कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रोएसियासामु नाइजेरिया निरीह

एएफपी

कालिनिन्ग्राड — लुका मोड्रिचको पेनाल्टी गोल र ओघेनेकारो एटेबोको आत्मघाती गोलसँगै क्रोएसियाले समूह ‘डी’ को खेलमा नाइजेरियालाई २–० ले पराजित गरेको छ । शनिबार युवा जोसमा उत्रेको नाइजेरियाले मिडफिल्डका हस्ती साथ पाएको क्रोएसियामाथि कुनै किसिमको दबाब बनाउन सकेन ।

क्रोएसियासामु नाइजेरिया निरीह

समूहको पहिलो खेलमा अर्जेन्टिना र आइसल्यान्डले बराबरी खेलेपछि दुवै टोलीसमक्ष लिगको शीर्षस्थान हासिल गर्ने अवसर थियो । मोड्रिच र इभान राकिटिच सम्मिलित मिडफिल्डविरुद्ध बल पोसेसन राख्न संघर्ष गरेको नाइजेरियाले खेलको अधिकांश समय क्रोएसियाको आक्रमण निस्तेज पार्नमै बितायो ।


नाइजेरियाले बलियो रक्षात्मक रणनीति पेस गर्दै मोड्रिचका पासहरू विंग्ससम्म मात्र जान दियो । त्यसपछि अन्तिम पासमा भने क्रोएसियाले निरन्तर गल्ती गरिरह्यो ।


खेलको १० औं मिनेटमै फरवार्ड मारियो मान्जुकिचले दिएको पासमा इभान पेरिसिचको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । सन् १९९८ विश्वकपमा सेमिफाइनलसम्म पुगेको क्रोएसियाले त्यसयता भने अपेक्षित नतिजा निकाल सकेको छैन । विश्वस्तरीय सेन्टर मिडफिल्डरले भरिपूर्ण टोलीले पछिल्लो संस्करणमा ब्राजिलसँग उद्घाटन खेलमा ३–१ को हार बेहोरेको थियो । यसपटक भने टोलीसमक्ष राम्रो मौका रहेको छ । अनुभवी र युवा खेलाडीको सम्मिश्रणसहित बलियो देखिएको टोलीले सुरुआत पनि राम्रो पाएको छ ।


प्रतियोगिताकै सबैभन्दा युवा टोली छनोट गरेका नाइजेरियाका प्रशिक्षक गर्नट रोह्रले १९ वर्षीय गोलरक्षक फ्रान्सिस उजोहोलाई खेलाएका थिए । तर खेलमा क्रोएसियाले गरेको पहिलो ठूलो आक्रमणमै उनी निरीह रहे । ३० औं मिनेटमा क्रोएसियाले पाएको कर्नरमा मान्जुकिचले डाइभ गर्दै हानेको हेडर एटेबोको खुट्टामा लाग्दै गोलमा परिणत भयो । प्रिमियर लिगमा खेलिरहेका एलेक्स इवोबी र भिक्टर मोसेसले हाफ टाइमअघि बराबरीको मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।


दोस्रो हाफको सुरुआतमा नाइजेरियाले केही दबाब सिर्जना गरे पनि त्यसको प्रतिफल निस्कन सकेन । नाइजेरियाका विलियम एकङले मान्जुकिचलाई बक्सभित्र लडाएपछि रेफ्रीले क्रोएसियालाई पेनाल्टी दिए । मोड्रिचले उक्त पेनाल्टीमा सहजै गोल गर्दै टिमलाई जिततर्फ डोर्‍याए ।


प्रकाशित : असार ३, २०७५ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?