बेल्जियमको प्रभावशाली जित

नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा समूह ‘जी’ तर्फका प्रारम्भिक खेलमा बेल्जियम र इंग्ल्यान्ड विजयी रहे । यसमध्ये बेल्जियमको जित निकै प्रभावशाली रह्यो । बेल्जियमलाई उपाधिको दावेदार मान्ने पनि गरिन्छ, किनभने टिममा उत्तिकै राम्रा खेलाडी छन् । यो टिममा बेल्जियमका स्वर्णिम पुस्ताका खेलाडी रहेका छन् । पानामामाथि प्राप्त ३–० को जित यसै कारणले हो । 

त्यस खेलमा बेल्जियमले बलमाथि अत्याधिक नियन्त्रण राखेर खेलिरहेको थियो र यसक्रममा लगातार आक्रमण पनि बुनिरहेको थियो। बल अधिकांस समय पानामाकै पेनाल्टी एरियाको वरीपरी थियो। बेल्जियमले पहिलो हाफमा पनि लगातार आक्रमण गरेपनि गोल भने गर्न सकेन। तर दोस्रो हाफकै सुरुमै पहिलो गोल निकाल्न सफल रह्यो।

Yamaha

बेल्जियमका तीनै गोल आक्रामक रणनीतिअन्तर्गत नै हात पारेको हो। यसैक्रममा विश्वकपमा पहिलो पल्ट खेलिरहेको पानामाको रक्षापक्ति असन्तुलित देखियो। यसै समूहको राति भएको खेलमा इंग्ल्यान्डले ट्युनिसियालाई २–१ ले पराजित गर्न सक्यो। यी जितपछि यो समूहबाट बेल्जियम र इंग्ल्यान्ड दोस्रो चरण पुग्ने सम्भावना बलियो भएको छ।

ट्युनिसियाविरुद्ध इंग्ल्यान्डल सुरुआती १० मिनेट निकै राम्रो खेलेको थियो र यसैक्रममा कप्तान ह्यारी किनले राम्रो गोल गरे। ट्युनिसियाले पेनाल्टीबाट बराबरी गोल फर्कायो र यो इंग्ल्यान्डका केली वाल्करले डिफेन्समा गरेको अनावश्यक ‘फल’ को कारणले सम्भव भएको थियो। त्यो स्थितिमा वाल्करले यस्तो प्रकारको ‘फल’ गर्न आवश्यक थिएन्।

जसरी इंग्ल्यान्डले पहिलो गोल ‘सेट पिस’ मा गरेको थियो, त्यस्तै किनले नै खेलको अन्त्यतिर गरेको नाटकीय गोल पनि यही ‘सेट पिस’ मै सम्भव भएको थियो। दुवै अवसरमा ट्युनिसियाको डिफेन्सले कमजोर मार्किङ गरेको देखियो। पूरा खेल अवधिमा इंग्ल्यान्ड आक्रामक देखियो र लगातार ‘मुभ’ बनाइरह्यो। इंग्ल्यान्डको खेल तीव्र गतिको पनि रह्यो।

दिनको पहिलो खेलमा भने स्विडेनले दक्षिण कोरियालाई १–० ले हरायो। समूह ‘ई’ को यस खेलमा स्विडेनले बल पोजिसनमा राखेर आक्रमण गर्ने रणनीति लिएको देखियो। दक्षिण कोरियामाथि स्विडेनलाई ‘फिजिकल एडभान्टेज’ देखियो। खासमा युरोपेली खेलाडीले एसियाली खेलाडीमाथि प्रायस् यही शारीरिक बलियोपनले फाइदा लिन खोजेको देखिन्छ।

दक्षिण कोरियाले सुरुको १० मिनेटमा निकै आक्रामक खेल्यो र यो टिमको रणनीति हुन सक्छ। स्विडेनले ६५ औं मिनेटमा पेनाल्टीबाट गोल गरेको हो। यस समयबीच स्विडेनले पनि आक्रामक खेल्ने प्रयास गर्‍यो। तर आफूले अग्रता लिएपछि भने टिम रक्षात्मक देखियो। सायद टिमका लागि तीन अंक बहुमूल्य थियो र यो स्वभाविक पनि हो। गोल खाएपछि कोरियाली टिम भने आक्रामक बन्यो ।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार ५, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

उपचार गर्न ४ घण्टा पैदल

विप्लव महर्जन

सल्यान — कालिमाटी गाउँपालिका–१, लक्ष्मीपुरस्थित चोत्रे र हिङवरेका बासिन्दा उपचारका लागि चार घण्टा पैदल हिँड्न बाध्य छन् । स्वास्थ्य चौकी टाढा भएकाले स्थानीयवासी धामीझाँक्रीको भरमा उपचार गराउन बाध्य छन् । सबैभन्दा बढी समस्या गर्भवती र सुत्केरीलाई छ ।

सल्यानको चोत्रेकी एक महिलालाई स्टेचरमा बोकेर स्वास्थ्य चौकी लगिँदै । तस्बिर : विप्लव

दुई गाउँका ८० परिवार लामो समयदेखि उपचार सेवाबाट वञ्चित भएका हुन् । स्थानीयलाई उपचारका लागि त्रिवेणीको काभ्रा र कालिमाटीको रामपुर जानुपर्ने बाध्यता छ । कतिपय स्थानीय उपचारका लागि दाङको तुलसीपुर जाने गरेका छन् ।

गर्भवतीले नियमित चेकजाँच गराउन नपाउने र घरमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको चोत्रेकी विमला रोकाले बताइन् । उनका अनुसार गाउँमा नियमित गाडी नचल्ने भएकाले आउजाउमा समस्या छ । स्वास्थ्यकर्मी गाउँमा नआउने र स्थानीय स्वास्थ्य संस्थामा नजाने भएकाले धेरै बालबालिका खोपबाट वञ्चित भएको स्थानीय प्रमिला रानाले बताइन् । ‘खोपका लागि बालबालिकालाई दाङको पुरन्धारा लैजाने गरेका छौं,’ उनले भनिन्, ‘गाउँमा मेडिकलसमेत छैनन्, उपचारमा धेरै समस्या छ ।’ सडक निर्माणपछि नियमित गाडी चले मात्रै स्वास्थ्य सेवा नियमित पाउने उनको भनाइ छ ।

६० वर्षीय चन्द्रबहादुर डाँगीले पटक–पटक स्वास्थ्य समस्या देखिने गरे पनि घरेलु उपचार गर्न बाध्य भएको बताए ।

प्रकाशित : असार ५, २०७५ ०७:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT