१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

फ्रान्सको संघर्षपूर्ण जित

एएफपी

कजान, रुस — एन्टोइन ग्रिजमनले भिडियो असिस्टेन्ट रेफ्री (भार) पद्दतिको मदतमा प्राप्त पेनाल्टीबाट गोल गरेपछि उपाधिको दाबेदार मानिएको फ्रान्सले अस्ट्रेलियामाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ ।

फ्रान्सको संघर्षपूर्ण जित

सन् २०१६ को युरोमा प्रभावशाली प्रदर्शन गर्दै उच्च गोलकर्ता बनेका ग्रिजमनले यसपल्टको विश्वकपमा पनि टिमका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । उनले त्यति बेला सर्वाधिक ६ गोल गरेका थिए ।

अस्ट्रेलियाको ठोस डिफेन्ससामु भने ग्रिजमनलाई सहज पनि भएन । तर एट्लेटिको म्याड्रिडका स्टार खेलाडीले आफ्नो नाम त्यति बेला इतिहासमा लेखाए, जति बेला दोस्रो हाफमा उनी जोस रिसडनको टयाकलमा अस्ट्रेलियाको पेनाल्टी बक्समा ढले । उरुग्वेली रेफ्री आन्द्रेस कुन्हाले सुरुमा पेनाल्टीको निर्णय दिएनन् ।

तर ‘भार’ को मदतले उनी पेनाल्टीको निर्णयमा पुगे र त्यसमै ग्रिजमनले विपक्षी गोलरक्षक म्याथ्यु रायनलाई कुनै मौका नदिएर आरामपूर्वक गोल गरे । यस गोलमा फ्रान्सको खुसी भने लामो समय टिकेन । त्यसको चार मिनेटपछि नै बार्सिलोना डिफेन्डर सामुइल उम्मिटीले गरेको
ह्यान्डमा अस्ट्रेलियाली कप्तान मिले जेडिनाकले पेनाल्टीमै गोल गरे ।

डिडियर डेसच्याम्पका खेलाडी अस्ट्ेरलियाको सुदृढ रक्षापंक्तिको खेलसामु निराश देखिए पनि फ्रान्सेली टोली ८१ औं मिनेटमा फेरि अग्रता लिन सफल रह्यो । टाउकोको पछिल्लो चोटबाट ग्रस्त चेल्सीका ओलिभिएर जिरुडले ग्रिजमनको स्थानमा मैदान छिरे र उनले पाउल पोग्बासँग पासको शृङ्खला खेले । त्यसैक्रममा पोग्बाको प्रहार गोलमा परिणत भयो ।

खेलाडीका रूपमा सन् १९९८ को विश्वकप विजेता डेसच्याम्पले भाग्यमानी जितका लागि राहत महसुस गर्नेछन् । तर खेलपछि उनले प्रदर्शनलाई लिएर धेरै प्रश्नको उत्तर पनि दिनुपर्नेछ । अहिले विश्वकप खेलिरहेका टिममध्ये नाइजेरियापछि फ्रान्स सबैभन्दा कम उमेरका खेलाडीको टिम हो । टोली उपाधिका लागि निकै महत्त्वाकांक्षी पनि देखिएको छ । सन् २०१६ को युरो उपविजेता फ्रान्सलाई ब्राजिल, जर्मनी र स्पेनसँगै प्रतियोगितामा लामो समय टिक्ने टिम मानिएको छ ।

प्रकाशित : असार ३, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?