जर्मनीको समस्या सुल्झाउने दाउ

समूह “एफ”जर्मनीविरुद्ध मेक्सिको
एएफपी

मस्को — तयारी खासै राम्रो नरहेको जर्मनीले प्रतियोगिताअघि आफ्नै समस्याबाट गुज्रिएको अनुभवी टिम मेक्सिकोविरुद्ध आइतबार खेल्दै विश्वकपको उपाधि रक्षाको अभियान सुरु गर्दैछ ।

जर्मनीको समस्या सुल्झाउने दाउ

आठ महिना मैदानबाहिर रहेर अन्त्यमा चोटमुक्त भएर म्यानुयल नोयरले पुनरागमन गरे पनि हालै भएको मैत्रीपूर्ण खेलपछि मेसुट ओजिल र इल्काय गुन्डोगनले टर्कीका राष्ट्रपति रिसेप तायिपसँगको तस्बिर सार्वजनिक गरेपछि जर्मन समर्थक चिढिएका छन् । रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुजले एक कार्यक्रममा छलफल गर्दै त्यसप्रति खेलाडीलाई ध्यान केन्द्रित नगर्न बताए । ‘हामी यहाँ फुटबल खेल्नका लागि आएका हौं,’ उनले भने ।

जोचिम लोको टिमको लयलाई लिएर अर्को चिन्ता थपिएको छ । छनोटमा अधिकतम अंक जोडेको जर्मनीले त्यसपछि साउदी अरेबियाविरुद्ध मात्र जित हात पारेको छ । जसलाई विश्वकपको उद्घाटन खेलमा रुसले ५–० ले ध्वस्त बनाएको थियो ।

‘हामी लोभी हुनुपर्छ । ट्रेनिङ र खेल्ने मैदानमा कहिलकाहीं केही पक्ष हुन्छन् । प्रत्येक इन्चका लागि हामीले संघर्ष गर्नुपर्छ,’ डिफेन्डर जेरोमी बोएटिङले भने, ‘मेरो विचारमा हामी राम्रो सुरुआत गर्ने टिम हो ।’ ग्रोइन इन्ज्युरीबाट फर्किएका उनले प्रत्येक दिन राम्रो भइरहेको पनि बताए ।

गत वर्ष कन्फेडेरेसन कपको उपाधि जित्ने क्रममा जर्मनीले मेक्सिकोलाई ४–१ ले हराएको थियो । अहिले पनि त्यस नतिजाले केही अर्थ राख्ने क्रुजको विश्वास छ । ‘गत वर्ष कन्फेडेरेसन कपमा स्पष्ट जित हात पारेर पनि हामीले उसलाई कमजोर आँक्नु हुँदैन । धेरै गम्भीर रूपमा लिनुपर्छ । दबाब पनि छ किनभने यो विश्वकपमा हाम्रो पहिलो खेल हो,’ उनले भने ।

जर्मनी ५६ वर्षयता उपाधि जोगाउने पहिलो टिम बन्ने प्रयासमा छ । पछिल्लोपल्ट सन् १९६२ मा ब्राजिलले उपाधि रक्षा गरेको थियो । तर मेक्सिकोका डिफेन्डर कार्लोस साल्सेडो समूह ‘एफ’ मा आफ्नो प्रतिद्वन्द्वी हराउनै नसक्ने टिम नभएको बताउँछन् । ‘हामीले उसका बारेमा धेरै कुरा गर्‍यौं र हामी उसलाई बलियो भएको मान्छौं पनि,’ बुन्डेसलिगा क्लब आइन्ट्रयाक्ट फ्र्यांकफर्टमा गत महिना चारवर्षे सम्झौता गरेका साल्सेडोले भने, ‘तर हराउन नसकिने कुनै टिम छैन । फुटबलमा स्तरको भिन्नता घटदो छ र त्यसमा धेरै पक्ष छन् । एउटै खेलमा दुई–तीन गोल गर्ने खेलाडी दुई–तीन जनामात्र छन् । व्यक्तिगत कौशलमा मेसी, रोनाल्डो, नेयमरले त्यस्तो गर्न सक्छन् ।’

जर्मनीजस्तै मेक्सिको पनि लगातार सातौंपल्ट विश्वकपमा छनोट भएको हो । मेक्सिकोले तीन खेल बाँकी छँदै विश्वकपको टिकट काटेको थियो । प्रतियोगितापछि संन्यास लिने घोषणा गरेका राफेल मार्केज आफ्नै देशका एन्टोनियो कार्भाहाल र जर्मनीका लोथर म्याथ्युजपछि पाँच विश्वकपमा खेल्ने तेस्रो खेलाडी बन्ने संघारमा छन् । तर विश्वकपको लागि युरोपतर्फ प्रस्थान गर्नुअघि ३० जना यौनकर्मीले बिदाइ गरेको पाइएपछि मेक्सिकोका केही खेलाडी विवादमा परेका छन् ।

मेक्सिको सिटीको निजी क्षेत्रमा नौ खेलाडीले स्कटल्यान्डविरुद्ध १–० को जितपछि भोज गरेका थिए । मेक्सिकोका पदाधिकारीले ती खेलाडीहरूलाई निलम्बन गर्न अस्वीकार गरे । किनभने उनीहरू फुर्सदका बेला भोजमा सहभागी भएका थिए । तर पछिल्ला वर्षहरूमा त्यस्तै घटना भइरहेका छन् ।

प्रकाशित : असार ३, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?