लेवान्डोस्कीविरुद्ध माने

एएफपी

मस्को — युरोपेली फुटबलका दुई उत्कृष्ट फरवार्ड रोबर्ट लेवान्डोवस्की र साडियो माने विश्वकपमा मंगलबार हुने पोल्यान्ड र सेनेगलको खेलमा आमनेसामने हुँदै छन् ।

लेवान्डोस्कीविरुद्ध माने

बायर्न म्युनिखका लेवान्डोस्कीले तेस्रोपल्ट बुन्डेस लिगाको सर्वाधिक गोलकर्ताका रूपमा सिजन टुंग्याउने क्रममा २९ गोल गरेका थिए । उनले सबै किसिमका प्रतियोगितामा कुल ४१ गोल गरेका थिए । इजिप्टको मोहमद सलाह र ब्राजिलका रोबर्टो फिर्मिनोसँगै लिभरपुलका सनसनीपूर्ण अग्रपंक्तिमा रहेका मानेले किभमा भएको फाइनलमासहित च्याम्पियन्स लिगमा १० गोल गरेका थिए ।

‘साडियो प्रतियोगितामा स्टारमध्येका एक हुनेमा मलाई विश्वास छ,’ यसअघि सेनेगलले खेलेको एकमात्र विश्वकप रहेको सन् २००२ का खेलाडी एल हाद्जी डिउफले भने । पोल्यान्ड समूह ‘एच’ मा सबैभन्दा बलियो टिमका रूपमा मस्कोस्थित स्पार्टा रंगशालामा उत्रँदै छ । कोलम्बिया र जापान पनि रहेको समूहमा पोल्यान्डले अपेक्षाकृत सुरुआत गर्ने आस छ ।

फिफा वरीयतामा आठौं स्थानमा रहेको पोल्यान्ड विश्वकपमा आठौंपल्ट सहभागी हुँदै छ । प्रशिक्षक एडम नावल्काको टिम सन् १०९७४ र १९८२ मा हात पारेको तेस्रो स्थानलाई सुधार गर्ने अभियानमा रहेको छ । पोल्यान्ड निराशाजनक रूपमा युरो २०१६ को क्वाटरफाइनलबाट बाहिरिँदा लेवान्डोस्कीले एक गोल गरेका थिए । अहिले उनी आफूलाई साबित गर्न चाहन्छन् ।

२९ वर्षीय लेवान्डोस्कीले अन्तत: अन्तर्राष्ट्रिय फुटबलमा पनि क्लब फुटबलको स्तरलाई समातेका छन् । उनले युरोपेली छनोटमा कीर्तिमान १६ गोल (१० खेल) गरेपछि पोल्यान्डले रुसको यात्रा निश्चित गरेको थियो । उनी युरो २०१६ भन्दा फरक मानसिकताले विश्वकपमा प्रवेश गरिरहेको बताउँछन् ।

‘ट्रेनिङ राम्रो भएकोमा म निश्चिन्त छु र म सही समयमा तयार भएको छु । मैले निकै अगाडि नै विश्वकप तयारी थालेको थिएँ,’ लेवान्डोस्कीले भने । नसोचिएको रूपमा डिफेन्डर कामिल गिलिक चोटमुक्त भएर खेल्न तयार भएकाले पनि पोल्यान्डको मनोबल उच्च भएको छ । यी सेन्टर–ब्याक टिमका एक नेतृत्वकर्ता हुन् र उनको काम मानेलाई रोक्ने हुनेछ र त्यसबाहेक अरुसँगै मोनाकोका सहकर्मी केइटा बाल्डेलगायतको चुनौतीबारे पनि सचेत हुनुपर्छ ।

सेनेगल विश्वकप २००२ को सफलता पछ्याउने आशामा छ । त्यस बेला एलिउ सिसे कप्तान थिए । अहिले उनी टिमका प्रशिक्षक छन् । उनको टिमले विश्वकप इतिहासकै स्तब्ध नतिजाको रूपमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई १–० ले हराएर विश्वकप यात्रा सुरु गरेको थियो र त्यसपछि क्वाटरफाइनल पुग्ने अफ्रिकी तीन टिममध्ये एक भएको थियो ।

सिसे त्यसलाई ‘महान् साहस’ भएको बताउँछन् र उनी २७ औं वरीयातको टिमलाई रुसमा पनि बिना डर उस्तै तरिकाले अगािड बढाउन चाहन्छन् । ‘त्यो टिमले इतिहास बनाइसकेको अवस्था छ र अब यसले अब आफ्नै इतिहास रच्न चाहन्छ,’ सिसेले भने, ‘संकोच नमानी हामी त्यहाँ जाँदै छौं । हाम्रो प्राकृतिक खेल खेल्नेछौं । अफ्रिकी परिचयमा कायम रहने छौं र त्यसैले हाम्रो फुटबल परिभाषित गर्नेछ ।’

प्रकाशित : असार ५, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?