१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

इंग्ल्यान्ड प्रिमियर लिग पारामै

समूह ‘ई’: टयुनिसियाविरुद्ध इंग्ल्यान्ड
एएफपी

रेपिनो — ठूला प्रतियोगितामा इंग्ल्यान्डको खराब प्रदर्शन पछाडि त्यसको दोष दिने गरिन्छ, त्यहाँको प्रिमियर लिगलाई । तर अहिलेका व्यवस्थापक गारेथ साउथगेट मान्छन्, लिगमा विदेशी प्रशिक्षकले तय गरेको रणनीतिले समग्र इंग्लिस टिमलाई फाइदा गरेको छ ।

इंग्ल्यान्ड प्रिमियर लिग पारामै

इंग्ल्यान्डले विश्वकप २०१८ को यात्रा सोमबार टयुनिसियाविरुद्धको खेलसँगै गर्दै छ । साउथगेटलाई विश्वास छ, टिमको तीव्र गति र आक्रामक सोचले काम गर्नेछ । ‘लिगमा उत्कृष्ट विदेशी प्रशिक्षक छन् । त्यसैले उनीहरूकै कारण टिममा उपायको कुनै कमी छैन ।’

‘जति धेरै इंग्लिस टिमको खेललाई हेर्ने छौं, उति त्यसमा प्रिमियर लिग पारा देखिनेछ । यसपल्टको सिजनमा फरक फरक शैली र सोच रहे ।’ टिमका प्रमुख खेलाडी केली वाल्कर, जोन स्टोन्स र रहिम स्टर्लिङमा स्पेनी प्रशिक्षक पेप ग्वार्डिओलाको राम्रै प्रभाव छ ।

साउथगेट आफैं भने चेल्सीका इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेको शैलीलाई राम्रो मान्छन् । लन्डन क्लबले सन् २०१७ मा लिग जितेको थियो र त्यति बेला टिमले तीन सेन्ट्रल डिफेन्डर, दुई विंग्स ब्याक, एक सेन्ट्रल स्ट्राइकर र फरवार्डलाई सहयोगी अगाडि बढ्ने विङगर प्रयोग गरेको थियो । यो नै साउथगेटको नीति रहनेछ ।

प्रशिक्षक साउथगेट

त्यसअनुसार किरन ट्रिपियर र एस्ली योङले विंग्स–ब्याकको भूमिका निभाउन सक्नेछन् । अर्कोतर्फ ग्वार्डिओला र लिभरपुलका योर्गान क्लोपले आक्रामक फुल–ब्याक बढी प्रयोग गर्छन् । यो पारम्परिक रूपमा पछाडि खेल्ने चार खेलाडी सोचको विकसित रूप हो । साउथगेट भने कोन्टेकै शैलीमा तीन मुख्य डिफेन्डर प्रयोग गर्न रूचाउँछन् ।

तर यो कोन्टेको शैलीलाई आँखा चिम्लेर पछयाएको भने हुने छैन । साउथगेट भने जोर्डन हेन्डरसनलाई केही अगाडि खेलाउन चाहन्छन् । उनले यसअघि इंग्ल्यान्ड यू–२१ टिम पनि सम्हालेका थिए । त्यति बेला उनले धेरै शैली प्रयोग गरे । तर सबैको एउटै उद्देश्य रह्यो, मैदानमा खेल उच्च गुणस्तरको हुनुपर्छ ।

साउथगेटसँग युवा र चलाख खेलाडीको समूह छ । उनीहरू प्राय: बलमाथि बढी नियन्त्रण राखेर खेल्न चाहन्छन् । यसपल्ट इंग्ल्यान्डको पहिलो प्रतिद्वन्द्वी रहेको छ, टयुनिसिया । यस्तोमा साउथगेट आफ्नो पहिलो प्रमुख परीक्षाबाट गुज्रिनेछ । कतै साँच्चै इंग्लिस टिमलाई प्रिमियर लिगले फाइदा पुर्‍याएको छ वा छैन ।

बेल्जियम–पानामा
सोची– बेल्जियम फरवार्ड ड्रिज मेर्टेन्स के मान्छन् भने अर्जेन्टिनालाई आइसल्यान्डले बराबरीमा रोक्नु आफ्नो टिमका लागि चेतावनी हो । आइसल्यान्डले पहिलोपल्ट विश्वकप खेलिरहेको छ । बेल्जियमले सोमबार विश्वकपमा डेब्यु गर्न लागेको अर्को टिम पानामाको सामना गर्नेछ ।

यो खेल बेल्जियमले सजिलै जित्ने अपेक्षा गरिएको छ । तर मेर्टेन्स के पनि मान्छन् भने टिम जत्तिकै ठूलो भए पनि त्यसका पनि कमजोरी हुने गर्छन् । उनको भनाइ छ, ‘यो विश्वकप हो, यसमा जति टिम छन्, सबै फुटबल खेल्न माहिर छन् । सबै टिमका आ–आफ्ना विशेषता छन् ।’

प्रकाशित : असार ४, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?