२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

डेनमार्क अपराजित

एएफपी

सारान्स्क — युसुफ पलसेन ‘खराब केटा’ बाट हिरो बन्दा डेनमार्कले विश्वकप समूह ‘सी’ को खेलमा पेरुलाई १–० ले पराजित गरेको छ । यसले ३६ वर्षपछि विश्वकपमा पहिलोपल्ट सहभागिता जनाइरहेको पेरुको पुनरागमन स्मरणीय बन्न सकेन ।

डेनमार्क अपराजित

पलसेनकै कारण पेरुले पहिलो हाफमा पेनाल्टी भएको थियो । पलसेनले पेरुका खेलाडीलाई लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भार) पद्दतिमार्फत पेनाल्टी दिएका थिए । तर पेरुका मिडफिल्डर क्रिस्टिएन कुइभाले पेनाल्टी क्रसबार माथि हानिदिए । पलसेनले ५९ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

‘जब मैले पेनाल्टी दिन पुगें त्यसपछि मेरा लागि खेल भावनात्मक बन्न पुग्यो,’ म्यान अफ द म्याच २४ वर्षे पलसेनले भने, ‘मलाई लाग्छ मेरै कारण टिम हार्ने भो । तर मेरै गोलले म हिरो भएँ । फुटबल भनेको यही हो । म धन्य छु, हाम्रो टोलीले धेरै राम्रो संघर्ष गर्‍यो र नतिजाका लागि सबै त्याग गर्‍यौं ।’

डेनमार्क योसँगै १६ खेलमा अपराजित रहेको छ भने पेरुको १५ खेलको अपराजित यात्रा टुंगिएको छ । पेरुका भेट्रान पाउलो गुइरेरो लागूऔषध सेवन प्रतिबन्धको निर्णय उल्टाएर रुसमा खेल्न पाएका थिए । उनी अन्तिम ३० मिनेटलाई मैदान छिरेका थिए । मोडोभिआ एरिनामा उनको ब्याकहिल गोल नहुनु पेरुको दुर्भाग्य थियो । डेनमार्कका गोलरक्षक कास्पर स्माइकलले दोस्रो हाफमा निरन्तर बचाउ गर्दै पेरुलाई निराश बनाए ।

प्रकाशित : असार ४, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?