२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ब्राजिलको पनि पीडा उस्तै

ब्राजिलले पछिल्लो विश्वकप २०१४ मा आफैंले आयोजना गर्दा सेमिफाइनलमा जर्मनीसँग ७–१ को हार बेहोरेको थियो ।
रोयटर्स

रोस्तोभ — रुसी विश्वकपको आफ्नो पहिलो खेलमा प्रभाव पार्न नसक्ने ठूलो राष्ट्रको सूचीमा ब्राजिल पनि थपिएको छ । ब्राजिललाई आइतबार स्वीट्जरल्यानडले १–१ को बराबरीमा रोक्यो ।

ब्राजिलको पनि पीडा उस्तै

दाबेदार मानिएको स्पेन, अर्जेन्टिना र जर्मनीले पनि पहिलो खेलमा विजय हात पार्न सकेका थिएनन् । जर्मनी अझ पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको थियो ।

फिलिप कोउटिन्होको दर्शनीय गोलमा ब्राजिलले पहिलो हाफमा अग्रता लिएको थियो । तर ५ मिनेटपछि नै स्टेभन जुबेरले कर्नरबाट आएको बलमा हेडर गोल गरी खेल बराबरीमा ल्याए । जसले अन्तत: स्वीस टोलीलाई महत्त्वपूर्ण अंक दिलायो । टिटेको प्रशिक्षणमा रहेको ब्राजिलले विश्वकपमा आउनेक्रममा उत्कृष्ट प्रदर्शन गरेको थियो, तर त्योअनुरुपको प्रदर्शन टोलीले स्वीट्जरल्यान्डसँगको खेलमा देखाउन सकेन ।

निकै संगठित देखिएको स्वीस रक्षापंक्तिले ब्राजिललाई दोस्रो हाफमा थोरैमात्र अवसर दिएको थियो । ५० औं मिनेटमा जेर्दान साकिरीको कर्नरमा जुबेरले कासेमिरो र मिरान्डाको हेल्चेक्र्याइँपूर्ण बचाउमा हेड गोल गरेपछि ब्राजिलले उल्टो गोलका लागि दबाबमा खेल्नुपर्‍यो । यद्यपि दोस्रो हाफमा कोउटिन्हो, पाउलिन्हो र रोबर्टो फिर्मिन्होले अवसर नपाएका होइनन् ।

‘हाम्रा धेरै प्रहार लक्ष्य बाहिर रह्यो, हामी केही केन्द्रित भएको भए विपक्षी टोलीका गोलरक्षकलाई अझ मिहिनेत गर्नुपर्ने बनाउँथ्यौं । मेरो अनुमान विजय पाउनु नै थियो त्यसैले नतिजाबाट म खुसी छैन,’ ब्राजिली प्रशिक्षक टेटेले भने, ‘जुन स्थानबाट स्वीट्जरल्यान्डले गोल गर्‍यो, त्यो ठाउँबाट गर्नुपर्ने केही थिएन । तर त्यो फाउल थियो ।’

ब्राजिलविरुद्ध गोल गरेका स्वीस खेलाडी स्टेभन जुबेर  । तस्बिर : रोयटर्स

विश्वका सबैभन्दा महँगा फुटबलर नेयमरको खेल अझ निराशाजनक थियो । तर ब्राजिलकै दोस्रा महँगा खेलाडी कोउटिन्होले त्यसको तुलनामा धेरै प्रभावकारी खेल देखाएका थिए । ‘स्पागेटी’ जस्तै कपालका कारण नेयमर धेरैको नजरमा परे पनि उनी बलमा केही ड्रिब्लिङ गरेपछि हराएजस्ता देखिन्थे । राइट विंगर विलियन र स्ट्राइकर ग्राबियल जेससले खासै मौका नै पाएनन् ।

ब्राजिलले पछिल्लो विश्वकप २०१४ मा आफैंले आयोजना गर्दा सेमिफाइनलमा जर्मनीसँग ७–१ को हार बेहोरेको थियो । जर्मनीसँग खेलेको टोलीका मार्सेलो मात्र मैदान उत्रिएका थिए । विश्वकप आउनुअघि ब्राजिलले खेलेका पछिल्ला २१ खेलमा एकमात्र हार बहोरेको थियो ।

प्रकाशित : असार ५, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?