्छ,’ उनले भने । फाइनल भने हल हेर्ने योजना बनाएको उनले बताए । विश्वकपलाई मध्यनजर गदै नयाँ टीभी खरिद गर्नेको संख्या पनि बढेको छ ।


पोखराका विभिन्न टीभी पसलमा ग्राहकको घुँइचो लागेको छ । सर्वसाधारण, व्यावसायिक प्रतिष्ठान, रेस्टुरेन्ट, विभिन्न कार्यालयले धमाधम नयाँ टीभी खरिद गरिरहेका छन् ।


पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघका सचिव नारायण सुवेदी अरु बेलामा तुलनामा यतिखेर टीभीको व्यापार बढेको बताउँछन् । ‘पहिले दिनमा १–२ वटा मात्रै बिक्री हुन्थ्यो,’ उनले भने, ‘अहिले दैनिक ५ वटासम्म बेचेका छौँ ।’


अहिले ३२ इन्चदेखि ६४ इन्चसम्मका टीभी ग्राहकले बढी खोज्छन् । ती टीभीको बजार मूल्य २४ हजार देखि २ लाख ५० हजार रुपैयाँसम्मका छन् । स्मार्ट, एलईडी, एमोलेड प्रकारका टीभी ग्राहकको रोजाइँमा पर्छन् ।


रेस्टुरेन्टको आफ्नै तयारीः

पोखरा महेन्द्रपुलको स्माइल क्याफेका सञ्चालक सनम बानिया नयाँ टीभी खरिद गर्ने योजनामा छन् । उनले विश्वकपलाई लक्ष्य गरेर रेस्टुरेन्टमा प्रोजेक्टर राख्दै छन् । ‘रेस्टुरेन्टमा आउने ग्राहकलाई सुविधा पुर्‍याउन र नयाँ ग्राहक आकर्षित गर्न पनि प्रोजेक्टर राख्नैपर्छ,’ उनले भने । तल्लो तलामा टीभी राख्ने र उपल्लो तलामा प्रोजेक्टर मार्फत् फुटबल देखाउने उनको योजना छ ।

लेकसाइडका रेस्टुरेन्टमा विश्वकप देखाउने भव्य तयारी छ । प्याराडिसो, ओपन हाउस, आइरिस पब, बिजी बी, दरबार, कोइला, मन्डला लगायतका रेस्टुरेन्टले प्रोजेक्टरमार्फत विश्वकप दैखाउँदै छन् । विश्वकपमा यूरोकप जस्ता ठूला प्रतियोगितामा लेकसाइडका रेस्टुरेन्टले प्रोजेक्टरबाट फुटबल देखाउँदै आएका छन् । पोखरामा रेस्टुरेन्ट गएर खाना र मदिराको स्वाद लिँदै फुटबल हेर्नेको जमात ठूलो छ ।


र, प्रशासनको कडाइः

आइतबार वडा प्रहरी कार्यालय बैदामले लेकसाइडका रेस्टुरेन्ट व्यवसायीलाई पत्र काट्यो । रेवान पोखराका सदस्य रेस्टुरेन्टलाई काटिएको पत्रमा राति ११ बजे सांगीतिक प्रस्तुति बन्द गर्न, साढे ११ बजे रेस्टुरेन्ट बन्द गर्न र १२ बजे स्टाफ निकालिसक्नुपर्ने ब्यहोरा उल्लेख थियो । विश्वकपको मुखैमा प्रहरीले त्यस्तो पत्र पठाएपछि रेस्टुरेन्ट व्यवसायी निराश भएका छन् ।


रेवान सचिव गणेश थापाले २४ घण्टा रेस्टुरेन्ट खोल्न पाउनुपर्ने माग गरिरहँदा त्यस्तो निर्देशन आउनु खेदजनक भएको बताए । उनले भने, ‘राज्यले व्यवसायीलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा उल्टै जबरजस्ती गलत नियम लाँदिदै छ ।’


जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना प्रकाशित गरी विश्वकप प्रदर्शनमा कडाइ गरेको छ । कार्यालयले विभिन्न क्लब, संघरसंस्था, निजी व्यवसायीले आफ्नो परिसरमा मात्रै गर्न पाउने सूचना जारी गरेको हो ।


प्रदर्शनस्थलमा कुनै प्रकारको प्रवेश शुल्क लगाउन नपाउन, खेलको हाररजितमा सट्टेबाजी गर्न नपाउने, असुरक्षा नियन्त्रण गर्न आवश्यक जनशक्ति र सीसीटीभी निगरानीको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख छ । प्रदर्शन स्थलको ट्राफिक, फोहोर व्यवस्थापन, हानी नोक्सानीको जिम्मेवारी आयोजकले लिनुपर्ने कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७५ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?